परिवर्तनका लागि लिंग हैन चाहना हुनुपर्छ « Khabarhub
Logo
३ बैशाख २०७८, शुक्रबार

परिवर्तनका लागि लिंग हैन चाहना हुनुपर्छ



काठमाडौं-नेपालको संविधानले सबै नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार दिएको छ । यो अधिकार लैगिंक तथा यौनिक अल्पसंख्यकहरु सबैको साझा अधिकार पनि हो ।

तर नेपाली समाजले यौनिक अल्पसंख्यक (समलिङगी, उभयलिङ्गी, ट्रान्सजेण्डर, अर्न्तलिङ्गी) व्यक्तिलाई अझैपनि समान व्यवहार गर्दैन ।

लौङ्गिक तथा अल्पसंख्यक महिलाहरु अझैपनि परिवार र समाजबाट बहिस्कृत हुदैँ आएका छन् । उनीहरुलाई यौनधन्दामा लाग्ने व्यक्तिको संख्या दिनेहरु धेरै छन् ।

यौनिक अल्पसंख्यकहरुलाई नेपाली समाजमा स्थापित भएर अन्य नागरिकले जस्तै सफल जीवन बिताउन परिवार, समाज र राष्ट्रसँग ठूलै चुनौतीहरुको सामना गर्नुपर्ने अवस्था छ ।

यही चुनौतीहरुलाई सामना गर्दै अल्पसंख्यकहरुले पनि राम्रो काम गरेर सफल जीवन बिताउन सक्छन् भन्ने उदाहरण हुन्-‘हेटौंडाकी लक्ष्मी घलान।’

उनले आफ्नै परिवार, समाज र राष्ट्रले दिएका अनेकौं समस्याहरुको टटेर सामना गर्दै सफल जीवन बिताइरहेकी छिन् । लक्ष्मीले आफु मात्र होइन । आफुजस्तै यौनिक अल्पसंख्यकहरुको अधिकार स्थापीत गर्न लागि परेकी छिन् ।

अवसर पाएमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले पनि अन्य नागरिक सरह काम गर्न सक्छन् भन्ने उनको भनाई छ ।

वि.स. २०३८ सालमा हेटौंडामा जन्मिन् लक्ष्मी । परिवारको जेठी सन्तान हुन् उनी । हेटौंडाकै एक सरकारी विद्यालयमा अध्ययन गरिन् उनले । पढाइसँगसँगै खेतीपातीको काममा संलग्न हुन्थिन् ।

लक्ष्मीका काका आर्मीमा जागिरे । बुबा पुलिसमा । परिवारको पृष्ठभूमिकै कारण होला लक्ष्मी पनि सानैदेखि प्रहरी बन्ने र देशको सुरक्षाका लागि खट्ने सोच राख्थिन् ।

‘पुरुषभन्दा कम छैन म’ बाल्यकालमै पनि लक्ष्मी सोच्थिन्, ‘भोलि गएर देशका निम्ती केही गर्छु भन्ने सोच्थेँ, निडर पनि थिएँ।’

पढाइ पनि ठिकै थियो उनको । तर अचम्मको कुरा ! सानै उमेरमा उनी आफुलाई अन्य व्यक्ति भन्दा फरक महशुस गर्थिन् ।

‘१४ वर्षकी थिएँ म’ बाल्यकाल सम्झँदै लक्ष्मी भन्छिन्, ‘केटा साथीहरु बनाउन मन नलाग्ने, उनीहरुसँग कुनै फिलिङ्स नआउने बरु केटी साथीसँगै सबैकुरा सेयर गर्न मन लाग्ने हुन्थ्यो।’

त्यो अवस्थामा उनी देख्थिन् आफ्ना केटी साथीहरुले केटा साथी बनाएर हिँडेको । तर, उनलाई केटाप्रति कुनै फिलिङ्स नआउने हुँदा उनले त्यही समय आफुलाई अरुभन्दा भिन्न सम्झिन्थिन् ।

समलिङ्गी हुँ भन्ने थाहै थिएन

‘त्यो भन्दा अगाडीको समयमा मैले कहिल्यै रियलाइज गरिन’ खबरहसँग कुरा गर्दै उनले भनिन्, ‘तर १४ वर्षको उमेरपछि मैले अनुभव गर्न थालें।’

