लिलाबहादुरको कीर्तिमानः काठमाडौंबाट प्रस्थान गरेको हप्ता दिनमै सगरमाथाको सफल आरोहण

आरोहणको जिम्मा लिएको कम्पनीले गर्‍यो बेइमानी, भगवान बनेर आए बाटोमा भेटिएका साथी

एकराज बास्तोला

शनिबार, असार १४, २०७६

Reading Time: 7 minutes

लिलाबहादुरको कीर्तिमानः काठमाडौंबाट प्रस्थान गरेको हप्ता दिनमै सगरमाथाको सफल आरोहण

काठमाडौं- ३७ वर्षे लिलाबहादुर बस्नेतले ५ दिनमै सगरमाथा आरोहण गरी कीर्तिमान राखे । उनी गत मे १८, बिहान ७ बजे काठमाडौंबाट लुक्लाका लागि उडान भरी २२ मे का दिन बिहान ६ बजे सगरमाथाको शिखरमा पुगेका थिए ।

उनले काठमाडौंबाट प्रस्थान गरेको एक साताभित्रै सगरमाथाको सफल आरोहण गरिसक्ने लक्ष्य निर्धारण गरेका थिए । यसैअनुसार उनले सरकारसँग सगरमाथा आरोहणका लागि १० दिनको अनुमति लिएका थिए । सरकारले भने सामान्यतः सगरमाथा आरोहणका लागि ४० देखि ६० दिनको मात्र अनुमति दिने गरेको छ । सामाजिक, धार्मिक र जातीयलगायतका सबै भेदभावको अन्त्य गर्ने अभियानसहित उनले ऐतिहासिक आरोहण शुरु गरेका थिए । भित्री रुपमा सगरमाथा आरोहणका लागि तत्पर उनका लागि वाह्य बाधा र अफ्ठ्यारोले केही फरक पर्दैनथ्यो । त्यही दृढ अठोट कै कारण सबै चुनौतिलाई पार गर्दै उनी सगरमाथाको शिखरमा पुगे ।

उनको यो पाचौं सफल सगरमाथा आरोहण हो । यसअघि उनले सन् २००७, २००८, २००९ मा नेपालतर्फबाट र सन् २०११ मा तिब्बततर्फबाट सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सन् २०१७ मा पनि सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर त्यसबेला उनी साउथ कोलभन्दा माथि पुग्न सकेनन् ।

उनले पछिल्ला २० वर्ष पदयात्रामा बिताएका छन् । उनी सगरमाथा आरोहणका लागि भने सन् २००५ बाट मात्र आकर्षित भएका हुन् । त्यसबेला उनी पर्यटकका लागि पदयात्रा गराउने कम्पनीमा सहयोगी (भान्से) का रुपमा कार्यरत थिए ।

यसअघि नै ४ पटक सगरमाथाको आरोहण गरिसकेका बस्नेतले सगरमाथामा केही नयाँ गर्ने सोचेर सबैभन्दा छोटो समयमा सगरमाथाको आरोहण गर्ने लक्ष्य लिए । सोही अनुसार उनले सन् २०१४ मै एक साता भित्र सगरमाथाको शिखरमा पुगिसक्ने अठोट लिएका थिए । तर, त्यसबेला अप्रिल १८, २०१४ मा सगरमाथाको खुम्बु क्षेत्रमा गएको हिमपहिरोका कारण उनको त्यो लक्ष्य अधुरै रह्यो । उक्त हिमपहिरोमा परी १६ शेर्पाहरुले ज्यान गुमाएका थिए । आफ्नो लक्ष्यबाट पछि हटेका उनी त्यसपछि काठमाडौं फर्के ।

उनले सन् २०१५ मा पनि यो लक्ष्यलाई निरन्तरता दिने अठोट लिएका थिए । तर, विनाशकारी भूकम्पपछि सगरमाथामा गएको हिमपहिरोका कारण त्यस वर्ष पनि त्यो पूरा हुन सकेन । तैपनि हिम्मत नहारेका उनले यसअघिका अनुभवबाट पाठ सिक्दै यो वर्ष भने आफ्नो लक्ष्य पूरा गरिछाडे ।

आधार शिविरका पालमा पर्याप्त स्थान र खानेकुरा भएपनि त्यहाँ उनका लागि खाना र बस्ने ठाउँ नभएको बताइयो । पछिमात्र उनका साथी टासी शेर्पाले पालमा पर्याप्त खानेकुरा र बस्ने स्थान रहेको कुराको खुलासा गरेका थिए । बस्नेतलाई विश्वासघात भएको महशुस भयो ।

