चिनियाँ कम्युनिस्टसँग नजिकिएको नेकपाले भारतीय कम्युनिस्टलाई बिर्सियो !

देवेश झा

सोमवार, असोज १३, २०७६

Reading Time: 4 minutes

चिनियाँ कम्युनिस्टसँग नजिकिएको नेकपाले भारतीय कम्युनिस्टलाई बिर्सियो !

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का नेता सीताराम येचुरी धेरैको सम्झनाबाट हराई सकेका छन् ।

कुनै कालखण्डमा नेकपाका अभिन्न वैचारिक मित्र रहेका येचुरी बारे चर्चा गर्ने फुर्सद नेपालका वामपन्थीहरुलाई पनि छैन । दोश्रो जनआन्दोलनका बेला महत्वपूर्ण मानिएर अन्तरवार्ता प्रसारणगर्ने जमातकालागि पनि उनलाई ठाँउ दिने चाहना छैन ।

जबकि नेपालमा पहिलो पटक सम्पूर्ण सत्ता वामपन्थीहरुले कब्जा गरेको अवस्था छ । उदाँउदो सूर्यलाई नमस्कारगर्ने समाज व्यवहार अनुरुप चीनका राष्ट्रपति सि चिन फिङको विचारधाराबाट स्कूल विभागलाई प्रशिक्षित गराई रँहदा नेकपाको लागि आफ्ना संघर्षकालीन भारतीय वामपन्थी सहयात्रीहरुको विचार प्रासंगिक रहन सकेन ।

अर्को अर्थमा भन्नु पर्दा चिनियाँ कम्युनिस्ट पार्टीसँग नजिकिँदै गर्ने नेकपाले भारतीय कम्युनिस्ट पार्टीलाई विर्सिएको छ । सम्भवतः चरम भौतिकतालाई मूलमन्त्र मान्ने कम्युनिष्ट चरित्र यही हो ।

समाजमा बढी आर्थिक बराबरी ल्याउने पक्ष अथवा विचारधारालाई वामपन्थी राजनीति भनिन्छ ।

कुनै जमानामा केवल बुद्घिजीवीहरु मात्रै वामपन्थलाई मान्ने गर्दथे । कुनै कारणवश अन्यको तुलनामा पिछडि़एका, शक्तिहीन भएका अथवा विभेदमा पारिएका वर्ग र समुदाय प्रति सहानुभूति राखेर उनको समृद्घिकालागि यस विचारधारामा आवश्यक कार्यहरु गरिन्छ ।

राजनीतिमा वामपन्थ र दक्षिणपन्थ शब्दको प्रयोग फ्रान्सेली क्रान्तिको समयमा शुरु भएको हो । फ्रान्समा क्रान्तिहुनु भन्दा पूर्व त्यहाँको एस्टेट जनरल नामक संसदमा सम्राटलाई हटाएर धर्मनिरपेक्षता सहितको गणतन्त्र पक्षधरहरु बाँया तर्फ बस्ने गर्दथे जबकि राजा सहितको संसदका पक्षपाती दाँया तर्फ बस्ने चलन थियो ।

आधुनिक कालमा साम्यवादसंग सम्बन्धित विचारधाराहरुलाई वाम राजनीति भनिन्छ ।

भारतमा कम्युनिष्ट पार्टीको गठन प्रक्रिया १७ अक्टूबर १९२० बाट शुरु भएपनि औपचारिकरुपमा २५ दिसम्बर १९२५ मा कानपुरमा भएको थियो ।

भारतीय कम्युनिष्ट पार्टीको नाम बाट शुरु गरिएको वाम राजनीति पछि भारतीय कम्युनिष्ट पार्टी र माक्र्सवादी कम्युनिष्ट पार्टीकोरुपमा विभाजित भएको थियो ।

विश्व वाम राजनीतिको अन्तर्राष्ट्रिय स्तरमा रुस र चीन समर्थक बीचको तनातनी का कारण कम्युनिष्टहरु बीच गुट–उपगुट र टुटफुटको श्रृंखला जारी रह्यो ।

सीमा विवादका कारण सन् १९६२ मा भएको भारत–चीन युद्घ हुँदा रुस समर्थक भारतीय कम्युनिष्ट पार्टीले तत्कालीन भारत सरकारको नीतिलाई समर्थन गरे भने चीन समर्थक कम्युनिष्टहरु ले पूँजीवाद विरुद्घको संघर्ष भन्दै विरोध जनाए ।

यही विषयलाई माक्र्सवादीहरुले संशोधनवाद भनेर आलोचना गर्दै १९६४ मा पार्टी फुटाएर माक्र्सवादी कम्युनिष्ट पार्टी गठन गरे । यहाँ सम्म कि भाकपा ले तत्कालीन प्रधानमन्त्री इन्दिरा गाँधीले लगाएको आपातकाललाई समर्थन समेत गरेका थिए ।

