न्याय मरेको दिन

पूर्ण वली

शनिबार, भदौ १४, २०७६

Reading Time: 17 minutes

न्याय मरेको दिन

‘के भयो ?’ मैले नसोध्नु थियो । उनको आँशुले सिरानीलाई भिजाएर मेरो कुहिनोसम्म भिजेकोले प्रश्न गर्नुपर्ने बाध्यता सिर्जना भैदिन्छ । मेरो प्रश्नले उनी झनै जलमग्न हुन थाल्छिन् ।

‘लामखुट्टे लागे ।’ मेरो प्रश्नको सहज उत्तर आउँछ उनीबाट । अरुकै प्रश्नोत्तर हुन्थ्यो भने हाँसोको फोहरा छुट्नुपर्थ्यो । लामखुट्टे लागेकोले उनी रोइरहेकी होइनन् । उनको जवाफले मेरो मन भक्कानिएर आउँछ र त्यस भक्कानोलाई जबर्जस्त निल्न खोज्छु । सायद विष पिउनुभन्दा पनि गाह्रो छ भक्कानो पिउनु ।

हामी दुईजना विशेष प्रकारको स्वनिर्मित करारले बाँधिएका छौँ । करारको एउटा बुँदा यस्तो छः दुई पक्षमध्ये एकपक्षको आँखामा अनायास आँशु उम्रिए अर्कोपक्षले ‘नरोऊ !’ भन्दै सचेत गराउनुपर्ने र दोस्रो पक्षले दुई मिनेट भित्रै आँशु पुछेर केही नभएजस्तो देखाउनुपर्ने । करारमा पहिलो पक्ष र दोस्रो पक्ष स्पष्ट छैन । परिस्थितिअनुसार जो पनि पहिलो पक्ष बनिदिन सक्छ ।

मैले प्रश्नलाई संशोधन गर्दै करारबमोजिम उनलाई भन्छुः ‘भैगो अब नरोऊ ।’

हत्तपत्त आफ्नै हातका औँलाहरुले आँशु पुछ्दै करारबमोजिम उनी पनि मुस्कुराउने प्रयास गर्छिन् ।

हिजो राति अलि अबेरसम्मै हामीलाई निद्राले छोएको थिएन । कुरा गर्दागर्दै दुवैलाई एकैचोटी निद्राले छोपेकोले झुल लगाउन बिर्सिएछौँ । झुल नलगाएपछि तराइका लामखुट्टेहरुको हाम्रो शरीर उपर रजाइँ हुने नै भयो । मैले उठेर झुल लगाउन थालेँ ।

‘तपाईँको पनि जीउभरि लामखुट्टेले टोकेछन् !’ उनले मेरो काँध मुसार्दै ममाथि दयाभाव पोखिन् । उनको हातखुट्टा, मुखतिर जताकतै लामखुट्टेले टोकेका विविराहरु भए पनि उनले आफ्नो वाक्याँशमा ’पनि’ अव्यय थपिसकेपछि उनलाई मैले ’तिमीलाई झनै बढी टोकेका रहेछन् !’ भनिरहनुपरेन । कहिल्यै कम बोल्नु श्रेयष्कर भैदिन्छ कहिले बढी बोल्नु ।

हिजो रातभर भने अलि बढी नै बोलेका थियौँ हामीहरु ।

उनले अनलाइन खबरको फोटो देखाउँदै भनेकी थिइन्, ‘निर्मलालाई बलात्कार गरी मारेको एक सय दिन पुगिसकेछन् । के भएको होला यो देशमा ? न्याय साँच्चिकै मरेकै होला त ?’

‘अँ, तीन महिना नाघिसक्यो । सय दिन त पुगे होलान् पनि ।’ मैले छोटो जवाफ दिएको थिएँ ।

‘के यहाँ सय दिन अघिसम्म न्याय बाँचेको थियो र ? त्यस दिनदेखि मात्रै मरेको हो ?’

उनको प्रश्नले मेरो मुटु बेसरी हल्लाइदिएको थियो ।

धार्मिक शास्त्रको मत बमोजिम जीवको शरीर पञ्चमहाभुतले बनेको भनिए तापनि मलाई के लाग्छ भने जीवहरुमध्ये मान्छे सर्वश्रेष्ठ जीव हुनुको कारण उसको शरीर षष्ठ महाभुतले बनेको हुन्छ । हावा, पानी, अग्नि, पृथ्वीजत्तिकै महत्त्व राख्ने अर्को महाभुत हो न्याय । मान्छे नजन्मँदै न्याय जन्मन्छ । ऊ बाँचुन्जेल न्यायले खुवाउँछ पियाउँछ । हुर्काउँछ । हिडाउँछ । अघि बढाउँछ । न्याय मरेपछि मानवीयता पनि मर्छ र मान्छे अरु पशुतुल्य बन्न पुग्दछ ।
तसर्थ म न्याय र्मयो भन्न सक्दिन ।

यस्तै मनन गर्दागर्दै हामी निदाउनपुगेछौँ । अब फेरि त्यही कुराको प्रसङ्ग उप्काइसकेकी छिन् उनले सोधिन्–

‘किन केही बोल्नुहुन्न ? निदाइसक्नुभो तपाईँ ?’
‘भन न, भन । म निदाएको छैन, मैले सुनिराछु ।’

‘न्याय भन्ने कुरा त सुत्दा, उठ्दा, खाँदा, काम गर्दा, कुरा गर्दा, हरेक मानवीय क्रियाकलापमा जोडिएर आउँछ नि हैन ?’

‘अँ, हो ।’ कुरा खोस्रने जिम्मा उनकै छ । मैले पनि खोस्रँदा त झनै भ्वाङ पर्न सक्छ भन्ने सचेत भई दुई शब्द मात्रै बोल्छु म ।

‘मलाई साँच्चिकै न्याय मरेजस्तै लाग्छ । किनकि हाम्रा दैनन्दिनी कुनै पनि काम मलाई शून्य र कष्टकारक लाग्छ । लाग्छ, हामीले एउटा पशु सरहको जीवन व्यतित गरिरहेका छौँ ।’

‘त्यसरी सोच्न हुँदैन ।’

‘किन र ?’

‘न्यायको जिम्मा लिनेहरुलाई चित्त दुख्छ । उनीहरुको चित्त दुख्यो भने समग्र देशको चित्त दुख्छ ।’

‘कसको जिम्मामा छ न्याय ? न्यायधीशहरुको ?’

‘उनीहरु औपचारिक जिम्मावहनकर्ता हुन् । अनौपचारिक रुपमा समाजका शासकहरु र शासितहरु सबै हुन् ।’
‘कसरी ?’

‘हेर न, तिमीले आफ्नो वास्ता नगरी ’तपाईँलाई लामखुट्टेले टोकेछन्’ भन्नु पनि ममाथिको एक प्रकारको न्याय हो ।’

‘अनि, लामखुट्टे लागे भन्ने बित्तिकै झुल लगाइदिनु पनि मप्रतिको न्याय हो नि ।’ उनले मलाई नै जस दिने जिद्दि गरिन् ।

‘हो त्यो त । सबैसँग न्याय छ । तर मूल न्यायले यस्ता झिनामसिना न्याय पनि प्रभावित हुन्छन् ।’

एकछिन हामी स्तब्ध रह्यौँ । उनले पुनः अनुरोध गरिन् ।

‘मैले कति चोटी भनिसकेँ, मलाई परिशिलनको बारेमा गीत लेखिदिनोस् भनेर । अरु अरुको बारेमा लेखिरहनुहुन्छ । उसको बारेमा किन लेख्नुहुन्न हँ तपाईँ ?’
म केही जवाफ दिन सक्दिन । हुनसक्छ यो प्रश्नको जवाफको लायक पनि छैन म । उसको बारेमा लेख्नु भनेको आफ्नै मन उधार्नु हो । उनको मन उधार्नु हो ।

आफन्तहरुको मन उधार्नु हो । आफसेआफ यतिसम्म उध्रिँदा त थाम्नु गाह्रो भैरहेको बखत अरु उधार्नु अझै आफूलाई र आफ्नो पारिवारिक स्थितिलाई क्षतविक्षत तुल्याउनु हो भन्ने विषयमा पूर्ण जानकार छु म ।

उनले फेरि घचघच्याउन थालिन्, ‘तपाईँ निदाउनुभो ? किन बोल्नुहुन्न ?’
‘निदाएको छैन के, गीत लेखेर के हुन्छ र ?’

‘त्यस्तो गीत गाउन मन छ मलाई ।’
‘गाएर के हुन्छ त ?’

‘गीत म युट्यूबमा अपलोड गर्छु ।’
‘अपलोड गरी के हुन्छ ?’

