परिवारबाटै लुटिएका सानु भन्छन्–छोरीलाई सेनाको अधिकृत र राष्ट्रिय खेलाडी बनाउँछु « Khabarhub
Logo
१२ श्रावण २०७८, मंगलबार

परिवारबाटै लुटिएका सानु भन्छन्–छोरीलाई सेनाको अधिकृत र राष्ट्रिय खेलाडी बनाउँछु



काठमाडौं- मंगलबार मध्यान्तको १२ बज्दै थियो । नेपालको एकमात्रै रात्रिकालिन पढाइ हुने नक्सालस्थित नन्दी माध्यामिक विद्यालय पुग्दा । अलि पुरानो निलो टि–सर्ट र त्यस्तै, कालो ट्राउजरमा हातमा मोबाइल लिएर उभिएका थिए, सानु तामाङ ।

तामाङ परिवार विगत ४ वर्षदेखि स्कुलमै बस्दै आएका छन् । त्यसअघि नक्सालस्थित काल मोचन गुठीले सञ्चालन गरेको नन्दीकेसर बहालमा बस्दै आएका उनी ०७२ को भुकम्प पछि स्कुलमा बसाई सरे ।

विद्यालयसँगको उनको सम्बन्ध जति पुरानो छ त्यतिनै उनी स्कुलप्रति बफादार छन् । स्कुलका शिक्षक होइनन्, व्यवस्थापनको जिम्मेवारीमा पनि छैनन् । तर, उनी स्कुललाई असाध्यै माया गर्छन् ।

तामाङ र उनकी श्रीमती चन्द्रामाया तामाङ स्कुलमा कार्यालय सहयोगिका रुपमा काम गर्दै आएका छन् ।

उनले आफुलाई भन्दा बढी स्कुललाई माया गर्छन् । विद्यार्थीलाई पनि । त्यसो त, स्कुलले नै उनलाई गाँस र बाँस पनि दिएको छ ।

उनको दैनिकी स्कुलमै वित्छ । बिहान उठेदेखि राति खाटमा पल्टेर आँखा नचिम्लुन्जेल । फेरि उनको दैनिकी त्यसैगरी शुरु हुन्छ र खाटमै गएर टुंगिन्छ ।

विद्यालयका कक्षा कोठा सरसफाईदेखि स्कुलको गार्डेनका फुलमा पानी राख्ने, विद्यार्थीहरुको हेरचाह गर्नेलगायतका सबै काम उनीहरुले गर्छन् र जिम्मेवारी पनि ठान्दछन् ।

त्यहाँ तामाङ दम्पतीमात्रै होइन, ४ जना छोरीहरु पनि बस्छन् ।

सानु र उनकी श्रीमती स्कुलमै काम गर्छन् । २ छोरी १२ कक्षाको परीक्षा दिएर बसेका छन् भने दुई छोरी स्कुलमा पढ्छन् ।
०००
सानुको पुख्यौली घर भक्तपुर हो । तर, उनले आफ्नो जीवनका ५ दशक भन्दा लामो समय काठमाडौं मै बिताए । तत्कालीन भक्तपुर नमखेल र हालको सुर्यविनायक नगपालिका काक्रेबारीमा जन्मिएका उनलाई त्यो गाउँसँगको सम्झनाले दिने आनन्द भन्दा धेरै पीडा छ । कसैलाई उसको जन्मस्थानप्रति किन वितृष्णा हुन्छ ? जब मानिसहरुले त्यो ठाउँ वा त्यहाँका मानिसबाट पाउनु पर्ने स्नेह पाउँदैनन् त्यसपछि वितृष्णा जाग्छ ।

सानुले पनि त्यो ठाउँका मानिसहरुबाट स्नेर तथा साथ पाएनन् । बरु एकाएक एक्लिए, घरबाट, टोलबाट र समाजबाटै । तामाङलाई त्यो जिल्ला नै छोड्नु पर्ने गरी त्यो ठाउँसँगमा घटेको तीतो यतार्थ सम्झनामा आइरहँन्छ । अनि निक्कै मलिन अनुहार बनाएर भन्छन्,‘अरु त परदेशमा लुटिन्छन, म त घर मै परिवारबाट लुटिए ।’

उनले विगतको पीडा सुनाए, ‘मेरा बुबाका ४ दाजुभाइ थिए । बुबाका भाइहरुको सबैको सम्पत्ती जेठा ‘बा’को नाममा थियो । त्यतिबेलासम्म त ठीकै थियो । जब बुबा बित्नुभयो त्यसपछि सबै सम्पती त्यहिँ बस्ने सबै आफन्त मिलेर लुटे । खासमा त दिदीहरुले ।’

त्यसो त, सानु एक पटक सम्पत्तीका लागि दिदीहरुसँग कुरा गर्न भक्तपुर पनि पुगे । उनले परिवारको अंशबण्डा हुँदा उनलाई २ रोपनि जति जग्गा आउथ्यो । तर, पाएनन् ।

‘म एक पटक अंश चाहियो भन्दै त्यहाँ गएको पनि थिए । तर, त्यो सम्पती सबै दिदीहरुले आफ्नो नाममा पास गरिसकेका रहेछन् । मैले मेरो हक माग्दा झण्डै कुटाकुट नै भयो । अहिले सुकुम्बासी जस्तै भएर बसेका छौं ।’

त्यसपछि उनी कहिलै भक्तपुर गएनन् । त्यतिमात्रै होइन उनले भक्तपुरबाट बनाएको नागरिकता समेत फेर्ने योजना बनाए । नागरिकता नम्बर फेरिएन् तर, ठेगाना फेरे । ठेगाना बनाए काठमाडौं वडा नम्बर १ । आफन्तबाटै लुटिएका उनले आफ्नो जन्मस्थलदेखि सबै कुरा त्यागे । उनी आफ्नो सम्पती लुटिनुमा राजनीतिक मुद्दा पनि बाधक बनेको बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला छोरीले पनि छोरा सरह सम्पती पाउने भन्ने कुरा पनि गाइगुई चलिरहेको थियो । त्यति नै बेला म पनि ठगिएँ ।’

उनी सामू कानूनको ढोका ढकढकाउने बाटो खुल्ला थियो तर, आर्थिक समस्याले उनलाई यति थिचेको थियो कि उनलाई अदालतसम्म जाने हिम्मतसम्म आएन । ‘अदालत जाने कानूनी न्याय खोज्ने योजना भएपनि पैसा नभएकाले त्यो सम्भव भएन । अनि सबै माया मारे,’उनले तीतो वास्तविकता सुनाए ।

उनीसँगै बसेका उनका जेठी छोरी कुसुम र माहिली सुस्मा बुबाको कुरा गम्भिर भएर सुनिरहेका छन् । बाहिर स्कुलका विद्यार्थीले हो हल्लाले पनि कोठामा ध्वनी कम्पन भइरहेको छ । त्यो ध्वनीलाई उडाने गरी कोठाको दाँया झ्यालबाट मज्जाले हावा पनि बहिरहेको छ ।
०००
सानुले काठमाडौंमा ज्याला मजदुरीदेखि ट्याम्पो चलाउनेसम्मका काम गरे । उनी आफुले गरेका सबै काममा सन्तुष्ट छन् । तर, कहिलै पनि उनले आनन्दसँग सुत्न पाएका छैनन् । कहिले घर खर्चले पिरोल्ने उनलाई कहिले विगतले त कहिले छोरीहरुको भविष्यको चिन्ताले पिरोल्छ । भन्छन्, ‘हामी गरिबले सोचेको सबै कुरा पुरा गर्न निकै गाह्रो हुँदो रहेछ । यो समाज नै चुनौति बन्ने । त्यतिकै महँगी पनि ।’

२०६३ सालमा जेठी छोरी (कुसुम तामाङ) लाई स्कुल भर्ना गर्न नन्दी स्कुल छिरेका थिए । छोरीको भर्नाका लागि स्कुल पुगेका सानुले विद्यालयका तत्कालिन प्राध्यापक भोला थपलियालाई भेट्दा ‘सरप्राइज’ नै भए ।

नक्सालमै बस्दै आएका सानुलाई स्कुलमा भेटेपछि प्राध्यापक थपलिया र एकाउन्टेन्ट योगेन्द्र अधिकारीले तामाङकी श्रीमती चन्द्रमाया तामाङलाई जागिर लगाइ दिन्छु भने । काम खोज्दै हिंडेका उनका लागि त्यो संयोग ‘ढुङ्गा खोज्दा देउता भेटे’जस्तै भयो ।

स्कुलबाट उनी घर गए । श्रीमती (चन्द्रमाया) सँग सल्लाह गरे । उनकी श्रीमती काम गर्ने निश्चित भयो । उनले स्कुलमा कार्यालय सहयोेगिका रुपमा काम पाइन् । त्यतिबेला तामाङ परिवार नक्सालस्थित मोचन गुठीले सञ्चालन गरेको नन्दीकेसर बहालमा बस्थे ।

०७२ को भुकम्पले बहालमा क्षति पुर्‍याएपछि उनीहरुलाई स्कुलले २ कोठामा तामाङ परिवारका लागि व्यवस्था मिलायो । त्यही साथलाई उनले विद्यालयले दिएको अनुपम उपहारका रुपमा ग्रहण गरिरहेका छन् । भन्छन्, ‘यो विद्यालय मेरो सबैथोक हो । रोजगारी नहुँदा काम दियो, बासस्थान नहुँदा बास दियो । यो भन्दा ठूलो सहयोग के हुनसक्छ ।’

०००

४ छोरीका बुबा तामाङलाई छोरा नभएकोमा गुनासो छैन् । भन्छन्, ‘मेरा छोरीहरु कसैका छोरा भन्दा कम छैनन् ।’

उनी जति छोरीमाथि गर्व गर्छन् त्यतिनै इमान्दार र बुबा आमा प्रति जिम्मेवार छन् छोरीहरु पनि । छोरीहरु क्रमश जेठीबाट कान्छी क्रमश: कुसुम तामाङ, सुष्मा तामाङ, सपना तामाङ र सरस्वती तामाङ ।

सानुले आफ्ना छोरीहरुलाई खेलकुदमा लगाएका छन् । त्यो पनि अरु होइन् बक्सिङ र कराँतेमा । बक्सिङ र कराँते अरु खेल भन्दा भिन्दै यसमानेमा पनि मानिन्छन् कि यी खेलमा मानसिकसँगै शारीरिक बलको पनि खाँचो पर्छ । यसमा जति बलियो विपक्षी हुन्छ त्यो भन्दा बलियो भएर लड्नु पर्ने हुन्छ । खेलाडीहरुलाई बिहान, बेलुकाको खानाले मात्रै हुँदैन् विभिन्न किसिमका डाइटको आवश्यकता पर्छ ।

उनका तीन छोरी खेलकुदमा छन् भने कान्छी सानै छन् । उनलाई पनि खेलकुदमै लगाउने सानुको सोच छ ।

कसुमले नेपाली बक्सिङबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले अहिलेसम्म राष्ट्रिय स्तरका २ स्वर्ण जितेकी छन् । २०७४ सालमा भएको राखेप च्याम्पियनसिपमा ५७ केजी तौल समूहमा स्वर्ण जितेकी उनले त्यसअघि २०१४ मा भएको नेपाल बक्सिङ च्याम्पियनसिपमा ४६ केजी तौल समूहमा स्वर्ण हात पारेकि थिइन् । तर, अहिले कुसुमको बाँया खुट्टाको घुडामा चोट भएका कारण उनले आठौं राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गर्न सकिनन् ।

‘राम्रो खेल खेलिरहेकी थिए । कमजोरीका कारण स्वास्थ्यमा समस्या आयो । घुडामा पनि चोट छ । अहिले रिकभर भइरहेको छ,’ उनले खबरहबसँग भनिन् ।
उनी बोलिरहँदा छेउमै रहेका उनका बुबाले भावुक हुँदै भने, ‘के गर्नु छोरीलाई खेलाडी बनाउने सपना त देखे तर, उचित खानपान र उपचारको व्यवस्था मिलाउन नसक्दा अफ्ठ्यारो बडो चिन्ता लाग्छ ।’

उनीसामू जति गर्व छोरीलाई खेलाडी बनाउँदा महशुस भएको छ त्यो भन्दा धेरै पीडा उनीहरुको आवश्यकता पूरा गर्न नसक्दा हुने गरेको छ ।

यस्तै, माहिली छोरी सुष्माले राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । सुष्मा अहिले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को बन्द प्रशिक्षणमा छिन् । बिहान अभ्यासमा जाने उनलाई सागमा सहभागी हुने अवसर पाउने हो कि हैनन भन्ने चिन्ताले पिरोल्छ ।

‘अभ्यास गरिरहेकी छु । तर, १८ वर्ष पुरा भएको हुनु पर्ने उमेरको प्रावधान छ । यतिबेला उमेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बाधक बन्छकी भन्ने चिन्ता छ ।’

आठौं राष्ट्रिय खेलकुद खेल्दा बक्सिङमा महिला तर्फ प्राय सबै तौल समूहमा विभागीय खेलाडीले जितिरहँदा उनले ४८ केजीको तौल समूहमा सुष्माले प्रदेश नम्बर तीनलाई स्वर्ण दिलाइन् । तर, अहिलेसम्म उक्त स्वर्ण जित्दाको पुरस्कार भने पाएकी छैनन् ।

सानु भन्छन्, ‘छोरीले बक्सिङको राष्ट्रिय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेकी छन् ।’

सानुलाई छोरीहरुले खेलकुदबाट पाइरहेको सफलताले पनि सन्तुष्ट बनाएको छ । भन्छन्,‘यिनीहरुले जति पनि प्रतियोगितामा उपाधि जित्छन् त्यो जीत मेरै हो जस्तो लाग्छ ।’ उनलाई छोरीहरुलाई खेलमा लगाउनुमा आफ्नो स्वार्थ जस्तो पनि लाग्न थालेको छ ।

सानु कुनै समय बक्सिङ खेल्थे । तर, लामो समय खेलमा लाग्न सकेनन् । तर, पनि उनी आफुलाई खेलकुदको शुभ चिन्तकको रुपमा चिनाउँछन् ।

‘थाह छैन, मैले छोरीहरुलाई किन खेलमा लगाए । तर, म पहिलेदेखि नै खेलकुदलाई माया गर्ने मान्छे हुँ ।’ त्यसो त, सानु कुनै बेला छोरीले बोलेका शब्दहरुले पनि भावकु बनेको नमिठो अनुभव सुनाउँछन् । ‘मैले यसलाई (सुष्मालाई देखाउँदै) शुरुशुरुमा बक्सिङ खेल्न पठाउँदा ‘ग्लोब्स’ (पञ्जा) किनिदिनुस् न बाबा भन्दा आँखाबाट आसु आउँथ्यो । यसले भन्थी, ‘सबैले ग्लोब्स लगाएर खेल्छन् मेरो छैन्’ भन्दा साच्चीकै मुटु खान्थ्यो ।’

विगत सम्झदै भावुक बनेका सानु आफ्नो बर्तमान पनि विगतभन्दा कम नरहेको बताउँछन् । उनी अहिले पनि छोरीहरुलाई चाहे जस्तो सुविधा र लाउन खान दिन नसकेकोमा आफैप्रति गुनासो गर्छन । भन्छन्,‘पहिला–पहिला त्यहि ग्लोब्स मात्रै त चाहिन्थ्यो । तर, अब अहिले डाइट, खेल सामाग्री देखि औषधोपचारसम्मका कुराहरु हुन्छ, त्यो गर्न नसक्दा साह्रै दुख लाग्छ ।’

कुसुम पटक–पटक बक्सिङ वल्ड च्याम्पियनसिपका लागि विदेश गइन् । उनको पकेट खर्च दिनसमेत सानुलाई ऋण लाग्यो ।

एक वर्ष अगाडि अभ्यासका दौरान कुसुमको बाँया खुट्टको घुडामा चोट लाग्यो । त्यो उनका लागि जति दुखाई भइरहेको थियो भन्दा ठूलो कष्ट सानुलाई पर्‍यो । चोट त लाग्यो । अब उपचार कसरी गर्ने भन्ने प्रश्नले उनलाई बारम्बार पिरोल्यो ।

पछि नक्सालमै रहेको नक्साल फर्मामा उनले चिनेका मान्छे काम गर्थे उनकै सल्लाहमा उपचार गराएपछि ठीक भएको उनले सुनाए ।

कुसुमको उपचारका क्रममा लागेको खर्चको आधाजति अझै नक्साल फर्मामा अझै बाँकी नै छ । सानु भन्छन्, ‘उहाँहरुले चिनेको भएर उधारोमा उपचार गराइदिनु भयो । अब विस्तारै तिर्छु भनेको छु । कहिलेसकिन्छ हेरौं ।’

सानुका सबैथोक छोरीहरु नै हुन् । आफुले पुरा गर्न नसकेका हरेक सपना छोरीलाई काविल बनाउँदै पुरा गर्ने योजनामा रहेका सानु छोरीहरुलाई नेपालको स्टार खेलाडीसँगै सरकारी जागिरे बनाउने योजना बनाएका छन् ।

‘मेरो परिवारमा सबै सरकारी जागिरे । त्यो पनि फोर्समा । तर, मेरो घरमा न बुबाले सरकारी जागिर पाउनु भयो नत मैले नै सके । तर, अब छोरीहरुलाई आर्मीको सेकेन्ड ‘लेफ्टीनेन्ट’ भएको हेर्ने धोको छ,’ सानुले भनिन् ।

छेबैमा बसेका कुसुम र सुष्मा पनि बुबाको सपना साकार पार्ने बाटो खोजिरहेको बताउँछिन् । कुसुमले भनिन्, ‘अहिले लोक सेवाको क्लास लिइरहेकी छु । अभ्यासमा त त्यस्तो गाह्रो हुँदैन होला तर, लिखित परीक्षामा अलिबढी मेहनत गर्नु पर्नेछ ।’

खेलकुदमा रमेकी उनलाई पढाइका लागि समय मिलाउन भने निकै कठिन छ । तर, पनि समय व्यवस्थापन गरेर पढाईमा पनि ध्यान दिइरहेको उनले बताइन ।

७ वर्ष कराँते खेलेकी कुसुमले १२ वर्षको उमेर पछि बक्सिङमा सहभागी भइन । कराँतेबाट बक्सिङमा किन ? भन्दा उनी भन्छिन्, ‘कराँतेमा फ्युचर नै छैन जस्तो लाग्यो । तर, कराँते भन्दा बक्सिङमा राम्रो छ ।’

उनले बक्सिङको आइडलका रुपमा भारतकी मेरी कोमलाई लिने गरेकी छन् । मेरी कोमले गरेको संर्घष सम्झँदै बुबाबो सपना पूरा गर्ने कुसुमको योजना छ ।

तर, उनी अहिलेकै अवस्थामा त्यो सफलता चुम्न निकै कठिन रहेको बताउँछिन् । ‘घर–परिवारको साथ छ । आर्थिक रुपमा अब्बल नहुँदा समस्या छ । सरकारी पक्षले खास्सै ध्यान दिएको जस्तो लाग्दैन् । क्याम्प राख्दा अनुभवी र अन्तर्राष्ट्रिय प्रशिक्षकको पनि व्यवस्था हुनु पर्यो,’ कुसुम भन्छिन् ।

केही समय बाहिर गाडिको टी–टी….. टु.. टु हुँदै आवाज आएपनि सानु, कुसुम र सुष्मा मौन हुन्छन् । तर, कुखुरी काँ… कुखुरी काँ गर्दै भाले कराउन थाल्छ । सुष्मा भाले कराएको देखेर रिसाएको हाउभाउ गर्छिन् । भन्छिन् ‘कस्सम यसले दिक्क लगाइ सक्यो ।’

सन्नाटालाई किनारा लगाउँदै सानु बोल्छन्, ‘कुनै समय यहि ग्लोब्सलाई लिएर पनि म भावुक बनेको थिए । पछि के भइदियो भने ग्लोब्सहरु क्लबले नै दियो । उनीहरुले राम्रो खेल्दै गए । अहिले त आफैले ग्लोब्स किन्न सक्ने पनि भएका छन् ।’

नागपोखरी बक्सिङ क्लबले पनि कुसुम र सुष्मालाई बक्सिङमा लाग्दा धेरै सहयोग गरेका छन् । क्लबका अध्यक्ष नविन तन्डुलकारले खुलेर आफ्नो छोरीहरुका लागि सहयोग गरेको सानु बताउँछन्,।

यतिबेला १२ कक्षाको परीक्षा दिएर बसेका कुसुम र सुष्मालाई स्नातक कसरी पढाउने भन्ने चिन्ताले पनि सानुलाई पिरोल्ने गर्छ । ‘यतिसम्म त जसोतसो पढाँए अब कसरी व्याचलर गराउने हो चिन्ता हुने गरेको छ ।’


भर्खर

0