मधेश केन्द्रित दलहरुको तानातानमा डा भट्टराई ! | Khabarhub Khabarhub

मधेश केन्द्रित दलहरुको तानातानमा डा भट्टराई !




काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरणका लागि अन्तिम कसरत भइरहेको छ ।

मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि लामो समयदेखि छलफल जारी रहेको थियो । पछिल्ला चरणका छलफलहरु सकारात्मक बन्दै गएपछि नयाँ शक्ति र फोरम नेपालबीच छिट्टै एकता हुनेमा नेताहरु विश्वस्त बनेका छन् ।

नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख गंगा श्रेष्ठले संघीय समाजवादी फोरमसँग एकीकरणको लागि छलफल भइरहको जानकारी दिए ।
‘विभिन्न पार्टीबीच एकीकरणका विषयमा छलफल भइरहेको छ,’ नेता श्रेष्ठले भने,‘उपेन्द्रजीहरुको पार्टीसँग अलि घनिभूत छलफल भइरहेको छ ।’

उनले समाजवादी फोरमसँगको वार्ता सकारात्मक भएपनि केही प्राविधिक विषयमा कुरा मिल्न बाँकी रहेको बताए । ‘पार्टी एकीकरण गर्ने जस्तो विषयमा धेरै हतार त गर्नु भएन नी’ श्रेष्ठले भने,‘त्यसका लागि घनिभूत छलफल आवश्यक हुन्छ ।’

बाबुराम भट्टराईको पार्टीसँग एकताका विषयमा लामो समयदेखि आफ्नो पार्टीले छलफल र कुराकानी गरिरहेको समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले बताए । उनले भने,‘धेरै लामो समयदेखि एकताको विषयमा दुई पार्टीबीच कुराकानी चलिरहेको छ ।’

सरकार बाधक !

दुई तिहाईको सरकारमा उपप्रधानमन्त्री समेत रहेका समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग निरन्तर छलफलमा छन् । दुई अध्यक्षबीच पार्टी एकताका अधिकांश विषयमा कुरा मिलिसकेको फोरम अध्यक्ष यादव निकटका एक नेताले बताए ।

‘धेरै जसो विषयमा दुई नेताबीच कुरा मिलिसकेको छ,’ फोरम अध्यक्ष यादव निकटका एक नेताले भने,‘डा भट्टराईले एकता गर्न सरकारबाट बाहिरनुपर्छ भन्नु भएको छ, त्यसका लागि अध्यक्ष यादवले पार्टीमा छलफल गर्नुपर्छ भन्नु भएको छ ।’

समाजवादी फोरमको कन्द्रीय समितिको बैठक २१ गते बस्दैछ । उक्त बैठकमा अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्ति पार्टीसँगको एकताबारे कुरा राख्ने र केन्द्रीय समितिको राय अनुसार अघि बढ्ने तयारी गरेका छन् ।

फोरमले वैशाख २८ र २९ गते जनकपुरमा महाधिवेशको आयोजना गरेको छ । तर, त्यस अगावै बस्ने केन्द्रीय समिति बैठकले नयाँ शक्तिसँगको एकतामा ‘ग्रिन सिग्नल’ दिए उक्त महाधिवेश सर्ने तयारीमा अध्यक्ष यादव छन् ।

दुई अध्यक्ष राख्ने तयारी

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच दुई जना अध्यक्षले नेतृत्व गर्ने गरी पार्टी एकता गर्ने विषयमा सहमति जुटेको स्रोतको दाबी छ ।

शुरु शुरुका छलफलमा डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई नेतात्रय रहेन गरी एकता गर्ने विषयमा कुराकानी भएको थियो । जसमा डा. बाबुराम भट्टराई सुप्रिम लिडर र उपेन्द्र अध्यक्ष तथा अशोक राई वरिष्ठ नेता रहने गरी एकता गर्ने विषयमा छलफल केन्द्रित भएको थियो जसमा डा. बाबुराम भट्टराई पनि सकारात्मक थिए ।

तर, पछिल्ला बैठकहरुमा डा.भट्टराईले अध्यक्ष छोड्न नसकिने बताएपछि दुई जना अध्यक्ष रहेन गरी पार्टी एकता गर्ने विषयमा लगभग सहमति जुटेको एकता प्रकृयाको छलफलमा रहेका एक नेताले बताए ।

‘सबै कुरा मिल्दै आएको थियो, पछिल्लो बैठकमा डा. भट्टराईले एकता गर्ने हो भने फोरमले सरकार छोड्नुपर्छ भन्नुभयो’ ति नेताले भने, ‘त्यसपछि फोमरको केन्द्रीय समितिको निर्णयको पर्खाइमा नेताहरु रहेका छन् ।’

राजपाको जोड उपेन्द्रसँग होइन बाबुरामसँग एकता

उता तराई मधेश केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुले पनि डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिसँगको एकता प्रकृयालाई अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

राजपाको केन्द्रीय पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताले फोरमसँगको एकताका विषयमा आशंका व्यक्त गरेका थिए । उनीहरुले फोरमले राजपासँग एकता गर्न नचाहेको आरोप समेत लगाएका थिए ।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले फोरमसँग एकीकरणको विषयमा चिठी आदान–प्रदान मात्र भएको र एकताका विषयमा थप उपलब्धि हासिल नभएको बैठकमा जानकारी दिएका थिए । उनले फोरमसँगै नयाँ शक्ति पार्टीसँग एकीकरणका विषयमा अनौपचारिक छलफल जारी रहेको बताएका थिए ।

बैठकमा बोल्ने अन्य सदस्यहरुले समेत फोरमसँग भन्दा डा. भट्टराईको पार्टी नयाँ शक्तिसँग एकता गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ४९ बजे

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