आख्यान लेख्न चाहनेहरुले के पढ्ने ?

कृष्ण अविरल

शनिबार, असोज ११, २०७६

Reading Time: 7 minutes

आख्यान लेख्न चाहनेहरुले के पढ्ने ?

केही वर्ष यता दैनिक एक जनाको दरले नयाँ आख्यानकारहरु आफ्नो कथाकृति या उपन्यास प्रकाशनका लागि मेरो सम्पर्कमा आउनु हुन्छ । कहिलेकाहीँ त सोच्छु-कति धेरै लेखक जन्मिएका ?

यति सानो जनसंख्या र साँघुरिदै गएको पठन संस्कृतिलाई हेर्दा यति धेरै लेखक जन्मनु भयावह अवस्था हो । पैसामा किन्न नसकिने जीवनको बहुमूल्य समय र कागजको बर्बादी हो । कुनै पेशा व्यवसायमा स्वरोजगार हुने चेतको अभाव र देखासिकी कुसंस्कारको परिणाम हो ।

आफूले लेखेको पुस्तकले अपेक्षित परिणाम ल्याउन नसक्नुको नतिजा-यसले धेरैलाई नैराश्य तर्फ धकेलिरहेको छ । त्यसैले युवा जमातले देशको नेतृत्वप्रति आक्रोश ओकलिरहेको छ ।

हाम्रो वर्तमान शिक्षा प्रणालीले विद्यार्थीहरुलाई स्वरोजगारको चेत पटक्कै दिँदैन । कुनै पनि विषयमा अलि फरक ढङ्गले सोच्ने तरिका सिकाउँदैन । सकारात्मक सोचको बाटो देखाउँदैन । बरु नैराश्य हुन सिकाउँछ । अरुको नोकर हुने बाटो देखाउँछ ।

सानोभन्दा सानो पुँजीमा गर्न सकिने स्वरोजगारका सम्भावनाहरु देशमा कति छन् कति ! समूह बनाएर अलि ठूलो पुँजी जम्मा गरी पर्यटन व्यवसायमा हात हाल्ने हो भने कसैले पनि पछाडि फर्केर हेर्नु पर्दैन । विदेशीको गुलामी गर्दै निराशाको श्वास फेर्नु पनि पर्दैन ।

देखासिकी नेपाली समाजको महारोग हो । कोही मान्छे कुनै पेशा व्यवसायमा सफल भयो भने त्यसको निकृष्ट देखासिकी गर्नेहरुको ताँती नै लाग्छ ।

नेपाली आख्यानमा एकदमै नयाँ नयाँ प्रयोगको जरुरी छ । त्यसका लागि अहिलेसम्म के कस्ता प्रयोग हुँदै आए भन्ने थाहा पाउनु पर्ने हुन्छ ।

देशको अर्थतन्त्रले धान्नै नसक्ने गरी खुलेका बैङ्क हुन् या गल्लीगल्लीमा खुलेका सहकारी, अनलाइन पत्रिका र युट्युब च्यानलहरु हुन् वा मार्टका व्यापारी –यी सबै देखासिकीका परिणाम हुन् ।

त्यही काम अलि फरक ढङ्गले गरिदिए पनि प्रतिष्पर्धा त हुन्थ्यो नि ! अहँ, हामी नेपालीमा त्यो चेत जँच्दा पनि जँच्दैन । आरिसे संस्कारमा हुर्केका हामीलाई आफ्नो गच्छेअनुसारको काममा निकृष्ट देखासिकी नगरी खाएको पच्दा पनि पच्दैन ।

लेखनमा सम्भावना छ

बृहत अध्ययनसहित अलि मिहिनेत गरेर लेखनमा आउने हो भने अथाह सम्भावना छ । किनकि हामीकहाँ लेखिनुपर्ने विषयहरु यति धेरै छन् गनेर र भनेर साध्यै छैन ।

ती विषयमा अलि गहिरिएर लेख्ने हो भने हरेक वर्ष पाँचदेखि दश जनासम्म लेखकहरु ‘सेलिब्रेटी’ बन्न सक्छन् । तर विडम्बना नयाँ आउने लेखकहरुमध्ये अधिकांशलाई नेपाली साहित्यमा अहिलेसम्म के कस्ता प्रयोग भए भन्ने कुरा त परै राखौँ, के लेख्नु जरुरी छ र के लेख्दा स्थापित लेखक बन्न सकिन्छ भन्ने पनि थाहा हुन्न ।

आख्यान विधामा स्थापित हुन चाहनेहरुले सबैभन्दा पहिले समाजको स्वभाव, संस्कार र विविधता बुझ्न जरुरी हुन्छ ।

त्यसका लागि हर्क गुरुङका ‘विषय विविध’ र ‘मैले देखेको नेपाल’, सिल्भाँ लेभीको ‘नेपाल : हिन्दू अधिराज्यको इतिहास’ (दुवै खण्ड), जनकलाल शर्माको ‘हाम्रो समाज : एक अध्ययन’, सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, पूर्णप्रकाश नेपालको ‘सिजाको ऐतिहासिक रुपरेखा’, डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ र ‘फेटालिजम एण्ड डेभलपमेन्ट’, सत्यमोहन जोशीको ‘हाम्रा चाडपर्व’, खेमराज नेपालको ‘समाज संस्कार र शासन’, प्रा. चैतन्य मिश्रको ‘बदलिँदो नेपाली समाज’, आहुतिको ‘नेपालमा वर्ण-व्यवस्था’, मोहन मैनालीको ‘देखेको देश’लगायत नेपाली समाजबारे लेखिएका पुस्तक पढ्नु आवश्यक हुन्छ ।

अङ्ग्रेजी भाषामा दख्खल भएका नयाँ पुस्ताका लेखकहरुले विदेशीहरुले लेखेका विश्वप्रसिद्ध कृतिहरु पढेर आफूलाई तिख्खर तुल्याउन सक्छन् । ती कृतिले विषय छनोट र प्रस्तुतिका विविधता मात्रै सिकाउँदैनन्, जीवन र जगतलाई फरक दृष्टिले हेर्न र बुझ्न सक्षम पनि बनाउँछन् । लेखनका लागि आत्मविश्वास जगाउन सक्छन् ।

संस्कार र सामाजिक चरित्रको पृष्ठभूमि थाहा पाउन इतिहासको अध्ययन गर्न आवश्यक हुन्छ । किनकी संस्कार र सामाजिक चरित्र निर्माण हुन लामो कालखण्ड लागेको हुन्छ ।

त्यसका लागि प्रा.डा. जगदीशचन्द्र रेग्मीको ‘लिच्छवि इतिहास’ र ‘काठमाडौं उपत्यकाको सामाजिक संस्कार’, बाबुराम आचार्यको ‘नेपालको तथ्य वृत्तान्त’ र ‘अब यस्तो कहिल्यै नहोस्’, ज्ञानमणि नेपालको ‘नेपाल निरुपण’ र ‘नेपालको महाभारत’ आदि पढ्नु पर्छ । इतिहासका पुस्तक भेटेसम्म सबै पढे पनि खेर जाँदैन ।

इतिहास र समाजको चरित्र थाहा पाइसकेपछि नेपाली साहित्यमा अहिलेसम्म कुन–कुन विषयमा लेखिए र कुन कुन विषयमा लेखिएको छैन भन्ने कुराको जानकारी लिनु पर्ने हुन्छ ।

त्यसका लागि नेपाली साहित्यमा राम्रा मानिएका धच गोतामेका ‘घामका पाइला’ र ‘यहाँदेखि त्यहाँसम्म’, विनोदप्रसाद धितालको ‘उज्यालोतिर’ र ‘योजनगन्धा’, रुपनारायण सिंहको ‘भ्रमर’, रमेश विकलको ‘अविरल बग्दछ इन्द्रवाती’ र ‘नयाँ सडकको गीत’, शिवकुमार राईको ‘डाकबंगला’, शङ्कर कोइरालाको ‘खैरेनीघाट’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, गोविन्दराज भट्टराईको ‘मुगलान’, कृष्ण धरावासीको ‘शरणार्थी’ र ‘आधा बाटो’, नयनराज पाण्डेका ‘उलार’ र ‘लू’, रामेश कोइरालाको ‘कोपिला आश्रम’ आदि पढ्न आवश्यक हुन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, पारिजातको ‘शिरिषको फूल’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ आदि धेरैले पढेका हुन्छन् । तर ती कृतिको विश्लेषण गरेर बुझ्ने क्षमता एकदमै कमसँग हुन्छ ।

ती कृतिमाथि लेखिएका समालोचनाका कृति पढ्ने हो भने नयाँ लेखकहरुलाई विश्लेषण गर्न र आफ्नो लेखनमा ती कृतिभन्दा अब्बल कोण खोज्न मद्दत पुग्छ । तर नयाँ मात्रै होइन, स्थापित भनिएका लेखकहरुबाट पनि यो काम भएको छैन । त्यही कारण नेपाली आख्यान साहित्य दिनप्रतिदिन कमजोर हुँदै गएको छ ।

भाषा खँदिलो र झर्रो बनाउनका लागि डा. तारानाथ शर्माको ‘नेपालदेखि अमेरिकासम्म’, लैनसिंह बाङ्देलको ‘माइतघर’
‘एब्ट्रक्ट चिन्तन प्याज’, ‘गोधुली संसार’, ‘गौँथलीको गुँड’ लगायतका शङ्कर लामिछानेका निबन्धहरु पढ्ने हो भने पनि तार्किकता र फरक कोण सिक्न सकिन्छ ।

प्रयोगको खाँचो छ

नेपाली आख्यानमा एकदमै नयाँ नयाँ प्रयोगको जरुरी छ । त्यसका लागि अहिलेसम्म के कस्ता प्रयोग हुँदै आए भन्ने थाहा पाउनु पर्ने हुन्छ । त्यसका लागि जगदीशसमसेर राणाको ‘सेतो ख्याकको आख्यान’, आहुतिको ‘स्खलन’, पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’, नारायण ढकालको ‘प्रेतकल्प’ र ‘दुर्भिक्ष’, सरुभक्तको ‘पागल बस्ती’ र ‘तरुनी खेती’, अमर न्यौपानेको ‘पानीको घाम’, गनेश पौडेलको ‘पैताला’ लगायत कुमार नगरकोटीका कृतिहरु पढ्नु पर्छ ।

बौद्धिक क्षमता र तार्किक दृष्टिका विकासका लागि हाम्रा धार्मिक ग्रन्थहरु पढेर पानीपानी पार्न आवश्यक हुन्छ । त्यसका लागि सबैभन्दा पहिला महाभारत, गीतादर्शन र चाणक्यको जीवनदर्शन बुझ्नु पर्छ ।

पछिल्लो समय बजार लिएका ‘समर लभ’, ‘साया’ र ‘एक सर्को धुँवा’ चलेको देखेर त्यसैको देखासिकी गर्ने र रातारात ‘सेलिब्रेटी’ बन्ने लहडमा लागेका लेखकहरुबाट नेपाली साहित्यले आशा गर्नु नै बेकार छ ।

महाभारतका पात्रहरुको उत्पत्तिको पृष्ठभूमि र तिनको चरित्र थाहा पाउन ढुण्डीराज कोइराला अनुदित राजगोपालाचार्यको ‘महाभारत कथा’ र चक्रपाणि चालिसेद्वारा लिखित ‘नेपाली संक्षिप्त भारत’ पढ्नु पर्छ । महाभारतको कथालाई सरल भाषामा लेखिएका यी नै सर्वोत्कृष्ट कृति हुन् ।

गीता बुझ्नका लागि रोशन दाहालकृत ‘गीता दर्शन’ उपयोगी कृति हो । त्यसपछि गीताका श्लोकको अनुवाद गरिएका कृतिहरुमध्येबाट आफूलाई उत्तम लागेको कृति रोज्न सकिन्छ ।

चाणक्यको जीवनी र उनको दर्शन बुझ्नका लागि सत्यकेतु विद्यालङ्कारद्वारा लिखित तथा तिलकप्रसाद लुइटेलद्वारा अनुदित ‘चाणक्य’ उपन्यास पढ्नुपर्छ । यो उपन्यास विनोदप्रसाद धितालको अनुवादमा ‘आचार्य विष्णुगुप्त चाणक्य’नाममा पनि उपलब्ध छ ।

महाभारतका पात्र, घटना, प्रवृत्ति र त्यसभित्रको दर्शनका बारेमा ज्ञान हासिल गरिसकेपछि मदनमणि दीक्षितका ‘हिन्दू संस्कृतिको परिशीलन’,‘त्यो युग’, ‘ऋग्वैदिक नारी चरित्र’, ‘भूमिसूक्त’ र ‘माधवी’, विनोदप्रसाद धितालको ‘योजनगन्धा’, विन्द्या सुब्बाद्वारा अनुदित डा. प्रतीभा रायको ‘द्रौपदी’ पढ्नु पर्छ । दीक्षितका अघिल्ला चार कृति नछिचोली ‘माधवी’ बुझ्न सकिन्न ।

अङ्ग्रेजी भाषामा दख्खल भएका नयाँ पुस्ताका लेखकहरुले विदेशीहरुले लेखेका विश्वप्रसिद्ध कृतिहरु पढेर आफूलाई तिख्खर तुल्याउन सक्छन् । ती कृतिले विषय छनोट र प्रस्तुतिका विविधता मात्रै सिकाउँदैनन्, जीवन र जगतलाई फरक दृष्टिले हेर्न र बुझ्न सक्षम पनि बनाउँछन् । लेखनका लागि आत्मविश्वास जगाउन सक्छन् ।

तर दुःखको कुरा अधिकांश नयाँ लेखकहरुले यी आधारभूत कुरा बुझेकै हुँदैनन् । उनीहरुसँग आफ्नो लेखनको जग बलियो बनायो भने मात्रै घर राम्रो र दीगो बन्न सक्छ भन्ने चेत पनि हुँदैन ।

पछिल्लो समय बजार लिएका ‘समर लभ’, ‘साया’ र ‘एक सर्को धुँवा’ चलेको देखेर त्यसैको देखासिकी गर्ने र रातारात ‘सेलिब्रेटी’ बन्ने लहडमा लागेका लेखकहरुबाट नेपाली साहित्यले आशा गर्नु नै बेकार छ । तिनले प्रकाशकहरुको दिमाग चाट्ने काम मात्रै गरिरहेका छैनन्, आफ्नो जीवनको उर्जाशील समय, बाबुआमाको पैसा र कागज समेत नष्ट गरिरहेका छन् ।

भर्खर

0