स्मरणमा ‘जनता जागेको त्यो दिन’ र आज « Khabarhub
Logo
१४ मंसिर २०७८, मंगलबार

स्मरणमा ‘जनता जागेको त्यो दिन’ र आज



गत वैशाख ११ गते मुलुकले लोकतन्त्र दिवस मनायो । २०६३ साल वैखास ११ गतेको जनता जागेको दिनलाई स्मरण गर्दै एक विदेशी पत्रकारले लेखेको ‘जनता जागेको दिन’ भन्ने पुस्तक धेरै पाठकहरुले संकलन गरेको पुस्तक हो ।

संसारभरि कै, एक्काइसौं शताब्दीकै गणनायोग्य त्यो दिन वितेको १४ वर्ष भइ सकेछ । त्यो दिन यसकारण संसारकै स्मरणयोग्य दिन हो कि त्यो दिनले एकसाथ राजा र माओवादी दुवैतर्फका वन्दुकलाई तह लगाएको थियो र शान्तिपूर्ण रुपमा राजतन्त्रको अन्त्य गर्ने सहमति भएको थियो ।

शान्तिपूर्ण आन्दोलनको माध्यमबाट दुवै तर्फका अतिवादी वन्दुकहरु भूइँमा झरेको त्यो दिन यस अर्थमा एक्काइसौं शताब्दीकै स्मरणयोग्य र गणनायोग्य दिन हो । सलाम छ ती वीर स्वाभिमानी जनतालाई, जसले दुनियालाई चकित पार्ने चमत्कारिक आन्दोलनको सृजना, विकास र सफलताको शंखघोष गरे ।

स्वाभिमानी र वीर ती जनताले विजय प्राप्त गरेको चौधौं वर्ष गाँठ मनाई रहँदा आज हामी कुन ठाँउमा छौं र अवको वाटो के हो ? यो १४ वर्षमा कुन वर्गको उत्थान र कुन वर्गको पतन भयो ? राजनीतिक रुपमा हामीले अवलम्वन गरेको त्यो बाटोमा कुनै सुधार वा परिमार्जनको आवश्यकता छ, छैन ? आमूल परिवर्तन र सामाजिक रुपान्तरणका लागि अर्को क्रान्तीको आवश्यकता छ वा छैनजस्ता गहन विषयहरुको समीक्षा गर्ने दिन पनि हो वैशाख ११ ।

तर, यसखालका वौद्धिक चिन्तनहरु वैशाख ११ मा भएको देखिएन । त्यस्तो चिन्तन राजनीतिक दल, नागरिक समाज, आमसञ्चार माध्यम र वौद्धिक वर्ग जसले गर्दा पनि उपयोगी नै हुने थियो । तर, औपचारिकता वाहेक यो विषयमा कुनै गहन चिन्तन भएको देखिएन वा वुझिएन । त्यसो त कुनै पनि विषयमा गहन विर्मश, चिन्तन र वहस गर्ने संस्कार र सँस्कृतिको करिव करिव अन्त्य हुँदै गएको छ, आजको नेपालमा ।

राजनीतिक दलका नेता, पत्रकार वा वकिल र शिक्षक नै सबै विषयका विज्ञ हुन्, अरु विषय विज्ञको कुनै महत्व, आवश्यकता र औचित्य करिव करिव समाप्त हुँदै गएको छ । तीमध्ये पनि राजनीतिक दल अनि राजनीतिक कार्यकर्ता अनि त्यसमा पनि कोर गुट भित्रका नेता, कार्यकर्ता र कर्मचारीहरु नै यो देशका अब्वल विषय विज्ञ हुने परम्परा र संस्कारको निरन्तर विकासले यो १४ वर्षको अवधिमा नेपालको वौद्धिक वर्ग पाखामा पारिएको वा परेको देखिन्छ ।

यो अवधिमा हामीले के पायौं र के गुमायौ भन्ने तथ्यको वस्तुनिस्ट लेखा जोखा गर्नु पर्ने भएको छ । जति पाएका छौं राम्रो भएको छ, तर कतिपय यस्ता कुरा पनि गुमाएका छौं जसको पुनःप्राप्ती गर्न सकेनौ भने पाएको भन्दा गुमाएको धेरै हुनेछ ।

