प्रतिबन्धपछि विप्लवलाई धक्का, ३ सातामा १८५ नेता पक्राउ | Khabarhub Khabarhub

प्रतिबन्धपछि विप्लवलाई धक्का, ३ सातामा १८५ नेता पक्राउ



काठमाडौं– बिहीबार, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नवलपुर जनपरिषद् उपप्रमुख दीपकुमार घर्ती सोमै (सम्राट) प्रहरीको फन्दामा परे । उनलाई इलाका प्रहरी कार्यालय रजहरको टोलीले पक्राउ गर्‍यो ।

मंगलबार मात्र अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो । रुपन्देहीको सुर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक आचार्य कञ्चन गाउँपालिकाको रुद्रपुरस्थित घरबाट प्रहरीको फन्दामा परेका हुन्।

मंगलबार नै जिल्ला प्रहरी बाँकेको टोलीले सैन्य फाँटका भेरी ब्यूरो प्रमुख दानबहादुर फडेरा र पूर्व जनसरकार प्रमुख सन्तोष बस्नेतलाई बाँकेबाट पक्राउ गरेको थियो । त्यस अघि सोमबार बाँकेबाटै जिल्ला कमिटी सदस्य तथा न्यायिक विभाग प्रमुख चित्रबहादुर विक र जनसरकार प्रमुख कृष्णबहादुर शाही पक्राउ परे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार जिल्लाका विभिन्न स्थानबाट चार जना पक्राउ परेका हुन् । यी घटना त केही प्रतिनिधिमुलक उदाहारण मात्र हुन् । सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, गत फागु्न १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम बिस्फोट यता नेकपा विप्लव समूहका १ सय ८५ नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

कुन जिल्ला बाट कति पक्राउ ?
 महानगरीय प्रहरी कार्यालय, काठमाडौं – २२ जना
 सिन्धुपाल्चोक – १७ जना
 तनहुँ – १२ जना
 ललितपुर – १० जना
 कास्की – ९ जना
 इलाम – ८ जना
 चितवन – ७ जना
 म्याग्दी र बाँके – ६/६ जना
 अछाम – ५ जना
 सप्तरी, सल्यान, सुनसरी, सोलुखुम्बु, बारा, रुपन्देही र पर्सा – ४/४ जना
 सर्लाही, कपिलवस्तु, कालिकोट, दाङ, नवलपरासी पूर्व, धनकुटा, प्यूठान, संखुवासभा र रोल्पा – ३/३ जना
 उदयपुर, डोल्पा, भोजपुर, रामेछाप, रुकुम पश्चिम, नवलपरासी पश्चिम, रौतहट, लमजुङ, पाँचथर, मकवानपुर, गोरखा, झापा, गुल्मी, कैलाली, धादिङ, तेह्रथुम, मोरङ र नुवाकोट – १/१ जना

जम्मा – १८५ जना

स्रोत प्रहरी प्रधान कार्यालय

पक्राउ पर्ने कार्यकर्तादेखि उच्चतहका नेतासम्म

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, पक्राउ परेकामध्ये अहिलेसम्म कै सबैभन्दा उच्च तहको नेता भने मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) नै हुन् । ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन् । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए ।

ओली मात्र होइन, विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) पक्राउ परेका छन् । यता शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालगायतका नेतासमेत पक्राउ परिसकेका छन् ।

यसबाहेक अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी पनि पक्राउ परेका छन् । कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर), नेताहरु टीकाराम नेपाली र लालबहादुर सुनार पनि पक्राउ परेका छन् । सप्तरी जिल्ला ईन्चार्जसहित तीनजना तेजनारायण यादव, नुन्नु राम र गणपति साह पनि पक्राउ परेका छन् ।

यता म्याग्दीबाट जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन् । नवलपरासीका जिल्ला इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्दनिया पनि पक्राउ परेका छन् । कास्कीबाट प्रदेशस्तरीय नेता किसानसिंह गुरुङ पक्राउ परेका छन् । त्यसैगरी तनहुँबाट प्रहरीले भेषबहादुर सुनार, सुनील कुमाल र अमर बुढालाई पक्रिएको छ ।

हुन त नख्खुमा बम विष्फोट हुन अघि पनि विप्लव समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, गत बैशाखदेखि माघ सम्ममा मात्र ३ सय ३८ जना नेता तथा कार्यकर्ता पक्राउ परिसकेका थिए ?

कुन महिना कति पक्राउ ?
 बैशाख – ६१ जना
 जेठ – ६१ जना
 असार – ५२ जना
 साउन – ४८ जना
 भदौ – ४२ जना
 असोज – ३३ जना
 कार्तिक – २ जना
 मंसिर – ४ जना
 पुस – १२ जना
 माघ – २३ जना
    जम्मा ३३८

स्रोत प्रहरी प्रधान कार्यालय

१ जनाको ज्यान जाने गरी नख्खुमा भएको वम विष्फोटको घटनापछि शृङ्लाबद्धरुपमा आपराधिक घटना दोहोरिएपछि सरकारले विप्लव समूहलाई प्रतिबन्धको घोषणा गरेको थियो । त्यस यता प्रहरी, गाउँ–गाउँ पसेर विप्लव समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिंदै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : ५६ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा