तीनै तहमा कर्मचारी समायोजनको काम पूरा | Khabarhub Khabarhub

तीनै तहमा कर्मचारी समायोजनको काम पूरा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम पुरा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी तीनै तहमा कर्मचारी समायोजनको काम पूरा भएको जानकारी दिएका हुन् । अहिले रहेको दरबन्दीअनुसार मन्त्रालयले तीनै तहमा कर्मचारी समायोजनको काम सकेको हो ।

उनले तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको बताए । तीनै तहमा कर्मचारी समायोजन भएपछि संघीय संरचनामा गएको मुलुकको प्रशासनिक सङ्क्रमणकालसमेत सकिएको छ ।

मन्त्री पण्डितले तोकिएको समयभन्दा केही समय ढिलो समायोजन गरिएको भन्दै समायोजन गरिएका कर्मचारीलाई पत्र दिइ सम्बन्धित तहमा खटाउने कार्य भइरहेको जानकारी दिए ।

“समायोजन फाराम कर्मचारीले अधुरो विवरण भर्दा समायोजन लम्बिएको हो”, उनले भने, “ढिलै भए पनि सबैको सहयोगले समायोजनको काम सकिएको छ ।”

मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदारप्रसाद पनेरुका अनुसार संघमा ४८ हजार ४०९ दरबन्दीमा ४० हजार ७६९, प्रदेशमा २२ हजार २९७ मध्ये १४ हजार ६५९ र स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये ५० हजार ७९० कर्मचारी समायोजन भएको छ ।

स्थानीय तहमा निजामतीबाट ३१ हजार ४३, साविक स्थानीय निकायका १० हजार ५४०, साविक जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार सात हजार ६५० कर्मचारी समायोजन गरिएको सहसचिव पनेरुले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले पहिलो चरणमा गत माघ ३ गते विशिष्ट श्रेणीका कर्मचारी, माघ २१ गते राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी र गत माघ २३ देखि यहि चैत ११ गतेसम्म अन्य बाँकी कर्मचारीको समायोजनको काम सकिएको हो ।

उनले कर्मचारीको रोजाइ, प्राथमिकता क्रम, निजको सम्बन्धित पदको ज्येष्ठता र स्थायी ठेगानाको आधारमा कर्मचारी समायोजन प्रणाली (सफ्टवेयर)मार्फत समायोजन गरिएको बताए । समायोजन गरिएकामध्ये संघमा सबभन्दा बढी प्रशासन समूहका २१ हजार ७०८, इञ्जिनीयरिङ छ हजार ४९ र न्याय सेवाका तीन हजार ४५९ कर्मचारी रहेका छन् ।

यस्तै प्रदेशमा प्रशासन समूहतर्फ चार हजार ३५५, वन समूहतर्फ तीन हजार ४६५ र स्वास्थ्य समूहका दुई हजार ३९४ कर्मचारी रहेका छन् । यस्तै स्थानीय तहमा समायोजन गरिएकामध्ये स्वास्थ्य सेवाका धेरै रहेका छन् । स्थानीय तहमा स्वास्थ्य सेवामा २२ हजार १७६ रहेका छन् । मन्त्री पण्डितले अपुग कर्मचारीलाई यसै आर्थिक वर्षमा लोकसेवा आयोगबाट परिपूर्ति गरिने जानकारी गराए ।

समायोजनका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म आफूले चाहेको तहमा जानका लागि कर्मचारीलाई अनलाइन फाराम भराइएको थियो र त्यही अनलाइन फाराम भरेको आधारमा मन्त्रालयले गत माघ ३ गतेदेखि कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न थालेको हो ।

करीब ८५ हजार कर्मचारीमध्ये ७७ हजारले समायोजनका लागि आवेदन दिएका थिए । प्रदेश नं १ मा दुई हजार ४१५, प्रदेश नं २ मा एक हजार ८१२, प्रदेश नं ३ मा दुई हजार ५२५, गण्डकी प्रदेशमा एक हजार ७४८, प्रदेश नं ५ मा दुई हजार ५३२, कर्णाली प्रदेशमा एक हजार ३३४ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४५५ कर्मचारी समायोजन गरिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ८ : ५८ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो