प्रति सटर १५ लाख लिएका ठेकेदार फरार, सटरमा डोजर चलाएपछि व्यापारीको बिचल्ली | Khabarhub Khabarhub

प्रति सटर १५ लाख लिएका ठेकेदार फरार, सटरमा डोजर चलाएपछि व्यापारीको बिचल्ली



काठमाडौं – काठमाडौं महानगरपालिकाले खुलामञ्चका सटरमा डोजर लगाएसँगै आफूहरु बिचल्लीमा परेको व्यापारीहरुले बताएका छन् ।

ठेकेदारलाई सलामीवापत १५ लाखसम्म रुपैयाँ तिरका व्यापारीहरुले आफूहरु लखेटिएको भन्दै आक्रोश समेत पोखेका छन् । सलामी वापत लाखौं रुपैयाँ तिरेका व्यापारीहरुले ठेकेदार सम्पर्कविहीन हुँदा बिचल्लीमा परेको  बताएका हुन् ।

उनीहरुले जानकारी विना नै सटर भत्काइँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको भन्दै  दुखेसो  पोखिरहेका छन् ।

शनिबार खुलामञ्च अतिक्रमण गरी निर्माण गरिएका सटरमाथि जिल्ला प्रशासन कार्यलय काठमाडौंको नेतृत्वमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको थियो । पुराना ९ वटा सटरलाई छोडेर नयाँ ४२ वटा सटरमा महानगरपालिकाले डोजर चलाएको हो ।

शनिबार दिउँसो एकाएक डोजर लगाउँदा व्यापारीहरुको कोलाहल भइरहेको थियो । उनीहरु के गर्ने, के नगर्ने अन्योलमा देखिन्थे । कोही हतार–हतार गर्दै आफ्नो सामान बाहिर निकाल्दै थिए त कोही चिच्याउँदै ।

त्यी नै मध्ये कै एक व्यापारी हुन् – तुलसा खत्री । उनी विगत ३ वर्षयता वसपार्क क्षेत्रमा जुत्ता चप्पलको व्यापार गर्दै आइरहेकी छन् ।
ठेकेदारले पुरानो बसपार्क क्षेत्र वरिपरी टिनको छानो हाल्दिएसँगै बिना भाडा व्यापार गर्दै आएकी थिइन उनी ।

महिना दिन अघि उनले सुनिन्, ‘ठेकेदारले सटर बनाइदिन्छ रे मासिक भाडा तिरेपछि व्यापार गर्न पाइन्छ रे’ । ‘बसपार्क क्षेत्र राम्रै व्यापार हुने ठाउँ हो सटर लिएरै बस्छु भन्ने सोचेर सटर लिएँ’ उनले भनिन् ।

धेरै व्यवसायीहरुले सलामी रकम तिरेपनि आफुले सो रकम हालसम्म नतिरेको र मासिक रुपमा ६० हजार बुझाउने सर्तमा बसेको उनले बताइन् । उनी वैशाख १ गते देखि सटरमा बसेर व्यापार गर्दै आइरहेकी थिइन् । ‘जुत्ता र चप्पल गरेर ४ लाखको सामान हालेकी थिए’ उनले भनिन् ।

खुलामञ्चको सटर हटाउनुपर्छ भन्दै विहीबार विरोध भएसँगै व्यापारीहरुको मनमा त्रास उत्पन्न भइरहेको उनले बताइन् । तुलसाका अनुसार सटरमा बस्न नदिने कुरा आएसँगै ठेकेदारलाई फोन गरेको र ठेकेदारले चिन्ता नलिनुस् केही हुदैँन भनेका थिए ।

‘शनिबार एक्कासी डोजर चलाउँदा फर्निचर र सिसाको दराज गरी २ लाख बराबरको क्षति भयो’ उनले भनिन् । ‘सडकमा बसेर व्यापार गर्नेलाई २ लाख कमाउन धेरै दिन लाग्छ तर दुई सातामै सखाप भयो’ तुलसाले दुखेसो गरिन् ।

महानगरले डोजर ल्याएर सटर भत्काएपश्चात पटक–पटक ठेकेदारलाई फोन गरेपनि सम्पर्कमा नआएको तुलसाले गुनासो गरिन् । ‘दिन–रात खटेर कमाएको पैसा यत्तिकै कसले छोड्छ’ ‘ढिलो चाँडो होस् क्षतिपूर्ति चाहिन्छ’ उनले भनिन् ।

खुलामञ्चभित्र व्यापार गर्ने अधिंकाश व्यापारीहरु फुटपाथमा व्यापारबाटै आएका देखिन्छन् । उनीहरु फेरि पनि फुटपाथमै जान तयार भएको सुनाउछन् तर क्षतिपूर्तिको माग गरिरहेका छन् । शनिबार सटरमा डोजर चलेसँगै आइतबार त्यहाँको अवस्था बुझ्न जाँदा व्यापारीले पीडा व्यक्त गरे ।

‘ठेकेदारले ल्याएर राख्यो, बस्यौँ तर लाखौँ सम्पत्ति धोस्त भएको छ अब क्षतिपूर्ति कसले दिन्छ ?’ व्यापारी रविन्द्र बि.क‍. भन्छन्– ‘यसरी बस्दा पछि गाह्रो हुने हो कि ? हामीले पहिले नै ठेकेदारसँग भनेका थियौं, तर ठेकेदारले महानगरपालिकासँग सम्झौता भएको र आनन्तले बस्न भनेका थिए, अहिले बिचल्ली भयो ।’

‘सम्झौता भएको पत्र भन्दै मेयर र उपमेयरले हस्ताक्षर गरेको पत्र देखाएका थियो’ ‘त्यसपछि सबैले सटर भाडामा लिएर बसेका हौं’ उनले भने ।
पहिले ठेकेदारले सलामी रकम ८ लाख मागेपछि आफू तर्सिएको फुटपाथ मै व्यापार गर्दै आएका व्यापारी रामप्रसाद केसी बताए । उनले भने, ‘सडकमा व्यापार गर्दा महानगरले समाइ रहन्छ, बरु सटर नै भाडामा लिनुपर्‍यो भन्दै सटर भाडामा लिने मनसाए बनाएँ ।’

उनले एक महिनाअघि ठेकेदारसँग कुरा गर्न गएको सुनाउँदै भने ‘सलामी रकम ८ लाख दिनुस्, २० हजार मासिक भाडा तिर्नुपर्छ ।’ ठेकेदारले उनलाई भनेका थिए ।

‘८ लाख तिर्छु, तर खुला कागजपत्र चाहिन्छ भनेँ, ठेकेदारले कागजपत्र दिदैनौँ भन्यो’ खबरहबसँग कुरा गर्दै उनले भने ।

खुला स्थानमा बिना कागजपत्र कसरी बस्नु ? भोलि लाखौँ रकम फस्यो भने सडकमै फर्किनुपर्छ भन्ने डरले सटरमा नगएको उनले बताए ।

ठेकेदार कम्पनी त्यही हो, जसले वि.सं. २०७१ फागुन २१ गते महानगरसँग भ्यू टावर बनाउने सम्झौता गरेको थियो । व्यापारीका अनुसार सटर निर्माण गर्ने ठेकेदार हालसम्म सम्पर्कमा आउन आएका छैनन् । व्यापारीहरु भने क्षतिपूर्ति पाउनुर्ने भन्दै आक्रोशित बनेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ५ : ३९ बजे

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले