सिरिन्ज आक्रमणको सन्त्रास फैलाउने सन्तोष कसरी पक्राउ परे ? | Khabarhub Khabarhub

सिरिन्ज आक्रमणको सन्त्रास फैलाउने सन्तोष कसरी पक्राउ परे ?


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निलो ज्याकेट, खैरो पाइन्ट, मुखमा माक्स लगाएका, टाउँको पनि ज्याकेट कै टोपीले छोपिएको र हातमा हत्कडी  लगाइएको ।

महानगरीय प्रहरी परिसरको टोलीले हलभित्र सार्वजनिक गर्नु अघिको अवस्था थियो यो ।  हलभित्र ल्याउँदै गर्दा प्रहरीले उनको टाउँकोको टोपी खोलिदिए । उनी थिए, काठमाडौंको महाराजगञ्जमा फाष्टफुड पसल सञ्चालन गर्दै आएका रामेछापका ३० वर्षीया सन्तोष कार्की ।

उनलाई प्रहरीले काठमाडौंमा महिला तथा युवतीमाथि भइरहेको सिरिन्ज (सुइ) आक्रमणको घटना संलग्न भएको भन्दै बिहीबार राति पक्राउ गरी आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ परेका कार्कीलाई सार्वजनिक गर्न हलभित्र ल्याइँदै गर्दा महानगरीय प्रहरी परिसर टेकुको हलभित्र रहेका पत्रकारको क्यामेरा उनैतिर तेर्सियो ।

‘माक्स पनि खोल्नुस्, माक्स पनि खोल्नुस् यसको अनुहार देखाउनै पर्छ माक्स खोल्दिनुस् ।’ पत्रकार सम्मेलन भइरहेको बेला हलभित्र एकाएक हल्लाखल्ला शुरु भयो ।

हलभित्र पत्रकार मात्र नभइ सिरिन्ज आक्रमणमा परेका युवती तथा महिलाका आफन्तहरु पनि थिए । उनीहरुले कार्कीको माक्स पनि खोल्नुपर्ने माग गर्दै थिए ।

काठमाडौंको विभिन्न स्थानमा आक्रमणमा परेका मध्ये ५ जना युवतीहरु पनि हलमा पुगेका थिए । कार्कीलाई केही समय राखेर प्रहरीले त्यहाँबाट लग्यो । प्रहरीले थुनामा राख्ने आदेश लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पत्रकार सम्मेलनपछि खबरहबसँग कुरा गर्दै पीडित एक युवतीले गुनासो पोखिन्-‘हामी पीडितले मुख देखाएरै बयान दिनुपर्ने, अनि हामीमाथि आक्रमण गर्नेलाई चाँहि माक्स लगाएर मुख लुकाउन दिने ?’

शुक्रबार प्रहरी परिसरमा आएका ५ पीडित युवतीमध्ये ४ जनाले हेपटाइटिस विरुद्धको खोप लगाएका छन् भने एक जना युवतीले एचआइभी विरुद्धको औषधि सेवन गरिरहेकी छन् ।

कार्कीले प्रहरीलाई दिएको बयानमा सिरिन्ज होइन भने पनि पीडित युवतीहरु भने सिरिन्ज नै होइन भन्ने कुरामा पूर्ण विश्वस्त छैनन् ।

‘गल्ती गर्ने मान्छेले यही गल्ती गरे त कसरी भन्छ ? त्यो व्यक्तिले हामीलाई सिरिन्ज हानेको होइन, काँटीले हानेको भनेको छ,’ पीडितमध्ये एक युवतीले खबरहबसँग भनिन्, ‘डाक्टरले हामी ४ जनालाई हेपटाइटिसको सुइ लगाइदिनु भएको छ, एकजनाले एचआइभी विरुद्धको औषधि पनि खादै हुनुहुन्छ ।’

चिकित्सकले रोग सार्ने नियतले सिरिन्ज आक्रमण भएको भए तीन महिना वा ६ महिनापछि मात्रै थाहा हुने भनेकाले आफूहरु अझै त्रसित रहेको पीडित युवतीले बताइन् ।

‘रोग सार्न सिरिन्जले आक्रमण गरेको रहेछ भने ३ वा ६ महिनापछि मात्रै थाहा हुन्छ भन्नुभएको छ, हामीलाई डर छ, ३ वा ६ महिनापछि हामीलाई त्यो रोग देखियो भने हाम्रो जिन्दगी बर्बाद हुन्छ,’ पीडित युवतीले भनिन्, ‘त्यो व्यक्तिलाई कडा भन्दा कडा कारबाही होस् भन्ने चाहन्छौं ।’

कसरी पक्राउ परे कार्की ?

