आलोपालाको सहमतिलाई कसैले होइन भन्न सक्ने अवस्था छैन– सुरेन्द्र पाण्डे (अन्तर्वार्ता) | Khabarhub Khabarhub

आलोपालाको सहमतिलाई कसैले होइन भन्न सक्ने अवस्था छैन– सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)



नेपालमा लामो समयपछि दुईतिहाई बहुमतप्राप्त सरकार गठन भएको २ वर्ष पुग्नै लागको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकिकरण भएको पनि त्यति नै समय भइसकेको छ । तर पार्टी एकिकरणको सबै काम टुंगिएको छैन ।

सरकारको काम समेत जनताको अपेक्षाअनुसार हुन नसकेको भनेर आलोचना हुन थालेको छ । दुईवटा ठुला राजनीतिक दलकाबीचमा पार्टी एकिकरण भएपनि अहिलेसम्म पोलिटव्यूरोसहित आयोगहरु समेत गठन हुन सकेका छैनन् । एकिकरणपछि बनेको केन्द्रीय समिति बैठक र स्थायी कमिटी बैठकसमेत पर्याप्त मात्रामा बस्न सकिरहेको छैन ।

यस्तो बेलामा अहिलेको सरकारमा रहेका मन्त्रीहरुलाई हटाएर मन्त्रिमण्डल पुनर्गठनको राजनीतिक बहस पनि चलेको छ । त्यसबाहेक पार्टी एकिकरण हुँदा सरकारको नेतृत्व आलोपालोमा गर्ने सहमति कार्यान्वयनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदेखाएको भनेर एकखाले गुनासो समेत सुनिन थालेको छ ।

यस्तो अबस्थामा दुई पार्टीबिचको एकिकरणपछि बनेको पार्टीको आन्तरिक किचलो र सरकारको कामकारबाहीको अहिलेको अबस्थाका बारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेसँग कुरा गरेका छौँ । प्रस्तुत छ, नेता पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नेकपाबाट जुन अपेक्षा जनताले गरे, त्यसअनुरुपको सम्बोधन भएन, अर्कोकुरा नेकपाभित्र समेत कचिंगल देखिएको छ । यसको जड के हो ?

पार्टी एकतापछिको बाटोका बारमा सबैभन्दा पहिला म भन्न चाहन्छु । धेरै देशसँगै नेपालमा समेत क्रान्ति र आन्दोलनका बेला पार्टीहरु एकजुट हुने, एकतावद्ध नभएको पार्टीले शक्ति आर्जन गर्न नसक्ने, शक्ति आर्जन नगरेको पार्टीले आन्दोलन जित्न नसक्ने, त्यसबाहेक विपक्षी र शासकहरुले बढी पेल्ने एकतावद्ध हुने अनिवार्य आवश्यकता हुने रहेछ ।

जेल हाल्ने, कुट्ने, पिट्ने हुनेजस्ता धेरै खालका सास्तीहरुका कारणले एकतावद्ध हुने गरेको देखिन्छ । त्यस्तो शासकहरुको विरुद्धमा एक हुने रहेछ । जसका कारण एकता गहिरो हुने गरेको छ । तर जब सत्ता ढलेर तिनै पार्टीहरु सत्तामा पुग्छन्, अनि व्यक्तिगत स्वार्थमा अलमलिने गर्छन् ।

आफुले क्रान्तिमा योगदान गरेको र यसपटक भएन भने अर्कोपटक अवसर आउँदैन कि भनेर स्वार्थकेन्द्रित हुने गरेको देखिन्छ । यसैपटक अन्तिम हुने हो कि भनेर उछिनापाछिन गरेर एकतावद्ध टुट्ने र एकता खँदिला नबन्ने र शासनसत्तामा पुग्ने रहरलाई पार्टीहरुले व्यवस्थित तरिकाले सम्बोधन गर्न नसक्ने अवस्था बन्न जान्छ । जसका कारणले पार्टीहरुभित्र द्वन्द्व तथा अन्तरविरोधहरु बढेको देखिन्छ । सत्तामा गएका पार्टीहरुले सफलता पाएका कमै देशहरु रहेका छन् । हाम्रो नेपालमा समेत त्यस्तै छ ।

आन्तरिक द्वन्द्वको सम्बोधन हुने र भद्र सहमतिको कुरा समेत सुनिन्छ ?

पूँजीवादी देशहरुमा जहाँ लोकतन्त्रको लामो इतिहास समेत छ, तिनले पनि अनुभवबाट सिक्दै लामो कोर्सबाट सम्बोधन गरेका छन् ।

अमेरिकाजस्तो देशमा राष्ट्रपति दुईपटकभन्दा बढी हुन नपाउने व्यवस्था थियो । तर फ्रयांकलिन रुजभेल्ट त चारपटकसम्म राष्ट्रपति बने । उनीसँग क्षमता थियो भइदिए । तर क्षमता भएपनि नहुँदोरहेछ भनेर दोस्रो विश्वयुद्धपछि अमेरिकाले संविधान संशोधन गरेर दुई पटकभन्दा बढी नहुने व्यवस्था ग¥यो ।

पहिला अभ्यास थियो, त्यसो हुनाले हाम्रो देशहरुमा समेत कतिपय पद्धतिमा जानुपर्ने अबस्था छ । हाम्रो अबस्था कस्तो भने, दुईवटा भिन्न पृष्ठभुमि, भिन्न इतिहासबाट आएका दुईवटा फरक कम्युनिष्ट पार्टीहरु निर्वाचनको सन्दर्भदेखि नै एक भएर क्रमशः चुनावमा भएको मोर्चावन्दीलाई एकता गरेर अघि बढ्ने हिसाबमा अघि आयौँ ।

दुबै पार्टीहरु आफुलाई राजनीति रंगमञ्चमा भुमिका खेल्नसक्ने नेता र कार्यकर्ताहरुका बीचमा समेत रहेको थियो । त्यसकारणले यसका बीचमा कस्तो अण्डरस्टयाण्डिङमा कसरी लैजाने भन्ने विषयमा बहस भइरहेको हो ।

यसैपनि बढी नै पेचिलो र अप्ठ्योरो थियो, पद, पार्टीको सिद्धान्त मिलाउनुपर्नेजस्ता कुराहरु भएका कारण केही जटिलता वा आवश्यकता थियो । यसमा पनि हामीले केही सहमति गर्नुपर्ने थियो । किन भन्दा निर्वाचनबाट जितेर आएपछि पार्टीहरुको पदलाई समेत लेनदेन गर्नुपर्छ भन्ने विषयलाई ध्यानमा राखेर लेनदेनको कुराहरु, पावर सेयरिङका कुराहरु बाहिर आएका छन् ।

दुई जना नेताहरुका बीचमा भएको सहमतिलाई कसैले होइन भन्नसक्ने अबस्था छैन । किनभने सहि त भएकै छ, सही भएकै कागजले खोलेको छ । आलोपालोको विषय पनि त्यही कागजले खोलेको छ । तर आलोपालो कहिले भनेर यसो हेर्दा साढे दुई वर्ष एकजना अर्काेले साढे वर्ष भन्ने देखिन्छ । यो चिज अब बेला त गइसकेको छैन, डेढ वर्ष मात्रै भएको छ सरकार बनेको ।

त्यसो भए शक्ति हस्तान्तरण कसरी हुन्छ त भन्ने जुन प्रश्न छ, त्यो अहिले नै छलफलको विषय त बनिसकेको छैन, तर यो विषय चाँहि त्यही कागज र समझदारीका कारण समाधान जसरी पनि खोज्नुपर्ने हो कि भन्ने देखिन्छ । तर त्यो भन्दा पहिला हस्ताक्षर गर्ने नेताहरुले नै खोज्नुपर्ने देखिन्छ, किनभने यो वृहत छलफल र समझदारी भएर कागज भएको थिएन ।

लागू गर्न भनेरै सहमति गरिएको होला । तर त्यो सहमति गर्नेले नै नयाँ ढंगले सहमति गरे भने हामीले टाउको दुखाउनु त परेन । भएन भनेपछि मात्रै पार्टीको एजेण्डा बन्ला । त्यसकारणले पार्टीमा समस्या आउन थाल्यो भने बल्ल अरुले हस्तक्षेप गर्नुपर्ला

धेरैलाई थाहा पनि थिएन, व्यक्तिगत भन्नुहुन्छ भने मलाई थाहा थिएन । पहिला पार्टी प्रमुख भएका नेताहरुलाई समेत थाहा थिएन । त्यसैले कुन आधारमा के समझदारी भएको थियो, यसको सम्बोधन कसरी गर्ने भन्ने कुराको पहिलो सहमति दुईजनाको बीचमा पहिला हुनुपर्छ । त्यहाँ असमझदारी वा भनौँ झगडा भयो भने बल्ल हामीले यसमा यसो गरौँ भन्ने हो । त्यो अबस्था नआइसकेका कारण हामी चुप लागेर बसेका छौँ ।

दुई नेताबीच भएको सहमति कार्यान्वयनमा जानुपर्छ भनेर एकखाले बहस त शुरु भएको छ नि फेरि ?

लागू गर्न भनेरै सहमति गरिएको होला । तर त्यो सहमति गर्नेले नै नयाँ ढंगले सहमति गरे भने हामीले टाउको दुखाउनु त परेन । भएन भनेपछि मात्रै पार्टीको एजेण्डा बन्ला । त्यसकारणले पार्टीमा समस्या आउन थाल्यो भने बल्ल अरुले हस्तक्षेप गर्नुपर्ला ।

तर अहिले त्यस्तो अबस्था आएको छैन, जहाँ अरुले हस्तक्षेप गर्नुपरोस् । किनभने यो सहमति जुनबेला गरिएको थियो नि त्यसबेला अरु धेरैको आवश्यकता महशुश गरिएन नि त । अब यसलाई कार्यान्वयन गर्न के आवश्यकता छ भन्ने उहाँहरुले सहमति गर्न सक्नुभएन भने अरुको सहयोग आवश्यकता पर्ला ।

पार्टी एकता भएको लामो समय वितिसक्दा पनि पार्टी एकिकरणले पूर्णता पाउन सकेको छैन, बैठक समेत बस्न सकेको छैन, स्याथी समिति, केन्द्रीय कमिटी पनि बस्दैन, पोलिटव्यूरो गठन हुन सकेको छैन । अबको तीन वर्षपछि चुनावमा जानुपर्छ, जुन आशा यो सरकारबाट जनताले गरेका थिए, त्यो पुरा हुन सकेन नि ?

मैले कसरी हेर्छु भने, पार्टीलाई बिधि र पद्धतिबाट सञ्चालन गर्नुपर्छ । त्यसो गरियो भने पार्टीको भविष्य समेत उज्ज्वल हुन्छ । त्यो भनेको के हो भने, हामी दुईवटा अलग पार्टी, अलग अभ्यास र अनुभवबाट आएका हौँ ।

कतिपय सन्दर्भमा अलग बाटोबाट समेत यहाँ आएको पार्टी हो । अहिले चुनावबाट निर्वाचित हुने र त्यसैबाट सरकार र शासनसत्तामा पुग्ने दुईवटै पार्टीले निर्णय गरेपछि अबको बाटो एउटै भएको छ ।

हिजो जेसुकै भएपनि । त्यसोहुँदा उही रेलमा हामी हिँड्छौ भने दुबैको एउटै गन्तव्य हुने भनेपछि पार्टी एकिकरण गरेका हौँ, जुन आवश्यक पनि थियो । अब एकता कहिले टुंगिन्छ भन्ने प्रश्न जहाँसम्म रहेको छ, बैठक बस्न सकेन भन्ने सत्य हो । तर हामी अब मैजारोतिर जाँदैछौँ, केन्द्रिय कमिटी बन्यो, धेरै समस्याका वावजुत स्थानीय र प्रदेश कमिटी बने ।

अब तपाईले भनेजस्तै केही केही बाँकी पनि छन् ।

पोलिटव्यूरो वा केन्द्रिय आयोगहरु, ज्येष्ठ कम्युनिष्ट, राष्ट्रिय परिषद्जस्ता केही निकायहरु गठन हुन नसकेको चाँहि साँचो हो । तर यी चाँहि अहिले तत्कालै नगर्दा पनि समस्या हुँदैन ।

कार्यकारी भुमिका रहने कमिटीहरुको निर्माणको काम चाँहि करिब करिब सकिएको छ । त्यसलाई छिटोभन्दा छिटो निर्माण गर्नुपर्छ पोलिटव्यूरो, आयोगहरु छिटो बनाउनुपर्छ । केही समयमा टुंगिन्छ भन्ने लाग्छ । अहिलसम्म नटुंगिनु चाँहि गलत हो । तर यो टुंगिएपनि पार्टी अहिले नै खँदिलो र दरिलो हुन्छ त ? भन्दा त्यो भइहाल्ने म देख्दिन ।

कतिपयले पछिल्ला दिनमा दुई अध्यक्षका अभिव्यक्तिले पार्टी फुटसम्मको कुरा गरिरहेका छन्….

पार्टी एकीकरणका काम बाँकी भएर वा अन्य कुनै कारणले पार्टी फुट्छ भन्ने शंका हुनसक्छ । तर त्यो होइन । कहिले चाँहि राम्रो एकता हुन्छ भन्दा जब महाधिवेशन र अधिवेशन हुन्छ, त्यसले हामी सबैलाई एकलाइ अर्काको साथ चाहिन्छ ।

हिजोको एमाले एमाले मिलेर पनि भएन, हिजोको माओवादी माओवादी मिलेर पनि भएन । त्यसबेला को सँग को नजिक हुन्छ भन्ने कुरा त्यतिबेलै थाहा हुन्छ । आवश्यकताअनुसार बदलीदै जान्छ । त्यसपछि बल्ल सिमेन्ट घोलेको जस्तो हुन्छ, अहिलेबीचमा ल्याएर टाँसेको जस्तो मात्रै हुन्छ ।

महाधिवेशन चाँहि कहिले ?

मलाई लाग्छ अबको २ वर्षमा महाविधेशन हुन्छ । त्यसभन्दा पहिला जिल्ला अधिवेशनहरु हुन्छन् ।

महाविधेशनको प्रक्रिया के हुन्छ ? तपाईहरुको इतिहास त पूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा हुने गरेको थियो ?

सहमति र प्रतिस्पर्धा दुबै हुनसक्छ । यसलाई अलिकति नमिलेको जस्तो लाग्ने विषय चाँहि के छ भने विधानमा के छ भने, पहिलो महाविधेशन सहमतिले बनाउनुपर्छ भन्ने चाँहि एकठाउँमा छ । तर केन्द्रीय कमिटीका सदस्यहरु महाविधेशन प्रतिनिधि बन्न तलबाट निर्वाचित भएर आउनुपर्छ भन्ने व्यवस्था पनि छ ।

त्यसले के भन्दा त सम्बन्धित तहका पदाधिकारी, सदस्यहरु सम्बन्धित तहको प्रतिनिधि चुनिन सदस्यहरुकोबीचमा जानुपर्छ भन्ने हो । त्यसो भनेपछि तल चुनाव गर्ने माथि चाँहि सहमति भन्ने कुरा विरोधाभाष भयो, त्यति सहज देखिदैन ।

दोस्रो कुरा के भने हाम्रो अहिले केन्द्रीय समिति ४ सय ४५ सदस्यीय छ, त्यो अझै बढ्न पनि सक्ला । महाविधेशनपछि यति ठूलो कमिटी चल्ला त भन्दा चल्न सक्दैन । अहिले बैठक नै बस्न नसकेर यस्तो छ । भोलि कहिले बैठक बस्छौँ, त्यत्रो मान्छेलाई कहाँ राख्छौँ । भनेपछि चुस्त कमिटी बनाउनुप¥यो ।

डेढ दुईसम्मको बन्ला, त्यसो हुँदा अहिले भएका मान्छेहरु नै भोलि विदा हुनुपर्ने अबस्था समेत आउनसक्छ । विदा हुँदा अरु कतिपय केन्द्रीय कमिटिमा परिन भन्ने पनि होलान्, त्यसैले सहमतिमा महाविधेशन होला ? अहिलेको नेताहरुको परिस्थिती हेर्दा  बेला भएको छैन, अहिले अरु मात्रै केन्द्रीय कमिटिमा आउने हो भनेर कसैले भनेर मान्ने मैले देख्दिन ।

त्यसैले चुनाव नै नेताहरुका लागि समेत सजिलो होला । सायद त्यतातिर जान्छ कि । अहिले त टुँगो लागिसकेको छैन । विधानले चुनाव पनि भनेको छ, सहमति पनि भनेको छ । अहिलेको आकांक्षा हेर्दा कमिटिमा आउने आकांक्षालाई सहमतिले गर्न समस्या हुने देख्छु म । अर्को कुरा सचिवालय विस्तारको कुरामा छलफल भएको छैन ।

माथिल्लो तहको एकखाले टसल बाहिर आएको देखिन्छ, नेतृत्वको हस्तान्तरण कसरी होला ? पार्टीभित्र तानासाही प्रवृत्ति हावी हुन थाल्यो भन्ने पनि सुनिन्छ फेरि ?

हामी अहिले यस्तो अबस्थामा छौँ, मुलुकमा सबै किसिमको निरंकुतालाई अन्त्य गरेर गणतन्त्र, समानतासहितको अर्कै युगमा प्रवेश गरिसकेका छौँ । यस्तो युगमा प्रवेश गरिसकेपछि हिजोको नेतृत्व गर्ने पुस्ता जीवनको उत्तरार्धमा पुगेको छ ।

क्रान्तिको नेतृत्व गर्ने कुहलता उहाँहरुले जुन किसिमले पुरा गर्नुभयो, अब निर्माण र परिवर्तनको सन्दर्भमा रुपान्तरणको सन्दर्भमा उहाँहरुले त्यही किसिमको नेतृत्व दिनुहोला वा नदिनुहोला भन्ने विषयमा चित्तबुझ्दो ढंगले हुन्छ भन्न सक्ने अबस्था बनिसकेको छैन । यो हरेक देशको क्रान्तिकपछिको अबस्थामा देखिन्छ । क्रान्तिमा एकदमै महत्वपुर्ण भुमिका खेल्ने मान्छेहरु अर्को परिस्थितीमा अनफिट हुन थाल्छन् ।

किनभने क्रान्तिमा परिवर्तनको एजेण्डा उनीहरुले बुझेकै हुँदैनन् । त्यसबारेमा उनीहरुले गहिरिएर पढेकै हुँदैनन् । हाम्रै देशमा पनि सबै कुरा गर्छु भनेर आएका छन्, तपाईले अघिनै भन्नुभयो नि सरकारले किन जनअपेक्षाअनुसार काम गर्न सकेन भनेर, अधिकांश सबै पार्टी नेकपामात्रै होइन, उनीहरुले देशको यथार्थ समस्या बुझेको देख्दिन म ।

तथ्यगत कुरा गर्दा जे काम गर्न पनि पैसाको जरुरत छ, तर त्यो पैसा आउने मुख्य स्रोत भनेको कर हो । विदेशी सहयाता भनेको त नाम मात्रैको हो, त्यसमा भर परेर देश बनेको पनि छैनन्, बन्नेवाला पनि छैनन् ।

२० वटा कुरा गर्न नेताहरुलाई सजिलो । जनता रिसाउँछन् भन्ने डर नेताहरुलाई छ । रिसाए पनि रिसाउ, खुसी भएपनि होउ अहिले मैले गर्नसक्ने यो यो कुरा हो भनेर भन्न सक्नुपर्यो‍

कुन देश विदेशी बनाइदिएका छन्, सबै देशहरु आफ्नै वलवुतामा बनेका छन् । अनि स्वदेशी योजना र वलवुतामा बन्ने हो भने पैसा चाँहि कहाँबाट आउँछ, पैसा चाँहि कहाँ छ, पैसाको यथोचित जानकारी वेगर उडन्ते कुरा गरेर रातारात देश बनाइदिन्छु भनेर सत्य सावित हुन्छ कि हुँदैन । त्यो हुँदैन, हुन्न पनि ।

पैसाको अर्को कुरा छ, धेरै कर उठाउनुस्, जनता असन्तुष्ट हुन्छन्, महँगीको मार पर्छ, तपाई त्यसरी जानसक्ने अबस्था नै हुँदैन । थोरै उठाउनुस् वा नउठाउनुस् सरकारसँग पैसा हुँदैन ।

मुखले विकास हुँदैन, मदन भण्डारीले भनेजस्तो ‘कुराले चिउरा भिज्दैन साथीहरु’ जस्तो हुन्छ । केही नभएपनि दहि दुधले भिजाउँ, ‘त्यो पनि भएन भने पानीले भएपनि भिजाउँ भन्नुहुन्थ्यो’ उहाँ । पानी पनि नभएको स्थितीको कुरा गरेर के हुन्छ । अहिलेको अबस्था त्यही हो ।

जहाँसम्म दुइतिहाइको सरकारले काम गर्न नसकेको कुरा छ, त्यसको दुइवटा पाटो छ । एउटा स्वदेशी स्रोतको कुरा हो । एउटा समयको कुरा हो ।

स्वदेशी स्रोत न्युन भयो भने त्यसलाई प्रयोग गर्ने कुरामा बढि छनोटपुर्ण हुनुपर्छ । जसले छोटो समयमा बढि प्रतिफल दिने हुनुपर्छ । त्यसको पहिचान गर्न सकेर लगानी गर्दा त्यसले प्रतिफल पनि दिन्छ । त्यसबाट सिर्जित भएको राष्ट्रिय आय र राष्ट्रिय क्षमताले अहिले एउटामात्रै गर्न सकिन्छ भने विस्तारै ५ वटा १० वटा गर्न सकिन्छ । त्यो क्षमता बढ्दै जान्छ ।

सन् १९४९ मा चीनमा क्रान्ति हुँदा चीनको क्षमता के थियो ? आज चीनको क्षमता के छ ? चीनले हिजो नसकेको कुरा आज गर्न सक्छ । हामीले पनि आज सबै गर्छु भन्यो भने असफल हुने कुरा हो । पैसा छैन, आज सकिएन भनेर टाउकोमा हात लगाएर बस्ने कुराले पनि केही हुँदैन ।

त्यसैले हामीले रोज्नुपर्छ, कुनचाँहि अहिले गर्ने, कुन पछि गर्ने भन्ने कुरा । योजनाको प्राथमिकिकरण गर्ने र सहि तरिकाले कार्यान्वयन गर्ने कुरा आजको आवश्यकता हो ।

एउटामात्रै गर्ने भए तपाई के गर्नुहुन्छ भनेर नेताहरुलाई समस्या छ । २० वटा कुरा गर्न नेताहरुलाई सजिलो । जनता रिसाउँछन् भन्ने डर नेताहरुलाई छ । रिसाए पनि रिसाउ, खुसी भएपनि होउ अहिले मैले गर्नसक्ने यो यो कुरा हो भनेर भन्न सक्नुपर्यो‍ ।

दोस्रो भनेको समयको कुरा अघि मैले भने, समयचाँहि कस्तो हो भने आज एउटा अवधिमा गर्नसक्ने कुरा कति हो । यो बेलामा गर्नपर्ने कुरा के हो । हाम्रो समय कति लाग्छ । समयको गणना नगरी भटाभट गर्न थाल्यौँ भने । सय किमि बाटो बनाउन हामीलाई कति समय लाग्छ, स्विच थिचेर बाटो बन्ने त होइन । अहिलेको जतिसुकै प्रविधिको प्रयोग गरेपनि बाटो आजको भोलि त बन्न सक्दैन ।

हाम्रो जनशक्ति, स्रोतको सुनिश्चितता नगरी बोल्दिने हो भने त फिल्डमा केही पनि नहुने तर बोल्न चाँहि हरेक दिन बोल्दिने मात्रै हुन्छ । किन हुँदैन भने फिल्डमा काम गर्ने र यता बोल्नेको कुरामा कुनै पनि हिसाबमा मेल खाइरहेको छैन ।

पहिला त हाम्रो क्षमता हेरेर बोल्यो भने त्यो यथार्थपरक हुन्छ । हाम्रो त्यो समस्या छ, नेतृत्वमा त्यो ज्ञान र क्षमताको अभाव छ । नेपाल कहाँ छ भन्ने कुरा हेर्नुप¥यो, नेतृत्वले देश हेर्नुप¥यो, कर्मचारी संयन्त्र कहाँ छ भनेर हेर्नुप¥यो, क्षमता कति छ भन्ने हेर्नुप¥यो ।

म एकदमै धेरै जानेको छु तर मेरो संयन्त्रको क्षमता कम छ भने आफु पनि तल हेरेर बोल्नुप¥यो नि । मेरो क्षमता र सोँच बोल्ने होइन, म भविष्यमा त त्यो गरुँला तर आज मेरो देशको क्षमता यति छ भनेर नेतृत्वले साँचो कुरा भन्न सक्नुपर्छ ।

अहिलेको मन्त्रिमण्डल हेरफेरको बहस पनि चलिरहेको छ, अहिलेको सरकारप्रति तपाईको कतिको सन्तुष्ट हुनुहुन्छ ? अहिले पछिल्लो समय उच्च राजनीतिक नेतृत्व समेत विभिन्न आरोपमा मुछिइरहेको छ, यसलाई के भन्ने ?

हाम्रो समाज जस्तो छ, हाम्रा समाजभित्रका अभिव्यक्ति त्यस्तै हुन्छ । तपाईको अनुहार जस्तो छ ऐनमा हेर्दा त्यस्तै देखिन्छ । यो हाम्रो देशमा मात्रै यस्ता घटना भएको होइनन्, यो महत्वपूर्ण कुरा हो जस्तो लाग्दैन । यस्ता खराब प्रवृत्तिमा नजाउ भनेर सुधार गर्ने पहिलो कुरा हो, सुधार हुँदैन भने कारबाही गर्ने हो ।

त्यसका लागि सरकार वा राजनीतिक पार्टी कतिको प्रतिवद्ध छन् भन्ने कुरा महत्वपूर्ण हो । दण्ड नगर्ने प्रवृत्ति रहने हो भने त्यो सबैभन्दा खराब हुन्छ । दण्डित गरेर हामी गयौँ भने त्यो सकारात्मक छ ।

सरकार र हामीले गरेको काम नकारात्मक छ भन्ने लाग्दैन । अगाडि कारबाही भएको थिएन, अहिले भयो भन्ने कुरा त राम्रो कुरा हो नि । यसले भविष्यमा समेत सहि बाटोमा हिड्न सहयोग गर्छ । यो कुरा मुख्य हो भन्ने मलाई लाग्छ ।

अर्को कुरा सरकारको कामको बारेको कुरा गरौँ, सरकारमा बस्ने मन्त्रीहरुले र प्रधानमन्त्रीसमेतले के गर्नुपर्छ भने, कहिलेकाँही मान्छेले भावनात्मक कुरा पनि गर्छन् । क्रान्तिबाट हामी आयौँ, मान्छेहरुको भावना पनि थिए होलान्, त्यस्ता भावनाको पनि सम्बोधन गर्नुपर्छ । तर भावनाको सम्बोधन गर्ने नाममा भावुक कुरा गरेर समय विताएर यथार्थ कुरामा प्रवेश गरेन भने हामी परिणामा पुग्दैनौँ ।

मन्त्रीहरुले भावनात्मक कुरा मात्रै गर्ने होइन, हामी पनि जनचेतनाको स्तर मन्त्रीले बाहिरी, सतही कुरा ग¥यो भने भयंकर भयो भन्ने गछौँ, पव्लिसीटिमा खुसी हुने ।

सञ्चारमाध्यम पनि कस्तो देखिन्छ भने पौरख गरेर कमाएर खानुस् आर्जन गर्छ भने फलानो कमाएर खाँदोरहेछ, यति सम्पत्ती उसलाई प्रहार गर्छ । अनि जो कमाएर खाँदैन, सो कल्ड समाजसेवाको कुरा गर्छ तर भित्रभित्र दुईनम्बरी काम गरेर लुकाएर काम गर्ने कुरालाई चाँहि भयंकर ठुलो ठान्छ ।

हामीले कस्तो बाटो लिने, पौरख गरेर खाने देशलाई कर तिर्छु, देशलाई समृद्ध बनाउँछु भन्ने संस्कृतिलाई हुर्काउन सकेनौ र नक्कली कुरालाइ प्रोत्साहन गर्दा देश बन्दैन । जसका कारण इमान्दार मान्छेहरु त्यसको अपराधी हुन्छन्, नक्कली कुरा गर्नेहरु समाजमा हावी हुन्छन् । समाजमा कस्तो चिजलाई स्थापित गर्ने भन्दा पारदर्शी बन्नुस् त्यसो हुँदा हामी सहयोग गर्छौ भन्ने राज्यको संस्कार हुनुपर्छ ।

हुनत प्रधानमन्त्रीको विषेशाधिकारको कुरा हो, मन्त्रीमण्डल हेरफेरको कुरा । यहि रुपमा सरकार रहँदा नेपालमा वामपन्थीको भविष्य चाँहि कस्तो देखिन्छ ?

नेपालमा वामपन्थीको भविष्य नराम्रो छैन, राम्रै छ । सँगसँगै अर्को पनि कुरा हो, हामी राम्रो भएर पनि हो । दोस्रो कुरा अरु विपक्षीहरु कमजोर भएर पनि हो ।

हामीले काम गरेर जनतामा संगठन गरेर हामी यहाँसम्म आएका हौँ । अर्को कुरा भनेको विपक्षीले राम्रो काम गर्न नसकेर समेत जनताले हामीलाई यहाँसम्म ल्याएका हुन् ।

यसको मतलव हामीले राम्रो काम पनि गर्नुप¥यो । त्यसपछि विपक्षी हामीभन्दा राम्रो भयो भने के होला ? विपक्षी नराम्रो भएका कारण हामीले पाएको भोट त हामीले पाउदैनौँ ।

हामीबिचको प्रतिस्पर्धा त सानो रुपको भोटमा मात्रै छ । त्यसैले हामीले राम्रो काम गर्न नसक्दा विपक्षीले निर्वाचन जित्ने परिस्थिती पनि बन्नसक्छ । यो चिजलाई चाँहि अहिलेको नेकपा र नेता कार्यकर्ताले राम्रोसँग आत्मसाथ गर्नुपर्छ । हामी खुकुरीको धारमा छौँ, राम्रो गर्दा राम्रै हुन्छ, राम्रो गर्न नसक्दा वा हेलचेक्राइ गर्दा हामीले जित्यौ, जितेको जितै हो भनेर गयौँ भने तलमाथी हुनसक्छ ।

जनतालाई हामीले देशमा के के छ भनेर भनेका छैनौँ, हामीले भनेको त देशमा सबै चिज छ, नदिने भनेको यीनीहरुले हो भनेर भनेका आयौँ । सबै कुरा थियो, राजाको पालमा पनि सबै थियो राजाले नदिएर भनेर राजाको भण्डाफोर गरेर आयौँ, त्यो बेलामा पनि देश त गरिब नै थियो । पञ्चायत पनि त्यस्तै थियो, यीनीहरुले नदिएर हो भनेर आयौँ, तर जे थियो देशको धन दौलत त यही हो ।

जुनकुरा हामीले पनि यथार्थ रुपमा बुझेनौँ जनतलाई समेत बुझाउन सकेनौँ । अहिले जनतालाई के छ भने यहाँ त कति छ कति तर अहिलेको कम्युनिष्ट सरकारले नगरेको हो भन्ने छ ।

अहिलेको सरकारको क्षमता नभएर वा गलत ढंगले गर्न नखोजेर हो भन्ने पर्नसक्छ । म भएभने गर्थेँ भनेर विपक्षले भनिरहेको छ । तर उसले पनि गर्नसक्ने होइन । तर हामीले जनतालाई भन्दै आएको कुराले छ न त जतिपनि थियो देशमा, नगर्ने चाँहि यी हुन् भनेर नकारात्मक रुपमा जनातका माझमा जानसक्छ ।

जनचेतनाको स्थिती कस्तो छ भने सबै कुरा जनताले बुझ्न सक्दैनन्, वुद्धिजीवीलाई तपाईले देशको अबस्था के छ भनेर सोध्नुभो भने उसले समेत बताउन सक्दैन । यसको प्रभाव निर्वाचनमा पनि पर्नसक्छ ।

त्यसैले जनतालाई उत्साहित बनाउने नाममा भएको नभएको सबै भन्नुहुँदैन, देशको अबस्था जस्तो छ त्यस्तै बताउनुपर्छ । यति कर उठाएका छौँ, तपाईहरुलाई यति गर्नसक्छौँ ।

योभन्दा धेरै गर्ने इच्छा भएपनि स्रोत नभएरु गर्न सकेनौँ भनेर प्रस्ट रुपमा भन्न सक्यौ भने जनताले समेत सहयोग गर्न थाल्छ । यथार्थ कुराभन्दा फुलबुट्टा भर्न थाल्यौँ भने हामी आफ्नै खुट्टामा बञ्चरो हान्ने काम बाहेक केही पनि हुनसक्दैन ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ८ : ५१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन