रवि प्रकरणमा चुलिएको ‘मास फ्रस्टेसन’ आम विष्फोटको संकेत | Khabarhub Khabarhub

रवि प्रकरणमा चुलिएको ‘मास फ्रस्टेसन’ आम विष्फोटको संकेत


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत साउन महिनाको मध्यपछि देशमा दूरगामी महत्वका २ वटा परिदृष्य देखापरे । एउटा हो–कथित संघीयता, धर्म–निरपेक्षता र गणतन्त्रमाथि खतरा आएको भन्दै त्यसलाई जोगाउने उपायको खोजिका रुपमा केपी ओलीले वालुवाटारमा बोलाएको ४ दलको बैठक र अर्को परिदृष्य हो–शालिकराम पुडासैनीको मृत्यू प्रकरणमा गिरफ्तार गरिएका पत्रकार रवि लामिछानेमाथि लगाईएका आरोपहरुलाई कुनै पनि रुपमा स्वीकार गर्न तयार नदेखिएको जनमतको एकहोरो दृढता । यी २ वटा घटनाहरुले नेपाली जनमत लक्षणरेखा खिचेर विभाजित भैसकेको देखाउँछ ।

ओलीको वालुवाटारको बैठक राजा ज्ञानेन्द्र शाहको त्रासमा केन्द्रित थियो । बैठकमा खतराको चर्चा हुनु ठूलो महत्वको कुरा होईन, महत्वको कुरा के हो भने शासकहरुले आयोजना गरेको सो बैठक तिनीहरुका काँधमा विदेशीहरुले बोकाईदिएको ‘पाप’को भारी भुईंमा पछारिने बिन्दूमा पुगेको सन्देश हो त्यो । रवि लामिछानेविरुद्ध प्रस्तुत गरिएका आरोपहरु प्रतिको अविश्वासले पनि के कुरा देखाईरहेको छ भने नेपालीहरुमा विकास भएको ‘फ्रस्टेसन’ले थेग्न सक्ने हद पार गरिसकेको छ र यसले आम रुप लिईसकेको छ। दलहरुप्रतिको भरोशा पूरै समाप्त भएको छ।

यस्तो अवस्था विना कारण उत्पन्न भएको छैन। नेपालविरुद्ध विदेशी योजनामा लादिएको ‘संघीय लोकतन्त्र’ नामको दलालतन्त्रले विधि, विधान, मूल्य, नैतिकता, पद्धतिका सम्पूर्ण सिमाहरु नाँघेर देखाउँदै आएको ताण्डव नाँच यसका पछाडिको एकमात्र कारण हो। दलियताका नाममा वेलगाम बनेको राज्य कोषको लुट, जनताले तिरेको करमा तलबभत्ता र सुविधाको छिनाझप्टी, भ्रष्टाचारका आडमा हुर्केको नेताहरुको राजसी जीवनशैली, खरबौं रकमका दर्जनौं घोटाला, निर्मला हत्या जस्ता दण्डहिन अपराधहरु आदिले नेपालीहरुलाई पूर्ण रुपमा विरक्त बनाईसकेका छन्।

यतिबेलाको बहसको केन्द्रिय प्रश्न राजा ज्ञानेन्द्र, रवि लामिछाने वा सत्ताको विरोध गर्ने अन्य व्यक्ति वा संस्थाहरुका कमजोर पक्षहरु के हुन् भन्ने होईन र हुनु पनि हुँदैन। अब व्यवस्था र दलहरु नै अपराधि हुन् भन्ने कुरामैं बहस केन्द्रित हुनु पर्छ। रवि लामिछानेका गैर–कानूनी कामहरुलाई नियन्त्रण गर्ने उद्देश्य भएको भए पहिल्यै कारर्वाही हुन्थ्यो।

देशविरुद्ध विदेशीहरुको नग्न दलाली गर्नु, राज्यका सूचना र सम्पदाहरु बेचेर नेतागिरी/जागिरको धन्धा चलाउनु, स्वेच्छाचारी शासन चलाउनु, ब्यापारघाटा ९९ प्रतिशत पुर्‍याएर देशको टाट पल्टाउनु, विदेशी योजनामा सबै जनशक्ति बाहिर निकाल्नु, नागरिकता बेचेर विदेशी भर्ने अपराधमा लाग्नु, बजेटको ९८ प्रतिशत हिस्सा मोजमस्तिमा उडाउनु, स्वदेशी धर्म र संस्कृतिहरु मास्न ‘होली वाईन’ जस्ता विदेशी चालमा राज्यको दुरुपयोग गर्नु, सँधै साम्प्रदायिक मुद्दा उछालेर देश शान्त हुन नदिनु जस्ता कुकर्मले यीनीहरुप्रति जागेको घृणा प्रतिसोधको भावनामा रुपान्तर भैसकेको छ।

