नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने, २० गुरुयोजना तयार | Khabarhub Khabarhub

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने, २० गुरुयोजना तयार


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम शुरु गरिएको छ ।

विमानस्थलबाट सबै प्रकारका अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य शुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।

ठूला बोइङ र जेट विमानसमेत उड्न मिल्ने गरी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा आइसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

चार चरणमा तयार गरिने सो विमानस्थलको निर्माणका लागि साढे १२ अर्ब रुपियाँ खर्च हुनेभएको छ । सबै चरणका काम अन्तरसम्बन्धित भएकाले एकैसाथ शुरु गरिएका छन् । निर्धारित समयमा विमानस्थल तयार गर्ने लक्ष्य छ, प्रमुख ठाकुरले भने ।

नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजनालाई गत साता मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सार्वजनिक गरिएको थियो । हाल एटीआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस, बोइङ र जेटजस्ता ठूला विमान पनि उडाउन मिल्ने बताइएको छ ।

गुरुयोजना अनुसार विमानस्थलको धावनमार्ग हालको रनवे ३ सी श्रेणीको अर्थात् एक हजार ५२४ मिटरबाट वृद्धि गरी फोर सी क्याटेगरीमा दुई हजार ४४५ मिटर लामो बनाइने छ । त्यसो गर्दा एयरबस ३२० एनइओ मोडेलका ठूला जेट विमान सहजै उडान गर्न सक्ने विमानस्थल तयार हुनेछ ।

नयाँ गुरुयोजना अनुसार अगाडि बढ्दा विमानस्थलका लागि १०० बिघा जग्गा थप गर्नुपर्ने छ । हाल १६६ बिघा क्षेत्रफल रहेको विमानस्थलका लागि थप १०० बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुने छ ।

योजना अनुसार विमानस्थलको निर्माण चार चरणमा पूरा गरिने छ । पहिलो र दोस्रो चरणको काम अहिले शुरु गरिसकिएका छन् । पहिलो चरणमा रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम गरिने भएकाले सोका लागि प्रक्रिया शुरु गरिसकिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ । सो चरणमा तीन अर्ब ५० करोडभन्दा बढी बजेट खर्च गरिने छ ।

गुरुयोजनामा दोस्रो चरणका लागि सन् २०२५ भित्र दुई अर्ब आठ करोड लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटिएका छन् ।
तेस्रो र चौथो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ । जसमा सात अर्ब ४० करोड खर्च हुने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।

दैनिक ४० वटा सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलबाट अहिले करिब एक हजार एक सय यात्रु दैनिक उड्ने गरेका छन् । पश्चिम नेपालका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश ५ गरेर तीनवटा प्रदेशलाई प्रत्यक्ष रूपमा एक अर्कासँग जोड्नुका साथै सङ्घीय राजधानीसँग पनि जोड्ने कार्य गर्दै आएको छ ।
बाँकेका पर्यटन व्यवसायी भीमलाल कँडेलले विमानस्थलको स्तरोन्नति गर्ने कार्य गुरुयोजना अनुसार नै निर्धारित समयमा पूरा गराउन सकिए यो क्षेत्रले विकासमा ठूलो फड्को मार्ने बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : १० बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्