पाँच महिनामा साग गेम– न बन्द प्रशिक्षण, न भौतिक पूर्वाधार तयार | Khabarhub Khabarhub

पाँच महिनामा साग गेम– न बन्द प्रशिक्षण, न भौतिक पूर्वाधार तयार



काठमाडौं – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन मात्र पाँच महिना बाँकी छ । तर, अहिलेसम्म प्रतियोगिताको उद्घाटन हुने नेपालको सबैभन्दा पुरानो रंगशाला दशरथ रंगशालाको निर्माण सकिएको छैन भने पोखराको रंगशाला निर्माणको काम पनि सकिएको छैन । न सागको तयारीको लागि खेलाडीको प्रशिक्षण नै शुरु हुन सकेको छ । त्यतिमात्रै होइन सागको तयारी अगाडि बढाउने नियमन गर्नै ‘कार्यविधि’ समेत बन्न सकेको छैन ।

यस्तो अवस्थामा साग तोकिएको मितिमा हुनेमा आशंका गर्ने आधारहरु प्रसस्तै छन् । खेल क्षेत्रका जानकारहरुका अनुसार सरकारी पक्षले साग समयमै आयोजना गर्छौं भन्नु स्वागत योग्य भएपनि त्यसको कार्यान्वयन पक्षमा तिव्रता नदिनुले सरकार आफैं  पनि साग आयोजना गर्न अल्छि गरिरहेको बताउँछन् ।

यही बेला नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्व विहीन छ । यो विषयमा समेत खेलकुद मन्त्रालय मौन रहेको छ । राखेपको कार्यकारी पद सदस्य सचिवको पद रिक्त रहँदा पनि सागको आयोजनामा समस्या उत्पन्न हुन सक्ने जानकार बताउँछन् ।

यस्तो अवस्थामा मन्त्रालयले साग आयोजनाका लागि कुनै अमुख व्यक्तिलदाई कार्यकारी जिम्मेवारी दिएर सागको आयोजनालाई अगाडि बढाउन सक्ने सम्भावना पनि रहेको छ । नभए, राखेप आफैसँग पनि बोर्ड रहेकाले बोर्डलाई जिम्मा लगाएर सागको तयारी अगाडि बढाउनने विकल्प पनि सरकारसँग छ । तर, त्यसमा पनि सरकारले तिव्र गतिले काम अगाडि बढाउनु जरुरी छ ।

कुनै पनि काम गर्न इच्छा शक्ति आवश्यक पर्छ तर, सागको सवालमा त्यो इच्छाशक्ति सरकारमा देखिएको छैन । कार्यक्रममा भाषण गर्दा खेल क्षेत्रको चिन्ता व्यक्त गरेकै छन् । रुचि देखाएकै छन् तर, व्यवहारमा नदेखिएको खेल क्षेत्रका विश्लेषकहरुको भनाइ छ ।

नेपालमा आयोजना भएको यसअघिको आठौं सागमा प्राविधिक कमिटीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा पनि अहिलेकै अवस्थामा साग तोकिएकै समयमा हुनेमा आशंक व्यक्त गर्छन् ।

‘दक्षिण एसियाली खेलकुद महाकुम्भका रुपमा लिइने प्रतियोगिताले अहिलेसम्म पाउनु पर्ने चर्चा र जुन किसिमको माहौल बन्नु पर्ने हो त्यो बन्न सकेको छैन, उनी भन्छन्,‘झट्ट हेर्दा साग तोकिएकै समयमा हुनेमा शंका गर्ने ठाउँ प्रसस्तै छन् ।’

चार महिनाको समय मात्र बाँकी रहँदा खेलाडीको बन्द प्रशिक्षण शुरु हुन नसकेको र पूर्वाधारहरु निर्माण भइनसकेको कारण अहिलेकै अवस्थामा प्रतियोगिता आयोजना हुनेमा विश्वास गर्ने आधार नरहेको पूर्व अध्यक्ष थापाको भनाइ छ ।

सागको आयोजनाका लागि सवा ५ अर्ब बजेट आवश्यक पर्ने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । तर, उक्त बजेट कार्यान्वयन गर्ने कार्यविधि अहिलेसम्म बनि नसक्दा सागबारे आशंका उब्जिएको हो ।

पूर्व अध्यक्ष थापाले भने जस्तै ओलम्पियन दिपक बिष्ट पनि अहिलेकै अवस्थामा साग तोकिएको समयमा हुनेमा शंका व्यक्त गर्ने ठाउँ रहेको बताउँछन् । उनले भने,‘अहिलेसम्म सागका लागि कार्यविधि बनिसक्नु पर्ने हो । त्यो बन्न सकेको छैन् । खेलाडीको तयारीका लागि पनि बन्द प्रशिक्षण शुरु हुन सकेको छैन । तर, पनि सरकारी पक्षले साग समयमै गर्छौ भनिरहनु भएको छ । साग आयोजनालाई लिएर सरकार पक्ष चिन्तीत छ तर, काम अगाडि बढाउँन भने सकिरहेको छैन ।’

प्रतियोगिता आयोजनाकै लागि आयोजना गर्ने भन्दापनि देशको इज्जतको ख्याल गर्नु पर्ने विश्लेषकहरुका भनाइ छ । अहिलेसम्म पनि सागका लागि आवश्यक पर्ने कार्यविधि बनाउने विषयमा सरकार तथा खेलकुद मन्त्रालय गम्भिर नभएको स्पष्ट भन्दै सरकारको आलोचना भइरहेको छ । यहि समयमा नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव विहीन भएको छ । असार ९ गते तत्कालिन सदस्य सचिव केशव कुमार बिष्टको कार्यकाल समाप्त भएसँगै राखेप नेतृत्वविहीन छ ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले सागको तयारीमा सरकार तिव्र गतिले अघि बढीसकेको बताएका छन् । उनले कार्यविधि पास हुने चरणमा रहेको बताए ।

उनले भने‘अहिले कार्यविधि मन्त्रिपरिषद्मा छ । त्यहाँको समितिले अध्ययन गरीरहेको छ । अध्ययन पछि मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ । त्यहाँबाट आएर कार्यविधि अर्थ मन्त्रालय जानेछ र अर्थले त्यहीँ अनुसार बजेटको व्यवस्था गरेपछि तयारी अगाडि बढ्नेछ ।’

अहिले केही खेलहरुले सागको विषेश प्रशिक्षण गरिरहेका छन् । तर, तयारीको उचित वातावरण दिन नसकेको मन्त्री विश्वकर्माले स्वीकारेका छन् ।

केही दिन अगाडिमात्रै सदस्य सचिवमा आफ्नो कार्यकाल टुङ्ग्यार राखेपबाट विदा भएका पूर्व सदस्य सचिव केशव कुमार विष्टले खबरहबसँगको एक भेटमा भनेका थिए, कार्यविधि जेठ भित्र आइसक्नु पर्ने हो केही गरी ढिला भए साग तोकिएकै समयमा आयोजन गर्न चामत्कारिक रुपमा तयारी अगाडि बढाउनु पर्ने बताएका थिए ।

तेस्रो पटकका लागि मिति सारिएको सागलाई अहिले तोकिएको समयमा प्रतियोगिता आयोजना नभएको खण्डमा अन्तर्राष्टिय स्तरमा नेपालको विश्वास गुम्ने खतरा पनि छ । त्योसँगै खेलाडीहरुमा समेत निरासा छाउने ओलम्पियन बिष्ट बताउँछन् ।

१२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न भएपछि सन् २०१६ मा नेपालले १३ औं संस्करणको साग आयोजनाको जिम्मा पायो । प्रत्येक २ वर्षमा आयोजना हुने साग निर्धारीत समयमा भएको भए नेपालले गएको वर्ष नै आयोजना सम्पन्न गरीसक्नु पथ्यो ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले आयोजकको झण्डा हातमा पर्दै भनेका थिए, ‘प्रतियोगिता समयमै सम्पन्न गछौं ।’
तर, २०१८ मा आयोजना हुनुपर्ने साग भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइका कारण पटक—पटक सर्दैै आगामि डिसेम्बर १ देखि १० सम्म आयोजना हुनेभएको छ । काठमाडौं र पोखरामा आयोजना हुने सागका लागि युवा तथा खेलकुद मन्त्रालयले तयारी पनि थालिसकेको छ ।

गएको फागुनमा अन्तिम पटक आयोजनाको मिति सारेर फर्किएपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटाले जुनसुकै हालतमा पनि साग डिसेम्बरमा आयोजना गर्ने बताएका थिए । तर अहिलेसम्मको अवस्था हेर्दा समयमै सागको आयोजना हुनेमा खेलाडी र खेलक्षेत्रका जानकारहरु आशंका व्यक्त गर्छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १२ : १२ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार