पानी र मकै बेचेर दैनिकी गुजार्ने ८१ वर्षीया बालकुमारी आमा

 पानी बेच्न सिन्धुपाल्चोकदेखि काठमाडौंसम्म

सविना कार्की

शनिबार, असार १४, २०७६

Reading Time: 8 minutes

पानी र मकै बेचेर दैनिकी गुजार्ने ८१ वर्षीया बालकुमारी आमा

काठमाडौं– प्राय हरेक दिन, बसन्तपुरको एक कुनामा टुसुक्क बसिरहने एक बृद्धा। जो सधैं ती व्यक्तिको प्रतिक्षामा हुन्छिन्, जसले उनको पानी किनिदेओस्।

कपाल फुलेर टाउको सेतै देखिन्छ। अनुहारको छाला पनि मुजा परिसकेको छ। सामान्यतः घरमा बसेर आराम गर्नुपर्ने हो उनले। तर, आफूसहित सन्तानको पनि पेट पाल्नका लागि सडकको धूलो पिएर पानी बेचिरहेकी छन् ८१ वर्षीया बालकुमारी कार्की।

सिन्धुपाल्चोक घर भएकी बालकुमारी जीविकोपार्जनकै लागि विगत ५ वर्षदेखि काठमाडौंको वसन्तपुरमा बोत्तलको पानी (मिनिरल वाटर) बेचिरहेकी छन्।

उनको धेरै ठूलो महत्वकांक्षा छैन, नत चाहना नै। उनी मनमनै यहि कामना गरेर धूलाम्य सडकको छेउमा बसिरहेकी हुन्छिन्– बाटोमा हिँड्नेहरुले एक बोत्तल पानी किनिदिए हुन्थ्यो !

घरी-घरी बाटोमा उठेरै पनि मानिसहरुलाई सोध्छिन् ‘बाबु पानी चाहियो कि ? नानी पानी किन्नुहोस् न !’

बुढी आमाको त्यो मिठो बोली हरकोहीले नकार्न सक्दैनन्। उनीहरु सहजै पानी लिन्छन्। आमा मख्ख पर्छिन्। पानी बिक्रि हुँदा उनको मुहारमा खुसी छाउँछ तर कोही व्यक्तिले पानी पिउन मन छैन भनिदिँदा उनी खिस्रिक्क हुन्छिन्।

उनको अवस्था र उमेर हेर्दा बाटोमा उभिएर कराएर पानी बेच्न सक्ने अवस्था भने छैन। त्यै पनि जेनतेन उनी कहिले उभिदैँ कहिले बस्दै पानी बेचिरहेकी छन्।

वसन्तपुर क्षेत्र प्रायः मानिसहरुको भीडभाड हुने ठाउँ हो। बिहान दिउँसो र साँझ जुनसुकै समय आनन्दको अनुभुति लिनकै लागि पनि मानिसहरु त्यहाँसम्म पुग्छन्।

बिहीवार पनि साँझको ६ बजिसकेको थियो। घाम अस्ताउँदै थियो। तर त्यहाँको माहोल झनै रमाइलो बनिरहेको थियो ।

यसैबीच बालकुमारीको आँखा पर्यटक हिडिरहेका ठाउँमा पुगेछन्। दुइटा हातमा एक-एक बोत्तल पानी लिदैँ उनी त्यहाँ पुगिन्।

‘मलाइ अंग्रेजी बोल्न आउँदैन पानी लिदिनुस्न’ उनले भनिन्। त्यी पर्यटकले बुझे या बुझेनन् आफुहरुको हातमा पानी थमाउन लागिसकेपछि भने उनीहरुले सय रुपैया झिकेर आमाको हातमा राखिदिए। आमाले मख्ख पर्दै भनिन् ‘तिम्रो जय होस् बाबु ! पशुपतिले रक्षा गरुन’।

बाटोमा हिड्नेहरु अचम्म मानेर हेर्दै थिए। पानी नकिन्नेहरुले पनि आमाको हातमा ५०, सय रुपैयाँ थमाइदिने गर्थे। आमा खुसी हुदैँ कम्मरमा बाधेको त्यो सेतो पटुकी फुकाउँदै पैसा राख्थिन्।

पानी बेच्ने क्रममा बेलुकीको साढे ६ बजिसकेको थियो। दिनभरी चार पोका पानी बेचिसेककी बालकुमारीलाइ अर्को पोको पनि बेच्न मन लागेछ। ‘आज त अर्को पनि बेच्न सक्छु क्यारे’ खबरहबसँग कुरा गर्दै उनले भनिन् ‘म पानी ल्याएर आउछु बस्नुस् है पानी बेचि सकेर नानीसँग कुरा गर्नेछु’।

३० मिनेटको अन्तरमा अर्को पोकोमा रहेको १२ बोत्तल पानी पनि बेचिन् उनले। त्यसपछि भने थकाइ महशुस गर्दै चिसो भुइमा टुसुक्क बसिन् र विगतलाई कोट्याउँदै गफ गर्न थालिन्।

जन्म दोलखा कर्म सिन्धुपाल्चोक

बुढेसकालमा दिनभरी पानी बेच्ने बालकुमारीको घर दोलखा जिल्लाको मागादेउराली हो। वि.सं. १९९५ सालमा मागादेउरालीमा उनको जन्म भयो। परिवारको आर्थिक अवस्था कमजोर थियो। ‘खेतवारी कम, जहान धेरै, खाना लगाउन भने जस्तो कहाँ थियो र !’ विगतलाई स्मरण गर्दै बालकुमारी भन्छिन्।

‘घरमा खानालाई प्रशस्त अन्न हुदैनथ्यो आमाले एक पाथी कोदो र एक पाथी मकैमा मलाइ दिएछन्’ हाँस्दै उनले भनिन् ‘त्यो बेला १० वर्षकी थिएँ विहे भइहाल्यो नि’।

सिन्धुपाल्चोकको ८ किलोमा उनको बिहे भयो वि.सं. २००५ सालमा। सानै उमेरमा बैवाहिक सम्बन्धमा बाधिन् उनी। ‘बिहे पछि खेतवारीको काम गरिन्थ्यो’ उनले भनिन् ‘जसोतसो जीवन चलेकै थियो’।

दिनचर्या बित्दै गयो। उनी तीन छोरा र तीन छोरीको आमा बनिन्। ८ जनाको उनको परिवारमा खुसी छाएकै थियो। ‘तर, भगवानको आँखा लाग्यो नि ! ४० वर्षको उमेरमा श्रीमानको बित्नुभयो’ अचानक निराश हुदैँ उनले सुनाइन्।

भन्छिन्, ‘श्रीमानलाइ पहिलेदेखि दमको रोग थियो। स्यालको रक्सी खाएमा दमको रोग निको हुन्छ रे भनेर छिमेकीले सुनाए। पल्लो गाउँमा स्यालको रक्सी किन्न गएकी थिएँ’ आँखामा आशु बनाउँदै उनले भनिन् ‘रक्सी लिएर घर आइपुग्दा श्रीमान बितिसकेछन्’।

श्रीमानको मृत्युपश्चात ६ सन्तानको जिम्मेवारी उनकै काँधमा थुपारियो। आमा न हो, कर्तव्यबाट कहाँ पर सर्न सक्छिन् र ! अझ मजबुतका साथ उनी अघि बढिन्।

सिन्धुपाल्चोकबाट काठमाडौंसम्मको यात्रा

उनी पहिलो पटक २०६४ सालमा काठमाडौं आएकी थिइन् ‘सुत्केरी छोरीको हेरचाह गर्न’। ७० वर्षको उमेरमा काठमाडौं आएकी उनलाइ त्यसपछि भने सिन्धुपाल्चोक फर्कन मन लागेन।

केही समय छोरीकै डेरमा बसिन्। बुढेसकालमा काम खोज्दै शहरमा भौतारिन थालिन् बालकुमारी। त्यसो त धेरै आमाबुबाहरु बुढेसकालमा सन्तानले शहर लैजाने कुरा गर्दा पन्छिन खोज्छन् तर बालकुमारीलाइ किन गाउँ जान मन लागेन त ? उनी भन्छिन् ‘गाउँमा नि एक्ली थिएँ छोरा बुहारी छुट््टै बस्थे, त्यो पाखोमा पहिरो गइरहन्थ्यो जसरी नि काम गर्नै पर्ने हो यही गर्छु भनेर आँट गरेँ’।

७० वर्षको उमेरमा बालुवाको भारी

काम खोज्ने क्रममा शहरका कुनाकाप्चासम्म पुगेको बताउँदै उनी भन्छिन्, बुढी देखेर होला कसैले काम दिएनन् मलाइ’। अन्ततः ठेकेदारहरुसँग कुरा गरेर घर बनाउने ठाउँमा जाँदै बालुवा बोक्न थालिन् उनी।

२ वर्षसम्म बालुवाको भारीमै दिन बिताइन् बालकुमारीले। ‘दिनमा एक सय रुपैयाँ आउथ्यो उनले सुनाइन् ‘त्यैपनि पुगेकै थियो’।

काम नपाउन्जेल छोरीकै डेरामा बसेकी बालकुमारी ७२ वर्षको उमेरमा छुट्टै डेरा खोज्न पनि हिडिन्। ‘यस्ती बुढीले कहाँबाट ल्याएर भाडा तिर्छे छैन कोठा भन्दै धेरैले हेला पनि गरे’ स्मरण गर्दै उनले भनिन्।

त्यैपनि डेरा खोज्न छोडिनन्। अन्त्यमा इन्द्रचोकको एउटा घरमा सानो कोठा लिइन् र जसोतसो त्यही बस्न थालिन्।

टुँडिखेलमा घाँस काटेर बागबजारमा बेच्थिन्

‘सानो छँदादेखि भारी बोकेको त्यो ज्यानले भारी बोक्न नसक्ने संकेत देखाउन थाल्यो। उमेरले डाडो काटिसकेको थियो। ‘दिनभरी बालुवा बोक्दा रातभरी हातगोडा झमझमाउने गथ्र्यो’ उनले सुनाइन्।

त्यसपछि अर्कै काम गर्ने सोचिन्। टुडिखेलको सडकमा हिड्दा उनका आँखा पुग्यो टुडिखेलको मैदानमा। त्यहाँ आफुजस्तै साथीहरुले घाँस काटिरहेको देखिन्। उनी तुरुन्त बुझ्न गइन्।

साथीहरुबाट केही जानकारी लिएपछि भोलिपल्टबाट उनी टुँडिखेलमा घाँस काट्न जान थालिन्।

‘घाँस काट्थे, साना-साना मुठा बनाएर बागबजारमा लगेर बेच्थे’ उनले अनुभव सुनाउँदै भनिन् ‘एक मुठाको ५० रुपैयाँ आउथ्यो’।

गाउँमा जति काम गरेपनि पैसा कमाउन गाह्रो थियो’ उनले भनिन्, ‘अन्न उब्जाउने त्यही खाने मात्र थियो’ यहाँ आएर दुःख गरेर पैसा कमाउँदा त्यो जति खुसीको पल कहिल्यै लागेन’।

घास काट्न छोडेर पानी र मकैको व्यापार

मानिसले कतिपय कुराहरु देखेर सिक्ने र जान्ने गर्छन्। बालकुमारीको जीवनमा पनि त्यही लागु भयो। इन्द्रचोकको बसाइ वसन्तपुरको घुमाइ। ‘घुम्न वसन्तपुर गएका बेला पानी बेचेको देखेँ मलाइ फेरि पानी बेच्न मन लाग्यो’ उनले सुनाइन्।

‘अहिले त यही बसेर पानी बेच्न थालेको ५ वर्ष बितिसेकेको छ’ ठट्यौलो पारामा भनिन् । काम गरेर धेरै अनुभव लिएकी बालकुमारीले पानीको बोत्तलले जति खुसी केहिले नदिएको बताइन्।

त्यति मात्र होइन, बालकुमारीले बिहानको समय हनुमानढोकामा मकै पनि बेच्छिन्। परेवालाइ चहारा खुवाउन आउनेहरुले पनि बालकुमारीलाई उस्तै माया गर्छन्।

‘बिहानै उठ्छु क्षेत्रपाटी जान्छु ४ किलो मकै लिएर आउँछु, हनुमानढोकामा बसेर बेच्छु’ उनले भनिन्।

बालकुमारीले पानी र मकै बेच्न एकै समय शुरु गरेकी थिइन्। मकैबाट पनि केही आम्दानी गर्छिन् उनी। बिहान हनुमानढोका र दिउसो वसन्तपुरमा दिन बिताउँदै आइरहेकी छिन्।

पानी बेचेरै मासिक २४ हजार

उनी दिनमा ४ पोका पानी बेच्छिन्। एक पोकामा १२ बोत्तल हुन्छन्। पसलेले उनलाइ प्रतिबोतल १५ रुपैयाँका दरले लिन्छ भने उनले ३० रुपैयाँमा बेच्ने गरेको सुनाइन्। दिनमा ८ सय त पानी बेचेरै कमाउँछु’ उनले भनिन् ‘त्यति मात्र होइन आमा केही खानुस् है भनेर हातमा थमाइदिएको पैसा पनि तीन/चार सय त पुग्छ’।

‘पहिले त पानी किन्न कोही आउँदैनन् थिए बाबु नानीहरुले यसरी नै कुरा गरेर मेरो फोटो फेसबुकमा हाल्देछन् विदेशसम्म पुगेछ रे’ बालकुमारीले अचम्म मान्दै भनिन् ‘मोवाइल बाटै मेरो फोटो हेरेछन् नि, अहिले त धेरैले किन्छन्, माया नि गर्छन्’।

पानी बेचेरै छोराको उपचार

कुराकानीका क्रममा उनले आफ्नो पीडा लुकाउन सकिनन्। सन्तानको लागि यसरी काम गरिरहेको बालकुमारीले सुनाइन्। आफ्नो लागि मात्र भए मकै बेचेरै जीविको चलाउन सक्ने बताउँदै उनले भनिन् ‘मासिक ६ हजार त छोरालाइ गाउँ पठाउनुपर्छ’।

सानै उमेरमा टाउकोमा गम्भीर चोट लागेकाले उनका छोराले मानसिक सन्तुलन गुमाउन पुगेका थिए। गाउँमा जसोतसो गरेपनि गाउँ छोडेर आएपछि भने मासिक ६ हजार छोरालाइ निरन्तर पठाइरहेको उनले बताइन्।

‘औषधी खाउन्जेल ठिक हुन्छ’ खबरहबसँगको कुराकानीमा उनले भनिन् ‘औषधी सकिएपछि सन्तुलन ठिक हुदैँन, छोराको औषधी खर्चका लागि पनि म खटिनुपर्छ’।

एउटी आमाले आफ्नो सन्तान मानसिक सन्तुलन बिग्रेर हिडेको कसरी देख्न सक्छे र !’ ‘मलाइ त्यही भएको हो म बाचुन्जेल यसरी नै पानी बेचेर पनि छोरालाई औषधी खर्च जोहो गर्छु’ अन्तमा उनले भनिन्।

भर्खर

0