प्रहरी समक्ष ५ वटासम्म उजुरी परेपछि सिरिन्ज आक्रमणको विषयमा महानगरीय प्रहरी काठमाडौं र अपराध महाशाखाको विशेष टोलीले गम्भीरतापूर्वक खोज थालेको थियो । बिहीबार साँझ प्रहरीले विशेष सूचना पायो– ‘राजधानीमा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने युवा महाराजगञ्जमा छन् ।’

युवतीमाथि राजधानीमा श्रृंखलाबद्ध आक्रमण भएपछि घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरीसँग आक्रमणकारी पक्राउ गर्ने अर्को बलियो प्रमाण थियो– सिसीटिभी फुटेज ।

पीडित युवतीले दिएको बयान, विशेष सूचना र सिसीटिभि फुटेजमा देखिएको कार्कीले प्रयोग गरेको मोटरसाईकलका आधारमा उनलाई प्रहरीले बिहीबार राति पक्राउ गर्न सफल भयो ।

प्रहरीले कार्कीले युवतीमाथि आक्रमण गर्दा प्रयोग गरेको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । महाराजगञ्जमा होटल सञ्चालन गर्दै आएका कार्कीले राति डेरा फर्किने क्रममा बाटोमा हिड्ने युवती देखेपछि उनीहरुमाथि आक्रमण गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

नैकापमा डेरा भएका कार्कीले महाराजगञ्जबाट नैकाप जाने रुटमा भेटिएका युवतीमाथि आक्रमण गर्ने गरेको बताएका छन् । कार्कीले काठको सुइरो र ढलान काँटी प्रयोग गरी युवतीमाथि आक्रमण गरेको बयानमा भनेका छन् । बाटोमा भेटिएका युवतीलाई जिस्काउने नियतले ढलान किलाले आक्रमण गरेको कार्कीको बयान छ ।

४ घटनाको दोषी पक्रियो, ७ घटना रहस्यमै

राजधानी लगायतका ठाउँमा गरी हालसम्म यस्ता प्रकारका ११ घटना घटिसकेका छन् । जसमध्ये ४ घटनाको दोषी आफू रहेको कार्कीले स्वीकारे पनि अन्य ७ घटनामा सिरिन्ज आक्रमण भएको हो वा अन्य कुनै वस्तु रहस्यमै छ । प्रहरीले अनुसन्धानलाई तीव्र पारेको जनाएको छ ।

प्रहरीले बिहीबार राति पक्राउ गरेको कार्कीले आफूले ४ जना युवतीलाई डुल्लु, सोह्रखुटे क्षेत्रमा आक्रमण गरेको बयान दिएका छन् । तर महानगरीय प्रहरी परिसरमा यस्तै प्रकृतिको आक्रमण भएको भन्दै ७ जना युवतीले उजुरी दिइसकेका छन् ।

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक महिनाको अवधिमा ११ जना महिला, युवती र बालिकामाथि सिरिन्ज आक्रमण भएको भन्दै उपचारका लागि आइसकेका छन् ।

प्रहरीले कार्कीलाई सार्वजनिक गरेकै केही समय अघि मात्रै पनि कीर्तिपुरबाट एक १२ वर्षीया बालिकामाथि यस्तै प्रकारको आक्रमण भएको थियो । सिरिन्ज आक्रमण भएको भन्दै उनलाई शुक्रराज अस्पतालमा ल्याइएको छ ।

बालिकालाई चिकित्सकले सिरिन्ज आक्रमणको आशंका गर्दै एचआइभी विरुद्धको औषधि दिएका छन् । बालिकाका आफन्तले कीर्तिपुर कै प्रहरी कार्यलयमा उजुरी समेत दिएका छन् ।

यस्तै असार १० गते (मंगलबार) बनेपाकी एक महिला पनि आफुमाथि सिरिन्ज आक्रमण भएको भन्दै शुक्रराज अस्पताल आएकी थिइन् । उनले अहिले एचआइभी विरुद्धको औषधि खाइरहेकी छन् ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीले काठमाडौंको घटना र बनेपाको घटना भने फरक रहेको बताए । उनले भने, ‘काठमाडौं र बनेपाको घटना फरक खालको छ, बनेपा घटनाको पनि त्यहाँको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ५ : ०० बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर