दशैंको पहिलो दिन, यस्तो छ जमरा राख्ने पूजाविधि

खबरहब

आइतवार, असोज १२, २०७६

Reading Time: 3 minutes

दशैंको पहिलो दिन, यस्तो छ जमरा राख्ने पूजाविधि

काठमाडौं- प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारंभ हुने नेपालीको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । यस दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।

यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी-देवताको आवाहन पनि गरिन्छ ।

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ ।

जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन शुरु भएको हो ।

घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ ।

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचार अथवा षोडशोपचारले पूजाआजा गरिन्छ ।

बडादशैंको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनादेखि घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

घटस्थापनाको बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमाथि जौ छरिन्छ ।

यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर भगवती दुर्गाको प्रिय वस्तु भएकोले जौ छरी भगवती दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ ।

दशै‌का नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता: ।

घटस्थापना गर्ने विधि

लिपपोत गरी चोख्याइएको शुद्ध स्थान अथवा मंदिरमा घटस्थापना गर्नुपर्छ । प्रारंभमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्नुपर्छ ।  यसपाली घटस्थापनाको साइत बिहान १०ः ३५ मा शुभ रहेको छ।

थालीमा देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ ।

यसै विधिलाई घटस्थापना भनिन्छ । यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ । नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ । यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ ।

पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे ।

गृहे गृहे शक्तिपरैर्ग्रामे ग्रामे वने वने ।।

स्नातैः प्रमुदितैर्हृष्टैर्ब्राह्मणै: क्षत्रियैः नृपैः ।

वैश्यैः शूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्च मानवैः ।।

नवरात्रमा सबै मानवले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नुपनि पर्दछ । नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुन्छ । नित्यकर्म जस्तै नियमित पूजापाठ गर्नुपर्छ । कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्नुपर्छ ।

भर्खर

0