बौद्धिक मौनता देशका लागि घातक ! | Khabarhub Khabarhub
Logo
५ फाल्गुन २०७६, सोमबार

बौद्धिक मौनता देशका लागि घातक !



समाज परिवर्तनशिल छ जसलाई रोक्न सकिन्न । यसका परिवर्तनका गति र दिशालाई केहि हद सम्म प्रभावकारी वा भनौ सार्बजनिक हित तर्फ ढल्काउन चाही सकिन्छ तर त्यसको लागी अपरिहार्य तत्व भनेको ज्ञान हो ।

बिश्वका प्रभावशाली बिकसित मुलुकहरुको अध्यन गर्ने हो भने प्रष्टै देखिन्छ त्यहाँ ज्ञानको उत्पादन, बितरण र उपयोग निकै प्रभावकारी र हस्तक्षेत रहित बनाईएको हुन्छ।

यसो हेर्दा बिद्यालय तहमा ज्ञानको बितरण गरिन्छ जसलाई विद्यार्थीहरुले ग्रहण गर्दै त्यसलाई उपयोग गर्न सक्षम बन्दै जान्छन भने अर्को तर्फ ती शिक्षक जो ज्ञानको बितरणमा सक्रिय सहभागी छन तिनले पनि ज्ञान बितरण गर्न निकै अधिक मात्रामा ज्ञानलाई ग्रहण वा भनौ उपयोग गर्नु पर्ने हुन्छ ताकी विद्यार्थीलाई बुझाउन अर्थात् बितरण गर्न सहज होस्।

त्यसो भए बितरण र उपयोग गर्नको लागी चाहिने मुख्य कुरा, ज्ञानको उत्पादन कस्को जिम्मा हो भन्ने प्रश्न मनमा आउनु स्वभाविक हो । बिश्वबिद्यालय तहहरु मुख्य रुपमा ज्ञान उत्पादनका थलोको रुपमा रहेका हुन्छन । जसको मुख्य कार्य नै अविरल रुपमा ज्ञान उत्पादन गर्दै जानु हो जसलाई राज्यले समाजको हितमा उपयोग गर्छ ।

ती ज्ञानहरु जसको आधारमा राज्यको भविष्य कोरिन्छ अनि सामाजिक रुपान्तरणमा दीर्घकालीन भूमिका खेल्न सक्छ त्यसका लागी बिभिन्न मुलुकहरुमा स्वदेशी मात्रै होइन विश्वका कुना कुना बाट समेत अध्यनार्थी आकर्षित गर्न छात्रवृति लगायतका बिभिन्न योजनाहरु बनाएका हुन्छन ।

बिशेष गरी विद्यावारिधि तहमा अध्ययन अनुसन्धान प्रति आकर्षित गर्न वा भनौ ज्ञान उत्पादन गराउन विश्वका बिभिन्न मुलुकका अध्यन कर्तालाई बिभिन्न अवसर प्रदान गरी आकर्षित पारेका हुन्छन तर दुर्भाग्य नै भन्नु पर्छ नेपालको एतिहासिक त्रिभुवन बिश्वबिद्यालय जहाँ बाट राज्यले न त पर्याप्त मात्रामा ज्ञान उत्पादन गराउन सके न त त्यसको छवि धुमिल्याउनबाट जोगाउन सके ।

बिश्वबिधालयको आफ्नो श्रोत साधनको कमी नभए पनि ज्ञान उत्पादनमा खासै उपलब्धि हासिल गरेको देखिन्न र बिडम्बना नै भन्नु पर्छ यस बिश्वबिद्यालयमा विद्यावारिधि गर्ने चाहना राख्नेका लागी लाखौको शुल्क रुपी ठुलो पर्खाल उभ्याईएको छ ।

जसको कारण एकातिर क्षमतावाणहरु गुमनाम भै हराउने डर छ भने अर्को तिर लाखौ तिर्न सक्ने आर्थिक हैसियत भएका संग मात्रै विद्यावारिधिको प्रमाण पत्र आउने सम्भावना यसले बढाउछ।

एउटा व्यक्तिले आफ्नो आवश्यकता अनुसारको बस्तु किन्छ र उपयोग गर्छ । के ज्ञान पनि अन्य बस्तु सरह नै हो ? के उत्पादित ज्ञान उत्पादकको व्यक्तिगत फाइदाको लागी मात्रै उपयोग हुन्छ ? सिंगो समाज र राज्यलाई चाहिन्न ?

बास्तवमा राज्यले बिगतबाट पाठ सिक्दै जोरसोरका साथ ज्ञान उत्पादनमा अध्ययन अनुसन्धानलाई बिशेष प्राथमिकतामा राख्नु पर्ने हो । ज्ञान बिना कुनै समाज समृद्ध बनेको आजसम्म कुनै इतिहास छैन ।

यसबारे सम्बन्धित निकायहरु किन गम्भिर बन्दैनन ? गुणात्मक ज्ञान उत्पादनका लागी प्राय सबै राजनीतिक दल निकट विद्यार्थी संगठनहरु समेत पनि किन मौन बस्छन ?

नेपालमा अध्ययन अनुसन्धानको कमीले गर्दा सम्भावना खोज्ने, साधन स्रोतको सहि ब्यबस्थापन गर्दै भविस्य मुखी प्रभावकारी योजनाहरु निर्माण गर्ने र दुर्घटनाबाट बच्ने अवस्था कति दयनीय छ भन्ने कुरा कसैबाट लुकेको छैन।

उदाहरणको लागी कृषि मन्त्रालयलाई हेरौ, उसले थाहै पाउदैन कुन समयमा कहाँको किसानको आवश्यकता के हो, पीडा र समस्या केहो अनि के कारणले अचानक कुन तरकारी वा खाद्यान्नको मुल्य अकासिन्छ, किन उखु किसान बिक्रि गरिसकेको उखुको पैसा पाउन बर्षौ देखि किन हारगुहार गर्नु परेको छ ।

किसान आफ्नो उत्पादनको उचित मुल्य किन पाउन सकेका छैनन् ? समाजमा किन कृषकहरु धनी बन्न सकेका छैनन् साथै कुन उत्पादन घट्दो छ ? जसले आम उपभोक्तालाई सकस पर्ने सम्भावना छ ।

यस्ता समस्या आउनु भन्दा पहिले केहि उपाय अपनाउन सकिन्छ कि भन्ने बारे मन्त्रालयले मेसो नै पाउदैन ब्यस्त हुन्छ फाइलहरु मिलाउन र चलाउन मै।

उस्तै उस्तै अवस्था प्राय सरकारका सबै निकायहरुमा छन । प्रभावकारी परिणाम दिन नसक्दा सम्बन्धित निकायहरुका कार्य र ब्यबहारले सर्बसाधारणमा बढ्दो वितृष्णा छ ।

सर्बसाधारणका दैनिकी सहज पार्ने तर्फ चाहिने सम्बेदनशिलता महशुस गर्न सकिएको छैन । सरकार पटक पटक ब्यबस्थापनमा चुक्दै छ । अझै पनि ज्ञान उत्पादनलाई बेवास्ता गर्ने हो भने यसले समाजलाई कता तिर डोर्‍याउँछ र भोलिको समाज कस्तो बन्छ ? यता तर्फ कसले र कहिले सोच्ने ?

कुनै पनि सर्बसाधारण नागरिकलाई यदी सोधियो कि सरकार कस्तो छ ? ऊ सिंहदरबार पुगेर वा कुनै ठुला प्रतिवेदन पढेर जवाफ दिदैन बरु उसले दिने जवाफ उसको दैनिक भोगाई, वरिपरीको परिदृश्यको आधारमा रहेको उसको अनुभूतिमा निर्भर हुन्छ ।

त्यसैले यो मान्यता राखिएको हुन्छ कि कुनै पनि सफल सरकारको पहिलो लक्षण भनेको सर्बसाधारण नागरिकको दैनिकी सहज बनाउनु हो । त्यसको लागी उपलब्ध र सम्भावित श्रोत साधनहरुको उचित ब्यबस्थापन गर्दै निगरानी बढाउँदै सहि प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ ।

सरकार भनेको कुनै व्यक्ति वा राजनीतिक दलको मात्रै प्रतिनिधित्व होइन यो एउटा प्रणाली हो । यसका बिभिन्न निकायहरु हुन्छन जसलाई राज्यले औजारको रुपमा समाजमा सुख, शान्ति र समृद्धिका साथै बिश्व मानचित्रमा समेत सम्मानित र बलियो उपस्थिति जनाउनको लागी प्रयोग गर्छ।