नेपालमा ‘फ्रस्टेसन’ (निराशा) को समस्या विभिन्न रुपमा प्रकट हुँदै आएको छ। एउटा नाबालकले ‘सुसाईट नोट’ लेखेर मृत्यू वरण गर्नु, ६ दिनकि अबोध बालिकालाई बलात्कार गरेर हत्या गर्नु, बाबुआमाले छोराछोरीको र छोराछोरीले आमाबाबुको कृतघ्नतापूर्वक हत्या गर्नु, यूवायूवतीहरुले आफू अपहरण परेको योजना बनाएर बाबुआमासँग पैसा असुल्नु, आत्महत्या र डिप्रेसनको रफ्तार दिनदिनै बढ्नु, यूवा पुस्तामा विदेश जाने एकहोरो सोंच विकास हुनु जस्ता मनोवृतिहरुले ‘फ्रस्टेसन’को स्तर उत्कर्षको बिन्दूमा पुगिसकेको यथार्थतालाई प्रतिनिधित्व गर्दछन्।

‘फ्रस्टेसन’को दायरा र स्तर कति ब्यापक बनिसकेको छ भन्ने कुरा मानिसहरुमा व्याप्त विकृतिहरुको तस्वीरले पनि छर्लङ्ग पार्दछन्। पैसा आर्जन गर्नका लागि ‘जस्तो काम पनि गर्ने’ मनोवृति व्यक्ति/व्यक्तिमा व्याप्त भएको छ। यसै मनोवृतिका कारणले आज देशमा जग्गा दलाल र कमिशनखोर नभएको घर बत्ति बालेर खोज्नु पर्ने अवस्था आएको छ। परस्त्रि र परपुरुष गमनका प्रवृतिहरु अदृष्य संस्कारका रुपमा विकास भएका छन्। राज्य र समाज व्यवस्था प्रणालीप्रति पूर्ण अविश्वास र हर काम स्वेच्छामा गर्ने मनोविज्ञान विकास भएको अवस्था छ।

जब मानिस मानसिक रुपमैं वारपारको अवस्थामा पुग्छ, तब समाजमा आँधी आउने यथार्थता अपरिहार्य बन्न जान्छ। यस्तो परिवेश अकारण निर्माण हुँदैन र तयार भैसकेको विभाजनको रेखालाई कामनाका आधारमा मेट्न पनि सम्भव हुँदैन। यस्तो सामाजिक परिवेश निर्माण गर्नका लागि लामो समयदेखि प्रयास हुँदै आएको थियो। नेपाल विरुद्धको रणनीतिको एउटा अभिन्न अङ्गका रुपमा विदेशी साम्राज्यवादीहरुले आफ्ना दलालहरुलाई प्रयोग गरेर यसको भौतिक/सामाजिक आधार बनाउँदै आएका थिए। यसको गहिरो अध्ययन हुन आवश्यक छ।

१. नागरिकहरुले राज्य पक्षको कुरा सुन्नै चाहँदैनन् किन ?

राजा ज्ञानेन्द्रमा पनि केहि कमिकमजोरी होलान तर नेपाली जनमत अहिले ति कुराहरु सुन्न तयार छैन। देशभरी ‘राजा आऊ, देश बचाऊ’को नारामा जनमत बढ्दो छ। रवि लामिछाने पनि समस्यामुक्त छैनन् तर जनताको ठूलो संख्या उनका कमजोर पक्षहरुको बहसमा लाग्न तयार छैन।

राज्य हाँक्नेहरुले जति मिठा भाषण छाँटे पनि त्यसलाई सकारात्मक रुपमा लिन कोहि तयार छैनन् किनकि दलका नाममा यस्ता भयानक अपराधहरु भएका छन् कि तिनका अपराधहरुसँग अरुका कमजोरीको तुलना गर्न सकिने अवस्थै छैन। अहिले दुईवटा कुराहरुमा तुलना गर्न रुची पैदा नहुने अवस्थाको विकास भएको छ।

२. शासकवर्गका सकारात्मक कुराबारे कोहि चर्चा गर्न चाहँदैनन् किन ?

शासक वर्गले गरेका राम्रा भनिएका कामहरु झिनामसिना तपसिलका विषय छन्। उनीहरुले गर्दै आएका प्रमूख कामहरु जघन्य अपराधहरु र देशद्रोहसंग जोडिएका छन्। मूल कुरा खराब भएपछि तपसिलका कुरा छाँयामा पर्नु स्वाभाविक छ।

नियोजित अपराधहरुको निरन्तरताले नागरिकहरुमा उत्पन्न भएको असन्तुष्टि, रोष र घृणालाई अविश्वासमा परिणत गरिसकेको छ। विश्वास/अविश्वास भन्ने कुरा तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न आवश्यक मानिंदैनन्। कसैलाई राज्य र दलहरु अपराधका सम्वाहक हुन् भन्ने लाग्यो भने लाग्यो लाग्यो। यस्तो मानसिकतालाई सामान्य प्रयासबाट बदल्न सकिंदैन।

३. भोली के होला भनेर कसैमा केहि सोंच्ने मानसिकता छैन किन ?

यो गंभिर संकटको अवस्था हो। राज्य व्यवस्था र दलहरुका विरुद्धमा उर्लेको जनभावना अहिलेको भन्दा खराब दिशामा जान सक्ने संभावना हुन सक्छ तर यो कुरामा कसैको चिन्ता देखिन्न।

किनभने विदेशी दलालहरुको अचाक्लीले मानिसहरुमा यस्तो मनोविज्ञान बनेको छ कि उनीहरु आजका शासकहरुभन्दा खराब तत्व अरु कोही हुनै सक्दैनन् भन्ने निष्कर्षमा पुगिसकेका छन्। अहिलेको जनमतको यौटै निशाना हो– १२ बुँदे विदेशी राजनीति र दलहरु। यी दुईवटा चिजलाई जसरी पनि समाप्त पार्नु पर्नु सबैको प्राथमिक कर्तव्य हो भन्ने जनमतको निष्कर्ष हो। यसमा सौदाबाजि गर्ने पक्षमा कोही छैनन्।

‘मास फ्रस्टेसन’को कल्पना विदेशी शक्ति र तिनका दलालहरुको पहिलेकै योजना हो। नेपालमा मानवीय संकट खडा गरेर नेपालीहरुलाई नेपालकै विरुद्धमा प्रयोग गर्ने डिजाईनमा यस्तो कल्पना गरिएको थियो। अर्थतन्त्रको निजिकरणको नारा लगाउँदै राष्ट्रिय उद्योग–धन्धाहरुको विनाश गरेर बेरोजगारीलाई विकराल बनाउनु, बेरोजगार हुने नेपालीहरुलाई वैदेशिक रोजगारीका बहानामा बाहिर निकाल्ने र परिवार, समाज तथा देशबाट अलग बनाएर ‘फ्रस्टेसन’ (निराशा) पैदा गरी प्रयोग गर्ने रणनीति ३० बर्ष अघि नै कार्यान्वयनमा आएको थियो।

यो षडयन्त्रबाट बेरोजगारहरुको यौटा पंक्तिलाई बाहिर निकाल्न शुरु गरियो, दोश्रो पंक्तिलाई एनजिओहरुको जालोभित्र हालेर विकृतिका संवाहकका रुपमा दिक्षित गरियो र बाँकि पंक्तिलाई विदेशी डिजाईनको १० बर्षे युद्धमा प्रयोग गरियो। यसबाट उत्पन्न हुने समस्यालाई ‘मास फ्रस्टेसन’का रुपमा विकास गर्न लागि ०६३ सालपछि विदेशीहरुले नेपाल विरोधि मिशनमा दिक्षित गरेका अपराधि गिरोहहरुलाई ‘दल’को खोलमा सजाएर ताण्डव नाँच शुरु गरे। तर अनपेक्षित रुपमा तिनीहरुको अपराधिक योजना आफ्नै विरुद्धमा सोझिन थालेको छ।

