लैंगिक समानताको चेतना फैलाउन गरिएको साहसिक सगरमाथा आरोहण

आमा बस्ने चन्द्रमा नजिकै पुग्ने चाहानाले शुरु भएको हिमाल यात्रा

एकराज बास्तोला

शनिबार, साउन ११, २०७६

Reading Time: 8 minutes

लैंगिक समानताको चेतना फैलाउन गरिएको साहसिक सगरमाथा आरोहण

काठमाडौं–रोजिता बुद्धाचार्यलाई सानैदेखि हिमाल आरोहण गर्ने चाहना भएपनि उनले भविष्यमा विश्वकै सर्वोच्च शिखर आरोहण गर्छु भन्ने चाहीँ सोचेकी थिइनन् । उनी भक्तपुरको इटाछेमा रहेको आफ्ना हजुरबुवाको छत्रछायाँमा हुर्केकी हुन् । त्यहाँबाट हिमालका मनोरम दृश्यहरु देखिन्थे । उनी हिमालका दृश्य हेर्न बार्दलीमा बसिरहन्थिन् । यहीँबाट उनलाई हिमाल चढ्ने चाहना पलायो ।

उनी हुर्केको ठाउँबाट हिमालका सुन्दर दृश्य देखिन्थे । नजिकै देखिने तर भेट्नै नसकिने । ती हिमालसँगको भेटका लागि उनी दिन प्रतिदिन आतुर थिइन् । उनले एकदिन निर्णय गरिन्, ‘एकदिन अवश्य त्यहाँ पुगेर हिमाल चढ्नेछु’ । तर, त्यो दिन कहिले आउने हो भन्ने चाहीँ उनलाई थाहा थिएन । तर, यति थाहा थियो कि त्यो दिन अवश्य आउनेछ ।

सानामा उनका हजुरबुवाले औंलाले चन्द्रमा देखाएर त्यहाँ उनकी आमा बस्ने गरेको बताउँथे । उनकी आमाबारे उनलाई कुनै सम्झना छैन । आफू सानै भएका बेला आफ्नी आमाको निधन भएको चाहीँ उनलाई थाहा थियो ।

त्यसैले आफ्नी आमाबारे उनलाई कुनै सम्झना छैन । हिमाल आरोहण गर्दा त्यहाँबाट आफ्नी आमा बस्ने गरेको चन्द्रमासँगको दूरी नजिकै हुने भएका कारण पनि उनलाई हिमाल आरोहण गर्ने चाहना बढाएको थियो ।

जीवनभर अभाव महसुस गरिएकी आफ्नी आमा बस्ने चन्द्रमा समिप पुग्ने बाल्यकालको चाहनाले उनलाई सगरमाथातर्फ डोर्‍याउन थाल्यो। उनी खबरहबसँग भावनात्मक हुँदै भन्छिन्, ‘म सगरमाथाको शिखरमा पुगेर मेरी आमालाई भेट्न चाहन्थें, कुरा गर्न चाहन्थें र उहाँको अनुहार हेर्न चाहन्थें ।’ आमाका लागि हरेक बच्चा सानै हुन्छन् । अहिले २६ वर्षकी भएपनि आफ्नी आमाका लागि उनी बच्चै छिन् ।

राष्ट्रिय समाचार समितिकी पत्रकार रोसा बस्नेतले महिला पत्रकारलाई सगरमाथा आरोहण गर्नका लागि स्थापना गरेको ‘वुमेन जर्नालिस्ट्स एभरेष्ट एक्सपिडिसन २०१८’ नाम गरेको टिममा सहभागी हुन पाउँदा रोजिता आफूलाई भाग्यमानी ठान्छिन् ।

रोसाले अरु ४ महिला पत्रकारलाई सामेल गराएर उक्त टिमको स्थापना गरेकी थिइन् । रोसाले रोजितालाई सन् २०१७ को शुरु देखि नै सगरमाथा चढ्ने टिमका लागि प्रस्ताव गरेकी थिइन् । त्यसबेला रोजिता यलमायामा थिएटरमा एन फ्रांकको नाटक प्रस्तुत गरिरहेकी थिइन् । नाटक सुरु हुनु अघिमात्र बुबाको निधनको समाचार सुनेपनि नाटक गरेकी  रोजिताले प्रस्तुत गरेको नाटक देखेर प्रभावित भएकी रोसाको प्रस्ताव सुनेर शुरुमा त रोजिता अचम्ममा नै परिन् ।

आफूसँग हिमाल आरोहणको कुनै अनुभव नभएको कुरा भनेपछि रोसाले रोजितालाई यसका लागि तालिम र अन्य बन्दोबस्त हुने आश्वासन दिइन् । यसका लागि एक वर्षसम्म तालिम गरिने र सगरमाथा आरोहण अभियान असफल नै भएपनि कुनै फरक नपर्ने भनेपछि रोजिता सगरमाथा आरोहणका लागि तयार भइन् । १ वर्षसम्म आरोहणको तयारी गरेपछि उनीहरुको टिम अन्तिम गन्तव्यका लागि सगरमाथातर्फ लाग्यो ।

सगरमाथा आरोहण गर्ने महिलामात्रको यो समूहमा राष्ट्रिय समाचार समितिकी रोसा बस्नेत, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, स्वतन्त्र पत्रकार देउराली चाम्लिङ र न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की (उनले क्याम्प २ मा पुगेर आफ्नो अभियान त्याग्नुपरेको थियो) सहभागी थिए ।

सगरमाथा आरोहणका लागि यो समूहले दोलखामा अभ्यास गरेको थियो । उनीहरुले ड्रिमर्स डेस्टिनेशन ट्रेक्स एण्ड एक्पिडिसनका प्रख्यात आरोही फुर्वा तेन्जिङ शेर्पाको निर्देशन र रेखदेखमा रोल्वालिङ उपत्यकामा रहेको रामदुङ हिमाल (५,९५२ मिटर) र यालुङ री (५,६३० मिटर) को आरोहण गरेका थिए ।

यसअघिको तालिम र आवश्यक सहायतासहित रोजिता सगरमाथा तर्फ लागिन् । उनी सगरमाथाको शिखर नपुग्दासम्म हार मान्ने पक्षमा थिइनन् । आफ्नो आकांक्षा पुरा गर्न उनका लागि ठूलो अवसर समेत थियो । जीवनमा पहिलो पटक सगरमाथा देख्दा उनको मनमा मिश्रित भावना आएको थियो ।

एकातर्फ विश्वको सर्वोच्च शिखर सगरमाथा देख्दा उनको मन उसैपनि खुशी थियो भने अर्कोतर्फ विशाल पर्वतको भौतिक स्वरुपका कारण यो हिमाल चढ्न सकिने हो कि होइन भन्ने आशंका पनि मनको कुनै कुनामा लुकेर रहेको थियो । यहीबीचमा उनले सगरमाथा आरोहण दलमा रहेका आफ्ना साथीहरुलाई सम्झिन् ।

आफ्ना साथीहरुको साथ रह्यो भने सगरमाथाको शिखरमा पुग्न कुनै अफ्ठ्यारो नपर्नेमा उनले दृढता देखाइन् । यसअघिका कामहरु पनि समूहका साथीहरुको सहयोगबाट पूरा गरेकीले सगरमाथा आरोहणका क्रममा पनि यो सहयोग र सहकार्य मिल्नेमा उनी निश्चिन्त थिइन् ।

सगरमाथा आरोहण गर्ने बेलामा उनी हिम झरना हेर्न आतुर थिइन् । उनलाई हिमझरनाको बनोट एकदमै जटिल र नाटकीय लाग्यो । खुम्बु हिमझरनाको पपकर्न फिल्ड भनिने बरफले बनेको क्षेत्रमा केही चर्किए वा फुटेजस्तो आवाज आएका कारण आफू धेरै नै आत्तिएको उनी सुनाउँछिन् । हिम झरनाको त्यो क्षेत्रमा उनी आफूमात्र नभई आफ्नो टिमसँग सगरमाथा आरोहणका लागि गएका शेर्पा पनि डराएका थिए ।