लेख्नु पनि त सजिलो छैन । यो लेखाइ बन्जर पाखोमा हलो जोतेजस्तै अर्थात् बाँझो मारेझैँ हो । जोत्नको लागि जोताहा कुशल हुनुपर्‍यो । गोरुहरु सुँधा हुनुपर्‍यो । फाली बलियो हुनुपर्‍यो । जुवाली उपयुक्त हुनुपर्‍यो । हरिशको लम्बाइ उपयुक्त हुनुपर्‍यो। हल्लुडो लचकदार हुनुपर्‍यो । अनौ समात्न जान्नुपर्‍यो ।

‘निर्मलाको आमाको जस्तै हाम्रो वेदना पनि सुन्छन् सबैले ।’

‘निर्मलाको आमाबाको जस्तो होइन, हाम्रो वेदना । उनीहरुप्रति सबैतिर चासो छ र पो उनका गीतहरु सबैले सुन्छन् । हाम्रो कसले सुन्छ ? हाम्रो गीतले त उनीहरुलाई हाँसो उठाउँछ । भैगो छोडिदेऊ । हाम्रो गीत भनेकै हाम्रो अनुहार हो । हाम्रो आँशु हो । हामीबीच मात्र सिमित कुराकानी हुन् । यी अरुका चासोका विषय होइनन् । हामीले गर्नसक्ने भनेको निर्मलाको लागि न्याय माग्न समर्थन गर्नु हो । उनले पाएको न्याय आफूले पाएझैँ अनुभूत गर्नु मात्र हो ।’ उनलाई सम्झाउने प्रयत्न गर्छु म ।

‘साँच्चिकै निर्मलाकै विषयमा यति धेरै चासो हुनुको कारण के होला ?’

‘यो घटना न्यायकर्तासँग जोडिएको सवाल हो । न्याय दिनुपर्ने जिम्मेवारी पाएकाले नै न्याय निमोठेर फालिदिएपछि त्यसको बिरोध गर्नुपरेन ?’
‘हाम्रो छोराको मुद्दा पनि जितिन्छ जितिन्छ भन्नुहुन्थ्यो तपाईँ । अस्पत्तालले दिएको हत्याराको मापसे जाँच, घटनाको जाँच, पोष्टमार्टम रिपोर्टलगायत सबुत प्रमाणहरु सबै हाम्रै पक्षमा थिए । आखिर ती सबलाई दबाइयो, लुकाइयो र हारिएको जस्तो भयो । यो अन्याय पनि त न्याय दिनेले नै गरेका होइनन् र ?’

‘त्यही त भन्दै छु म । हामीलाई पनि अन्याय भएको छ र अरुहरु पनि छन् न्याय नपाउनेहरु । अतः त्यसरी न्याय नपाएकाहरुको स्वर एउटै गराउन निर्मला हत्या प्रकणसँग हामी पनि आबद्ध हुनुपर्छ । निर्मलाको बाबुआमाले पाएको न्याय नै हाम्रो पनि न्याय हो ।’ मैले भनेको कुरा उनले बुझिन् कि बुझिनन् । एक लोटा पानी घटघटी पिइन् ।

‘त्यो दुर्घटनापछि हामी नै किन न्यायको ढोका ढकढकाउन कतै गएनौ ? वा त्यसो गर्न किन साथ पाएनौँ ?’

‘हाम्रो दुर्घटना फरक विषय हो । अरुको न्यायको लागि आफ्नो न्यायलाई तिलाञ्जली दिनु नै उसको न्याय हो ।’ मेरो प्रयत्न उनलाई थामथुम पार्नु थियो । तर उनलाई यसले उत्तेजित तुल्याइदिएछ । उनी जुरुक्क उठिन् र मलाई तिक्ष्ण नजरले हान्दै भनिन् ।

‘सन्तानको बाबु भएर कसरी ’फरक’ भन्न सकेको होला त्यसरी ?’ उनको मुख फुरुङ्ग उडिरहेको थियो र मर्ममै प्रहार भएसरि छट्पटाउन पुगिन् ।

यो विषय फरक हो, होइन यसै भन्ने अवस्थामा छैन म । त्यो त अनायास मुखबाट झर्नपुगेको वाक्य थियो ।

‘यस्तै सोचाइ छ र तपाईँ केही पनि लेख्नुहुन्न उसको बारेमा ।’ उनको आशंकायुक्त आक्रोश पोखियो ।

‘लेख्नु पनि त सजिलो छैन । यो लेखाइ बन्जर पाखोमा हलो जोतेजस्तै अर्थात् बाँझो मारेझैँ हो । जोत्नको लागि जोताहा कुशल हुनुपर्‍यो । गोरुहरु सुँधा हुनुपर्‍यो । फाली बलियो हुनुपर्‍यो । जुवाली उपयुक्त हुनुपर्‍यो । हरिशको लम्बाइ उपयुक्त हुनुपर्‍यो। हल्लुडो लचकदार हुनुपर्‍यो । अनौ समात्न जान्नुर्पयो । यति भएपछि जोत्न त सजिलै सकिएला तर महत्त्वपूर्ण कुरा जोत्न थालेको दायाँबायाँ ककसको जमिन पर्छ जानिएन भने आपत पर्छ । अरुको जमिन छोइने बित्तिकै ऊ अन्याय भयो भन्दै कुर्लिहाल्छ । अरुको पटक्कै छोइनु हुँदैन ।’ मैले लेखाइ र न्यायलाई हलो जोताइसँग दाँज्न पुगेँ उनलाई सम्झन सजिलो होस् भन्ने हेतुले ।

यति भन्दै गर्दा आफूले आफैसँग गरेको एकप्रकारको करार सम्झन पुगेँ । सोही करार अनुसार धेरै कुरा लेख्नै नसकेको र केही कुराहरु लेख्दै र मेट्दै गरिरहेको अवस्था सम्झिएँ । अरुले बाँझो मार्ने मात्र होइन आफ्नै जग्गा हडपेर राँटा मारेको तथा उक्त जग्गामा सामाजिक आचार, मापदण्ड, कानुनहरुको सहाराले लिड्को लाउने गरिरहेका अवस्था सम्झिएँ । र आफैलाई धिक्कारेँ, ’म यति कमजोर छु कि अरुलाई न्याय दिन मरिहत्ते गर्छु तर आफूमा परेको अन्यायउपर चुँसम्म बोल्ने क्षमता राख्दिन ।’

म यताको सोचाइमा डुबिरहेको बखत उनी फेरि करार भङ्ग गर्दै बलिन्द्रधार आँशु बगाउन पुग्छिन् । म आफ्नै असक्षमताप्रति विदीर्ण हुन्छु र म पहिलो पक्षलाई सम्झाउनुको सट्टा आफै आँशु खसाल्न पुग्छु । मेरो आँशु देखेपछि उनी मेरा आँशु पुछ्न तम्सिन्छिन् र भन्छिन् स् ‘आफैले करार गर्ने, आफै भङ्ग गर्ने ? नरुनोस् तपाईँ । म अब यस्तो प्रश्न कदापि गर्नेछैन ।’ उनको यस प्रकारको जवाफले म थप आहत हुनपुग्छु ।

प्रश्न सोध्न पाउनु उनको अधिकार हो । प्रश्नको उचित जवाफ दिनु उनीउपरको न्याय हो । तर म आफै न्याय दिन चुकिरहेको छु । उनको यसपटकको शान्त्वनाले मन बुझाउन पर्याप्त छैन किनकि म रुनुको कारण अर्कै छ । भित्रैबाट हिक्काहरु छुट्न थाल्छन्, निल्न सक्दिन । उनी मेरो शीर मुसार्दै र आफ्नै आँशुले भिजेका औँलाहरुले पुछिदिँदै भन्छिन्, ‘नरुनोस्, नरुनोस् । यहाँ मर्ने को छैन र ? ढिलोचाँडो सबै मर्ने नै हो । एकसय वर्षपछि त जो अहिले छौँ, कोही रहनेछैनौँ । मर्नु पहिले प्रत्येकले नजिकका नातेदारको मृत्यू हेरेर रुनेछन् । तपाईँले नै भन्नुभएको होइन, स्टेफन हकिङ्सको कुरा ? अबको हज्जार वर्षपछि मान्छेको अस्तित्व नै समाप्त हुनेछ ।’

हो, मान्छे समाप्त भयो भने न्याय पनि समाप्त हुनेछ । मेरो चित्त बुझ्छ र आँशु सुकाउने यत्नपट्टि लाग्छु ।

हज्जार वर्षपछिको कुरामाथि विश्वास गरेर उनी खुशी भैसकेकी छिन् अब । न्यायिक मनले नै हसाउँछ र न्यायिक मनले नै रुवाउँछ ।
‘बिहानको तीन बजिसक्यो, अब दुई घण्टा भए पनि सुत्नुहोस् । तपाईँको जागिर छ । जागिरमा जानुपर्छ । मेरो त दिन पनि रात हुन्छ र रात पनि दिन हुन पुग्छ । मलाई केही फरक पर्दैन । तपाईँ सुत्नुहोस् । अब कुरा गर्न बन्द है ।’ उनले मेरो मुख आफ्ना औँलाहरुले छोपिदिन्छिन् ।

मुखले नबोले पनि मनमा कुरा खेल्न त कहाँ छोड्छन् र मुख बन्द भएकै बेला मनको चउर झन् फराकिलो हुन्छ र नानाथरी कुराहरु आएर खेल्ने मैदान बनाइदिन्छन् ।

०००

जागिर भन्ने बित्तिकै मैले दिगम्बर सरलाई सम्झन पुगेँ मैले । एक महिना अघि मात्र उहाँलाई त्यस अफिसमा सरुवा गरिएको थियो र उहाँ अब रिटायर हुन एक हप्ता बाँकी थियो । एक महिनाको अवधिमा नै उहाँ एक कर्तव्यनिष्ठ र इमानदार कर्मचारी हो भन्ने प्रष्टै बुझ्न सकिन्थ्यो । उहाँ ऐन कानुनका कुरामा पोख्त, कार्यशैलीमा पनि पोख्त, सामाजिकीकरणमा पनि उत्तिकै पोख्त ! यस्तो मान्छेसँग वर्षौँ पहिले भेटेको भए हुन्थ्यो जस्तो लाग्ने ।

उहाँसँगको सहकार्य दिनपरदिन छोटो हुँदै गइरहेकोले केही कुरा गर्न उहाँको कार्यकक्षमा पुगेँ । जब कार्यकक्षमा पुगेँ, म त्यो दृश्यले चकित परेँ, उहाँले चारवटा कागजमा आफ्नै हस्तलिखित उद्गारहरु लेखेर चारवटा भित्तामा टाँस्नुभएको थियो । प्रत्येक कागजमा एउटै कुरा लेखिएको थियोस् ‘न्याय माग र जिन्दगीभरि पछुताऊ ।’

अरु यावत कुरा गर्नुभन्दा नयाँ र जल्दोबल्दो कुरै त्यही नारा भैदिएकोले सोधेँ, ‘किन यसो लेख्नुभयो ? यस्ता कुराहरु त तपाईँले कहिले पनि गर्नुहुन्नथ्यो ।’
उहाँले मुस्कुराउँदै भन्नुभयोः ‘यो मैले नै लेखेको भन्ने प्रमाण के छ र ?’

‘अरुको सट्टा तपाईँकै कार्यकक्षमा चारचारवटा कागज टाँसिनु र अरुले लेखेर टाँसेको भए पनि तपाईँले नच्यात्नुले तपाईँले नै लेखेको यथेष्ट प्रमाण होइन र ?’ मैले चोर पक्रिएसरि उहाँको कुरा पक्रिएँ ।

‘बोल्नुभन्दा लेख्नु श्रेयष्कर हो । मैले अरुलाई जिन्दगीभरि नै इमान्दारितामा हिड्न सिकाएँ, तर जागिरको अन्त्यमा यस्तो महशुस भयो कि नलेख्नु भन्दा लेख्नु नै चासो लिनेहरुको लागि न्याय होला भन्ठानेँ ।’

‘हजुरका वचनहरु नै लेखाइभन्दा बढी सन्देशमूलक हुन्थे होला नि त ?’

‘त्यसो होइन । बोलाइभन्दा लेखाइले पाठकसँग बढी संवाद गर्छ । संवाद गर्ने इच्छा छ गर्नुहोस्, छैन छाडिदिनुहोस् । लेखाइमा त्यो स्वतन्त्रता छ तर बोलाइमा आफ्नो धारणा राखिसकेपछि मागेको बखत पुष्ट्याँइ पनि दिनैपर्छ । तपाईँले हेर्नुभयो, त्यो कागजसँग संवाद गर्न थाल्नुभयो । तपाईँभन्दा अघि आउनेले वास्तै गरेन त्यो कागजको खोस्टोले उसलाई पढ त पढ भनेर बलजफ्ती गरेन । मलाई भेट्न आउनेको कम्तीमा आँखासम्म पुगोस् भन्ने उद्देश्यले चारै भित्तामा राखिएको हो ।’

मैले पुनः उच्चारण गरेँ, ‘न्याय माग्नुहोस् स् जिन्दगीभरि पछुताउनुहोस् । यो भनाइले त तपाईँ जागिरीअवधिभर सन्तुष्ट हुनुहुन्नथ्यो भन्ने देखायो नि ?’

