नेकपामा प्रचण्डका दुई विकल्प

प्रकाश गिरी

आइतवार, कार्तिक १०, २०७६

Reading Time: 8 minutes

नेकपामा प्रचण्डका दुई विकल्प

सिंगापुरमा उपचारको लागि जाँदा केपी ओलीले सरकारको जिम्मेवारी ईश्वर पोखरेललाई सुम्पेर गए भने पार्टीको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिए । उनले प्रचण्डलाई आफू नहुँदा पनि आवश्यकता अनुसार पार्टीको वैठक राख्न सक्ने म्यान्डेट पनि दिए ।

यसै अनुसार जम्मा एउटा वैठक अध्यक्ष दाहालले राखे । अर्को वैठक राख्ने तयारी भइरहँदा महासचिव विष्णु पौडेललाई ओलीले सिंगापुर बोलाए भने दाहालसँग निकट रहेका वामदेव गौतमलाई पनि सिंगापुर वोलाए ।

अर्थात, पार्टी वैठक राख्नबाट दाहाललाई ओलीले वञ्चित गरे । तर, गत विहीवार असंलग्न राष्ट्रको वैठकमा भाग लिन रुसबाट टुक्रेर बनेको देश अजरवैजानको बाकु जाने बेलामा भने ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री बनाएर गएका ओलीले दाहाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएनन् ।

भन्न त एउटा अध्यक्ष नभएपछि अर्को अध्यक्षले स्वत : यो जिम्मेवारी पाउँछन् भनिन्छ, तर अजरवैजान जानु अघि अध्यक्ष ओलीको बोली ख्याल गर्ने हो भने एउटा मात्र अध्यक्षले पार्टी वैठक राख्न सक्दैन भनेर उनले खुलेरै बोलेका छन् । अर्थात दाहाललाई उनले न कार्यवाहक अध्यक्ष बनाए न वैठक राख्ने अधिकार दिए ।

गत शुक्रबार कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा विराटनगरमा पुगे ईश्वर पोखरेल । पार्टी एकता नहुँदैका तत्कालीन एमालेका महासचिव र हाल नेकपाका स्कूल विभाग प्रमुख समेत रहेका पोखरेलको यो भ्रमण निकै गहिरो अर्थ दिने खालको बन्यो । उनी भन्दा पछि पछि नेकपा कै अध्यक्ष दाहाल पनि सोही भूमिमा पाइला टेक्दै थिए ।

केही न केही मुलुक हल्लाउने प्रतिक्रिया दिने बानी तत्कालीन काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पारेकै थिए । यसैले विराटनगरमा प्राय भिआइपी नवोली हिँड्दैनन र यहाँका पत्रकारले यत्तिकै पनि छाडदैनन् भन्ने मान्यता छ । शुक्रबार पनि यस्तै भयो । पोखरेलले भने–पुष्पकमल दाहालजीसंग प्रधानमन्त्री आलोपालो साटाफेर गर्ने कुनै सहमति भएको थाहा छैन । यदि त्यस्तो सहमति छ भने कहाँ छ ल्याउनुस्, देखाउनुस् ।

झट्ट सुन्दा पत्रकारलाई सहमति पत्र कहाँ छ ल्याउनुस् भने जस्तो लागेपनि खासमा यो पत्र सार्वजनिक गर्न पोखरेलले अध्यक्ष दाहाललाई चुनौती दिएका हुन् । खासमा कम्युनिस्ट पार्टी एकताको क्रममा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको बीचमा दुई जना साक्षी जनार्दन शर्मा र विष्णु पोडेल बसेर पाँच बुँदे लिखित सहमति भएको थियो ।

आम जनतालाइ जस्तै यो कुरा एमालेका तत्कालीन महासचिव पोखरेललाई थाहा नहुने कुरा भएन । किनभने यो त्यही दस्तावेज हो जसले पोखरेलको हुँदाछँदाको महासचिव पद खोसेको थियो ।

तर पनि उनले सहमति भएको छैन भने । यो कुरा उनले त्यतिबेला बोलेका छन् जतिवेला प्रधानमन्त्री केपी ओलीले चुनौतीको शैलीमा दाहाललाई कसैले धम्क्याएको भरमा प्रधानमन्त्री पद दिन सकिन्न भनेर ठाडो जवाफ सार्वजनिक सञ्चार माध्याम मार्फत फर्काएका थिए ।

यो त भयो नमिठो कुरा । उनले सोही ठाउँमा केही मिठा कुरा पनि गरेका छन् । उनले भनेका छन्– अध्यक्षहरुको बीचमा कुनै विमति छैन, भेटघाट भइरहेको छ । मिलेर काम पनि गरिरहनु भएको छ ।

भनिन्छ– सत्यले जुत्ताको तुना बाधुञ्जेलसम्ममा झुठले आधा पृथ्वीको परिक्रमा गरिसकेको हुन्छ । पोखरेलको अभिव्यक्ति फैलिसकेको थियो । ११ बजे पुग्नुपर्ने अध्यक्ष दाहाल विमान ढिलो भएकोले साढे १२ बजे मात्र विराटगर एयरपोर्ट पुगे । विहानै पोखरेलले माहौल तताएर छाडेको विराटगरमा पत्रकारहरु दाहाललाई कुरेर बसिरहेका थिए । तर, दाहाल पटक्कै बोलेनन् । कतिसम्म बोलेनन भने नेकपाका मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले पत्रकार कुरेर बसेका छन्, केही त बोल्नुपर्ला भन्दा समेत उनी केही नबोली गाडी चढेर हिँडे ।

बरु, विराटगरको चियापान कार्यक्रममा पुगेर उनले आफु पनि ओरिजिनल माओवादी नभएको बताए । प्रचण्डको जवाफ भुइमा खस्न नपाउदै २१ बर्ष सहयात्रा गरेका डा.बाबुराम भटटराईले जवाफ फर्काए– अब तपाईं डुप्लिकेट कम्युनिस्ट हो कि भन्ने प्रश्न जन्मन थाल्यो ।

अध्यक्ष दाहाललाई उनकै दलका नारायणकाजी श्रेष्ठसंग निकट युवा नेता जागृत रायमाझीले समेत खुइल्याउन भ्याए । उनले भनेका छन्– पहिलो दश बर्ष सक्कली हुन लाग्यो, दोस्रो दश बर्ष सक्कली भए, तेस्रो ५ बर्ष नक्कली हुन लाग्यो र चौथो दश वर्ष बेजोड नक्कली भए ।

नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको बीचमा मिठो सम्वन्ध छैन । दुवैबीच कति तितो सम्वन्ध छ भन्ने कुरा चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण लगत्तै दुवै अध्यक्षले एकले अर्कोलाइ बोलेको अभिब्यक्तिबाट नै प्रष्ट वुझिन्छ, जुन कुराको चर्चा यसअघिको स्तम्भमा विस्तृत रुपमा गरिसकिएको छ ।

सी नेपालबाट फर्केकै दिनबाट प्रचण्डले ओलीविरुद्ध असन्तुष्टिको फायर खोल्न थालेका थिए । यसबीचमा उनले युद्ध गर्ने देखि कम्युनिष्टहरु एलिट हुँदै गएको सम्म भन्न भ्याए । तर जब पूर्वी नेपालको पहाडी जिल्ला पाँचथर पुगे, उनको बोली परिवर्तन भयो । उनको दायाँ–वायाँ विष्णु पौडेल र सुवास नेम्वाङ्ख थिए ।

अध्यक्ष ओलीसँग असाध्यै निकट रहेका दुई नेता सामुन्ने भएको मञ्चमा उनले अघिल्लो दिन बोलेको भन्दा विलकुल फरक भनाइ राखे । उनले भने, हामी बीच कुनै असमझदारी छैन, मिलेर काम गरेका छौं, एकताको काम अलिकति वाँकी छ, त्यो एक बसाइमा सिध्याउँछौं । उनको यो भनाइपछि प्रचण्ड किन वोली फेरिरहन्छन् ? भन्ने सवाल फेरि पनि खडा भएको छ । के उनी सामुन्ने कस्तो वक्ता वा स्रोता छन्, त्यस्तै वोली वोल्छन् ?

घटनाक्रमको सुक्ष्म विश्लेषण गर्ने हो भने नेकपाका दुई अध्यक्ष यतिवेला पश्चातापको अवस्थामा रहेको वुझिन्छ । पूर्वएमालेका कतिपय चतुर खेलाडीहरु अध्यक्ष दाहाललाई अध्यक्ष स्वीकार गरिरहेका छैनन् । बरु उनीहरु अध्यक्ष दाहाललाई दिमाग बढी चलाउने, स्थिर नहुने, रचनात्मक भन्दा विध्वंशात्मक दिमाग लगाउने भन्दै आन्तरिक गुटको भेलामा ‘भँडुवा’ भन्न थालेका छन् ।

यता, अध्यक्ष दाहालले त वरु एकता नगरेको भए हुन्थ्यो, कम्तिमा एउटा तेस्रो शक्ति त रहन्थें भनेर मुखै खोलेर बोलिसकेका छन् । यसैले कुनै पनि दलमा एकता नगरेको भए हुन्थ्यो भन्ने सोच त्यतिवेला आउछ जब उकुसमुकुस हुन्छ र अघि हिँड्ने वाटो भेटिदैन । प्रचण्ड यतिवेला यस्तै सकसमा देखिन्छन् । झन, कृष्णवहादुर महरा प्रकरण पछि उनी रक्षात्मक अवस्थामा पुगेका छन् ।

पार्टीले सांसद पदबाट पनि राजीनामा देउ भन्दा पनि महरा नदिइकन बसेका छन् । दाहाल कै सल्लाहमा उनी यसरी बसेका हुन् । दाहाल अझै पनि कुन मुडमा छन् भने यदि अदालतबाट महरा दोषमुक्त भएर उम्किए भने सभामुख पद गुमे पनि सचिवालयमा तान्ने सुरमा छन् ।

प्रचण्ड यतिवेला विक्षिप्त र तनावमा देखिन्छन् । उनी यतिधेरै हिँडिरहेका छन् कि गत साता त एकरात झुलेमा पुगेर आराम समेत गरे । तर यसको ठीक विपरित अर्का अध्यक्ष ओली भने रणनीति निर्माणमा छन् । र, उनी सफल देखिएका छन् ।

सरकार सञ्चालमा अपेक्षित परिणाम दिन नसकेपनि ओली पार्टी सञ्चालनमा भने आफु अनुकुलको वातावरण बनाउन सफल भएका छन् । महरा प्रकरणपछि ओलीपक्ष सवल देखिएको छ भने दाहाल पक्ष विक्षिप्त देखिन्छ । र, ओली अहिले दाहालसँग निकट रहेका भनिएका मानिसलाई आफूतिर तानिरहेका छन् । यसमा उनी सफल पनि भइरहेका छन । दाहालसंग नजिक रहेका शक्ति बस्नेतदेखि रामवहादुर थापा बादलसम्म ओलीसंग निकट सम्बन्ध राखिरहेका छन् ।

उता देव गुरुङहरुको आफ्नै शैली छ । उनीहरु दाहालको भर परेर पनि बस्दैनन् र दाहालको चाहना अनुसार पनि चल्दैनन् । यसमाथि दाहालको कोटाबाट मन्त्री भएकाहरुको काम पनि सन्तोषजनक र विवादमुक्त छैन । यसरी संसदीय खुल्ला राजनीतिमा ओलीसंग दाहालको दाल गल्ने देखिन्न ।

कुनै समय प्रचण्ड बाबुरामसंग एकै ठाउँ बसेर काम गरेका मुमाराम खनाल यतिवेला प्रचण्डको हारै हार देख्छन् । उनको विश्लेषणमा अब खुल्ला राजनीतिमा एक्लै चल्न सकिन्न भन्ने निष्कर्षको साथ दाहाल ओलीसंग मिल्न गएका हुन् ।

प्रचण्डका विकल्प

थुप्रै नेता र वौद्धिकहरु अनौपचारिक रुपमा प्रचण्डसंग अब दुई विकल्प रहेको बताउन थालेका छन् ।

एक, नेकपाभित्र सहेर बस्ने, सुदिन कुर्ने ।
दुई, पार्टी व्रेक गर्ने र कांग्रेससँग सहयात्रा गर्ने ।

प्रचण्डले दोस्रो विकल्प पनि खुल्ला नराखेका होइनन् । उनले कांग्रेसको चियापानमा पुगेर यहाँ आउदा सहयात्रीकोमा आएको जस्तो लाग्छ भन्न भ्याइसकेका छन् । तर, यो दिशामा पाइला भने चालिसकेका छैनन् । किनभने पार्टी फुटाउँदा ठूलो द्रोह गरेको आरोप उनले खेप्नुपर्छ भने अर्कोतिर चालिस प्रतिशत सांसद र पार्टी दुवै तिर पुर्‍याउनुपर्ने चुनौती पनि छ ।

प्रचण्डलाई सवैभन्दा ठूलो डर द्न्द्वकालिन मुद्दाको छ । यसकारण उनी यो विषय छिटो टुंगो लगाउन चाहन्छन् । तर, ८ महिनादेखि सत्यनिरुपण आयोगको अध्यक्ष सहितको कार्यसमिति चयनको लागि सिफारिश समिति गठन गरिएको छ, विषय अझै टुंगो लागेको छैन ।

जुनदिन यो मुद्दा टुंगो लाग्छ र आफू अनुकुलको व्यक्ति आयोगको प्रमुख हुन्छ, प्रचण्डले त्यसपछि ओली विरुद्ध धावा बोल्छन् । यति कुरा वुझेरै प्रधानमन्त्री केपी ओली आयोगको अध्यक्ष बनाउनु पर्‍यो भनेर बेला बेलामा वैठक त राख्छन् तर नियुक्ति चाहिँ गर्दैनन् । यहि कमजोर कडीमा खेलेर अध्यक्ष ओली दाहाललाई कजाइरहेका छन् ।

महरा प्रकरणपछि कमजोर देखिएका अध्यक्ष दाहाल यतिवेला भित्रि गोटी पनि चालिरहेका छन् । अध्यक्ष ओलीले धोका दिने थाह पाएपछि उनी नेकपाका बरिष्ठ नेता माधव नेपालसँगको भेटघाटलाई पनि तीव्रता दिइरहेका छन् । तर नेपाल दाहालसंग सशंकित छन् ।

माधव नेपालको बरियता खोसेर झलनाथलाई सिनियर बनाउँदा दाहाल वोलेनन् । यहि मेसोमा नेपालले एक ब्यक्ति एक पदको अवरधाणा ल्याउँदा पनि दाहाल चुप बसे । तर, अहिले दाहाल नेपालसँगको भेटलाई बाक्लो बनाइरहेका छन् । यस्तै हालैको एक भेटमा नेता नेपालले अध्यक्ष दाहाललाई तपाईसंग खुलेर कुरा गर्न पनि डर लाग्छ, कतिवेला ओलीजीसंग मिल्ने हो पत्तै हुँदैन भनेका छन् ।

ओलीको सफलता के हो भने उनले पार्टीभित्र पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाइ एक हुन दिएका छैनन् । दाहालको असफलता के हो भने उनले पार्टी भित्रको असहमत पक्षको नेतृत्वसम्म पनि लिन सकिरहेका छैनन् ।

भर्खर

0