हामीले धेरै कुरा पायौं

जनताको छोरो नै राज्य प्रमुख हुने दुनियाकै अब्बल दर्जाको संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ती, त्यो पनि शान्तिपूर्ण र विना रक्तपात प्राप्त गर्नु यो शताब्दिकै ठूलो उपलब्धीमध्येको एक हो । यसलाई चानचुने उपलब्धी भनेर अवमूल्यन गर्न सकिँदैन । समावेशी राज्य, धर्म निरपेक्षता र संघीयताजस्ता लोकतान्त्रिक राज्यका आधुनिक मूल्य–मान्यताहरु सहितको नेपालको संविधान पनि नेपाली जनताले प्राप्त गरेको अनुपम उपलब्धी नै हो । यी सवै उपलब्धीहरु हामीले जनआन्दोलन र त्यसले जन्माएको संविधानसभाको माध्यमबाट लोकतान्त्रिक विधि प्रक्रियाबाट प्राप्त गर्‍यौं ।

यसरी हेर्दा विषयवस्तु र ती विषयवस्तु प्राप्तीको विधि पनि जनताको छनौटकै आधारमा प्राप्त भएकोले यी असाधारण उपलब्धीहरु नेपालको संवैधानिक र राजनीतिक इतिहासमा मात्र नभएर दुनियाँकै लोकतान्त्रिक अभ्यासमा पनि यस अर्थमा उत्कृष्ट हुन कि यतिका सबै उपलब्धीहरु दुनियाँको कुनै पनि क्रान्तीले एक साथ प्राप्त गरेको थिएन । अरु देशले किस्तावन्दीमा प्राप्त गरेका उपलब्धीहरु हामीले थोकमा एकै पटक प्राप्त गर्‍यौं यसर्थ २०६२/ ०६३ को जनक्रान्ती असाधारण र अदितिय नै हो भन्ने तथ्य गौरवसाथ भन्नलाई कुनै हिच्चकिचावट छैन ।

राजनीतिक रुपमा त्यो क्रान्तीले सामान्तवादको अवशेषको रुपमा रहेको राजतन्त्र र हिन्दू अधिराज्यको अवसान गर्‍यो भने अर्कोतर्फ पूँजीवादतर्फको यात्रालाई सहज र सरल बनायो । नेपालका वामपन्थीहरुले भन्ने गरेको नयाँ जनवादी क्रान्तीको आवश्यकतालाई पनि त्यो क्रान्तीले पूर्णविराम लगाइदियो । फलश्वरुप वामपन्थीहरुले कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि राज्यको चरित्रको परिभाषा गर्दा मुलुक अर्ध–सामान्ति र अर्ध–उपनिवेशिक भनेर जोड्ने फँुदो पनि समाप्त भयो । यद्यपि नेपाल कहिल्यै औपचारिक रुपमा कसैको उपनिवेस थिएन ।

संसारका कुनै पनि संसद, प्रदेश र स्थानीय तहमा अहिलेको नेपालको जस्तो महिलाको यत्रो उपस्थिति छैन । त्यति मात्र नभएर जातिय र भाषिक रुपले पनि नेपालको राज्य संयन्त्र संसारको सबैभन्दा समावेशी छ । यी सबै उपलब्धीहरु जनता जागेको ‘त्यो दिन’ले सिर्जना गरेको हो । यसरी हामीले राजनीतिक रुपमा धेरै कुरा प्राप्त गर्‍यौं र यी उपलब्धीहरु गर्व गर्न लायक छन् ।

अल्मलिएका राजनीतक दलहरु

त्यो जनक्रान्तीले जुन मात्राको उपलब्धी हाँसिल गर्‍यो त्यो उपलब्धीको जगमा हामीले अहिलेसम्म धेरै प्राप्त गर्न सक्थ्यौं, तर हामीले अपेक्षित उपलब्धी हाँसिल गर्न सकेनौ । त्यसो हुनमा आर्थिक, राजनीतिक र वैचारिक कारणहरु छन् । जुन उचाइको उत्साह, उमंग, जोश र जाँगर थियो, आज त्यसको पारो ह्वात्तै घटेको छ ।

क्रान्ती र परिवर्तनलाई चीरस्थायी वनाउन त्यसको पारो नसेलाई जुन गतिमा हामीले रुपान्तरण गर्नु पर्दथ्यो त्यो रुपान्तरणको गतिलाई हामीले अघि वढाउन सकेनौ । आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका एजेण्डाहरु आज बाटो विराएको यात्रीजस्ता भएका छन् । आज भन्दा १४ वर्ष अघिको नेपाली समाजको आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थामा तात्विक परिवर्तन आउन सकेको छैन । जुन क्रान्तीले आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्न सक्दैन, त्यो क्रान्तीको औचित्य पुष्टि गर्न कठिन हुन्छ । आजको नेपाली समाजको यथार्थता यही हो । यसो हुनमा धेरै कारणहरु विद्यमान छन्, तर तिनलाई यसरी सुत्रवद्ध गर्न सकिन्छ ।

वैचारिक अलमल

त्यो जनक्रान्तीपश्चात क्रान्तीका वाहक राजनीतिक दलहरु (कम्युनिस्ट र कांग्रेस) दुवै शक्तिहरु घोर वैचारिक रुपमा अलमलमा परेको देखिन्छ । कांग्रेस यस अर्थमा अलमलममा पर्‍यो कि उसले अगाडिको बाटो के हो भन्ने ठम्याउनै सकेन । संसदीय व्यवस्था, मौलिक अधिकार, स्वतन्त्र न्यायपालिका र आवधिक निर्वाचन कांग्रेसका परम्परागत एजेण्डा थिए । ति सवै एजेण्डाहरुमा कम्युनिस्टहरु पनि सहमत भएपछि अब वैचारिक रुपमा कांग्रेसको प्रतिस्पर्धा कोसँग र किन ? भन्ने अलमल कांग्रेस जनमा पर्‍यो र त्यो घोर अलमलको अवस्थाबाट कांग्रेस आजसम्म वौरिन सकेको छैन ।

विगत निर्वाचनमा कांग्रेसको पराजय कम्युनिस्टहरुको मिलन मात्र नभएर यो पनि हो भन्ने तथ्य कांग्रेसले हालसम्म पनि स्वीकार गर्न सकेको छैन । कांग्रेस आज वैचारिक रुपमा ‘कुहिरोको काग’जस्तो भएको छ । उसको चारतारे झण्डाले गरेको अर्थवोध ‘संवैधानिक राजतन्त्र’ पनि आज उसँग छैन र धर्म निरपेक्षता पनि उसँग रहेन । गणतन्त्र सहितको धर्म निरपेक्षता कांग्रेस र कम्युनिस्टको विगत आन्दोलनको साझा एजेण्डा वन्यो र त्यसको प्राप्ती पनि भयो ।

आफैंले हस्ताक्षर गरेको संविधानमा यी सवै एजेण्डा समावेश भएपछि अव यो विन्दूबाट कांग्रेस पछाडि फर्किन सम्भव देखिँदैन । यद्यपि कांग्रेसभित्र संवैधानिक राजतन्त्र र हिन्दू राज्यको अपनत्व ग्रहण गर्ने मत क्रमश वृद्धि हुँदै गएको छ । तर अव संस्थागत रुपमा संवैधानिक राजतन्त्र र हिन्दू धर्मको कुरामा फर्कने निर्णय सिङ्गो कांग्रेसले गर्न सम्भव छैन । यो वहसको धु्रविकरण वढ्दै जाँदा कांग्रेसमा वरु विभाजनको संभावना रहला, तर कांग्रेस अब राजतन्त्र र हिन्दू राज्यको प्रतिगमनकारी बाटोमा संस्थागत रुपमा फर्कन सम्भव देखिँदैन । सिङ्गो कांग्रेसले ती परित्यक्त नाराहरु पुनः ग्रहण गर्न सम्भव देखिँदैन ।

राजाको शासन र अनुहार नदेखेका लाखौं युवाहरु आज वयस्क भइसकेका छन । तिनको आधुनिक चेतनाले अब राजतन्त्रको वकालत गर्न सम्भव छैन, यसर्थ कांग्रेस आजको यो विन्दूवाट पछि हट्न सम्भव देखिँदैन ।

नेकपा भित्रको ठूलो समूह अहिले पनि अर्को कुनै क्रान्तीको आवश्यकता देख्छ र त्यो क्रान्ती पश्चात मात्र समाजवाद आउने विस्वास गर्छ । तर, आज उसले अंगिकार गरेको कार्यनीति र रणनीति हेर्दा अब के प्राप्तीका लागि अर्को क्रान्ती किन र कसरी ? भन्ने प्रश्नको जवाफ जति खोजे पनि भेटिँदैन

तर, कांग्रेसको अबको वैचारिक यात्रा के हुने र कहाँ सम्म जाने ? भन्ने विषय कांग्रेस जनमा आजसम्म वहसको विषय नै भएको छैन । अबको वैचारिक यात्रामा कांग्रेस र कम्युनिस्टको सिधा सिधा टक्कर हो भन्ने विषयमा कुने द्धिविधा रहेन । यी दुई शक्तिको बीचमा हिजो राजतन्त्र थियो र त्यसका विरुद्धमा यी शक्तिहरु संयुक्त मोर्चावन्दी गर्दथे ।

अब मुलुकमा राजतन्त्र नरहेपछि यी दुई शक्ति नै आमने–सामनेको अवस्थामा छन्, तर त्यो आमने–सामनेको प्रतिस्पर्धावाट प्राप्त गर्ने के हो भन्ने सम्वन्धमा दार्शनिक र वैचारिक रुपमा कांग्रेसमा स्पष्टताको आवश्यकता देखिन्छ । यो अलमलबाट मुक्त हुन सकेन भने कांग्रेसको यथाअवस्थाको निरन्तरताले उसलाई मात्र होइन मुलुकलाई नै घाटा हुनेछ । यो प्रक्रियावाट लामो समयसम्म गुज्रिने हो भने कांग्रेसको पुर्नगठन अवश्यम्भावी देखिन्छ ।

अर्कोतर्फ कम्युनिस्ट कित्तामा पनि त्यो वैचारिक अलमल लामो समयसम्म कायमै रह्यो र कतिपय कम्युनिस्ट घटकमा अद्यपि कायमै छ । दुई ठूला घटकको एकतापछि बनेको नेकपामा करिव करिव वैचारिक अलमल यस अर्थमा छैन कि उ अब संसदीय शासन व्यवस्थाको माध्यमबाटै समाजवादमा जाने विषयबाट पछि हट्न सम्भव देखिँदैन । तर, उ भित्र अर्को भयंकर ठूलो वैचारिक अलमल के छ भने उसले बारम्बार भन्ने गरेको र संविधानमा नै अभिलिखित भएको समाजवाद कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा नेकपाको पार्टी पङ्तीमा नत वहस नै भएको छ न यो वहस गर्ने जाँगर नै उसमा देखिन्छ ।

नेकपा भित्रको ठूलो समूह अहिले पनि अर्को कुनै क्रान्तीको आवश्यकता देख्छ र त्यो क्रान्ती पश्चात मात्र समाजवाद आउने विस्वास गर्छ । तर, आज उसले अंगिकार गरेको कार्यनीति र रणनीति हेर्दा अब के प्राप्तीका लागि अर्को क्रान्ती किन र कसरी ? भन्ने प्रश्नको जवाफ जति खोजे पनि भेटिँदैन ।

अर्को क्रान्तीको खोजि नगरी अहिलेकै अवस्थाबाट उसले भन्ने गरेको समाजवादमा पुग्न सकिन्छ त भनेर हेर्दा त्यो झन कहालीलाग्दो देखिन्छ । वामपन्थी, अझ कम्युनिस्टहरुले भन्ने गरेको समाजवाद भनेको राज्यको श्रोत साधनमा जनताको समान पँहुच, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यको हस्तक्षेपकारी भूमिका, प्रगतिशील साँस्कृतिक रुपान्तरण, वर्गिय विभेदको अन्त्य र आवश्यकताअनुसारको काम र काम अनुसारको दाम नै हो । आजको नेकपा वा नेकपा नेतृत्वको भारी बहुमतसहितको सरकार त्यतातर्फ नै उन्मुख छ त ? यो प्रश्नको जवाफ सकारात्मक आउन निकै कठिन छ ।

सारांशमा भन्नु पर्दा विगत जनक्रान्तीका संवाहक शक्ति कम्युनिस्ट र कांग्रेसमा देखिएको वैचारिक अलमल र साँस्कृतिक पतनले प्रतिगमनकारी शक्तिलाई फाइदा पुगिरहेको छ । यो अलमलको अन्त्य नगरी वैशाख ११ को परिवर्तनलाई चीरस्थायी वनाउन सकिँदैन

आज नेकपा समाजवाद उन्मुख भन्दा पनि दलाल–पूँजीवाद उन्मुख जस्तो देखिँदैछ । सत्ता संरक्षणमा रहेका सीमित नेता, कार्यकर्ता र व्यापारी तथा कर्मचारीहरु ‘दिन दुई गुना, रात चौगुना’का दरले झन भन्दा झन् धनि हुँदै गएको देखिन्छ । सत्ता, शक्ति र पहुँचमा नभएका इमान्दार नेता, कार्यकर्ता र व्यवशायीहरु निराशा र कुण्ठाबाट ग्रसित भएर वैचारिक विचलनको मारमा परेका छन् । ठीक यही बेला विप्लव समूहले धुन्धुकारी बाटो समातेको छ । त्यो बाटोबाट समाजवादमा कुनै हालतमा पुग्न सकिन्न भन्ने तथ्य स्वयम् विप्लवलाई पनि थाहा छ । तर केही हलचल गरेर एउटा सम्झौता गर्ने अनि त्यसको माध्यमवाट अर्को प्रचण्ड बन्ने शक्तिको लालसाले उनलाई असफल बाटो हिँडाउन बाध्य पार्दैछ । नेकपा र उसको सरकारले जनजीविका र राष्ट्रियताको सवालमा गर्ने हरेक गल्तीले विप्वलवको धुन्धुकारी पद्चापलाई झन दरिलो बनाउँदै लैजाने निश्चित छ ।

यी सवै वैचारिक अलमलका बीचमा अब नेकपाले उसले भन्ने गरेको समाजवाद भनेको के हो ? त्यसको प्राप्तीका लागि सरकार र पार्टीको तहबाट गरिने योजना, कार्यक्रम र नीती कस्तो हुनेछ ? अनि त्यो प्राप्त गर्ने कार्यमा प्रत्यक्ष योगदान दिने कार्यकर्ताको आचरण, शैली र व्यवहार कस्तो हुनु पर्दछ ? पार्टीमा विचारको जन्म कसरी हुन्छ ? नेतृत्वको चयन र जिम्वेवारीका आधार र प्रक्रियाहरु के हुनेछन् ? जस्ता अहम् प्रश्नमा केन्द्रित भएर नेकपाले सु–स्पष्ट आधार र संगठनको निर्माण गर्न सकेन भने यथास्थितिको निरन्तरताले उ पनि समाजवादको यात्राबाट चाँडै च्युत हुने निश्चित छ ।

सत्ता संरक्षित पूँजीवाद वा दलाल पूँजीवाद वा ‘क्रोनी क्यापिटालिज्म’को चौतर्फी घेरामा परेको नेकपा र नेकपाको सरकारले आफ्नो वैचारिक सु–स्पष्टता र स्पातिलो वर्ग चेतनाले लेस भएको संगठन निर्माण गर्न नसक्ने हो भने निश्चित छ, नेपालमा वामपन्थी आन्दोलनको औचित्यमै प्रश्न उठ्नेछ । यी सवै प्रश्नको जवाफ खोज्न नेकपाका हरेक मतदातामा प्रश्न गर्ने क्षमता र नेतामा त्यो प्रश्नको जवाफ दिने क्षमताको विकास जरुरी देखिन्छ ।

सारांशमा भन्नु पर्दा विगत जनक्रान्तीका संवाहक शक्ति कम्युनिस्ट र कांग्रेसमा देखिएको वैचारिक अलमल र साँस्कृतिक पतनले प्रतिगमनकारी शक्तिलाई फाइदा पुगिरहेको छ । यो अलमलको अन्त्य नगरी वैशाख ११ को परिवर्तनलाई चीरस्थायी वनाउन सकिँदैन । जनता जागेको ‘त्यो दिन’को परिवर्तनलाई टिकाइ राख्नका लागि जनता अझै जागी रहनु पर्दछ । परिवर्तन, क्रान्ती र रुपान्तरण समाजको अन्तर्निहित चरित्र हो । यो न रोकिन्छ न त दविन्छ नै ।


भर्खर

0