मानसिक रोग लागेपछि विवाह गर्ने र ?

डा.विश्वबन्धु शर्मा

शनिबार, असोज ११, २०७६

Reading Time: 6 minutes

मानसिक रोग लागेपछि विवाह गर्ने र ?

सांकेतिक तस्वीर

मानसिक रोग लागेपछि विवाह गर्ने कि नगर्ने भन्ने सँधै अन्योलको स्थिति हुन्छ । मानसिक रोग लागेकी बुहारी परी वा रोग लागेकी छोरी विवाह गरिदिनु पर्‍यो भने त्यसको पारिवारिक, सामाजिक असर निकै ठूलो हुनसक्छ ।

त्यस्ता थुप्रै घटना मैले अनुभव गरेको छु । मकहाँ उपचार गराउन आउनेहरु मध्ये कतिपय विरामी तथा आफन्तहरु यस सम्बन्धी समस्यामा परेका छन् । यस्ता केही घटनाहरु म उल्लेख गर्नेछु । त्यसबाट पनि मानसिक रोगीले विहे गर्ने कि नगर्ने भन्ने सम्बन्धमा पाठकहरुले आफैँले केही निष्कर्ष निकाल्न सक्नुहुनेछ ।

विवाह गरेपछि रोग निको हुन्छ भन्ने धेरैले भ्रम पालेका हुँदारहेछन् । कतिपयले त मानसिक रोगीलाई विवाह गर्न सल्लाह पनि दिदा रहेछन् । कतिपय अवस्थामा विवाह पछि नयाँ ठाउँ, नयाँ मानिसहरु, नयाँ परिवेशका कारण हल्का मानसिक रोगमा सुधार आउने पनि हुन्छ । तर विवाह आफैँमा रोग निको पार्ने साधन भने होइन र सवैलाई फाइदा नै हुन्छ भन्ने पनि होइन ।

यस बारेमा मलाई पनि सोध्न आउँछन् । ‘विहे गर्दिदा के होला ?’ भन्छन् । ‘हेर्नुस् विवाह उसको आधारभूत आवश्यकता हो । उसको अधिकार पनि हो । विवाह गर्न मिल्दैन, पाउँदैन त मैले भन्न सक्तिन । तर अहिलेको अवस्थामा विवाह गर्दा सुखी दाम्पत्य जीवन चाहिँ हुँदैन’ भनेर सम्झाउने कोशिस गर्छु ।

यसरी भन्दा पनि पछि समस्या आयो भने ‘तपाईँले विहे गरे हुन्छ भन्नुभाथ्यो’ भनिदिन्छन् । ‘तपाईँले हुँदै हुँदैन भनेर कडासँग भनेको भए हामी हच्किन्थ्यौँ होला । तपाईँले हुन्छ भनेको त हो नि’ भनिदिन्छन् । बडो अप्ठेरो स्थिति उत्पन्न हुन्छ ।

मानसिक रोग लागेपछिको बैवाहिक जीवन वारेमा केही घटनाहरु मेरो स्मरणमा छन् ।

विवाहले विस्थापित

उपचारका लागि आएका एक परिवारमा जागिरबाट अवकास लिएका बुबा र एउटा छोरा मात्र रहेछन् । आमा पहिले नै बितिसकेकी।

स्नातकोत्तर गरेर कलेज पढाउँदै गरेको छोरालाई सिजोफ्रेनियाले समात्यो । मकहाँ उपचार चलिरहेको थियो । उमेर अलि छिप्पीई सकेको र व्यवसायमा लागिसकेको हुँदा रोगले व्यक्तित्वमा धेरै असर गरेको थिएन ।

जति कम उमेर भयो व्यक्तित्वमा त्यति नै धेरै असर गर्छ । ब्यक्तित्व, बौद्धिकता, पेशागत दक्षता, सामाजिक सम्बन्ध विकास हुनका लागि समय लाग्छ । त्यो भन्दा अघि नै रोग लागिदियो भने व्यक्तित्व विकासमा बाधा पुग्छ । तर त्यो चरण पार गरेपछि ३०।३५ वर्षको उमेरमा लागेको रोग चाहिँ इलाज भएपछि लगभग ठिक नै हुन्छ । नियमित औषधि गरेर दोहोरिने स्थिति आएन भने खासै असर देखिदैन । त्यसपछि प्रगति धेरै नहोला तर क्षती पुग्दैन । अलिअलि असर देखिए पनि सामान्य अवस्थामा नै हुन्छ । जीवन सामान्य रुपले चल्छ ।

त्यस परिवारमा छोराको त्यस्तै अवस्था थियो । समयमै इलाजका लागि आए, राम्रो भइरहेको थियो । विवाहको वारेमा मलाई पनि सोधे । मैले ‘अव परिपक्व भइसकेकाले पढेलेखेको परिपक्व केटीलाई जानकारी दिएरै विहे गर्दा त्यति फरक त पर्दैन तर नझुक्याउनु, साँचो कुरा भन्नु होला । विवाह गरेपनि राजी खुसीले, सरसल्लाहले गर्नु भनेको थिएँ ।

उनीहरु पहाडबाट तराईतिर बसाई सरेका थिए । आप्mनो पुरानो थातथलोतिरको स्नातक गरेकी केटीसँग विवाह गरेछन् । केटी पक्षलाई ‘चिन्ताको रोग हो, डाक्टरले विहे गरे हुन्छ भनेका छन’ भनेका रहेछन् । विहे गरेपछि मलाई केटाकेटी नै भेट्न आए ।

श्रीमतीले ‘कस्तो खालको रोग हो ? अलिअलि रोग छ, नसाको रोग भनेर अस्पष्ट रुपमा भन्नुभएको थियो’ भनिन् ।

‘विहे अगाडि मैले दुईतीन पटक उहाँलाई भेटेको हो, खाइरहेको औषधिको नाम, रोगको नाम दिनुस् भनेकी थिएँ, दिनु भएन, डाक्टरको नाम पनि दिनु भएको थिएन, रोगको नाम नदिदा मलाई अलिकता शंका त लागेको थियो । तर दुई तीन पटक भेटेर कुरा गर्दा ठीकै लाग्यो । घरका मानिसहरुले पनि यत्तिको केटासँग विहे गरे हुन्छ, पछि यहाँभन्दा राम्रो पाइन्छ भन्ने छैन, यसलाई छोड्नु हुँदैन जस्तो कुरा गरे । विहे गरेपछि मात्र यो सवै थाहा भयो’ भनिन् ।

मैले उनलाई आघात नपर्ने गरी जानकारी दिएँ र अलि होसियारी अपनाउँन पनि भनेँ । ‘यो रोग धेरैलाई हुन्छ, तर रोग पाको उमेरमा शुरु भएको र वेलैमा इलाज भएकाले पूर्ण निको भएको छ, औषधि खाइरहेमा अप्ठेरो पर्दैन, कम मात्राको औषधि छ । तपाईँले औषधि छोड्न दिनु भएन । ठीक छ भनेर औषधि छोडेमा पछि बल्झिन सक्छ, बल्भ्mयो भने समस्या हुनसक्छ, अलि विचार गर्नु होला’ भनेर सान्त्वना दिएँ ।

मेरो कुरा सुनेपछि उनी चित्त बुझाउँदै ‘म फलोअपमा ल्याउँछु’ भनेर गएकी थिइन । तर फलोअपमा उनीहरु आएनन् । पछि विस्तारै समस्या बल्झिदै गएछ । केटीलाई लोग्ने पागल भएको भन्ने भ्रम परेछ ।

एकैचोटी एक बर्षपछि बाबुछोरा आए, बुबाले ‘हामी त खत्तम भयौँ डा साव’ भने । ‘के भो’ भनेर सोधेँ ।

‘उसले को सँग सल्लाह लिई कुन्नि, सधैँ कचकच गर्ने, झगडा हुनथाल्यो । उनीहरु सँगै बस्दा भन्दा अलग बस्दा ठीक हुने स्थिति आयो । उनले सँगै वस्न सक्दिन भनिन् र जानकारी नै नदिई माइत गइन् । अलिपछि अदालतबाट अचानक पुर्जी आयो ।

सम्बन्ध विच्छेद, अंश, माना चामल, मानसिक रोग लागेको मानिसलाई सद्धे भनेर झुटा बोलेकोमा जालसाँजी, विहेमा भएको खर्चको क्षतीपूर्ती, माइतीको प्रतिष्ठामा आँच पुर्‍याएको भनेर गाली वेइज्जती समेत गरी छवटा मुद्दा हालेको थाहा पाइयो ।

यती धेरै मुद्दा हाल्ने मानिससँग मुद्दा लडेर मैले सक्ने कुरा छैन भनेर अंश त दिनै पर्ने हुन्छ, जिन्दगीभर काम गरेर बाटो छेउमा घर बनाएको थिएँ, त्यही घरको भाडाले मेरो गुजारा चलेको थियो । बुहारी र उनको माइतीले त्यही ताके । ‘मुद्दा फिर्ता गर्नुस् तुरुन्तै अंश दिन्छु’ भनेँ ।

‘सानो टुक्रा जमिनमा बनेको घर टुक्राउन नमिल्ने हुँदा सवै घर दिनुपर्‍यो । यसरी हामीलाई विस्थापित नै बनाइदिए ।’

‘अहिले बाबुआमा ल्याएर त्यही घरमा राखेर वसेकी छ । कसैले सिकाए होलान् । मलाई यो लफडामा फस्दा छोरालाई रोग बल्झेला भन्ने पनि भयो । किन झगडामा पर्ने भनेर घर छोडेर बाहिर गएर वसेँ । उसले घरै खोजेकाले मलाई धेरै झगडा गर्न मन लागेन ।’ उनले साह्रै दुख मानेर सुनाए ।

लामो समय उनीहरु जचाउन आएनन्, पछि रोग उल्टियो । पहिला उनलाई सिजोफ्रेनियाको साधारण औषधि दिएको थियो, राम्रो भएको थियो । विवाह र त्यसबाट उत्पन्न समस्याले रोग जटिल भइदियो । उनको स्वभाव नै परिवर्तन भएछ ।

‘अव औषधिको के अर्थ छ ? जीवन यस्तै हो म खान्न, भन्न थालेछन् । मैले एउटा केटीले छोडी भन्दैमा त्यसो गर्नुपर्दैन भनेको थिएँ । उनले मानेनन् । हुन्छ भनेर गए पनि पछि उनले औषधि खाएनछन् । पछि जचाउन पनि आएनन् ।

डा.शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’बाट

भर्खर

0