‘मैले भनिसकेँ यसबारेमा मसँग सम्वाद नगर्नुहोस् । त्यही कागजको खोस्टोसँग सम्वाद गर्नुहोस् भनेर । जे बुझ्नुहुन्छ त्यही बुझ्नुहोस् । अर्को आएमा अर्कै बुझ्छ ।’
‘तैपनि मलाई यति मात्र बताइदिनुहोस् कि यो जागिरीमा न्याय सम्बन्धित हुने क्षेत्र हुने के के हुन् ?’

‘के छैन भन्नुहोस् न । नियुक्ति, सरुवा, बढुवा, पुरस्कार, विदा, कार्य्विभाजन, कासमु, भ्रमण हरेक क्षेत्रमा न्याय सम्बन्धित भइहाल्छ नि ।’

‘मैले चासो राखिहालेँ मलाई विस्तारमा चाहिँदैन । छोट्करीमै भनिदिनुहोस् । न्याय शब्दले जति निर्मलाका बाबु आमालाई चिमोटेको छ उत्तिकै मलाई पनि चिमोटेको छ । अतः यो सूचनामा पनि न्यायकै कुरा आएकोले मेरो थोरै भए पनि जिज्ञासा मेटाइदिनुहोस् । यो पेशामा न्याय कस्तो छ ?’

‘हेर्नुहोस्, अन्यत्र भन्दा यस पेशामा न्याय झनै जेलिएको हुन्छ । तपाईँ यति मात्र बुझ्नुहोस् कि यहाँ न्याय पाएन भनेर जति चिच्यायो, त्यति न्यायको पहुँचभन्दा झन् झन् टाढा हुत्त्याइन्छ । प्रशासनिक कानुन, कार्य्विधि र मापदण्डमा व्यवस्थित न्याय भनेका पेशेवरको लागि समानताको लागि नभई विभेदीकरणको लागि गरिएको व्यवस्था मात्र हो ।’

‘न्याय भनेको एकाकार नभई विविध हो त उसोभए ?’

‘न्यायको पनि विविधीकरण गरिएको हुन्छ, विभिन्न रुप, रङ, आकार, प्रकारमा । एकपक्षलाई कम न्याय दिइएमा मात्र अर्को पक्षलाई धेरै न्याय उपलब्ध हुन्छ । केहीको न्याय बचाइराख्नलाई केहीको न्याय मर्नैपर्छ ।’

यति भनेर उहाँ जुरुक्क उठेर बाहिर निस्कनुभएको थियो र म पनि उहाँसँग बसेको कल्पनाबाट उठेर म पनि आफ्नै ओछ्यानमा फर्कन खोज्दै थिएँ बाटोमा एउटा परिचित साहित्यकार दम्पतिको घरजमले ध्यान खिँच्यो ।

०००

ती दम्पतिलाई म बिहेपूर्वदेखि नै चिन्छु । धेरै वर्षको लभ अफेरपछि बिहे भएको थियो उनीहरुको । केही वर्ष विहेपश्चातको जीवन सुखमय रहे पनि तत्पश्चातका दिनहरु सुखद रहेनन् । समयको अन्तरालमा एकअर्का नभए बाँच्नै नसक्ने कसम खाएकाहरुको घर नै भाँडिन पुग्यो र सम्बन्ध विच्छेदको अवस्थामा पुग्यो ।

अब उनीहरु एकअर्काको सबैभन्दा ठूलो दुश्मनको रुपमा परिवर्तन भैहाले । एकले अर्कालाई सकेको दुःख दिए अरुको हारगुहार गरेर समेत सिध्याउनपट्टि पनि लागे । यति त्रासदीपूर्ण जीवन सायद कसैले नभोगेको हुनुपर्छ ।

समय फेरिँदै गयो । समयले उनीहरुको दुश्मनीलाई फेरि मत्थर बनाउँदै लग्यो र मित्रताको नजिकनजिक पुग्न थाले उनीहरु । अब दुवैलाई मित्रताको मात्र होइन जीवनसाथीकै गाँठोको बाँध्नुपर्ने आवश्यकतामा ल्याइर्पुयायो । प्रणयका सुखद दिनहरु र दुश्मनीका दुखद दिनहरु भोगिसकेका उनीहरुको लागि अबको गाँठो लहडले कस्न गाह्रो थियो । फलस्वरुप पुनः नफाट्ने गरी जोडिने करार गरेका थिए रे भन्ने सुनेको थिएँ । करारका बुँदाहरु बाह्य परिजनहरुको लागि गोप्य राखिएको थियो । मलाई यो सम्बन्ध कसरी हुर्किरहेको छ जान्न उत्सुकता जागेकोले म उनीहरुको घरमा छिरेँ । शुरुमा लोग्ने साहित्यकारको कोठामा पसेछु लोग्नेचाँहिसँग भेट भयो ।

