युएईको विकासले नेपाललाई सिकाउने पाठ « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

युएईको विकासले नेपाललाई सिकाउने पाठ



काठमाडौं-संयुक्त अरब इमिरेट्स (युएई) लाखौँ नेपालीलाई रोजगारी दिने मुलुक हो । मरुभूमिमा अवस्थित मुलुक युएईको आर्थिक समृद्धि विश्वकै लागि उदाहरणीय छ । युएईका शहरहरु दुबई, अबुधाबी, अज्मन, शरजाह विश्वका समृद्ध शहरको सूचीमा पर्छन ।

युएईमा वैदेशिक रोजगारीका लागि गएका नेपालीहरुले हरेक वर्ष अर्बौँ रुपैयाँ बराबरको रेमिट्यान्स पठाउने गरेका छन् । जसले नेपाली अर्थतन्त्रलाई टेवा पुर्‍याउँदै आएको छ । युएई मध्यपूर्वको आर्थिक केन्द्र पनि हो । प्रविधि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन र अन्य क्षेत्रमा युएईको प्रगति चामत्कारिक भन्दा कम छैन ।

कुनै समय युएईको अवस्था निकै नाजुक थियो । मरुभूमिमा अवस्थित मुलुकको अवस्था कस्तो नै पो हुँदो हो । तर, युएईले आफूसँग भएको प्राकृतिक श्रोत खासगरी तेल र ग्यासलाई सदुपयोग गरी आजको अवस्थामा आइपुगेको हो ।

युएई अरब क्षेत्रको सबैभन्दा महत्वपूर्ण र आकर्षक आर्थिक केन्द्रको रुपमा विकसित मात्र भएको छैन, यो मुलुकले विश्वभरका व्यापारिक संस्थाहरु, प्रतिस्पर्धात्मक व्यवसाय र प्राविधिक कम्पनीहरुलाई आकर्षित गरिरहेको छ

नेपालसँग तेल र ग्याँसको खानी नै त नहोला, तर नेपाल प्राकृतिक श्रोत र साधनमा युएईभन्दा कम छैन । नेपालले आफ्नो प्रकृतिक श्रोत र साधन चिन्न र त्यसको सदुपयोग गर्न नसकेकाले नेपालको अवस्था यस्तो भएको हो भन्ने टिप्पणी पनि हुँदै आएको छ ।

तेलको पैसामा उभिएको मुलुकको संज्ञा दिइएपनि युएईको अर्थतन्त्र तेल र त्यसको आयमा मात्र सीमित छैन । युएईको अर्थतन्त्रलाई गैर–तेल आय र अन्य विविध आर्थिक क्षेत्रले पनि उत्तिकै मात्रामा योगदान दिँदै आएका छन् ।

अहिले युएई अरब क्षेत्रको सबैभन्दा महत्वपूर्ण र आकर्षक आर्थिक केन्द्रको रुपमा विकसित मात्र भएको छैन, यो मुलुकले विश्वभरका व्यापारिक संस्थाहरु, प्रतिस्पर्धात्मक व्यवसाय र प्राविधिक कम्पनीहरुलाई आकर्षित गरिरहेको छ । युएईको दुबई शहरमा रहेको संसारको सबैभन्दा अग्लो र प्रतिष्ठित बुर्ज खलिफा भवनले युएईको समृद्धिको उदाहरणलाई उभ्याएको छ ।

इतिहासदेखि अहिलेसम्म

बेलायतको संरक्षणमा तत्कालीन समयमा फारसको खाडीमा स्थानीय शासकहरुले शासन गरिरहेका स–साना राज्यहरुले सन् १९७१ मा पूर्ण रुपमा स्वतन्त्रता पाए । त्यसलगत्तै ती राज्यका शासकहरुले राज्यहरुको संघ निर्माण गर्ने तयारी थाले ।

त्यसै अनुसार खाडी क्षेत्रमा रहेका अबुधाबी, दुबई, शारजाह, फुजइरा, अजमन, उम अल कुवैन, रास अल कइमा, बहराइन र कतारका शासकहरुले आफ्नो राज्यलाई एकीकरण गरी संघीय प्रणाली निर्माण गर्ने विषयमा छलफल शुरु गरे ।

तर, बहराइन, कतार र रास अल कइमाले भने त्यस किसिमको संघमा सहभागी नहुने जनाएपछि बाँकी रहेका ७ राज्यहरु अबुधाबी, दुबई, शारजाह, फुजइरा, अजमन र उम अल कुवैन शासकहरुले सन् १९७१ डिसेम्बर २ का दिन आफ्ना राज्यलाई संघीय शैलीमा लगेर संयुक्त अरब इमिरेट्स नामक नयाँ मुलुकको घोषणा गरे । रास अल कइमाले पछि सन् १९७२ को फेब्रुअरीमा युएईमा सामेल हुने घोषणा गर्यो । यसरी युएई भन्ने मुलुकको स्थापना भयो ।

योजनाबद्ध विकास, प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र प्रणालीको अभ्यास, तेल निर्यातको आयको गैर–तेल क्षेत्रमा लगानी लगायतका कारणले युएईको विकास द्रूतगतिमा भएको हो

युएईमा तेलको खानी पत्ता लाग्नुअघि सन् १९५० को दशकसम्म त्यहाँका मानिसहरु सामान्य व्यापार र माछा मारेर जीविका चलाउँथे । त्यस क्षेत्रबाट फारसको खाडीमा समुद्री लुटेराको बिगबिगी पनि उत्तिकै हुने गथ्र्यो । मरुभूमिमा रहेकाले त्यस क्षेत्रको अवस्था निकै दयनीय थियो ।

आर्थिक कारोबार र व्यापारिक क्रियाकलाप त्यतिधेरै हुँदैनथ्यो । सन् १९६० को दशकको शुरुमा युएईमा तेल पत्ता लाग्यो । तेल पत्ता लाग्ने बेला पनि त्यहाँका स–साना राज्यहरु बेलायतकै संरक्षणमा रहेकाले बेलायती र अमेरिकी तेल कम्पनीहरु त्यहाँ तेल उत्खनन गर्न पुगे ।

एशियाली मुलुकहरु जापान, दक्षिण कोरिया, सिङ्गापुर, ताइवान तथा अन्य युरोपेली मुलुकहरुले त्यतिबेला तीब्र रुपमा पूर्वाधारको विकास गरिरहेकाले त्यहाँ तेलको ठूलो माग थियो । त्यस मौकालाई सदुपयोग गर्दै युएईबाट ठूलो मात्रामा तेल निर्यात हुनथाल्यो । तेलको निर्यातबाट त्यहाँ आय पनि बढ्न थाल्यो ।

तेलबाट आय बढ्न थालेपछि बेलायतबाट पूर्ण स्वतन्त्रताको माग पनि उठ्न थाल्यो । त्यही अनुसार सन् १९७१ मा बेलायतले ती राज्यहरुको संरक्षण आफ्नो जिम्मेवारीमा नरहेको घोषणा गर्यो । यद्यपि त्यहाँ विदेशी तेल कम्पनीलाई उत्खनन गर्ने स्वन्त्रता भने खोसिएन ।

अरब मुलुकहरु इजिप्ट र सिरियाले इजरायलमाथि सन् १९७३ को योम किपुर पर्वमा युद्ध घोषणा गरेसँगै अरब मुलुकहरुले तेलमा नाकाबन्दी लगाए । यसले पश्चिमा मुलुकमा तेलको हाहाकार मच्चियो भने तेलको मूल्य ह्वात्तै बढ्यो । यसले युएईमा तेल निर्यातको आय पनि बढ्यो ।

तेलमा नाकाबन्दीको सबैभन्दा ठूलो मार भने विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र तथा औद्योगिक मुलुक अमेरिकालाई पर्‍यो । अमेरिकाले आफ्नो उद्योग र अर्थतन्त्रलाई चलाउनका लागि तेलको उत्खननमा धेरै पहिल्यै देखि नै चासो दिइरहेको थियो। सन् १९७३ को नाकाबन्दीपछि अमेरिकाले तेलको सुरक्षामा बढी नै चासो दिन थाल्यो ।

त्यसमाथि सन् १९७९ मा त्यतिबेलाको सबैभन्दा महत्वपूर्ण तेल निर्यातकर्ता मुलुक इरानका शासक शाह मोहम्मद रेजा पहलावीविरुद्ध इस्लामिक क्रान्ति भयो भने त्यसपछि इरानमा तेल उत्पादनमा कमी आयो । त्यसपछि फेरि विश्वमा तेलको मूल्यमा वृद्धि भयो ।

त्यसपछि अमेरिकाले युएईलगायत तेलमा सम्पन्न मुलुकहरुसँग सम्बन्धलाई बढाउँदै लग्यो । त्यसअनुसार युएईमा अमेरिकी कम्पनीको लगानी पनि बढ्दै गयो । अमेरिकाले त्यहाँ तेलमा मात्रै नभई अन्य व्यावसायिक क्षेत्रमा पनि लगानी बढायो ।

यसरी भयो युएईको विकास

आखिर के कारण छ जसले मरुभूमिमा अवस्थित युएईलाई यतिको समृद्ध बनायो ? युएई आफैँमा सार्वभौम मुलुक भएपनि त्यहाँको सरकार प्रणाली संघीय हो। विभिन्न अमिरले शासन गर्दै आएका स–साना ७ राज्यहरु आन्तरिक मामिला, आर्थिक मामिला, सामाजिक मामिला व्यवस्थापन गर्न एक हदसम्म स्वतन्त्र छन् ।

युएईले तेल निर्यातबाट भएको आयलाई आर्थिक विविधिकरण अन्तर्गत निर्यातमुखी, उत्पादनमुलक, प्राविधिक, पूर्वाधार निर्माण, कृषि, पर्यटन, उर्जा, बैंकिङ्लगायतका क्षेत्रमा लगानी गरेको छ

त्यसैले कुनै एक वा दुई नेताको कारणले गर्दा युएईको अवस्था यस्तो भएको हो भन्न मिल्ने अवस्था छैन । तर, त्यहाँका सबै ७ इमिरेट्सहरुको प्रयासले युएई धनी बनेको भन्दा दुईमत नहोला ।

त्यहाँको विकासको कारण हेर्दा त्यहाँ तेल निर्यातबाट भएको आम्दानीलाई त्यहाँका इमिरेट्सहरुले उत्पादनमूलक र नाफामूलक क्षेत्रमा लगानी गरेको कारण युएईको आर्थतन्त्रले फड्को मारेको बताइन्छ । खासगरी योजनाबद्ध विकास, प्रतिस्पर्धात्मक बजार अर्थतन्त्र प्रणालीको अभ्यास, तेल निर्यातको आयको गैर–तेल क्षेत्रमा लगानी लगायतका कारणले युएईको अवस्था यस्तो भएको हो ।

युएईले तेल निर्यातबाट भएको आयलाई आर्थिक विविधिकरण अन्तर्गत निर्यातमुखी, उत्पादनमुलक, प्राविधिक, पूर्वाधार निर्माण, कृषि, पर्यटन, उर्जा, बैंकिङ्लगायतका क्षेत्रमा लगानी गरेको छ । त्यसबाहेक युएईले मानव संशाधनमा पनि उत्तिकै लगानी गरेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी, मनोरञ्जन, सञ्चार, खेलकुदमा गरेको लगानी पनि उल्लेख्य छ यसकारण युएईको आर्थिक बृद्धि हरेक वर्ष बढिरहेको छ भने त्यहाँका नागरिकको जीवनस्तर पनि बढिरहेको छ ।

नेपालले पनि मुलुकभित्र रहेका प्राकृतिक श्रोत, साधन र आफ्नो पहिचानलाई पहिचान गरी त्यसमा लगानी गर्न सके आर्थिक समृद्धिको बाटो समात्ने टिप्पणी नभएका होइनन् । त्यस्तै नेपालले यहाँ रहेका पर्यटकीय गन्तव्य, जलश्रोत, उर्जालगायतमा लगानी आकर्षित गर्न सक्छ ।


भर्खर

0