जस्तो कि गाडी बनाउनु र गाडी चलाउनु दुवै गाडीसँग सम्बन्धित क्षमता नै हो । तर गाडी बनाउने क्षमता भएकालाई गाडी चलाउन लगाइयो भने सुरक्षित यात्राको सम्भावना रहन्न त्यसै गरी गाडी चलाउनेले पनि गाडी बनाउन सक्दैन ।

अर्थात् सहि व्यक्ति सहि ठाउँमा राख्नु को बिकल्प छैन यदि साच्चै समृद्धि तर्फ लम्कने हो भने । यसको लागी पनि ज्ञान नै चाहिन्छ ताकी सहि समयमा सतर्कता अपनाउन सकियोस ।

त्यसैले सरकारका सबै निकाय अत्यन्तै सम्बेदनशिल हुनुपर्छ बिशेष गरी आफ्नो कर्तब्य र सेवा प्रवाहको सवालमा । अहिलेको नेपाली समाजको अवस्था हेर्ने हो भने खुला बिश्व, उत्पादन प्रणाली र आधुनिक प्रबिधिका कारण चेतनाको स्वरूप परिबर्तन भएको छ ।

यस्तो अवस्थामा समाज बढी सम्बेदनशिल हुन्छ किनकी उसंग खबरहरुको अथाह श्रोत हुन्छ। तर पछिल्ला केहि घटनाहरु नियाल्दा सरकारसंग सम्बन्धित निकायहरु सम्बेदनशिल हुन् सकेको देखिन्न । अवस्थाको सहि पहिचान गर्दै उचित निराकरण तर्फ बढ्नुको सट्टा प्रतिवाद तर्फ उन्मुख देखिन्छ सरकार जसको मुख्य कारण राज्य संग ज्ञान उत्पादन प्रणाली सहि तरिकाले संचालनमा नरहेको तर्फ संकेत गर्छ ।

स्पस्ट छ यदी ज्ञान उत्पादन गर्ने थलो सम्म पुग्न भक्तिमार्ग नै चाहिने अवस्था रही रहने हो भने यसले ज्ञान उत्पादनको क्षेत्रमा डरलाग्दो शुन्यता भरिदिन्छ । परिणामस्वरूप बौद्धिक मौनताको अवस्थाको सिर्जना हुन्छ जुन निकै खतरनाक हो समाज र देशको लागी । बौद्धिक निस्कृयता कुनै पनि हालतमा फायदामन्द हुन्न कसैको लागी पनि।

केहि महिना अगाडी नेपाल सरकारले बनाएको थिंक ट्यांक जुन बिषय बस्तु बिश्लेषणका लागी अति उपयोगी कुरा हो त्यहाँबाट प्राध्यापक चैतन्य मिश्र अलग्गिए । त्यसपछी न त्यसको कारण खोतलियो न त समाधान र न कुनै बिकल्प नै । कुरा कुनै व्यक्ति बिशेष हुनु वा नहुनु को होइन कुरा त ज्ञान उत्पादनको आवश्यकता को हो ।

ज्ञान उत्पादन जस्तो सम्बेदनशिल क्षेत्रमा कहिले सम्म आफुलाई मन परेको कुरा मात्रै भन्ने समुहलाई प्राथमिकतामा राख्ने ? के यसले समग्र नेपालको दीर्घगामी हित गर्छ ? यदी गर्दैन भने ज्ञान उत्पादनको क्षेत्र सबै किसिमका अभाव र प्रभाव रहित बनाउदै कर्म मार्गलाई मात्रै स्वीकारिने परम्पराको शुरुवात गर्न अब ढिलो किन गर्ने ?

सवाल कुनै ब्यक्ति, पेशा, क्षेत्र वा राजनीतिक दलको क्षणिक हितको मात्रै होइन । यो त सिंगो देशको बर्तमान र भविष्यको सवाल हो । त्यसैले ज्ञान उत्पादनलाई बिशेष प्राथमिकतामा राख्दै विद्यावारिधि गर्न चाहनेलाई लाखौंको शुल्क होइन बरु अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्दै ज्ञान उत्पादन बढाउन बिभिन्न कार्यक्रम पो ल्याउने कि ?

झा समाजशास्त्री हुन्।


भर्खर

0