‘नमस्ते दाइ ! सम्बन्धको नयाँ उचाइ कस्तो छ त ?’ मैले ढुङ्ग्रो नलुकाएर मोही नै माग्ने प्रयत्न गरेँ । उनी मभन्दा जेठो भएकोले दाइ नै भन्थेँ म ।
उनी केही लेख्नमै व्यस्त रहेकोले मेरो मुखतिर नै नहेरी भनेः ‘मेरो व्यस्तता देखिहाल्नुभो भाइ । सम्बन्धको उचाइ बढ्दै छ । हेर्नुहोस् त्यतातिर ।’ उनले खेस्रा गरेका कागजको ठूलो चाङ देखाए मलाई ।

‘के हो त्यो ?’ मैले चकित हुँदै जिज्ञासा पोखेँ ।

‘मेरो रचनाको पाण्डुलिपि । जीवनमा सुखदुःख सबै भोग्नुपर्दो रहेछ । सायद मैले दुःख नभोगेको भए यति ठूलो उपलब्धि गर्न सक्थिन होला । मैले सुख दुःख र त्यो बीचको संक्रमणकालीन अवस्थाका मित्रता र दुश्मनीका यति धेरै विषयवस्तु पाएको छु कि म आफ्नो जीवनपर्यन्त लेखी नै भ्याउँदिन होला । मलाई बाहिर निस्कने फुर्सद नै छैन अब । मैले जीवनको वास्तविकता भेट्टाइसकेको छु ।’ उनको भावभङ्गीबाट थाहा हुन्थ्यो कि पुनःमिलनले उनलाई सिनर्जिक उर्जा थपिदिएको छ ।

‘भाउजु खै त ?’ मैले स्वास्नी साहित्यकारको विषयमा पनि जान्न चाहेँ ।

‘उनी पनि लेख्नमै व्यस्त होलिन् । जानु न ऊ त्यो कोठामा । जे होस् म खाना खान नै भ्याउँदिन तर उनले भने लेखाइको समय उबारेर खाना पकाउने खुवाउने लगायत घर चलाउने फुर्सद पाएकी छिन् ।’ उनी मख्ख थिए ।

‘नमस्ते भाउजू !’ म उनको कोठामा पुग्दै अभिवादन टक्र्याएँ ।

‘ओहो कसरी बाटो बिराउनुभो नि तपाईँले ? आउनुस्, आउनुस् ‘ भन्दै उनले नजिकको मेच सारेर मलाई दिइन् र आफूचाँहि भान्छामा पसिन् । एकछिनमै मेरो लागि एक गिलास पानी लिएर आइपुगिन् ।

‘तपाईँहरुको पुनःमिलनको अवस्था कस्तो छ, भन्ने जान्ने हुटहुटी चलेकोले आएँ नि !’ मैले उनले ल्याइदिएको पानी स्वाट्टै एकै घुट्कोमा पिइदिएँ ।
उनी बेसरी लजाएसरि हाँसिदिइन् । त्यो हाँसोबाटै थाहा हुन्थ्यो कि उनी पनि सन्तुष्ट छिन् यो पुनःमिलनले ।
‘अरु ल्याइदिऊँ पानी ?’

‘पर्दैन, पर्दैन भाउजू । बरु मैले मेरो प्रश्नको जवाफ पाइन त्यही दिनोस् ।’

‘सम्बन्ध त राम्रो छ नि । सन्तुष्ट छु । सन्तुष्टि लिन जान्नुपर्छ ।’ उनको जवाफले अब म ढुक्क भएँ ।

‘अनि कस्तो चलिरहेको छ साहित्यिक यात्रा ?’ मैले पुनः पहिलेकै याद दिलाएँ ।

‘चल्दै छ । निरन्तरता दिन छोडेकी छैन । ऊ त्यता छन् मेरा पाण्डुलिपिहरु ।’ उनले देखाएतिर हेरेँ । लोग्ने साहित्यकारको उपलब्धिको एकचौथाइ पनि थिएन त्यो उपलब्धि ।

‘पहिले सधैँ दाइलाई उछिन्नुहुन्थ्यो । अहिले त दाइले तपाईँलाई उछिनेर पनि धेरै राउन मारिसक्नुभएछ नि !’ भित्र कतै आगोको झिल्को थियो कि मैले घ्यू थप्ने प्रयास गरेछु ।

‘चिया ल्याइदिऊँ है ? पख्नुस् ।’ उनको मुखमा बनावटी हाँसो थियो । मैले पर्दैन भन्दाभन्दै उनी भान्छातिर लागिन् । चिया लिएर फर्कँदा हसिलो मुहार अझै मलिन भैसकेको अनुमान गरेँ मैले ।

‘हेर्नू न, म त लेख्नलाई कुनै विषय नै पाउँदिन ।’ उनले मलाई चिया दिँदै भनिन् ।

‘किन र ? त्यत्रो सुखका दिन बिताउनुभो । त्यत्रा दुःखका दिनहरु पनि बिताउनुभो । जति पनि छन् नि विषयहरु त तपाईँहरुका लागि ।’ मैले सुरुप्प चिया पिएँ र भर्खरै दाइले भनेको कुरा नै हुबहु राखिदिएँ ।

‘मेरा लागि छैनन् । मैले सुखका विषयको बारेमा मात्र लेख्ने जिम्मा पाएकी छु । जुन सुख भोगेँ ती सुखहरु दुःखका दिनहरुले बिर्साइसके ।’ उनी अझै अँध्यारिइन् ।
‘किन ? कस्तोखालको जिम्मा हो, त्यस्तो त्यो भाउजू ?’ मैले परिस्थितिलाई हल्का बनाउन कोशिस गरेँ ।

‘म करारमा बाँधिएकी छु । करारमा मैले सुखका कुराहरु मात्र लेख्न पाउने व्यवस्था छ ।’ बोल्दा उनका ओठहरु फर्फराइरहेका थिए ।

‘एकजना साहित्यकारले त्यस्तो भन्न सुहाउँदैन भाउजू । च्यात्दिनुस्, त्यस्ता एकपक्षीय बनावटी करारसरार । लेख्नुस् दुःखका कुराहरु पनि ।’ मैले असन्तुष्टि रोक्न जानिनछु र अलि बढी नै जङ्गिएछु ।

‘होइन बाबु । त्यस्तो पनि होइन । मैले चाहेमा त्यो करार च्यात्नसक्छु तर‘. ‘. ‘

‘तर(सर केही होइन भाउजू । कहाँ छ ल्याउनूस्, तपाईँ सक्नुहुन्न भने मै च्यात्दिन्छु त्यो ।’

‘होइन, होइन । अब पुनः म मेरो जीवनलाई क्षतविक्षत तुल्याउन चाहन्न । दाइको जस्तै मैले पनि दुःखका कुरा लेख्न थालेँ भने फेरि आगो बल्छ यो घरमा । तसर्थ उहाँ आगो बन्दा पनि मैले पानी नै बन्ने निर्णय गरेकी छु ।’ उनले हडबडाहटलाई थामथुम पार्ने प्रयत्नमा थिइन् ।

म आगोतुल्य भैसकेको थिएँ र भाउजूले पानी खन्याइदिँदा झ्वाइँए हुँदै सेलाउन पुगेँ । तै पनि चित्त बुझिरहेको थिएन मेरो र भनेँ, ‘अनि तपाईँलाई न्याय भयो त यसले ?’

‘न्यायको कुरा नगर्नुस् बाबु । जुन दिन पुनःमिलनको करार भयो, त्यसै दिन न्याय त मरिसक्यो मेरो लागि ।’
म जुरुक्कै उठेँ ।

‘पख्नुस् बाबु, नास्ता बनाइदिन्छु खाएर जानुहोला,’ भन्दै थिइन् भाउजू । म ‘भयो ! भयो !!’ भन्दै बिब्यखुट्टा पछि सर्न थालेँ ।

०००

म अब आफ्नै बिछ्यौनामा आइपुगेको थिएँ ।

आफ्ना औँलाहरुले मेरो मुख बुझिदिई मलाई निदाउन लगाएर उनी भने मनग्गे आँशु पोखेर आँशुको भेलमा तैरिरहेकी थिइन् ।

मैले उनलाई आफूतिर फर्काउँदै र आँशु पुछिदिँदै करारबमोजिमको बुँदा स्मरण गराएँ– ‘भैगो नरोऊ, अब !’

(कथाकार वलिको प्रकाशोन्मूख कथासङ्ग्रह ‘जितौरी’बाट ।)

भर्खर

0