रानीपोखरी बनाउने जिम्मा ५० जना महिलाको « Khabarhub
Logo
२७ असार २०७७, शनिबार

रानीपोखरी बनाउने जिम्मा ५० जना महिलाको



काठमाडौं–हातमा पञ्जा र शिरमा फेटा गुथेका केही महिलाहरु रानीपोखरीको एकछेउमा कोदालो र बेल्चा लिएर माटो मुछ्दै गरेका थिए । अर्को छेउमा उस्तै पहिरनमा रहेका महिलाहरु डोकोमा इट्टा बोकिरहेका देखिन्थे ।

पुरुषको संख्या कम थियो । पुरुषहरु इट्टाले पोखरी वरीपरि पर्खाल लगाउनतिर व्यस्त देखिन्थेँ ।

दरबार हाइस्कुल, जमल आकाशे पुल लगायतका स्थानबाट मानिसहरु रानीपोखरीभित्र भइरहेको काम अवलोकन गरिरहेका थिए । बाटोमा हिडिरहेकाहरु पनि पाइला अड्काउँदै रानीपोखरीलाई नियाल्दै गरेको दृश्य देखिन्थ्यो ।

भूकम्पले क्षतिग्रस्त रानीपोखरी गत वर्षको फागुन महिनादेखि पुनर्निर्माण कार्य शुरु भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समिति मार्फतकाम शुरु गरेको थियो । जसअन्तर्गत भक्तपुर नगरपालिकाले ख्यातीप्राप्त महिला दिदीबहिनीलाई ल्याएर काम गराइरहेको छ ।

रानीपोखरी पुनर्निर्माण कार्यमा ५० जना महिला र १२ जना पुरुष खटिरहेका छन् । उनीहरु समुहमा मिलेर काम गरिरहेका छन् । ठेलामा बालुवा हाल्ने, गुडाउने, कोदालो खन्ने, माटो मुछ्ने, इट्टा हाल्ने, बोक्नेलगायतका कामहरु मिलीजुली गरिरहेको देखिन्छ ।

विगत साढे दुइ महिनादेखि पुनर्निर्माणकै काममा व्यस्त भइरहेको उनीहरु बताउँछन । भक्तपुरदेखि रानीपोखरी पुनर्निर्माणका आएकी गीता बाटी भन्छिन्, ‘काम धमाधम भइरहेको छ, हामी आउँदा रानीपोखरी जंगलजस्तै देखिन्थ्यो, अहिले हेर्न हुने भइसकेको छ’ । सोमवार उनी डोकोमा इट्टा बोकिरहेकी थिइन् ।

‘भक्तपुर र काठमाडौं फरक जिल्ला भएपनि आफ्नै जसरी काम गरिरहेका बताउँदै सिर्जना भन्छिन्, ‘सम्पदा पुननिर्माणमा यसरी दिदीबहिनीहरु एकआपसमा मिलेर काम गर्न पाउँदा खुसी पनि छौँ’ ।

त्यस्तै अर्की महिला विष्णु केशरी गरु जो हातमा कोदालो लिएर मसला बनाइरहेकी छिन् । केही दिनदेखि मसला बनाइरहेको बताउँदै भन्छिन्, ‘इट्टाको धुलो, चुना, मिसाएर मसला बनाउनुपर्छ, यसले पर्खाललाई बलियो बनाउँछ’ ।

‘यसअघि भक्तपुरमै रहेको भाजुपोखरीको पुनर्निर्माण पनि हामीले नै गरेका थियौँ त्यहाँ काम सक्नासाथ यता आएका हौँ’ उनले भनिन् ।
भूकम्प जानुअघि उनीहरु घर बनाउने काममा व्यस्त हुने गर्थे भने त्यसपश्चात पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणमा पनि अग्रसर भइरहेको बताउछन् ।

त्यस्तै रानीपोखरीको भित्तामा कालोमाटो मुछ्न व्यस्त थिए अर्को समुह । दिउसोको चर्को घाममा पनि उनीहरु काम गरिरहेका थिए । समुहमा काम गर्दा रमाइलो हुने बताउदै थिए उनीहरु ।

