एक दिन बुबाको मुख हेरेर सन्तानको कर्तव्य पूरा हुँदैन | Khabarhub Khabarhub

एक दिन बुबाको मुख हेरेर सन्तानको कर्तव्य पूरा हुँदैन



भाद्र कृष्ण औँसी । लौकिक चलनअनुसार बुबाको मुख हेर्ने दिन । आज छोराछोरीले मीठा खानेकुरा, लुगाफाटो दिएर बुबाको मुख हेर्छन् । अथवा उनको सम्मान गर्छन् । तर सनातन शास्त्रमा यो दिन बुबाको मुख हेर्ने भन्ने विधान पाइँदैन । नेपालमा भने काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको बुझ्न सकिन्छ ।

सनातन धर्ममा अमावस्या (औँसी) तिथिलाई पितृ (दिवंगत बुबाआमा) को सम्झना गर्ने दिनका रूपमा लिइन्छ । यसैलाई आधार मानेर वैशाख कृष्ण औँसीका दिन आमाको र भाद्र कृष्ण औँसीमा बुबाको मुख हेर्ने चलन चलेको पनि हुन सक्छ ।

पिता टाढा–टाढा रहनेका लागि भेटघाट गर्ने वा भेटेर सम्मान दर्शाउने दिनका रूपमा यस दिनको महत्त्व नभएको होइन । तर बाबुको मुख हेर्ने दिन पश्चिमा समाजमा ‘फादर्स डे’ जस्तै दिनको रूपमा विकसित भइरहेको छ ।

उपभोक्तावादी संस्कृति विकसित हुँदै गर्दा बुबाआमाले भनेको मान्नु नपर्ने, उमेर पुगेका छोराछोरी भिन्नै बस्ने, आमाबुबालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने परम्परा विकसित भइरहेको छ । हाम्रै समाजमा बाबुको मुख हेर्न वर्षको एक दिन वृद्धाश्रममा पुग्ने संस्कृति विकसित भइरहेको छ ।

सनातन संस्कृति अवलम्बन गर्ने हो भने पिता वर्ष दिनभरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । पिताले गरेको सानो गल्तीले उनको महिमा घट्दैन । किनभने जन्मदेखि लालनपालन गरेर व्यक्तिलाई यस अवस्थामा ल्याउनसम्म पिताको ठूलो भूमिका हुन्छ । सनातन मान्यताअनुसार एकदिन मुख हेरेर वा मीठा खानेकुरा ख्वाएर सन्तानको कर्तव्य पूरा हुँदैन । जीवित हुँदा मातापिताको अनुकुलको कार्य गर्ने, आफ्नो क्षमताअनुसार सेवा गर्ने र मृत्युपछि पनि श्राद्ध आदि कार्य गरेर उनीहरूको सम्मान गर्नुपर्छ । त्यसैले भनिएको छ, पितृदेवो अर्थात् बुबालाई देवतासरह मान ।

पितृभक्तिको उदाहरण

पुराणका केही केही सन्तानको सन्दर्भ उल्लेख छ, जो पितृभक्तिकै कारणले आदर्श बने । उनीहरू आफूमात्र प्रख्यात भएनन् कुलकै ख्याति चलाए ।

महातपस्वी महर्षि जमदग्निका पाँच भाइ छोरा थिए । रिसको आवेगमा एक दिन उनले आफ्ना पाँचै भाइ छोरालाई भने ‘आमा (रेणुका) को हत्या गर !’ मातृमोहले ऋषिपुत्रहरूलाई किन त्यसो गर्न दिन्थ्यो । सुन्नेबित्तिकै चार छोरा एक एक गरी पछि हटे । तर कान्छा छोरा परशुरामले पिताको आदेश पाउनेबित्तिकै आमालाई काटिदिए । किनकि उनलाई आफ्नो बाबुको शक्तिमाथि विश्वास थियो ।

आफ्नो वचन खेर जान नदिने छोराबाट प्रसन्न भएर जमदग्निले वर माग्न भने, परशुरामले आमालाई बचाइदिन आग्रह गरे । जमदग्निले गर्न नसक्ने केही थिएन। तत्काल रेणुकालाई जिवित बनाए । आमालाई बचाइमाग्ने बेलामा परशुरामले अर्को वर मागेका थिए, ‘मातृहत्याजस्तो जघन्य अपराध गरेको आफूलाई सम्झना नरहोस् ।’

राम, रघुकुलका ज्योति । सनातन समाजले मर्यादा पुरुषको दर्जा दिएका अंशावतार । अयोध्याका राजा दशरथ जब जीवनको उत्तरार्धमा पुगे र जेठा छोरा रामलाई गद्दी सुम्पने मनस्थितिमा पुगे । माइली रानी कैकेयीले आफ्ना छोरा भरतलाई राजा बनाउने रणनीति बुन्न थालिन् । यसै बखत उनलाई सम्झना भयो । राजाले एउटा वचन उनीसँग उधारो बाँकी राखेका थिए । त्यही उधारो यसबेला काम लाग्दै थियो । राजालाई वचनको सम्झना गराइन् ।

वचन त्यो पनि प्रिय रानीको । पूरा नगर्ने कुरै थिएन । कैकेयीले अड्को थापिन्, राजा हुन लागेका सौताका छोरा रामलाई १४ वर्षको वनबास, आफ्ना छोरालाई अयोध्याको राज । नीतिले अनुचित थियो । तैपनि वचन पूरा गर्नु थियो । रामले विद्रोह गर्लान् भन्ने चिन्ता पनि नभएको होइन । मुटुमाथि ढुंगा राखेर राजसभाबाट घोषणा गरे । रामको मुहारमा रत्तिभर क्लेश देखिएन ।

पिताको आज्ञा शिरोपर गर्दै १४ वर्ष वनबास गर्न राजी भए । विशाल हस्तिनापुर राज्यका उत्तराधिकारी, देवव्रत । छोराको बिहेबारी गरिदिनुपर्ने बेलामा पिता सन्तनु सत्यवतीसँग मोहित भए । आफ्नी छोरीको सन्तान राज्यका उत्तराधिकारी बनाउने भए मात्र कन्यादान गर्ने सत्यवतीका पिताले अडान राखे । सन्तनु आफ्ना छोरासँग त्यो कुरा गर्न सक्दैनथे भने लोकका लागि त्यो स्वीकार्य थिएन ।

साना ठूला स्वार्थबीच पनि पिता महान् हुन्छन् भन्ने शिक्षा हो यो । राम पिताको आज्ञा उल्लंघन गरेर वनबास नगई विद्रोह गरेर राजा भएका भए पुजिन्थे ? पिताको स्वार्थभन्दा आफ्नो स्वार्थलाई माथि राखेका भए देवव्रत भीष्म हुन्थे ? पिताको आज्ञा शिरोपर नगरेका भए परशुराम पनि अरु चार भाइको लहरको अन्तिममा कान्छा भाइ वा जमदग्निका कान्छा छोराका रूपमा रहन्थे ।

पिताको सम्मान गर्ने श्रवणकुमार, कृष्णलगायत हजारौँ वर्षदेखि पुजिँदै आए । पितालाई महत्त्व नदिने, उनको वचन उल्लंघन गर्ने थुप्रैलाई कुपात्रका रूपमा समाजले बुझ्यो । उनीहरूसँग अन्य राम्रा गुण भए पनि समाजले सम्झन चाहेन । रावण कम विद्वान् थिएनन् । विश्रवा ऋषिका पुत्र । तर उनले पिताको विद्यालाई भन्दा मावलीको राक्षसी विद्यालाई साधन बनाए । पतन भए । राज्यका लागि कंसले पिता उग्रसेनलाई कारागारमा हाले । दुर्व्यवहार गरे । अन्ततः उनको पतन भयो । यस धर्तीमा ल्याउने, लालनपालन गर्ने, शिक्षा–संस्कार दिने पितालाई अपमानित गर्नेको कहिल्यै भलो हुँदैन ।

कुश भित्र्याउने दिन

खासमा भाद्र कृष्ण औँसीको महत्त्व कुशेऔँसीका रूपमा छ । देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ । पुरोहितले मन्त्रोच्चारणपूर्वक काटको कुश यजमानका घरमा लग्ने चलन छ । यसरी काटिएका कुशलाई ढोकामाथि सिउरिने गरिन्छ । यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्ने विश्वास गरिन्छ । यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक र पितृकार्यमा प्रयोग गर्ने चलन छ ।

जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ । सबैकहाँ नहुने कारणले कुशेऔँसीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको हो ।

कुशको महत्त्व

कुशलाई संस्कृतमा पवित्र, दर्भ भनिएको छ । कुश पनि संस्कृत शब्द हो । नेपाली समाजमा कुशेऔँसीमा काटेको कुश एक वर्षसम्म पूजाआजा पितृकार्यका लागि प्रयोग गर्ने चलन छ । कुश औँसीमा बाहेक अरु दिन काट्नु हुँदैन भनिन्छ । कुश जरादेखि टुप्पोसम्म भएको प्रयोग गर्नुपर्ने बताइन्छ । सनातन धर्मावलम्बीहरूका देवकार्य वा पितृकार्य कुशविना सम्पन्न हुन सक्दैन । प्रत्येक कार्यमा कुशका कुड्का, औँठी र पवित्र, अनिवार्य मानिन्छन् ।

मांगलिक कार्यमा पुजिने कतिपय देवताका प्रतिमा र श्राद्धमा ब्राह्मणसमेत कुशबाटै बनाइन्छ । श्राद्धमा विशेषगरी कुशका ‘मोटक’ प्रयोग गरिन्छ । विवाह संस्कारमा वरणी गर्दा दुलहाका बाबुले कुशबाटै बनेको ‘बिष्टर’ विधान चलन छ । कुनै पनि संस्कारमा संकल्प गर्दा कुशकै आवश्यकता पर्छ । कुशका टुक्रा कर्मपात्रमा पानीमा राखी पूजा वा श्राद्ध अवधिभर प्रयोग गरिन्छ । देवता र ब्राह्मणलाई आसन पनि कुशकै दिइन्छ । त्यसैले कुशलाई पवित्र वस्तु मानिएको हो ।

पौराणिक ग्रन्थहरूमा कुशको उत्पत्तिका बारेमा अनेकौं कथा पाइन्छन् । कतिपय पौराणिक ग्रन्थमा भगवान् श्रीविष्णुलाई श्राप परेकाले कुश हुनुपरेको बताइएको छ । यसैले पनि कुशलाई भगवान् विष्णुको रूप मानिएको छ । महाभारतको एक प्रसंगअनुसार भीष्मले श्राद्ध गर्दा पिण्ड दिने समयमा बाबु शान्तनुले हात थापे । भीष्मले सुनको बाला लगाएका आफ्नो बाबुको हात हो भन्ने चिने तर पनि हातमा पिण्ड दिएनन् । पिण्डवेदीमा ओछ्याइएको कुशमूलमै दिए ।

आयुर्वेदमा कुशबाट बनेका विभिन्न औषधिहरूको चर्चा गरिएको पाउन सकिन्छ । क्षयरोग, चर्म, रक्त, मूत्रलगायतका रोगका लागि कुशबाट बनेका औषधिहरूको प्रयोग गरिन्छ । कुशको जरा र पातबाट विभिन्न प्रकारका औषधी । कुशको प्रयोगबाट हृदयरोग नहुने शिरको दुखाइ नहुनेजस्ता आयुर्वेद र पुराणहरूमा समेत बताइएको छ । नवजात शिशुलाई खुवाउने दूध नआएमा आमाले कुशको औषधिबाट फाइदा लिनसक्ने बताइएको छ ।

कुशको टुप्पामा ‘फोनेटिक भाइब्रेसन’ सुचालन गर्ने क्षमता भएको वैज्ञानिकहरू बताउँछन् । यसले विभिन्न उपकरणहरूबाट आउने हानिकारक विकिरणहरूलाई नाश गर्ने क्षमता राख्छ । कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्तसञ्चारलाई समेत सहज बनाइदिने वैज्ञानिक अनुसन्धानले बताएको छ । कुशको आसनमा बसेर कुशकै औठी लगाएर कुशकै वस्तुहरू प्रयोग गर्ने हाम्रो चिन्तन कति उच्च थियो भन्ने यसबाट प्रष्ट हुन्छ । ढोकामाथि सिउरिएको कुशले कोठाको वातावरणलाई स्वच्छ बनाउने अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ११ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को