सावित्राको संघर्ष– मोजाको बल खेलेर ‘स्टार’ फुटबलर « Khabarhub
Logo
७ माघ २०७७, बुधबार

सावित्राको संघर्ष– मोजाको बल खेलेर ‘स्टार’ फुटबलर



पितृसत्तात्मक नेपाली समाजमा छोरो र छोरीलाई गर्ने व्यवहार निकै फरक । छोरी भएर जन्मिसकेपछि अनेक किसिमका परिधि भित्र बाँधिनु पर्ने बाध्यता नेपाली समाजमा रहेको छ ।

पछिल्लो समय भने छोराछोरी प्रतिको धारणमा परिवर्तन आएको छ । शहरी क्षेत्र र शिक्षित व्यक्तिमा छोरा र छोरीप्रतिको धारणा सकारात्मक भएपनि ग्रामिण क्षेत्रमा भने यसले खासै प्रभाव पार्न सकेको छैन ।

छोरा आफ्नो निर्णयमा हिड्न सक्छ । आफुले मन लागेको काम गर्न सक्छ, तर, त्यो छुट छोरीलाई छैन ।

जुनसुकै क्षेत्रमा काम गर्दै सफलता हात पारिरहेका महिलाका अनुभव सुन्दा अधिकाशंसँग समाजले गरेको व्यवहारमाथि खरो बोलेका सुन्ने गरेका छौं । नसुनिउन पनि किन उनीहरुलाई त्यहिँ काम गर्दा हिजो समाज बाधक बन्न खोजेको थियो ।

तीनै सफल छोरीमान्छे मध्येकी एक हुन्, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘सेन्सेसन’ सावित्रा भण्डारी ‘साम्बा’ ।

लमजुङको पाँमचोकमा जन्मिएकी सावित्राका लागि पनि सामाजिक परिवेश बाधक बन्न खोजेकै हो । तर, स्पष्ट वक्ता र हठी स्वभावकी सावित्रालाई उनको समाजको रोकतोकको कुनै असर परेन ।

सावित्रा जसलाई समाजले विग्रिदैंछे, यसले समाजको नाक काट्ने भइ भन्दै कुरा काट्थ्यो आज दिन प्रतिदिन उनले पाएको सफलताको साक्षी बनिरहेको छ । ‘मैले फुटबल खेल्न काठमाडौं जान्छुँ भन्दा गाउँ समाजको ‘नाक’ काटिने भयो भनेर विरोध गरे । मसँग अगाडि कसैले केही भनेनन् तर आमालाई अनेक कुरा लगाउँथे ।’

उनी त्यहिँ समाज देखेर अहिले दङ्ग पर्छिन् । जहाँ उनले फुटबलसँग चिना जानी गर्दै गर्दा नानाथरी कुरा काट्दा नथाक्ने समाज अहिले सावित्राले पाएको सफलताको गुणगाउन गाउन व्यस्त छ ।

‘अहिले त गाउँका दाइहरु सबै जनाले आफुले सकेको सहयोग गर्न तयार छौं भनेर म्यासेज गर्नु हुन्छ । तिमी हाम्रो गाउँ समाजको प्रतिष्ठा हौं भन्नुपर्छ,’ खुसी हुँदै सावित्रा सुनाउँछिन् ।

सावित्रा नेपाली महिला फुटबल टोलीकी अपरिहार्य खेलाडीका रुपमा टोलीमा छिन् । मुलधारको फुटबलमा आएको ५ बर्षमै सावित्राले लोभलाग्दो सफलता हात पारेकि छन् । सायदै कसैले यस्तो सफलता नेपाली फुटबलमा पारेका थिए ।

२२ वर्षीया सावित्राले राष्ट्रिय टोलीबाट ३५ अन्तर्राष्ट्रिय गोल गरिसकेकि छिन् ।

०००

निडर र स्वष्ट बोल्ने सावित्रा आफू सानैदेखि केही गर्नु पर्छ भन्ने भावनाबाट प्रेरित भएको बताउँछिन् ।

त्यसक्रममा उनले स्कुलमा हुँदा फुटबल बाहेक भलिबल र एथलेटिक्स पनि खेल्थिन् । जसले उनलाई सन्तुष्टि दिन्थ्यो । लमजुङस्थित खुदेँपानीमा रहेको अम्मर उच्च माध्यामिक विद्यालयमा (१०–१२) पढेकि उनले १० कक्षामा पढ्दा राष्ट्रपति रनिङ सिल्डमा भाग लिएकी थिइन् । जसमा उनले भलिबल तर्फ टिमलाई सिल्भर मेडल जिताइन् भने व्यक्तिगत विधा तर्फ दौडमा गोल्ड मेडल जितेकी थिइन् ।

उक्त मेडलले आफुलाई प्रेरणा मिलेको सावित्राको अनुभव छ । ‘राष्ट्रिपति रनिङ सिल्डमा फुटबल समावेश नभएपछि भलिबल खेलेको थिएँ । त्यसमा पनि स्कुललाई सिल्भर जिताए,’ सावित्राले भनिन्,‘विना इफोर्ट विना नै यस्तो प्रदर्शन गर्न सक्छु भने आफुले मेहनत गरे फुटबलमा अझै राम्रो गर्न सक्छु भन्ने लाग्यो ।’

पढाइमा मध्यम स्तरकि सावित्राले फुटबललाई नै रुचाउने गरेकी थिइन् । ‘मैले फुटबल त ढिलो मात्रै बुझे । तर, खेल्न चाहिँ गाउँमा सानो उमेरदेखि नै खेल्थे ।’

सावित्राका लागि फुटबल खेल्न अहिलेको जसरी बल नै पाइदैंन थियो । तर, त्यहाँ मोजा र प्लाष्टिकका झोलामा कागज भरेर फुटबल खेलेको अनुभव उनीसँग छ ।

‘त्यतिबेला अहिलेको जस्तो बल पाइँदैन थियो । मोजा, प्लाष्टिक झोलामा कागज भरेर खेल्थ्यौं,’ उनले भनिन् ।

त्यहिँँ मोजाको बलले सावित्रालाई फुटबल प्रेमी बनायो । त्यसले सावित्रामा फुटबल प्रतिको मोहमात्रै जगाएन उनलाई फुटबल प्रति ‘सिक’ नै बनायो । तर, जब उनी गाउँमा पुरुष फुटबल हेर्न जान्थिन्, तब उनी फुटबल प्रति थप आकर्षित हुन्थिन् र आफू पनि केटाहरुजस्तै खेल्न सक्छु जस्तो उनलाई लाग्थ्यो ।

उनले मनमनै म पनि फुटबल खेल्छु भन्दै अगाडि बढ्न खोज्थिन् । तर, पाँमचोकका छोरीहरु फुटबल खेल्दैन थिए । उनीहरु त स्कुलबाट घर आइसकेपछि बाँकी समय घाँस काट्नमा व्यस्त हुन्थे ।

त्यसोत, सावित्राको पनि नियमित काम थियो । स्कुलबाट आएपछि एक भारी घाँस काट्नु पर्ने । उनी जतिसक्दो छिटो स्कुलबाट घर फर्किन्थिन् र खाजा खाएर घाँसका लागि जान्थिन् । त्यहाँबाट जतिसक्दो छिटो फर्किन्थिन् । त्यहाँबाट आउनासाथ उनको यात्रा शुरु हुन्थ्यो, फुटबल मैदान तर्फ ।

तर, जतिबेला सावित्रा फुटबल नखेली घरमा बसी नसक्ने भइन त्यसपछि उनी गाउँका दाइहरुसँगै मैदानमा फुटबल खेल्ने भनेर हिँड्न थालिन् ।

‘मैले आफुसँगै फुटबल खेल्ने केटी साथी पाउन निकै गाह्रो थियो । त्यसो भएपछि म कतिपय समय दाइहरुसँग गएर फुटबल खेल्न थाले,’ सावित्रा विगत सम्झिन्छिन् ।

म दाईहरु सँग फुटबल खेल्न जाँदा समाजले मलाई त महिला भएर केटाहरुसँग खेल्न जान्छस् भनेर भन्थ्यो । ‘म फुटबल खेल्ने दाइहरुसँग मैदानमा जान्थे तर, उहाँहरुले शुरुमा त मलाई मैदान छिर्नै दिनुहुन्थेन । मेरो काम नै बल टिपेर ल्याउने हुन्थ्यो,’सावित्रा सम्झिन्छीन्,‘पछिमात्रै उहाँहरुले मलाई खेल्न दिनुभयो । त्यसले पनि मलाई फुटबलमा लाग्ने प्रेरित गर्यो ।’

केटाहरुसँगै नारिएर फुटबल खेल्न थालेपछि गाउँलेहरुले उनीबारे कुरा काट्न छाड्ने त कुरै भएन । उनीसँग सोझै नभने पनि उनकी आमासँग विभिन्न किसिमका कुरा बरीपरीका मानिसहरुले लगाउने गरेका थिए ।

‘मलाई कसैले केही भनेका थिएनन् । तर, आमालाई अनेकखालका कुरा लगाउँदा रहेछन् । त्यस्तो भएपछि आमाले मलाई धेरै पटक केटाहरुसँग गएर नखेल भन्नु हुन्थ्यो । तर, खेल्नका लागि केटी साथी नै हुँदैन थिए । आमाले भने पनि मैले केटाहरुसँग गएर फुटबल खेल्ने कामलाई रोकिन’ सावित्रा भन्छिन् ।

आमाले फुटबल खेल्न न जा भनेर दैनिक जसो गाली गरेपनि उनले छोडिनन् । भन्छिन्,‘मलाई बुबाले कहिलै केही भन्नु भएन तर, फुटबल खेल्न गएकै कारण आमाको गालि दैनिक जसो खाइथ्यो ।’

समाजको तिखो नजर, आमाको गालीलाई वेवास्ता गर्दै आफ्नो फुटबल कर्ममा निरन्तर लागेकी सावित्रा अहिले देशको गौरव बनेकी छिन् । नेपालबाट विदेशी लिग खेल्ने पहिलो महिला खेलाडीसमेत बनिन् सावित्रा ।

उनले अघिल्लो सिजनको भारतीय महिला लिग टोली सेथु एफसीबाट खेलेकी थिइन् । विदेशी भूमिका लिग खेलेपछि उनको मनोवल पनि उच्च भएको छ । अवसर पाए युरोपमा गएर आफ्नो खेल देखाउन सावित्रा लालयित छिन् ।

राष्ट्रिय टोलीमा सहभागिता

गाउँमा हुने गरेका साना तिना फुटबल प्रतियोगितामा नियमित सहभागी हुँदै आएकी सावित्राका लागि २०७१ साल विषेश बनेर आयो ।
कास्कीको घरेगाउँमा नयाँ बर्षको अवसर पारेर महिला फुटबल हुने भयो । त्यसमा लमजुङकी सावित्राले पनि आफ्नो गाउँका केही साथी खोजेर टिम तयार गरिन् । जसमा उनी मुख्य खेलाडीको भूमिकामै मैदानमा उत्रिएकी थिइन् ।

‘मैले स्कुलका साथीहरुसँग मिलेर एक टिम बनाएर प्रतियोगितामा प्रतिस्पर्धा गरेकि थिएँ,’ सावित्राले भनिन् ।

त्यहिँ प्रतियोगिता नै सावित्राका लागि मुख्य ‘टर्निङ पोइन्ट’ बन्यो । उक्त प्रतियोगितामा ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकि सावित्राको खेल देखेर उक्त प्रतियोगिता हेर्न कास्की गएका राष्ट्रिय रेफ्री शुक्र लामा प्रभावित भए । त्यसपछि सावित्रासँग शुक्रले भेट गरे ।

सावित्राको खेल प्रतिभाबाट प्रभावीत भएका लामाले पहिलो भेटमै प्रश्न गरे,‘तिमी एपीएफमा ट्रायलका लागि खुल्यो भने बोलाउँदा आउँछौं ?’
फुटबल सिक्ने अवसरको खोजीमा रहेकि सावित्राका लागि यो वाक्यले नयाँ आशा र भविष्यका लागि सपना बुन्न बाध्य पार्यो । कास्कीबाट घर जाँदा लामालाई उनले नम्बर दिएकी थिइन् । लामाको कुराबाट आशातित बनेकि सावित्राले नयाँ सपना बुनेकि थिइन्, काठमाडौं गएर फुटबल सिक्छु । तर, त्यो सपना साकार पार्न उनीसँग लामाको फोन कुर्नुको विकल्प पनि थिएन ।

‘म शुक्र दाइको फोनको पर्खाइमा थिए । मैले उहाँलाई नम्बर दिएको ३ महिला पछि असारमा फोन आयो,’ सावित्राले भनिन्,‘त्यसको एक महिनापछि नै काठमाडौं आएर एपीएफमा अभ्यासका शुरु गरिसकेकि थिएँ ।’

गाउँकी ‘स्टार’ महिला फुटबलर सावित्राको नयाँ परीक्षा शुरु हुँदै थियो । गाउँमा फुटबल खेल्दा बुट नभएपनि चल्थ्यो । तर, ट्रायलका लागि एपीएफमा जाँदा अभ्यास गर्न बुट किन्नु पर्ने भयो । गाउँबाट आउँदा उनले पाँच हजार रुपैयाँ ल्याएकि थिइन् ।

त्यसमध्ये उनले बुट किन्ने योजना बनाइन् । जसमा उनले बुटका लागि ३५ सय खर्च गर्नु पर्यो । बाँकी रहेको १५ सय उनले बनस्थलीबाट छाउनी आउ जाउ खर्चका रुपमा राखेकि थिइन् । तर, अभ्यासमा रहँदा डाइट चाहिँने भएपछि त्यो पैसालाई उनले चनाका लागि छुट्याइन् ।
‘मैले काठमाडौं आएपछि पनि अनेक किसिमिका समस्या भोग्नु पर्यौ । गाउँमा खेल्दा बुट अनिवार्य थिएन् । तर, यहाँ बुट नलगाइ मैदान प्रवेश नै दिइँदैन थ्यो,’ सावित्रा आफ्नो विगत सम्झिँदै भन्छिन्,‘घरबाट ल्याएको पैसाको ७५ प्रतिशत त बुट किन्नमै खर्च भइगयो । बाँकी रहेको १५ सय डाइटका लागि छुट्याएकी थिए ।’

चितवनमा २०७१ साल फागुनमा भएको राष्ट्रिय लिगमा एपीएफका लागि खेल्दै साबित्राले क्लब फुटबलमा डेब्यु गरेकि थिइन् । उनलाई एपीएफमा अगाडि बढ्न तत्कालिन एपीएफका प्रशिक्षक नरकुमार राई र रत्नकाजी महर्जनले सहयोग गरेका थिए ।

घरेलु महिला फुटबलमा विभागिय टोली एपीएफ सबैभन्दा बलियो टोली हो । किनकी एपीएफमा राष्ट्रिय टोलीका चर्चित खेलाडी जमुना गुरुङ र अनु लामा रहेका थिए । यी दुवै खेलाडी आफ्नो समयका चर्चित र स्टार खेलाडी हुन् ।

जमुनाले आफ्नो समयमा सर्वाधिक २५ गोलको किर्तिमानी बनाएकी थिइन् भने पछि अनुले उक्त गोलको किर्तिमान्ी तोड्दै सर्वाधिक ३५ गोल गरिन् तर, त्यो गोलको किर्तिमानी अहिले सावित्राले बाँडेकी छन् ।

स्टर खेलाडी अनु लामा विभागबाट मिसनमा विदेश गएकी थिइन् भने अर्की स्टार जमुना जुरुङ ‘इन्जुअर्ड’ थिइन् । उनीहरु टोलीमा नहुँदा राम्रो स्टाइकरको खोजिमा रहेको एपीएफका लागि सावित्रा ‘कोहीनुर’ बनेर आइन् ।

२०७१ मा एपीएफमा आवद्ध भएकी सावित्रा आएपछि लगातार घरेलु प्रतियोगितामा उनको टोली च्याम्पियन बनिरहेको छ । अहिले जति उनले क्ल्बका लागि गरिरहेकी छन् । त्यति नै देशका लागि पनि गरिरहेकी उनका लागि शुरुवाती दिनमा राष्ट्रिय टोलीमा पर्न भने निकै कठिन भएको उनको अनुभव छ ।

पाकिस्तानमा २०१४ मा आयोजना भएको तेस्रो महिला साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट सावित्राले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी हुन् ।

उक्त खेलमा नेपालले भुटानलाई ८–० गोल अन्तरले पराजित गरिरहँदा सावित्राले १ गोल गरेकी थिइन् । उक्त गोल नै उनले नेपालका लागि गरेको पहिलो गोल थियो ।

त्यो खेल अघिका खेलमा ‘बेञ्च’ खेलाडीका रुपमा मैदान बाहिर रहेकी सावित्रालाई मैदान छिर्र्न नपाउँदा खुट्टा चिलाएको उनको अनुभव छ ।
सावित्रा टोलीका लागि नयाँ थिइन् तर, टिममा अनु लामा, सजना राना जस्ता प्रतिभावान खेलाडी थिए जसले गर्दा उनलाई तत्कालै टिममा सेट हुन कठिन पनि थियो ।

‘मैले फुटबल सिकेको छोटो समयमै टिममा त स्थान बनाए । तर, त्यहाँ सिनियर खेलाडीहरु थिए । त्यसैले पनि टिममा ठाउँ बनाउन कठिन थियो,’ सावित्राले भनिन्,‘तर, मैदान बाहिर बस्दा निकै गाह्रो हुँदो रहेछ । आफ्नो टिमको गोल पोष्ट नजिक बल पुग्दा बाहिर भएपनि खुट्टा चिलाउने रहेछ ।’

त्यसपछि पनि उनलाई टिममा नियमित सदस्यका रुपमा स्थान बनाउन पछि झण्डै २ वर्ष नै कुर्नु पर्यो । सन् २०१६ मा भारतमा भएको साफ च्याम्पियनसिपमा सावित्रा एक्लैले १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनिन् । उनले समूह चणमा भुटानविरुद्ध ७ गोल गरेकि थिइन् भने माल्दिभ्सविरुद्ध ५ गोल गर्दा सेमिफाइनलमा भारतविरुद्ध १ गोल गरेकि थिइन् । भारतसँग ३–१ पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।

त्यसयता भने उनले टिमले खेलिरहँदा बेञ्चमा बस्नु परेको छैन । अहिले सावित्रा सर्वाधिक गोल गर्ने मध्येकि एक खेलाडी हुन् । पूर्व कप्तान अनु लामाको सर्वाधिक ३५ गोललाई सावित्राले केही समय अगाडि किर्गिस्तानमा भएको नादेझ्दा कपमा ७ गोल गर्दै किर्तिमानी बराबरी गरेकि हुन् ।

०००

कहिले काँही उनको लुक्सलाई लिएर पनि चर्चा हुने गर्छ । सधै छोटो कपाल बनाएर मैदान उत्रिने सावित्रा विश्व फुटबलका स्टार पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र ब्राजिलका स्टार खेलाडी रोनाल्डोको कपालको शैलिबाट प्रभावित छिन् ।

उनी अमेरिकी तथा नेदरल्यान्ड्सका महिला खेलाडीलाई पनि पछ्याउँछिन् । अहिले उनले बाँया आखाँका आँखि भौसमेत बीचबाट काटेर स्टाइलिस बनाएकी छिन् ।

सावित्रा आफुलाई कहिलै पनि ठूलो कपाल मन नपरेको बताउँछिन् । ‘मैले कहिलै पनि ठूलो कपाल पालेकि थिइन् । मलाई मन पनि पर्दैन । तर, कपालको स्टाइल भने समय समयमा बदली राख्न मन पर्छ,’ सावित्राले भनिन्,‘म नेयमार र रोनाल्डोलाई धेरै फलो गर्छु । नयमारको जस्तो कपाल बनाउँन खोज्छु तर, पातलो कपाल भएका कारण हुँदैन ।’


भर्खर

0