‘त्यो समय म को हुँ भन्ने थाहा थिएन तर मलाइ केटा मन पर्दैन भन्ने मात्र थाहा थियो’ उनले भनिन् । आफ्नो मनको कुराहरु साट्ने कोही साथी थिएनन् ।

तत्काल आफ्नो बारे बताइहाल्न घरमा कुनै वातावरण नै थिएन । जसकारण उनी बारम्बार आफ्नो बारे सोच्थिन् पनि । त्यही कारण आफ्नो पढाइ पनि बिग्रेको उनले बताइन् ।

अध्ययनकै क्रममा १६ वर्षको उमेरमा उनले एसएलसी दिइन् । उनका घरमा विवाहको कुरा आइरहन्थे । तर उनलाई भने विहे गर्ने र आमा बन्ने कहिल्यै सोच आएन ।

‘घरमा अब बिहे गरेर ज्वाइँको घरमा पठाउनुपर्छ भनेर बुबाआमाले भन्नु हुन्थ्यो’ मुस्कुराउदै उनले भनिन्, ‘म बिहे गरेर जाने होइन बिहे गरेर ल्याउछु चाहिँ भन्थें।’

नेपाल प्रहरी बन्ने इच्छा

कुरा हो वि.स. २०५४ सालतिरको । त्यतिबेला उनी प्रहरीमा जागिर खाना भरतपुर पुगेकी थिइन् । ‘भरतपुरबाट फारम भरेर नाम पनि निकालेकी थिएँ’ कुराकानीका क्रममा लक्ष्मीले भनिन्, ‘परिवार र आफन्तले छोरी मान्छे भएर फौजी जस्तो प्रहरीमा जागिर खान्छेस् भन्नुहुन्थ्यो।’

परिवारको सहमतिअनुसार नै उनले नेपाल प्रहरीमा जागिर खाने इच्छालाई त्यही बिट मारिन्। त्यसपछि उनलाई आफुजस्तै महिलाहरुको बारेमा सहयोग गर्ने गरी केही नयाँ काम गर्ने इच्छा पलायो ।

नयाँ काम गर्ने सोचले काठमााडौं

यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरुका लागि भनेर एउटा विज्ञापन खुलेको कुरा उनले सुनिन् ।

‘तिमलाई मनपर्ने संस्था रहेछ नि भनेर एउटा मिसले भन्नुभएको थियो’ कुराकानीको क्रममा उनले भनिन्, ‘महिलाप्रति महिला आकर्षण र पुरुषप्रति पुरुष आकर्षण भन्ने हेडिङमा विज्ञापन खुलाएको देखें।’

त्यससँगै लक्ष्मी काठमाडौं आइन् र जानकारीका लागि ज्ञानेश्वरमा रहेको सो संस्थामा पुगिन् । यहाँको साथीहरुलाई देख्दा डरलाग्थ्यो शुरुमा उनको मानसपटलमा अझै ताजा छ त्यो दिनहरु।

‘जो केटा एउटा महिलाको भेषभुषामा देखिन्थे, आवाज पुरुषको सुनिन्थ्यो’ उनले भनिन् ‘निकै डर लाग्यो त्यसपछि त्यहाँ काम नगर्ने सोच बनाएँ।’

केही गर्न भनेर काठमाडौं आइपुगेकी लक्ष्मीको सोच परिवर्तन हुन थाल्यो । त्यो कार्यालयमा दुई दिन जाँदा नै उनलाई काम गर्ने मनशय परिवर्तन भयो ।

त्यो बेला उनले देखेको व्यक्तिहरुलाई गाउँघरमा छक्का हिजँडा भनेको सुनेकी थिइन् उनले । मनमनै सोच्न थालिन् उनी, ‘म गलत ठाउँमा आइपुगे छु।’

जागिर खाने रहरलाई काठमाडौंमा छोडेर उनी हेटौंडा फर्किइन् ।

केटीसँगै प्रेम सम्बन्धमा

उमेर बढ्दै गयो । १७ वर्षको उमेरमा एउटै गाउँको गीता (नाम परिवर्तन) उनको भेट भयो । ‘विस्तारै हाम्रो कुराकानी हुन थाल्यो’ उनले भनिन्, ‘हामी नजिक हुँदै गयौं।’

एकअर्कालाई माया गर्छौ भन्ने हिम्मत थिएन हामीहरुसँग मुस्कुराउँदै उनले सुनाइन् । तिमी मलाई छोडेर नजानु है भन्ने गर्थिन् गीताले तर त्यो बेला सँगै लिएर हिड्न सक्ने अवस्था पनि थिएन लक्ष्मीको ।

‘म अचानक काठमाडौं आएँ, गीताको घरमा विवाहको कुरा चलेछ’ लक्ष्मीले भनिन् ।

गीता साधारण महिला थिइन् तर लक्ष्मीसँग नजिक भएपछि परिवारले उनलाई निकै सताउन थालेको थियो ।

त्यसो त आफ्नी छोरी एक केटी मान्छेसँगै नजिक हुँदा र प्रेम सम्बन्धमा हुँदा परिवारले त्यो प्रसंग निकाल्नुपनि स्वभाविक नै थियो ।

गाउँभरि लक्ष्मीको बारेमा कुरा काट्न थाले । ‘यतिसम्मकी मैले गीतालाई बिगारे भनेर धामी झाँक्री समेत लगाउन थालेछन्’ निराश हुँदै उनले भनिन्, ‘म त त्यस्तो केही थिइन नि।’

एकअर्काका घरपरिवारले मिल्ने साथीका रुपमा लक्ष्मीलाई र गीतालाईं स्वीकारेका थिए । तर, उनीहरु भने अर्काबिना नबाच्ने अवस्थामै पुगिसकेका थिए ।

उनीहरुका कुरा कसैले बुझ्न नसकेपनि दुईआत्माले भने बुझेको थियो ।

हामीलाई पनि सुन्दा अचम्म लाग्न सक्छ । नबुझ्नेहरुले घृणा पनि गर्छन् । तर प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ ।
जीवनको दौरानमा अनेकौं संघर्ष र भोगाइहरु भोगिन् उनले । साथमा माया गर्ने साथी भएर केही हौसला त पाइन नै ।

तर, परिवारको टोकसो त छदै छ अर्काकी छोरी भगाएर ल्याएको भन्दै प्रहरीले समेत उनीहरुलाई समातेको दिनहरु सम्झिँदा नराम्रो लाग्ने उनी बताउँछिन् ।

अरुले जेसुकै भनेपनि माया त आखिर माया नै हो लक्ष्मीबाट अलगिएर बस्न नसकेपछि गीतालाई उनले काठमाडौं लिएर आएको अनुभव उनले साटिन् ।

७ वर्षसम्म परिवारबाट सम्पर्कविहीन

जब गीतासँग लिभिङ टुगेदर बस्न थालिन् लक्ष्मी । परिवार र समाजले स्वीकार गरेन उनीहरुलाई । लक्ष्मीका लागि त्यो पलहरु निकै अविस्मरणीय बन्न पुगे ।

गीतासँग बस्न थालेपछि परिवारसँग ७ वर्षसम्म सम्पर्कविहीन बन्न पुगे’ उनले भनिन् ‘तर केही उदाहरणीय काम गरेर परिवारलाई खुसी बनाउने सोच्थें म।’

मैले जन्माएको बच्चा आज यस्तो सम्म भयो, यही दिन देख्न रहेछ बरु मरेको भए पनि हुन्थ्यो जस्ता आरोप उनका परिवारबाट पटकपटक आइरहन्थे । तर उनलाई आफु समलिङ्गी भएकोमा कुनै गुनासो थिएन ।

उनी त यस्तो व्यक्ति बन्न चाहन्थिन् जसले आफुजस्ता महिलाहरुलाई सक्षम र बाहिर आउन मनोबल मिलोस् ।

संघर्षमय जीवन

काठमाडौंको ठाउँ । डेरा भाडा तिर्नै पर्ने । खानाका लागि पैसा हुदैनथियो । खाना बनाउन स्टप थिएन । एक किलो चामल किन्न पनि निकै मुस्किल थियो ।

त्यसमाथि गीतालाई पनि उनले साथमा ल्याएर राखेकी थिइन् ।

सर्ट र पाइन्टको भेषमा देखिने लक्ष्मीलाई प्राय घरभेटीहरुले पनि केटा नै सम्झन्थें । विस्तारै उनको पहिचान थाहा पाएपछि घरबेटीले समेत घरबाट निकालेको अनुभव उनीसँग ताजै छ ।

उनलाई आफु समलिङ्गी हु भनेर खुलेर आउँदा निकै गाह्रो भएको उनी सुनाउँछिन् । ‘जब म लेस्बियन हुँ भनेर बाहिर आएँ, ४ वर्षसम्म पनि लेसबिनहरु खुलेर आएको अवस्था नै थिएन’ उनी भन्छिन् ।

त्यसपछि यही क्षेत्रमा केही गर्ने सोचले उनी ब्लुडाइमण्ड सोसाइटी नामक संस्थामा प्रवेश गरिन् । रिसेपसनिष्टको रुपमा । केही समय काम गरिन् उनले र धेरै कुरा बुझ्ने अवसर पनि पाइन् ।

त्यो संस्थाले पुरुषको अधिकारका लागि काम गथ्र्यो ।

मितिनी संस्थाको स्थापना

भनाइ नै छ ‘दुख पायो भने मितिनी कहा जानु।’ जो महिलाहरु दुखमा छन् उनीहरु खुलेर बाहिर आउनका लागि मितिनीले निकै महत्वपुर्ण काम गरेको उनी बताउँछिन् ।

शुरुमा मितिनी सर्पोट गु्रप नामबाट हामीले काम गर्‍यौँ । २ पुरुष र ७ जना महिलामात्र मितिनी सर्पोट गुप्रमा संलग्न थिए ।

सन् २००२ मा शुरु गरेको सर्पोट गु्रपलाई २००५ मा मितिनी नेपाल नामक गैरसरकारी संस्थाका रुपमा स्थापना गर्न सफल भइन् । ‘अहिले त १६ हजारभन्दा बढि सदस्य नै पुगिसके’ खुसी हुँदै उनले भनिन् ।

मितिनी नेपालको योगदान

लक्ष्मी भन्छिन्, एउटा महिला जो भावनात्मक र यौनिक हिसाबले पनि महिलासँगै आकर्षण हुन्छन् भने तिनीहरु समलिङ्गी हुन् भन्ने बुझ्नुपर्छ । समलिङ्गी पुरुष पनि हुन सक्छन् महिला पनि हुन सक्छन् ।

विगत १४ वर्षदेखि यस संस्थाले महिला समलिङ्गीहरुको समान हक अधिकारका लागि सम्बन्धित निकाय समक्ष ढोका घच्घचाउने काम गरिरहेको उनी बताउछिन् ।

‘साथमा हामीले सामाजिक जागरण तथा सचेतनामुलक कार्यक्रमहरु गर्न थाल्यौं’ उनले भनिन्, त्यो समय मानिसहरु आफ्नो पहिचान लुकाएरै बस्न चाहन्थे।’

त्यससँगै लेस्बिन महिलाहरुका लागि मितिनी नेपालले सीप विकास तथा आयआर्जन तालिम दिन थालेको उनी बताउछिन् ।

‘आभुषण्का सामग्री निर्माण, सिलाइ बुनाइ, ड्राइभिङ, सौन्दर्यकला सम्बन्धी तालिम, कफी तयारी, च्याऊखेती तथा मैनबत्ती उत्पादन जस्ता तालिमहरु अहिले पनि सञ्चालन गरिरहेका छौं’ खबरहबसँगको कुराकानीमा लक्ष्मीले भनिन्, ‘समलिङ्गी महिलाहरुपनि अवसर पाएमा आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण पनि हो यो।’

‘हिजोका दिनमा अरुबाट हेपिएर विभिन्न गाली गलाउज खाएर बस्नुपरेको अवस्था थियो’ उनी भन्छिन्, ‘आज मितिनी नेपालको अध्यक्षका रुपमा काम गरिरहेको छु।’

समलिङ्गीका लागि अनुरोध

समलिङ्गी महिलाहरुका लागि सेक्सुयल वरिन्टेशन लुकाएर नबस्न समेत अनुरोध गर्छिन् उनी ।

यदि कोही पनि व्यक्ति आफु लेस्बिन हुँ भन्ने कुरा थाहा भइसकेपछि परिवार र समाजबाट खुलेर बाहिर आउनका लागि उनी अनरोध समेत गर्छिन् ।

आजका दिनमा पनि हामी खुल्न सकेनौं भने कहिले खुलेर बाहिर आउने’ उनी भन्छिन्, ‘खुलेर बाहिर आउनुस् हातेमालो गर्दै समाजमा केही परिवर्तन गर्नुपर्छ।’


भर्खर

0