यस पटकको सगरमाथा आरोहणका क्रममा उनले थुप्रै समस्याको सामना गर्नु पर्‍यो । प्रतिकुल मौसमभन्दा पनि आरोहणका लागि जिम्मा लिएको सभेन समिट ट्रेक्स कम्पनीले पर्याप्त रुपमा आवश्यक सहयोग नगर्दा आरोहणमा कठिन भएको उनले खबरहबलाई बताए । उक्त कम्पनीले उनको सगरमाथा अभियानका क्रममा पर्याप्त उपकरण र औजार उपलब्ध नगराएको उनको आरोप छ ।

कम्पनीले पर्वतारोहणमा लाग्ने सबै सेवाको शुल्क लिएपनि कुनै पनि सेवा उपलब्ध नगराएको उनको भनाइ छ । उनले उक्त कम्पनीमा व्यावसायिकता नभएको र कम्पनीले गराउने पदयात्रा तथा पर्वतारोहण अभियान पूर्ण रुपमा अव्यवस्थित हुने गरेको समेत आरोप लगाएका छन् । सगरमाथा आधार शिविरमा कम्पनीमा काम गर्ने मिङ्मा शेर्पाले अत्यावश्यक औजार तथा उपकरण उपलब्ध नगराएको उनले बताए ।

अन्तिम समयमा उनका साथी पेम्बा नोर्बु शेर्पाले उनलाई आवश्यक पर्ने औजार र उपकरण दिएर सहयोग गरेका थिए । आधार शिविरबाट आरोहण यात्रा रातिको दुई बजेभन्दा अघि नै शुरु गर्ने तयारी भएपनि कम्पनीको गैरजिम्मेवार व्यवहारका कारण उनको आरोहण बिहानको साढे १० बजेपछिमात्र शुरु भएको थियो ।

कम्पनीले खानाको प्रबन्ध नगरेका कारण उनी साउथ कोलसम्म भोकै आरोहण गर्न बाध्य भएको उनले सुनाए । खानाका विषयमा उनले सोधीखोजी गर्दा खान लिन पुनः आधार शिविरसम्म पुग्नुपर्ने जवाफ उनले पाएका थिए । तैपनि प्रतिकूलताका बाबजुद उनले हिम्मत भने हारेनन् । कम्पनीले खडा गरेका पालमा उनका लागि कुनै ठाउँ थिएन । यसै कारण आरोहणका क्रममा उनले पर्याप्त आरामसमेत गर्न नपाएको गुनासो गरे ।

उनले खबरहबसँग दुखेसो पोख्दै कम्पनीले अराोहणबारे सूचना दिनसमेत हिचकिचाएको बताए । आरोहण गर्ने क्रममा आधार शिविरमा रेडियो सम्पर्कसमेत हुन सकेको थिएन । आधार शिविरका पालमा पर्याप्त स्थान र खानेकुरा भएपनि त्यहाँ उनका लागि खाना र बस्ने ठाउँ नभएको बताइयो । पछिमात्र उनका साथी टासी शेर्पाले पालमा पर्याप्त खानेकुरा र बस्ने स्थान रहेको कुराको खुलासा गरेका थिए । बस्नेतलाई विश्वासघात भएको महशुस भयो ।

आफुलाई आरोहण गराउने जिम्मा लिएको कम्पनीले असहयोग गर्दा पनि उनी आफ्नो लक्ष्यबाट बिचलित भने भएनन् । यही क्रममा उनलाई अर्कै के–२ समिट कम्पनीले खानेकुरा र बस्ने स्थान उपलब्ध गराएको उनले बताए । त्यसअघि शेर्पाले उनलाई क्याम्प–२ मा कम्पनीले आफूलाई केवल ३ सिलिण्डर अक्सिजन दिएको भनी झुक्याएका थिए ।

उनले साउथ कोलमा नै अक्सिजनको सिलिण्डर प्रयोग गरिसकेका थिए । उनीसँग जम्मा दुई सिलिण्डरमात्र बाँकी थियो । यस्तो अवस्थामा बाटोमा चलिरहेको ट्राफिक जामका बेला ती सिलिण्डर पनि सकिने र सगरमाथाको शिखरमा श्वास फेर्न समस्या हुनसक्ने भय थियो उनमा । तर, पेम्बा दोर्जेले नै अक्सिजन दिएर उनलाई मृत्युको मुखबाट जोगाएका थिए ।

रेडियो सम्पर्क नभएपछि उनी थप अक्सिजनको सिलिण्डर मगाउने अवस्थामा थिएनन् । तर पेम्बा दोर्जेले दिएको अक्सिजन उनका लागि वरदान साबित भयो । उनकाअनुसार हिमाल आरोहण गर्दा पर्याप्त अक्सिजन भएन भने निद्रा लाग्ने र त्यसले आरोहण अभियानलाई नै खतरामा पार्न सक्ने हुन्छ । त्यसैले उनी पेम्बा दोर्जेले दिएको अक्सिजन लिएर नसुती नै साउथ कोलबाट सगरमाथाको शिखरतर्फको यात्रामा अघि बढे ।

सन् २०१९ को अभियान सकिएसँगै उनी अर्को वर्ष पनि सगरमाथामा नयाँ अभियानका साथ फर्किने मनशायमा छन् । अर्को वर्षको अभियान चाहिँ एकै सिजनमा ४ पटक सगरमाथा चढ्ने रहेको उनले सुनाए । उनले त्यो अभियान आफ्नो व्यक्तिगत कीर्तिमानका लागि भन्दा पनि सहयोगका हात अघि बढाउनका लागि मानिसहरुलाई आह्वान गर्ने उद्देश्यबाट प्रेरित रहेको बताए ।

उनको जीवनले नयाँ मोड लिएको छ । उनले हिमाली क्षेत्रमा भरियाका रुपमा काम शुरु गरेका थिए । शिक्षा नलिएका उनले जीवनयापनका लागि हिमाललाई नै चुने । उनी शुरुमा आरोहीहरुको झोला बोक्ने गर्थे । सगरमाथा आरोहीको झोला १५ किलोको हुने गर्छ । आधार शिविरबाट दक्षिण क्याम्प–२ सम्म झोला बोक्ने भरियाले ८० अमेरिकी डलरसम्म कमाउँछन् । त्यस्तै, क्याम्प–२ देखि साउथ कोलसम्म ८–१० किलोको झोला बोक्ने भरियाले १५० अमेरिकी डलरसम्म कमाउँछन् ।

तर, भरियाको ज्याला भने ट्रेकिङ एजेन्सीले नै मिलाएको हुन्छ । भारी बोक्ने कामका लागि ट्रेकिङ एजेन्सीले आरोहीसँग २ सय अमेरिकी डलर र थप बोनससम्म लिने गरेको छ । त्यो पैसा उनीहरुबीच बाँडिन्छ । त्यस्तै, अक्सिजनको अभाव हुने भएकाले भरियाले साउथ कोलबाट सगरमाथाको शिखरसम्म कम्तीमा ७ वटा अक्सिजन सिलिण्डर बोक्नुपर्छ ।

हिमाल आरोहणमा थुप्रै आरोह–अवरोह भोगेका उनी यसै पेशामा रमाउन चाहन्छन् । तर सन्तानको भविष्यका विषयमा भने उनको सोचाइँ के होला ? उनी आफ्ना छोराहरुलाई पर्वतारोहणको क्षेत्रमा लागून् भन्ने चाहन्छन् ? जवाफमा उनी भन्छन्, ‘अहँ, म जीवनभर अशिक्षित नै रहेँ । मैले भरियाका रुपमा काम शुरु गरेपनि अहिले आफैँ पर्वतारोही भइसकेको छु । पर्वतारोहणका लागि शारीरिक र मानसिक सबलता आवश्यक पर्छ । म मेरा छोराहरुले धेरै पढुन् भन्ने चाहन्छु, त्यसपछि उनीहरु सुखसँग जीवन बिताउन सक्नेछन् ।’

उनी सगरमाथाको फोहोर उठाउनु पर्नेमा जोड दिन्छन् । सगरमाथामा पुराना पाल, खानेकुराका प्याकेटहरु, आरोहीका शव, दिसापिसाब र अरु धेरै फोहोर रहेको बताउँदै त्यसलाई सफा गर्नुपर्ने उनको जोड छ । उनी भन्छन्, ‘हिमाल हाम्रो गौरव हो, हामीले यसको संरक्षण गर्नुपर्छ ।’

 

भर्खर

0