रानीपोखरीको भित्तामा लगाइएको कालो माटो देखाउँदै त्यसको फाइदाबारे बताउँदै सर्मिला नापित भन्छिन्, ‘भित्तामा गारो लगाउँदा कालो माटो राख्नुपर्छ, त्यसपछि मात्र इट्टा राख्नुपर्छ’ । ‘सबै काम सकेपछि कालो माटो मुछेर पोखरीको भुँइ टाल्नुपर्छ, लिपपोत पनि गर्नुपर्छ’ सर्मिलाले सुनाइन् ।

‘यसरी कालोमाटी राख्दा बलियो हुन्छ, पछि पोखरीको पानी चुहिने समस्या आउँदैन’ उनले भनिन् । भक्तपुरस्थित भाजुपोखरीमा पनि यसरी नै कालोमाटी राखेर लिपपाोत गरेको थपिन् । रानीपोखरीमा पनि भक्तपुरबाटै कालो माटो ल्याइरहेको उनको भनाइ छ ।

कसरी आइपुगे रानीपोखरी ?

रानीपोखरी पुनर्निर्माणमा खटिएका महिला तिनै हुन् जुन समुहले भक्तपुरको भाजुपोखरीमा पानी अडिने गरी पुनर्निर्माण शुरु गरेका थिए ।

उपत्यकाका पोखरीलाई परम्परागत प्रविधिमा पुनर्निर्माण नगर्दा त्यसको मौलिकता गुम्ने मात्र होइन पानी नै नअडिने समस्या देखिन सक्ने भएकाले जानकारहरुको खोजी गर्ने क्रममा त्यी महिलाहरुलाई प्राथमिकताका साथ बोलाइएको पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार दुमरुले जानकारी दिए ।

‘पुनर्निर्माण प्राधिकरणले अनुरोध गरेपछि हामीले काम गरिरहेका तथा पोखरीमा पानी जम्ने तरिकाले काम गर्न सक्ने सिपालु दिदीबहिनीलाइ लिएर आएका हौँ’ खबरहबसँग कुरा गर्दै उनले भने ।

उनका अनुसार सो महिलाको टोलीले भक्तपुरका सम्पदा समेत पुनर्निर्माण गरिरहेका छन् ।

हेर्न लायक बन्दै रानीपोखरी

०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले रानीपोखरीलाई पुर्ण रुपमा क्षति पुर्‍याएको थियो । तत्काल पुनर्निर्माणका लागि छलफल नभएका होइनन् ।

लामो समयसम्म विभिन्न खाले विवाद र काठमाडौं महानगरपालिकाका पदाधिकारीबीच देखिएको राजनीतिक रस्साकस्सी पछि ०७५ फागुन २० गतेबाट पुनर्निर्माण शुरु गरिएको थियो ।

३ वर्षको अवधिमा रानीपोखरी रानीचौर जस्तै देखिन्थ्यो । तर भक्तपुरबाट आउने महिलाको जम्बो टोलीले चौर तथा घासलाई फाँडेर, खनेर पोखरी बनाउन लागिरहेका छन् । अब भने रानीपोखरी हेर्न लायक बन्ने भएको छ ।

पुनर्निर्माणमा समस्या

रानीपोखरी पुनर्निर्माण कार्य शुरु भएको लगभग ३ महिना पुग्नै लागेको छ । सो पोखरी पुनर्निर्माणमा आइपरेका समस्याहरुबारे बताउँदै अध्यक्ष दुमरु भन्छन्, ‘मुख्य समस्या भनेको पानीको अभाव छ, कालो माटो मुछ्नका लागि पानी नभइ हुदैँन’ ।

‘कामदार प्रशस्त छन्, त्यो अनुसार पानी उपलब्ध भएमा काम छिटो अघि बढ्ने थियो’ खबरहबसँगको कुराकानीमा उनले भने ।


भर्खर

0