कम्युनिष्टहरु मध्येका नम्बूदरीपाद, ज्योती बसु र हरकिसन सिंह सुरजीत जस्ता प्रखर नेताहरु भएका कारण सन् १९८० को दशकसम्म आउदा भाकपा धेरै बलियो भई सकेको थियो ।

भारतीय राजनीतिमा अत्यन्त बलियो उपस्थिति जनाउदै आएका वाम दलहरु अहिले खुम्चिएर केरल र त्रिपुरा राज्यमा सीमित भएका छन् ।

संघर्षशील राजनीतिको त्याग, नयाँ पुस्ताको मोहभंग, नकारात्मक प्रशासन, खंडित समाज, नेता/कार्यकर्ताहरुको नक्कली एनजीओ मार्फत गरिने बह्मलूट र कैडरहरुको आतंकले जनतामा उब्जिएको आक्रोश का साथै प्रगतिशीलताको स्वप्नलोकमा रमाउने बौद्घिक समूहका कारण भारतको वाम राजनीति पतनको बाटो उन्मुख भएको छ ।

मार्क्सवादी कम्युनिष्ट पार्टीमा कुल सदस्य संख्याको ६.५% मात्रै पच्चीस वर्ष मुनिका छन् । भाकपाको प्रतिवेदन अनुसार भारतको विशाखापट्टनम् मा सन् २०१५ को पार्टी काँग्रेसमा ७२७ सदस्य उपस्थित हुँदा पैतिस वर्ष मुनिका दुई जना मात्र थिए ।

केरलमा वाम दलले देशका अगाडी फरक अनुहार प्रदर्शित गरेका छन् । पछिल्ला दशकहरुमा सरकार संरक्षित आपराधिक समूहले त्यहाँ भाजपा र आरएसएस का कार्यकर्ताहरु को हत्या गर्दै आएको आरोप छ ।

वामपन्थीको ठूलो पहिचानकारुपमा ट्रेड युनियनहरु रँहदै आएका छन् । सत्तालाई पनि चुनौती दिन सक्ने हैसियत राख्दै आएको यी श्रमिक राजनीति पनि उदारीकरण पछि कमजोर हुदै गयो । वाम आन्दोलनको क्रममा निर्माण गरिएका संरचनाहरुलाई वाम नेताहरुको सिद्घान्त विपरीतका आचरणले युवा पुस्ताको मोह भंग भएको अवस्था छ ।

वास्तवमा भारतीय राजनीतिमा वामपन्थको पतन एउटा सामाजिक क्रान्ति सरह हो जसलाई बीजेपी र काँग्रेसको नव–उदारवादी नीति बाट लाभान्वित भएका उच्च मध्यम वर्गले साकार बनाएको छ ।

यस बाहेक उचित शिक्षा नीतिको अभावमा जातिगत अवरोध र चेतना लाई समाप्त पार्न नसक्दा पहिला देखि शक्तिशाली रहेकाहरु अझै बढी ताकतवर भए ।देशमा चलेको राष्ट्रवाद सम्मुख कम्युनिष्टहरुको परम्परागत अन्तर्राष्ट्रवाद निरीह देखियो ।

समानतामा आधारित वर्गहीन समाजको लक्ष्य देखाएर अगाडि बढेको वाम राजनीति वर्ग संघर्षको नाममा हिंसालाई आफ्नो मार्गचित्र बनाउदा आउने परिणाम यही हुन्छ । एसियामा एउटै समय भारतमा गान्धी र चीनमा माओको उदय भएको थियो ।

गान्धीले ब्रिटिश उपनिवेश विरुद्घ र माओले त्यहाँका राजवंश विरुद्घ क्रान्तिको नेतृत्व गरे । अहिंसालाई आधार मानेर आन्दोलन गरेका गान्धी र माक्र्सवाद/लेनिनवादी विचारधारालाई सैन्य रणनीतिमा जोडेर माओवादको नाममा क्रान्ति गरेका माओ । दुवै ले आ–आफ्ना राष्ट्रलाई नयाँ दर्शन दिन सफलता प्राप्त गरे ।

फरक यति मात्रै छ कि गान्धी को भारतले संविधान जारी गरेपछि व्यवस्था विरुद्घ कुनै आन्दोलन देख्नु परेको छैन तर माओ को चीनले त्यानआनमेन चौकको परिणाम व्यहोर्नु परेको थियो भने हालै हङकङमा पनि तनाव बढेकै छ ।

भर्खर

0