सगरमाथा आधार शिविर पुगेपछि उनको टिमले त्यहाँ आराम गर्यो भने सगरमाथाको वातावरणसँग घुलमिल हुनका लागि केही समय आधार शिविरमै बितायो । उनीहरु सगरमाथाको क्याम्प १ पुग्दा सबैमा भरपुर उर्जा देखेर शेर्पा पनि प्रभावित भएका थिए । तैपनि क्याम्प २ मा पुग्दा भने उनको मुटुको धड्कन बढ्न थाल्यो र उनी बेहोस हुन पुगिन् । उनले त्यहाँ शेर्पा र गाइडहरुले बोलेको बाहेक सुन्नुबाहेक अरु केही थाहा पाइनन् । उनलाई त्यहाँ रिङगटा लाग्यो भने उनलाई त्यहाँ बान्ता समेत भयो । पछि थाहा भयो उनलाई ग्याष्ट्रिक भएको रहेछ ।

मे २३, सन् २०१८ उनको जीवनको धेरै नै महत्वपूर्ण दिन । यही दिन उनी सगरमाथाको शिखरमा पुगेकी थिइन् । त्यो दिन उनको सानैदेखिको चाहना र आकांक्षा पूरा भएको थियो । उनी भन्छिन्, ‘म हाम्रो आरोहण दलका गाइड र शेर्पा फुर्बा तेन्जिङ शेर्पा र चिनियाँ आरोही गोयूसँग थिएँ । गोयू र फुर्बाले एकअर्कालाई अँगालो हाल्दै सगरमाथाको शिखर पुगेकोमा बधाई दिए । त्यसपछि फुर्बाले मलाई खादा दिए ।

मैले त्यो खादा आफ्नो अभियान सफल भएकोमा चोमोलोंमा मातालाई चढाएँ । त्यसपछि म रुन पो थालेछु । मैले स्वर्गबासी मातापितालेमलाई हेरेर गौरव महशुस गरिरहेको आभाष गरेँ । हाम्रो मेहेनत पूरा भएको थियो । हाम्रो मनोबल बढाउने सबै प्रायोजक, समर्थक, साथीभाइ आफन्त प्रति हामी धन्य थियौं । मैले जस्तोसुकै परिस्थितीमा पनि मेरो साथ नछाड्ने मेरा शेर्पालाई धन्यवाद भनेँ ।’

उनी भन्छिन्, ‘सगरमाथा आरोहण गर्ने निर्णय गरेकै दिन हाम्रो सगरमाथा अभियान शुरु भएको थियो । हिमालमा बिताएका हरेक पल अविष्मरणीय छन् । हिमाल आरोहणमा जानेले जीवनको सबै पाठ सिक्न सक्छ । जब म क्याम्प ३ बाट क्याम्प २ तर्फ झर्दै थिएँ, त्यसैबेला म जमिन फाटेको स्थानमा खस्न पुगेँ । त्यो समतल जमिन थियो, तैपनि एक्कासी त्यहाँ खस्न पुगेछु । यस्ता यात्रामा कहिले के हुन्छ भन्ने ठेगान हुन्न । तपाईं जीवनलाई कसरी हेर्नुहुन्छ र जीउनका लागि के गर्नुहुन्छ भन्ने विषय महत्वपूर्ण हो । डार्विनको एउटा सिद्धान्त छ नी, सर्भाइभल अफ द फिटेस्ट, हिमाली जीवन सर्भाइभल अफ द फिटेस्टको गतिलो उदाहरण हो ।’ उनी भन्छिन्, ‘मैले सगरमाथा आरोहणबाट नम्र बन्न र सामूहिक कामलाई कदर गर्न सिकेँ । आफू जे हो त्यसैमा गर्व महशुस गर्नुपर्छ । तपाईं वास्तवमा को हो भन्ने कुरा बिर्सिनु हुँदैन । सपना देख्न सक्नुपर्छ र देखेको सपना पूरा गर्ने साहस हुनुपर्छ ।’

समताका लागि एकीकृत आवाज भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको अन्तर्गत आरोहण समूहमा सहभागिलाई उनी धन्यवाद दिन्छन् । ‘हामी लैंगिक समानताको जनचेताना जगाउन र नेपालमा पर्यटनलाई प्रोत्साहन गर्न सगरमाथा आरोहण गरेका हौं,’ उनी भन्छिन् ।

 

भर्खर

0