आरन चलाउनेको पीडाः वर्षभरी फलाम कुट्दा ५ पाथी अन्न « Khabarhub
Logo
१० माघ २०७८, सोमबार

आरन चलाउनेको पीडाः वर्षभरी फलाम कुट्दा ५ पाथी अन्न



बद्री पन्त

जाजरकोट–जाजरकोटको नलगाड नगरपालिका– २, चिउरीका ६२ वर्षीय ईश्वरे महरले आरन चलाउने पेशा शुरु गरेको ५० वर्ष वित्यो ।

१२ वर्षको कलिलो उमेरदेखि नै आरनमा घन ठोकेर फलामका सामाग्री बनाउँदै आएका महर, अझैपनि पुर्खादेखि चलिआएको खलो उठाएर गुजारा गर्ने, (बालिघरे प्रथा) चलाउदै आएका छन् ।

‘पहिले पहिले त खान पुगेको थियो हजुर’ दुःख मिसिएको स्वरभा महरले भने,‘अहिले आगोको राप्मा फलामको काम गरेर उठ्ने खलोले जीवन चलाउन नै नसकिने भइयो ।’

महर मात्र होइन, बारेकोट गाउँपालिका ५, तोलखानाका ६० वर्षीय मुनबहादुर कामी पनि परम्परागत आरन पेशा गर्छन् । महरले जस्तै उनको पनि बालीबाट आएको अन्नले ८ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ ।

८ जना परिवारको खर्च धान्ने मुनबहादुर पनि बालिघरे प्रथा अनुसार नै खलो उठाएर गुजारा गर्दै आएका छन् । ४० बर्षदेखि आरनको पेशामा होमिएका मुनबहादुर आरन बाहेक अरु सिप नभएकाले बाउबाजेदेखि चलिआएको पेशा गर्न बाध्य भएको बताउँछन् ।

आरनको काम गर्दा शरीर गल्ने भएपनि दिनभरीको कामले खान नपुग्ने उनको दुखेसो छ । ईश्वरे महर र मुनबहादुर कामी त प्रतिनिधि पात्र मात्र हुन् । जाजरकोटको नलगाड नगरपालिका र बोरकोट गाउँपालिकामा आरनका भरमा जीवन धान्ने २ सय बढी परिवार छन् ।

खरको छाप्रोमा ओत लागेर आगोको भुंग्रोसँग खेल्दै फलामलाई निश्चित आकारमा ढाल्नु उमेर ढल्केका धेरैकै दैनिकी बनेको छ । कष्ठकर काम गरेपनि मन खोलेर मिठो खान नसक्नु उनीहरुको नियती बनेको छ ।

फलामलाई तताएर फलामको अचानोमा घनले पिट्दा लाग्ने भोक उनीहरुले पानी पिएर मेटाउने गरेका छन् । फलामको अचानोमा आरनमा पोलिएका धातु नरम भएपछि त्यसलाई ठुलो घनले पिटेर आकार दिइन्छ ।

धातुलाई पिटेर बञ्चरो, दाउ, हसिया, कुटो, कोदालो, ओदान लगायतका सामाग्री बनाइन्छ । यसरी परम्परागत रुपमा सामग्री बनाए बापत उनीहरुले खलो उठाएर जीवन गुजारा गर्दै आएका छन् ।

हातमा भएको आरन चलाउने इलम र आम्दानीको अर्को श्रोत नभएकाले आरनमा खेती किसानीका उपकरण र भाडावर्तन बनाएर यी दलित परिवार गाउँलेबाट खलो उठाउँदै गुजारा गर्दै आएका छन् । तर, विडम्बना पुर्खौपुर्खा देखि गाउँगाउँमा सञ्चालन भएको आरन पेशाको प्रबद्र्धन हुन सकेको छैन ।

स्थानीय कमल नेपाली सरकारी वा गैरसरकारी क्षेत्रबाट सहयोग भए परम्परागत पेशालाई आधुनिक बनाउन सकिने र यसले काम गरि खानेको सम्मान हुने बताउंछन् ।

श्रोत साधनको अभावमा उनीहरुको पेशा लोप हुने अवस्था तर्फ उन्मुख भएको छ । यो पेशा लोप हुने हो भने कतिको भान्सामा आगो बाल्ने अवस्था पनि बन्ने छैन ।

आरनको काम त्यति सजिलो पनि छैन । फलामलाई तताएर वल पूर्वक विभिन्न आकारमा ढाल्न सकिएन भने सामाग्रीको आकार बिग्रने डर हुन्छ।  आगोका कारण केहीका छाप्रा समेत डढ्ने गरेको घटना सार्वजनिक हुने गरेको छ । भूमिहीन भएका कारण उनीहरुले आफूले चाहेको स्थानमा आरनलाई बनाउन वा स्थानान्तरण गर्न सक्ने अवस्था पनि छैन ।

उनीहरुको पेशा संकटमा पर्ने अर्को कारण पनि छ । त्यो हो बजारमा उपलव्ध हुने सामाग्री । यस्ता सामाग्रीका कारण इलम संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि उनीहरुमा छ ।

पछिल्लो समय आरनको लागि आबश्यक पर्ने कोइलाको समेत अभाव हुन थालेको छ । पृथ्वीबहादुर नेपाली भन्छन् –वन विनास हुने क्रम बढेसंगै पैंयु, मछाइनो, सल्लो लगायतका रुख लोप भएसंगै यो व्यवसाय थप संकटमा परेको छ ।

गाउँभरीका स्थानीयको धातुको समाग्री बनाए बापत् उनीहरुले बर्षमा ५ पाथी अन्न पाउने गरेका छन् । यसरी उठाएको खलोबाट उनीहरुलाई छाक टार्न नै समस्या पर्ने गरेको छ ।

अझ आरन पेशा व्यवसायीक आम्दानी तथा आर्थिक बृद्धिको श्रोत बन्न नसक्दा युवा जनशक्तिलाई समेत यस पेशाप्रति वितृष्णा बढेको छ । यूवाको आर्कषण घटेसँगै आरनमा वृद्धहरु मात्र भेटिन्छन् । तर, विडम्बना, परम्परा जोगाउन मरिमेट्ने ईश्वरे महर, मुनबहादुर कामी, कालीबहादुर नेपाली, कमल नेपाली, चाउरो कामी लगायतका आरन पेशा गर्नेहरुको जीवनस्तर भने कहिल्यै माथि उठ्न सकेन ।


भर्खर

0