नेपालीहरुका पारिवारीक/सामाजिक/आर्थिक सम्बन्धहरु छिन्नभिन्न पार्ने, अस्तव्यस्त भएको मानिसलाई देश बाहिर निकालेर अलगाउमा लैजाने, चौतर्फि अलग्गिएको मानिसमा चरम निराशा (फ्रस्टेशन) पैदा गर्ने, निराश मानिसको मष्तिष्कमा शून्यता खडा गर्ने र मानसिक शून्यतालाई आफ्नो अनुकूलतामा उपयोग गर्ने नेपाल विरोधि शक्तिहरुको योजना नै अहिलेको मानवीय संकटको मूख्य कारण हो। ‘मास फ्रस्टेसन’का रुपमा देखापरेको यो संकटले कसलाई कतातिर हुत्याएर नामेट बनाउँछ भन्ने कुरा अनुमान गर्न सकिंदैन तर यसको नतिजा विध्वंश नै हुन्छ।

रवि गिरफ्तारीको घटना नेपालमा हिंसा र द्वन्दको अर्को चक्र शुरु गर्ने अबान्छित शक्तिहरुको योजना पनि हो। अपराधि तत्वहरु धमिलो वातावरणमा खेल्न र सुरक्षित महसुस गर्न सक्छन्।

यतिबेलाको बहसको केन्द्रिय प्रश्न राजा ज्ञानेन्द्र, रवि लामिछाने वा सत्ताको विरोध गर्ने अन्य व्यक्ति वा संस्थाहरुका कमजोर पक्षहरु के हुन् भन्ने होईन र हुनु पनि हुँदैन। अब व्यवस्था र दलहरु नै अपराधि हुन् भन्ने कुरामैं बहस केन्द्रित हुनु पर्छ। रवि लामिछानेका गैर–कानूनी कामहरुलाई नियन्त्रण गर्ने उद्देश्य भएको भए पहिल्यै कारर्वाही हुन्थ्यो। सत्ताधारी वर्गले आफ्ना अपराधहरु पर्दाफास गर्दै गएपछि अस्तित्व रक्षाका लागि शालिकरामको मृत्यूलाई ढाल बनाएर रवि लामिछानेमाथि राजनीतिक हतियार उठाएका हुन्। यो पुष्पकमल दाहालको विशेष रुचीमा भएको घटना हो।

कुरा यत्तिमा सिमित छैन। रवि गिरफ्तारीको घटना नेपालमा हिंसा र द्वन्दको अर्को चक्र शुरु गर्ने अबान्छित शक्तिहरुको योजना पनि हो। अपराधि तत्वहरु धमिलो वातावरणमा खेल्न र सुरक्षित महसुस गर्न सक्छन्। विभिन्न जातियताका नाममा आन्दोलनका लागि भैरहेका तयारीहरु, बाबुराम–उपेन्द्रको ब्यानरमा संविधान जारी हुनु पूर्वका मुद्दाहरु ब्यँताउन र सरकार छोडेर सडकमा आउन भैरहेको तयारी, सिके राउतको खेललाई सहज बनाउन भएको अवतरणको नाटक, राजपाले दिएको आन्दोलनको धम्कि देखि शालिकराम मृत्यू प्रकरणसम्मका घटनाहरु क्रमबद्ध रुपमा आएका छन्।

यो प्रकरणले कानूनी रुप त्यागेर राजनीतिक कित्ताबन्दिको रुप लिईसकेको छ र दुई कित्ताका वरिपरि विभिन्न खाले अभिष्टहरुको ध्रुविकरण सुरु भैसकेको छ। यो मुद्दा रवि वा पुडासैनीले न्याय पाउनु पर्ने कुरामा रोकिनेवाला छैन बरु यी दुबै पात्रहरुसंग जोडिएको संवेदनालाई दुरुपयोग गरेर राजनीतिक रणनीतिका रुपमा छताछुल्ल हुनेवाला छ। एउटा हिंसात्मक दुश्चक्रको विकासका लागि अबान्छित शक्ति–केन्द्रहरुले ध्रुविकृत गराईंदै लगिएका पक्षहरुमध्ये कुनै एउटा पक्षलाई सदाका लागि समाप्त पार्न पनि सक्छन्। परिस्थितिले निमित्त कारण मात्र पर्खेर बसेको छ, विष्फोटको वातावरण तयार छ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ८ : २४ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको