देशभर किन बढ्दैछ सवारीसाधन दुर्घटना | Khabarhub Khabarhub

देशभर किन बढ्दैछ सवारीसाधन दुर्घटना


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।

दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७४/७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । आव २०७३/७४ मा भने आव २०७४/७५ को भन्दा बढी व्यक्तिको सवारी दुर्घटना परी मृत्यु भएको थियो ।

आव २०७३/७४ मा १० हजार १७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३८४ जनाको ज्यान गएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

उपत्यकामा दुर्घटना बढ्यो

काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी बढेर गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १९४ जनाको मृत्यु भएकामा आव २०७५/७६ मा उक्त सङ्ख्या बढेर २५४ पुगेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १८२ जनाको ज्यान गएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको बताए। ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनले भने । महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ ।

किन हुन्छ दुर्घटना ?

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गर्नुभएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताए । उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताए। श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताउँछन् ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । ‘सडक दुर्घटनालाई कम गर्न गृहमन्त्रालयले सात प्रदेशको १४ स्थानमा चालक तथा यात्रुका लागि आरामस्थल निर्माण गरिरहेको छ’, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ११ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन