विश्वासको अगाडि तर्क र तथ्यले काम गर्न सक्दैन « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

विश्वासको अगाडि तर्क र तथ्यले काम गर्न सक्दैन



केहि समय अघि एउटा विकासे कार्यक्रममा देशको आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने बारे भएको छलफलका क्रममा एकजना विकासे कार्यकर्ताले आफ्नो धारणा राख्नुभयो । उहाँको भनाई अनुसार नेपाली किसानहरुले दुध बिक्री नभएर सडकमा पोख्नुपर्ने बाध्यता छ ।

किसानको समस्या समाधान गर्न सरकारले एउटा चकलेट फ्याक्ट्री खोल्नु पर्‍यो । यसले गर्दा एकातर्फ किसानको दुध बिक्री भएर उनीहरुलाई फाईदा हुन्छ भने अर्को तर्फ चकलेट आयात घटेर व्यापार घाटा कम हुन्छ । यस्तै रोजगारीमा पनि बृद्धि भई बेरोजगारीको समस्या समाधान गर्न केहि हद सम्म सहयोग पनि पुग्दछ ।

सर्ससर्ती हेर्दा माथीको भनाईलाई गलत भन्न मिल्दैन। तर के ती भनाईमा दावी गरिएको कुरा वास्तविकतासँग मेल खान्छ त ? अर्को अर्थमा भन्दा त्यो भनाईमा दावी गरिएको जस्तो हामीले चकलेट उत्पादन गर्‍यौं भने विदेशबाट आयात हुने चकलेटसँग प्रतिस्पर्धा गर्न सक्छौं त ?

विदेशबाट आयात हुने चकलेटसँग प्रतिस्पर्धा गर्न सके मात्र हाम्रो आयात घट्ने हो । प्रतिस्पर्धा गर्नको लागि हाम्रो उत्पादन लागत कम हुनु पर्दछ । उत्पादन लागत कम हुनको लागी हाम्रो उत्पादकत्व बढि, ठूलो मात्रामा उत्पादन तथा ज्याला दर कम हुनु पर्दछ । तर नेपालमा यी तिनै कुरा विदेशीको तुलनामा कम छ ।

प्रतिस्पर्धा गर्ने अर्को तरिका भनेको गुणस्तरीय उत्पादन पनि हो । तर हामीकाहाँ विभिन्न कारणले गर्दा गुणस्तरीय उत्पादन हुने सम्भावना कम छ। यहाँ भन्न खोजेको कुरा के हो भने माथीको अवधारणा गलत भन्न मिल्दैन तर त्यो धारणालाई कुनै पनि तथ्याङ्क वा प्रमाणले पुष्टी नगरिएको हुँदा सरकारले चकलेट कारखाना खोलेमा फाईदा नभएर समय तथा अन्य श्रोतको नोक्सान हुन सक्छ । कुनै पनि अवधारणालाई तथ्याङ्क र तर्कले (कूतर्क होइन) पुष्टी नगर्दासम्म त्यो धारणाले आशा गरे अनुरुप परिणाम दिन सक्छ भन्न सकिदैन ।

विश्वासमा आधारित धारणा परिवर्तन गर्न निकै गाह्रो हुन्छ । विश्वासको अगाडी तर्क र तथ्यले काम गर्न गाह्रो हुन्छ । यस्तो धारणा प्रायः धर्मसँग जोडिएर आएको हुन्छ । त्यसैले नेपालमा छुवाछुतको समस्या विकराल भएको हो

हाम्रो देशमा माथीका जस्ता तथ्य र तथ्याङ्कले प्रमाणित नगरेका विभिन्न धारणा शक्तिशाली रुपमा सतहमा आउने गरेका छन् । आम जनसमुदायले त्यसैलाई नै सत्य मान्ने गरेको देखिन्छ । फेरी पनि यी धारणाहरु मध्ये कतिपय सत्य पनि होलान तर तिनको सत्यापन स्थापित गरिएको छैन । उदाहरणको लागि कृषिको विकास नगरि नेपालको विकास नै हुँदैन । संघीयताले मात्र विभिन्न जातजातिको आर्थिक, सामाजिक तथा राजनीतिक उत्थान गर्दछ ।

चीनबाट रेल आयो भने नेपालमा चिनियाँ पर्यटकको घुइँचो लाग्छ र नेपालको विकास हुन्छ, खरिद नियमावलीमा भएका प्रावधानका कारणले असारे विकासको समस्या आएको हो, तलब बढायो भने भ्रष्टाचार घट्छ, देश विकासको लागी पानी जहाज आवश्यक छ, आर्थिक बृद्धि र समानता सँगसँगै जान सक्तैन इत्यादी ।

मानिस चेतनशील प्राणी भएकोले कुनै पनि विषय प्रति उसले स्पष्ट वा अस्पष्ट धारणा बनाउँछ । मानिसलाई कुनै पनि विषय प्रति धारणा बनाउन उसको स्मरण, अनुभव, कुनै चिज प्रतिको आस्था अनि विश्वास, समय, विषय प्रतिको ज्ञान, सूचना जस्ता कुराहरुले सहयोग गर्दछन् । हरेक मानिसको हरेक कुरामा आ–आफ्नै धारणा रहेका हुन्छन् । उदाहरणको लागि कुनै दुर्गम गाऊँमा कुनै बच्चालाई पखाला लागेमा भुत प्रेतले सताएको भन्ने धारणाको निर्माण हुन सक्छ भने शहरमा व्याक्टेरिया वा भाइरसको कारणले गर्दा हो भन्ने लाग्न सक्छ ।

पहिलो प्रकारको धारणामा मानिस बच्चाको उपचारको लागी धामी झाँक्रीकोमा जान्छ भने दोश्रो प्रकारको धारणामा मानिस डाक्टरकोमा जान्छ । यी दुई फरक धारणाले गर्दा अबलम्बन गरिने उपचार प्रक्रिया र त्यसको परिणाम पनि एकदमै फरक हुन्छ । हामीहरुको विकास र अन्य सामाजिक समस्याहरुको बारेको धारणाको कारण र असर पनि यस्तै हो ।

विश्वासमा आधारित धारणा परिवर्तन गर्न निकै गाह्रो हुन्छ । विश्वासको अगाडी तर्क र तथ्यले काम गर्न गाह्रो हुन्छ । यस्तो धारणा प्रायः धर्मसँग जोडिएर आएको हुन्छ । त्यसैले नेपालमा छुवाछुतको समस्या विकराल भएको हो । दलित वर्ग अपहेलित हुनुको प्रमुख कारण छुवाछुतको मान्यता र यो मान्यता धर्मसँग जोडिनु नै हो । धर्मसँग जोडिएको मान्यता भएकोले यो गलत हो भन्ने थाहा हुँदा हुँदा पनि यसलाई हटाउन गाह्रो भएको हो । तर विश्वासमा आधारित धारणा बाहेक अन्य धारणा परिवर्तन गर्न तुलनात्मक रुपले सजिलो हुन्छ । यदि उचित तर्क र तथ्याङ्क प्रस्तुत गरिएयो भने धारणा परिवर्तन गर्न नसकिने होइन ।

नेपाल जस्तो अल्पविकसित देशमा विकासका नीति निर्माण गर्दा भनेको, सुनेको आधारमा नीति निर्माण गर्ने प्रचलन निकै बढि हुन्छ । यस्तो प्रक्रियाले निर्माण गरेका नीतिहरुले आशातित सफलता नदिन सक्छन्

कुनै पनि कुराको विश्वासमा आधारित धारणालाई एक छिन पन्छ्याएर अनुभव र तथ्यमा आधारित धारणा कै कुरा गर्ने हो भने पनि व्यक्ति पिच्छे यी फरक फरक हुन सक्छन् । एउटै मुद्दामा फरक धारणा निर्माण हुनुमा दुई प्रमुख कारण हुन सक्छन् : या त सूचनाको अभाव वा गलत मनसाय । उदहरणको लागी निर्मला हत्या प्रकरणमा दुई फरक दृष्टिकोणबाट आन्दोलन गरिएको थियो । यी दुई फरक दृष्टिकोणका सम्वाहक मध्ये कम्तिमा एउटा त गलत थियो । गलत दृष्टिकोणका सम्वाहकलाई सूचनाको अभाव पनि हुन सक्छ वा उनले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्नको लागी त्यो दृष्टिकोणलाई बढाई चढाई गरेको पनि हुन सक्छ । दोश्रो प्रकारको दृष्टिकोण वा धारणा भने राष्ट्र र समाजको लागी निकै खतरनाक हुन सक्छ ।

अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमका धारणा र विचारहरु निकै छिटो फैलने गरेको पाइन्छ । त्यसमा पनि सनसनिखेज धारणाहरु त “भाईरल” हुने गरेका छन् । यस्ता धारणाहरु कतिपय अवस्थामा आधारहिन र निकै घातक पनि हुने गर्दछन् । हाम्रा कतिपय सेलिब्रिटी अनुहारले सामाजिक सञ्जालका यस्तै धारणालाई तथ्यको कसिमा नजाँचिकनै प्रवाह गरिदिने गरेको पाइन्छ ।

यसले गलत धारणा अझ छिटो प्रवाह हुन्छ र कतिपय अवस्थामा यसले विकराल रुप लिन सक्छ । यसको विपरित यस्ता गलत धारणालाई कम गर्न सेलिब्रिटी अनुहारले कुनै पनि कुरा तथ्यमा आधारित छैन भने त्यसलाई साझा नगर्ने र गलत धारणा सामाजिक सञ्जालमा फैलिएको छ भने त्यसलाई गलत हो भनिदिने हो भने गलत धारणा प्रवाहित हुने संभावना निकै कम हुन्छ । उदाहरणको लागी कसैले गाउँमा उपलब्ध जाथ्रोपा (अडिर)को बीऊबाट डिजेल बनायो भने सामाजिक सञ्जालमा उक्त व्यक्तिको पक्षमा आन्दोलन नै चर्कन्छ अनि सरकार निकम्मा, बेकम्मा भनेर गाली गर्न थालिन्छ ।

डिजेल बनाउने व्यक्ति सिर्जनशिल व्यक्ति हो तर जाथ्रोपाबाट डिजल बनाउनु आर्थिक दृष्टिकोणबाट कति लाभदायक छ अनुसन्धानको विषय हो । अतः उक्त व्यक्तिलाई सिर्जनशिल कार्यको निमित्त सरकारले अवसर प्रदान गर्नु पर्ने माग जायज हो तर डिजेल नै उत्पादन गर्नको निमित्त लगानी गर्नु अघि त्यसको लागत लाभ विश्लेषण गर्नु पर्दछ भन्ने कुरा समाजका प्रतिष्ठित व्यक्तिले भनिदिने हो भने गलत अवधारणालाई कम गर्न निकै मदत पुग्दछ ।

अब अवधारणा बारेको यो अवधारणा पश्चात नीति निर्माणमा अवधारणाको प्रभावको चर्चा गर्नु उपयुक्त होला । यो पंक्तिकारसँग केहि वर्ष अघि पश्चिम नेपालको कुनै एक जिल्लाका सांसदले सुनाएको कुरा । उहाँको जिल्लाको एउटा क्षेत्रमा नेपाल सरकारले गरीबी निवारण कार्यक्रम अन्तर्गत कुखुरा पालनमा लगानी गरेछ, तर गरीबी घटेन ।

बिना प्रमाण उचालिएका कुरा क्षणिक हुन्छन् तर प्रमाणका आधारमा गरिएका कुरा दीर्घकालिन हुन्छन् । त्यसैले विकास सम्बन्धि हामीले बनाएका अवधारणा ठीक पनि हुन सक्छन्, बेठिक पनि हुन सक्छन्

कारण के रहेछ भने उक्त क्षेत्र बाहुनको बाहुल्यता भएको ठाउँ परेछ, जहाँ कुखुराको मासु खाने कुरा त परै जाओस्, छुन समेत नपाइँदो रहेछ । अर्थात गरिबी निवारण अन्तर्गतको त्यो कार्यक्रम अनुसन्धानमा आधारित थिएन र स्वविवेकमा लागु गरिएको थियो । स्वविवेकमा निर्माण गरिने नीति तथा कार्यक्रमहरु सफल हुने सम्भावना कम त हुन्छ नै कहिलेकाहीं निकै प्रत्यूत्पादक पनि हुन्छ । अतः हामीले नीति निर्माण गर्दा प्रमाणमा आधारित निित निर्माणको प्रक्रियाको थालनी गर्नु पर्दछ ।

विकसित देशमा प्रमाणमा आधारित नीति निर्माणको अभ्यास निकै पहिलेदेखि भएको हो । तर यसलाई औपचारिक रुप टोनी व्ल्येयरले १९९० को दशकको अन्त्यमा दिएका हुन् । प्रमाणमा आधारित नीति निर्माण प्रक्रियामा सम्भव भएसम्म हरेक तहमा प्रमाणमा आधारित निर्णय गरिन्छ। यसको मतलब सधैभरि प्रमाण उपल्ब्ध हुन्छ भन्ने चाँही होइन । प्रमाण उपलब्ध नभएको अवस्थामा अनुभव र विज्ञता पनि उपयोग गर्न सकिन्छ । तर सम्भव भए सम्म प्रमाणित कुराको आधारमा नीति बनाउनु अहिलेको आवश्यक्ता हो ।

अन्तमा, नेपाल जस्तो अल्पविकसित देशमा विकासका नीति निर्माण गर्दा भनेको, सुनेको आधारमा नीति निर्माण गर्ने प्रचलन निकै बढि हुन्छ । यस्तो प्रक्रियाले निर्माण गरेका नीतिहरुले आशातित सफलता नदिन सक्छन् । अतः जिम्मेवार व्यक्तिहरुले बिना प्रमाण कुनै कुरा उचालेर नीति निर्माणमा जोड दिनु भन्दा आफ्ना कुरालाई प्रमाणका साथ प्रस्तुत गर्दा जनतामा विश्वसनीयता बढ्न जान्छ र त्यस्तो नीति निर्माणमा बल पनि पुग्न जान्छ ।

बिना प्रमाण उचालिएका कुरा क्षणिक हुन्छन् तर प्रमाणका आधारमा गरिएका कुरा दीर्घकालिन हुन्छन् । त्यसैले विकास सम्बन्धि हामीले बनाएका अवधारणा ठीक पनि हुन सक्छन्, बेठिक पनि हुन सक्छन् । अतः एक पटक तथ्याङ्क र तर्कको आधारमा जाँचेर सार्वजनिक गर्दा उपयूक्त हुन्छ । यदि हामीले भनेका कुरा गलत भयो भने त्यसलाई सच्याउन सक्ने बानीको विकास गर्नु पनि उत्तिकै आवश्यक छ ।


0