‘जब आफैंले लगेका आरोही सगरमाथाको चुचुरोमा पुगेर चिच्याउँछन्, हिमाल चढ्दाको सबै दुःख बिर्सिन्छु’ « Khabarhub
Logo
२८ असार २०७७, आइतबार

‘जब आफैंले लगेका आरोही सगरमाथाको चुचुरोमा पुगेर चिच्याउँछन्, हिमाल चढ्दाको सबै दुःख बिर्सिन्छु’

पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेपछि जिउँदै स्वर्ग देखेजस्तो लाग्यो



काठमाडौं- पृथ्वीकै सबैभन्दा अग्लो चुचुरोमा पुग्दाको क्षण कस्तो होला? अझ त्यहाँ पुगेर आफ्नै आँखाले नियाल्न पाउँदा आँखाअगाडि कस्तो देखिएला? त्यो सुन्दरता देख्दा मनले कस्तो अनुभूति गर्ला ?

यी धेरै प्रश्नहरुको उत्तर सगरमाथा आरोहणमा नगएकालाई त पक्कै थाहा छैन । विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका आरोहीहरुलाई मात्र यसको आनन्द थाहा छ ।

सन् २०१३ मा सगरमाथाको चुचुरोमा पुगेर फर्केपछि नायिका निशा अधिकारीले भनेकी थिइन् – शेर्पाहरु विना सगरमाथा चढ्न गाह्रो छ ।

हुन पनि हो, शेर्पाहरुले नै सगरमाथासम्म आरोहीलाई पुर्‍याउन ‘काँध’ थाप्ने गर्छन् ।

त्यतिबेला निशाको ‘क्लाइम्बिङ गाइड’ भएर गएका थिए, जाङ्बु शेर्पा । उनले अहिलेसम्म १६ औँ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनैले पुर्‍याएका थिए, खबरहब डटकमको लोगोअंकित झण्डा सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा ।

सन् २००३ देखि सगरमाथामा आरोहीको ‘क्लाइम्बिङ गाइड’ बनेका जाङ्बु भन्छन् – सगरमाथा चढ्न धेरै गाह्रो छ ।

यही गाह्रो काम उनले १६ वर्षको उमेरदेखि गर्दै आएका छन् । जाङ्बुका लागि यो कमाइ खाने र परिवार पाल्ने पेशा हो । विभिन्न देशका आरोहीका लागि भने जाङ्बु सगरमाथाको चुचुरोमा पुर्‍याउने एक बलिया ‘खम्बा’ हुन् ।

‘मरेपछि स्वर्ग पुगिन्छ भन्छन्, त्यो स्वर्ग त मैले देखेको छैन, तर मैले पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्दा स्वर्ग देखेको महसूस गरेँ,’ जाङ्बु पहिलोपटक सगरमाथाको चुचुरोमा पुग्दाको समय स्मरण गर्दै सुनाउँछन्, ‘त्यो बेलाको खुशी शायदै शब्दमा व्यक्त गर्न सकिएला !’

सगरमाथाको चुचुरोबाट देखिने नीलो आकाश । त्यसमुनि बादलका स–साना थुम्का । सँगसँगै सेताम्मे हिमालका अनेक रुपहरु । बिछट्टै सुन्दर दृश्य । बेग्लै अनुभूति ।

जाङ्बु सुनाउँछन्, ‘यस्तो दृश्य देख्दा मान्छेलाई स्वर्ग देखेजस्तो हुनु अस्वभाविक होइन, त्यो क्षण नै बडो गज्जबको हुन्छ ।’

यति सुन्दर दृश्य हेर्न त्यति सजिलो भने छैन । सगरमाथा चढ्न निकै गाह्रो हुने र ज्यानको बाजी राखेर अगाडि बढ्नुपर्ने जाङ्बु सुनाउँछन् ।

‘सगरमाथाको चुचुरोमा पुग्नु मात्र ठूलो कुरा होइन, फर्किंदा झनै जोखिम हुन्छ, माथि पुगेर फेरि तल आउँदा बाटो हिउँले बिगारिसकेको हुन्छ,’ जाङ्बु खबरहबसँगको कुराकानीमा आफ्नो अनुभव साट्दै भन्छन्, ‘हिउँपहिरो जाने सम्भावना जतिबेला पनि हुन्छ, हामीले सँगै गएका आरोहीदेखि हरेक कुराको ख्याल गर्नुपर्ने हुन्छ ।’

पहिलोपटक सर्वोच्च शिखर सगरमाथामा पुग्दा जाङ्बुलाई निकै डर लागेको थियो । अरु हिमाल चढे पनि विश्वकै अग्लो हिमाल सगरमाथा चढ्दै थिए जाङ्बु, सन् २००३ मा ।

‘त्यो बेला मलाई निकै डर लागेको थियो, म अमेरिकाका केही आरोहीहरुलाई लिएर गएको थिएँ,’ जाङ्बु फिस्स हाँस्दै सुनाउँछन्, ‘त्यतिबेला म आफै डराएको थिएँ, तर क्लाइन्ट (आरोहीलाई शेर्पाहरुले यही भन्ने गर्छन्) लाई सफल आरोहण गराएँ ।’

पहिलोपटक घर फर्केर आउँदा उनीमा खुशीको सीमा थिएन । घर फर्किँदा जाङ्बुभन्दा बढी खुशी त शायद उनको परिवार थियो ।

‘निकै जोखिम भएकाले पनि होला, परिवारले अरु काम खोज्न अह्राउँछन्, तर मेरो त नशामै यही सीप छ, कसरी अरु काम खोजौं,’ जाङ्बु भन्छन् ।

जाङ्बुका भाइहरुले पनि सगरमाथा आरोहण गरिसकेका छन् । यसरी भनौँ, जाङ्बुजस्ता कैयन् शेर्पा छन्, जसले विदेशी आरोहीहरुलाई सगरमाथाको चुचुरोमा पुर्‍याउँछन् ।

त्यसैले त भन्ने गरिन्छ, शेर्पाविना सगरमाथा चढ्न निकै गाह्रो छ ।

सगरमाथा आरोहण गरेर फर्किँदा त्यस्त २ महिना लाग्ने जाङ्बु सुनाउँछन् । एकपटक सगरमाथा आरोहणका लागि जाँदा १० देखि १५ जनाको शेर्पाहरुको टिम हुन्छ । तीमध्ये केही भरिया बनेर जान्छन् । केही गाइड बनेर जान्छन् ।

शेर्पाहरुले नै सगरमाथा आरोहणमा जाने आरोहीलाई सामान्य तालिम दिन्छन् । सगरमाथा बेसक्याम्पसमा केही दिन राखेर कसरी चढ्ने भन्ने बुझाउँछन् । बेसक्याम्पमै हुँदा खुम्बु आइसफल पुर्‍याएर तालिम गराउँछन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा खबरहबको झण्डा पुर्‍याएपछि जाङ्बु शेर्पा ।

त्यसपछि शुरु हुन्छ हिमाल चढ्ने यात्रा ।

सगरमाथा बेसक्याम्मबाट चुचुरोसम्म पुग्दा ४ वटा क्याम्प हुँदै जानुपर्ने हुन्छ । सगरमाथा आधार शिविरबाट पहिले आउँछ, क्याम्प एक । बेसक्याम्पबाट ‘क्याम्प एक’मा प्रायः रातिको समयमा जान्छन् ।

किनकि, रातिमा हिउँ पहिरो जाने सम्भावना अलिक कम हुन्छ ।

क्याम्प १ मा आरोहीहरुलाई पुर्‍याएर शेर्पाले आरोहीलाई फेरि बेसक्याम्पमै फर्काउँछन् ।

‘शेर्पाहरु त क्याम्प हाल्न सहज हुने भएकाले धेरै क्याम्प २ मा नै बस्छौँ, तर क्लाइन्टलाई हामीले बेसक्याम्पमै फर्काउँछौँ,’ जाङ्बु सुनाउँछन् ।
आरोही तयार भएपछि भने यात्रा अगाडि बढ्छ ।

क्याम्प १, क्याम्प २, क्याम्प ३ हुँदै क्याम्प ४ मा पुगेपछि अन्य शेर्पाहरु क्याम्प ४ मै बस्छन् । त्यहाँबाट सगरमाथा ‘समिट’ का लागि एकजना ‘क्लाइम्बिङ गाइड’ जान्छन् ।

‘सगरमाथाको चुचुरोमा पुग्न त्यही शेर्पाहरुको टिमवर्कले सम्भव हुने हो, कसैले अक्सिजन बोक्ने, कसैले टेन्ट हाल्ने, कसैले खाना बोक्ने काम हुन्छ,’ जाङ्बु सुनाउँछन् ।

क्याम्प १ बाट क्याम्प ३ सम्म बिहानको समयमा नै जाने जाङ्बु सुनाउँछन् । रातिको जस्तै बिहानको समयमा पनि जोखिम केही कम हुन्छ ।

‘क्याम्प ४ बाट भने हामी रातभरि हिँडेर सगरमाथाको चुचुरोमा पुग्छौं, यसरी जाँदा कहिले बिहान ६ बजे नै पुगिन्छ, कहिले ढिला पनि हुन्छ,’ जाङ्बु भन्छन्, ‘अरु आरोही कति छिटो जान सक्छन् भन्नेमा भर पर्छ, हामी शेर्पाहरुलाई त एउटा क्याम्पबाट अर्को क्याम्प पुग्न त्यस्तै अढाई घण्टा लाग्छ ।’

सगरमाथाको चुचुरोमा कहिले हावा नै हुँदैन । कहिले मौसम खुलेको हुँदैन । यही कारणले पनि सगरमाथाको चुचुरोमा जाने बाटोमा ‘ट्राफिक जाम’ हुन्छ ।

‘यति मेहनत गरेपछि सबैलाई सगरमाथा समिट गरौँ भन्ने नै हुन्छ तर कहिले मौसम खुलेको हुँदैन, कहिले त एक हप्तासम्म पनि उस्तै रहन्छ,’ जाङ्बु थप्छन्, ‘सबैले राम्रो मौसम कुरेर बसिरहेका हुन्छन्, मौसममा सुधार आएको जानकारी पाउनसाथ सबै चढ्न थाल्छन् ।’

पहिले सगरमाथा आरोहण गर्न निकै गाह्रो भए पनि अहिले प्रविधिले केही सहज गराइदिएको जाङ्बु सुनाउँछन् । पहिले परिवारसँग कुरा गर्न सगरमाथा बेसक्याम्प आएर फोन गर्नुपथ्र्यो । अहिले त इन्टरनेट नै चल्छ । परिवारसँग कुरा गर्न पाइन्छ ।

फेरि सगरमाथामा आरोही पुर्‍याउन पनि त्यति सजिलो छैन । कसैलाई उही ठाउँमा छोटो समयमा पुर्‍याउन सकिन्छ भने कसैलाई दिनभरि नै लाग्छ ।
‘एकजना क्लाइन्टलाई त एउटा क्याम्पबाट अर्को क्याम्प पुर्‍याउन १८ घण्टा लागेको थियो, जबकि हामी एक्लै हिँड्ने हो भने २ घण्टामा पुगिन्छ,’ जाङ्बु मुस्कुराउँदै सुनाउँछन् ।

जाङ्बुलाई त्यतिबेला खुशी लाग्छ, जब उनले आफूसँगै गएका आरोही खुशीले चिच्याएको देख्छन् । संसार जितेझैँ गरेर चिच्याउँछन् । एकछिन बसौँ भन्छन्, तर धेरैबेर बस्न सम्भव हुँदैन । जति ढिला भयो, उनि जोखिम हुन्छ फर्किँदा ।

‘हो, सगरमाथाको चुचुरोमा पुगेपछि आरोहीको आँखामा खुशीको आँसु आउँछ, खुशीले पागल हुन्छन्, एकजना त साँच्चिकै पागल हुनुभयो, अस्ट्रेलियन नागरिक हुनुहुन्थ्यो झैँ लाग्छ,’ जाङ्बु सुनाउँछन् ।

‘सन् २०१४ मा मैले १४ जना साथीहरु गुमाएँ, त्यहाँ जाँदा हिउँ पहिरो गयो, म अर्को क्याम्पमा थिएँ, हामी त्यो क्याम्पमा ३ दिन अड्कियौँ, पछि हामी आउँदा लाश सोहोरिरहेको देखेँ,’ जाङ्बु अनुहारको भाव फेरेर सुनाउँछन्, ‘यस्तो देख्दा धेरै दुःख लाग्छ, एउटै थालमा खाना खाने साथीहरु गुमाएँ ।’

‘सेना, प्रहरी र शेर्पाहरुलाई कतिखेर के हुन्छ थाहा नै हुँदैन,’ जाङ्बु भन्छन् ।

सगरमाथा आरोहणका बेला उनले कैयन् साथी गुमाउनुपरेको छ । सन् २०१५ मा पनि उनले आफूसँगै गएका शेर्पाहरु गुमाएका थिए । शेर्पाहरुले ज्यान जोखिममा राखेर विदेशीलाई हिमाल चिनाउन सघाएको जाङ्बु सुनाउँछन् ।

‘हामी त यस्तै भइहाल्यो, सरकारले शेर्पाका लागि केही गरिदिए आउने पुस्तालाई यो क्षेत्रमा आउन हौसला मिल्ने थियो,’ जाङ्बु गुनासो गर्छन्, ‘मलाई त के कुरामा दुःख लाग्छ भने हाम्रो एउटा गतिलो सङ्ग्रहालय पनि छैन, पोखरामा भएको सङ्ग्रहालयमा सबै अटाउन सकेका छैनन् ।’

कतिपय विदेशी साथीहरुले हिमाल आरोही शेर्पाहरुको चिनारी दिने सङ्ग्रहालय हेर्न चाहेको इच्छा व्यक्त गर्दा आफू जवाफविहीन हुनुपरेको जाङ्बु सुनाउँछन् ।

१४ वर्षअघि स्टोमिक क्यान्सरका कारण बाबु गुमाएका जाङ्बु भन्छन्, ‘बुबाले पनि यही पेशा गर्नुहुने रहेछ, हामीले पनि यही काम गर्दै आएका छौँ, तर म हिमाल चढ्न जाँदा परिवारलाई पीडा हुने रहेछ, विकल्प खोजौँ भनिरहन्छन् ।’

अहिले जाङ्बु आफ्नो परिवारसँग खुशी छन् । पत्नी मिङ्मा छाङ्जी शेर्पा, जेठो छोरो काशी र कान्छो छोरो नोर्बु छन् । सबै परिवार अहिले काठमाडौंमै बस्दै आएको छ ।

जाङ्बु यस वर्ष पनि सगरमाथा चढ्न जाँदैछन् । उनी भन्छन्, ‘त्यतिबेला त दुःख हुन्छ, तर अहिले सम्झँदा खुशी लाग्छ, म देश चिनाउन भए पनि हिमाल यात्रामा त निस्किनै पर्छ, यसपटक पनि जाँदैछु ।’

सगरमाथाबाट देखिएका हिमालका थुम्काहरू । तस्वीर– जाङ्बु शेर्पा/खबरहब ।


भर्खर

0