कांग्रेस बैठकमा संविधान संशोधनको एजेण्डा– समाजवादीको स्वागत, राजपाको आशंका ! | Khabarhub Khabarhub

कांग्रेस बैठकमा संविधान संशोधनको एजेण्डा– समाजवादीको स्वागत, राजपाको आशंका !


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रसले फेरि संविधान संशोधनको बहस सुरु गरेको छ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सह–महामन्त्री डा प्रकाशशरण महतले संविधान संशोधनको एजेण्डा केन्द्रीय समितिमा भित्र्याएका हुन् ।

कांग्रेसको नेतृत्वमा संविधान जारी भएको चार दिनमा कांग्रेसको निर्णय अनुसार तात्कालिन सुशील कोइराला सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरेको थियो ।

त्यसबेला तात्कालिन एमालेबाट तिब्र आलोचित भएको कांग्रेसले नै निर्णय गरेका कारण दुई वर्ष अघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा संविधान संशोधनको प्रस्ताव संसदमा बहस गराएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तात्कालिन एमालेको असहयोगका कारण दुई तिहाइ नपुगेर असफल भएपछि रोकिएको संविधान संशोधनको बहस कांग्रेसले फेरि केन्द्रीय समितिबाट ब्यूझाएको हो।

‘संविधानमा कमिकमजोरीहरु छन् र त्यसलाई संशोधन गर्छौ भनेर तात्कालिन प्रधानमन्त्री सुशील कोइरालासहित तत्कालिन एमाले अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्डले संसदमा स्वीकार गरेको विषय हो,’ कांग्रेस केन्द्रीय समितिमा संविधान संशोधन गर्ने एजेण्डा प्रवेश गराएका सहमहामन्त्री डा महतले भने, ‘उहाँहरुले त्यो कुरा विर्सनुभएको छ । तर हामीले विर्सेका छैनौ र छोडेका छैनौ। हामी हाम्रो कमिट्मेन्टमा अडिइरहेका छौ ।’ उनले कतिपय मधेस केन्द्रीत दलले जनता भड्काउन संविधान संशोधनका सवाल उठाउने गरेपनि सत्तामा पुगेपछि विर्सिएको भन्दै कांग्रेसले सत्ता वा सत्ता बाहिर रहँदा संविधान संशोधनको विषय नछोड्ने बताए ।

‍नेपाली कांग्रेसकातर्फबाट संसदमा सचेतकको समेत भूमिकामा रहेको केन्द्रीय सदस्य पुष्पा भुसालले संविधान संशोधन गर्ने विषय कांग्रेसकै नेता कार्यकर्ताको पनि माग भएकाले कांग्रेसले सकारात्मक अवधारणा तयार गर्न लागेको जानकारी दिइन् ।

‘संविधान संशोधनको विषय कांग्रेसका सांसद, केन्द्रीय सदस्य र जिल्ला तहका नेताहरुले पनि उठाउँदै आएको विषय हो,’ भुसालले भनिन्,’यसमा पार्टी सरकारात्मक छ र जहिले पनि संशोधनका लागि तयार छ भन्ने धारणा केन्द्रीय समितिले बनाउन लागेको हो ।’

संविधान जारी हुने मिति नजिकिँदै गर्दा मधेसकेन्द्रित दलहरु तात्कालिन फोरम लोकान्त्रिक बाहेकका दलले संविधानसभा बहिस्कार गरेका थिए । र उनीहरुलाई संविधानको प्रक्रियामा ल्याउने विषयमा तात्कालिन प्रमुख तीनदल कांग्रेस, एमाले र माओवादीबीचको बहसबाट संविधानका कमजोरी संसदीय प्रक्रियाबाट सच्याउने भन्दै मधेस केन्द्रीत दललाई संविधान जारी गर्ने प्रक्रियामा आउन संसदबाट आह्वान गरेका थिए ।

त्यसरी आह्वान गर्ने मध्ये एमाले-माओवादी एक भएर नेकपा भइसकेपनि एकजना अध्यक्ष प्रचण्ड संशोधन गर्ने प्रतिबद्धता जनाइरहेका छन् भने अर्काअध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले औचित्यका आधारमा संशोधन गर्ने बताइरहेका छन् । ओलीका अनुसार संविधान संशोधनको औचित्य देखिएको छैन। त्यही कारण उनको सरकारका डेढ वर्षमा संविधान संशोधनको मुद्दा औपचारिक बहसको विषय बन्न सकेको छैन ।

उता संविधान संशोधन नगर्दासम्म त्यसलाई स्वीकार नगर्ने भन्दै पहिलो चरणको निर्वाचनसमेत बहिश्कार गरेकामध्ये समाजवादी पार्टी (तात्कालिन संघीय समाजवादी फोरम) अहिले सरकारमा छ भने दोस्रोचरण समेत अस्वीकार गरेको राष्ट्रिय जनता पार्टी सरकारलाई पाँच पटकसम्म चेतावनी दिएर संविधान संशोधनको माग गरिरहेको छ ।

तत्कालिन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले त सरकारमा सहभागी हुनका लागि ओली र प्रचण्डसँग संविधान संशोधन लगायतका तीन बुँदे सहमति नै गरेका थिए । उनीमाथि संविधान संशोधनबारे प्रधानमन्त्री र नेकपाको धारणा माग गर्न नेता कार्यकर्ताले दबाब दिइरहेका छन् ।

संविधान संशोधन बारे समाजवादी र राजपाले पटक-पटक संसदमा आवाज उठाएपनि संविधान संशोधनको एजेण्डालाई सरकारले औपचारिक बहसको विषय बनाएको छैन ।

कांग्रेसले संशोधनको विषयमा बहस थाल्दा राजपा र फोरमलाई चाँहि कस्तो लागेको छ त ? राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णका अनुसार यो विषय सुन्दा राम्रो लागेपनि कुनै खुशीको खबर भने होइन् ।

‘संविधान संशोधन विषयमा कांग्रेसले बहस थाल्नु राम्रो कुरा हो,’ संविधान संशोधनका विषयमा संसदमा सबैंभन्दा धेरै बोल्ने नेता कर्णले भने, ‘तर, प्रदेशको सिमांकन फेर्न नमिल्ने, नागरिकताको विषय नमान्ने अनि के को संशोधनको बहस ? यो कुनै खुशी हुनुपर्ने विषय होइन ।’ उनले कांग्रेसले राजपासहितले उठाएका विषयमा छलफल गरेर त्यसलाई स्वीकार गरे भोलीका दिनमा सहकार्य सम्भव हुने बताए ।

राजपाले खुशी हुने ठाउँ नभएको बताएपनि समाजवादी पार्टीले भने यसलाई स्वागत गरेको छ । ‘कांग्रेस संविधान संशोधनका विषयमा आउँछ भने यो स्वागतयोग्य कुरा हो,’ समाजवादी पार्टीका महासचिवसमेत रहेका सांसद रामसहाय यादवले भने, ‘संविधान संशोधनको विषय तात्कालिन सुशील कोइराला सरकारले स्वीकार गरेको विषय हो। उहाँले संशोधन पनि गर्नुभयो । फेरि अर्को पटक पनि संसदमासंविधान संशोधन विषय आएकै हो। ओलीले पनि प्रतिबद्धता जनाएर हामी सरकारमा छौ।’  उनले कांग्रेससँग संशोधनका विषयमा सहकार्य हुने भन्दै त्यसबाट नेकपालाई पनि सहकार्यमा ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ५ : ५५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने