जब सानो छोराले दयाहाङलाई भने-बाबा आज हाम्रै घरमा बस्नू न ! « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

जब सानो छोराले दयाहाङलाई भने-बाबा आज हाम्रै घरमा बस्नू न !




दयाहाङ राईलाई छोरा सम्दुहाङले ‘पापा’ भनेर बोलाउँछन्। यतिबेला भने दयाहाङ पापा हैन, ‘आप्पा’ बनेर चर्चामा छन्। तामाङ समुदायमा बुबालाई आप्पा भन्ने चलन छ।

चलचित्र ‘आप्पा’ मा दयाहाङलाई आप्पाकै भूमिकामा देखिनेछ। त्यस्ता आप्पा, जसले आफ्नो छोराको खुबै ख्याल राख्छन्। आफ्नै मुटुलाई झैँ माया गर्छन्।

‘आप्पा’ को ट्रेलरमा देखाइएको छ, चलचित्रमा दयाहाङ एक असल बाबु हुन्। पर्दामा असल बाबु बन्ने प्रयत्न गरेका दयाहाङ वास्तविक जीवनमा आफ्ना छोराप्रति कति उत्तरदायी होलान् त ?

हामीले सोध्यौँ, ‘फिल्ममा त असल बुबाका रुपमा देखिनुभएको छ, वास्तविक जीवनमा छोराको नजरमा असल बाबु हो ?’

‘मलाई लाग्छ, म मेरो छोराका लागि असल बुबा हुँदै होइन,’ राईले उत्तिखेरै जवाफ फर्काए।

असल बुबा होइन ? त्यसो भए कस्तो बुबा ?

‘छोरा मलाई एकदमै ज्ञानी लाग्छ, तर उसलाई बुबाले दिनुपर्ने समयको अभाव सधैँ खड्किरहन्छ, उसको मुख्य चाहना त मन परेको ठाउँ घुम्न जाने भन्ने नै हो, मैले चाहिँ समय मिलाउन भ्याउँदिन,’ उनले भने, ‘शूटिङका कारण बाहिर गइरहनुपर्छ, पेशाकै कारण छोरालाई दिने समय हुँदैन, काठमाडौंमै शूटिङ हुँदा पनि म ढिला गरी घर पुग्छु, ऊ सुतिसकेको हुन्छ।’

धेरैजसो त उनी महिनामा आधाभन्दा धेरै समय काठमाडौं बाहिर नै हुन्छन्। अर्कातिर छायांकन र प्रचारका लागि नेपाल बाहिर गइराख्नु पर्छ। परिवारका लागि चाहेर पनि समय मिलाउन सकिरहेका छैनन् उनी।

त्यसो त सानो बच्चाहरुको बानी बाबुसँगभन्दा आमासँग बढी झ्याम्मिने हुन्छ। त्यसमाथि पनि छोराहरु बुबासँग नजिकिन त झनै अप्ठेरो मान्छन्। अझ नेपालमा त स–साना बच्चा हुर्काउने काम आमाहरुकै जिम्मेवारी हो भन्ने भएको छ।

दयाहाङलाई पनि समय मिलाउन उत्तिकै गाह्रो छ। बाबुछोराको सम्बन्ध यतिसम्म फितलो रहेछ कि, छोराले बुबालाई त पाहुना कै रुपमा मान्ने रहेछन्। एकदिन दयाहाङ झमक्क साँझ पर्दै गर्दा घर पुगेका थिए। छोरा सम्दुहाङ सधैझैँ आमाकै समीपमा थिए । गफिँदै गर्दा छोरालाई दयाहाङलाई यस्तो आग्रह गरे, जुन आग्रह अझै पनि दयाहाङको कानमा बेलाबेलामा ठोक्किन्छ । र, एकाएक पीडा दिन्छ ।

‘मलाई त्यही दिन लागेको थियो, म असल बाबु होइन रहेछु, मैले छोरालाई कसरी खुशी राख्ने भन्ने पनि जानिन र जान्दिन, शायद उसको मनोविज्ञान बुझ्दिन होला,’ दयाहाङले सम्झे।

‘पापा, आज हाम्रै घरमा घरमा बस्नू न !,’ छोराले बाबुलाई यस्तो आग्रह गरेका थिए।

शायद बेनुकाको काम आमाको माया दिने मात्र भएको छैन, सम्दुहाङलाई कमी भएको बुबाको माया पनि थपिदिने पनि हो। दयाहाङले भने, ‘उनी नभएको भए धेरै गाह्रो हुन्थ्यो।’

यो ३ वर्षअघिको कुरा हो। सम्दुहाङ ४ मा टेकेका थिए।

आफ्नै घरमा आफ्नै छोराले पाहुनालाई झैँ बस्न आग्रह गर्दा दयाहाङ खिस्स हाँसे। साथसाथै दयाहाङकी पत्नी बेनुकाले पनि हाँसोमा हाँसो मिलाइन्। त्यो क्षण त्यत्तिकै बित्यो।

जब दयाहाङ त्यो क्षण सम्झिन्छन्, कताकता उनलाई झन्न पारिदिन्छ छोराको त्यो आग्रहले।

‘छोराको नजरमा त म पाहुना पो रहेछु, कहिलेकाही आफन्त आउँदा हामी बस्न अनुरोध गर्दै यसै भन्थ्यौँ, छोराले मलाई त्यस्तै मानेछ,’ भावुक बने उनी।

छोरालाई कहिलेकाहीँ घुमाउन, मन लागेको कुरा किनिदिन त उनले कुनै न कुनै तरिकाले मेसो मिलाउलान्। तर, उनले बुझेको यत्ति हो, छोरालाई पर्याप्त समय पनि दिनुपर्ने रहेछ।

त्यसो त छोराप्रति दयाहाङको कुनै गुनासो छैन। गुनासो उनको आफैसँग छ। व्यस्तताले छोरालाई समय दिन नसक्दाको अभाव उनी आफैले पनि भोगेका छन्। भोलि ठूलो भएर छोरा यस्तै बन्नुपर्छ भन्ने पनि छैन उनलाई।

उनी चाहन्छन्, छोरा जे बन्न चाहन्छ, त्यही बनोस्।

‘छोरा यस्तो बनोस् भन्ने कुनै चाहना छैन, भोलि उसलाई जे बन्न मन लागेको छ, त्यही बन्छ, म पनि त हिजो त्यही थिएँ, बाआमाको त चाहना अर्कै थियो होला, तर मलाई कला क्षेत्रमा रुचि बढ्यो,’ दयाहाङले सुनाए।

उनलाई त्यतिबेला सबथोक ‘कला’ हो भन्ने लाग्यो। घरबाट पनि खासै दबाव आएन। तर, परिवारको चाहना थियो कि, केही नभए पनि एउटा जागीर खाओस्। पढेर केही गरोस्।

‘मलाई लाग्छ, हामीले आफ्ना छोराछोरीलाई सपना थोपरिदिने चाहिँ होइन, बरु स्वतन्त्र छोडिदिने हो, उनीहरुलाई आफ्नै तरिकाले छोडिदिने हो भन्ने लाग्छ,’ उनले भने।

बरु छोराको पूरै ख्याल गर्ने जिम्मा आफ्नी पत्नी बेनुका राईको काँधमा थोपरिएजस्तो भएको छ। बेनुकाले छोरालाई थप सहज होस् भनेर उही स्कूल अध्यापन गराउँछिन्। उनलाई लाग्छ, मैले पढाउने स्कूलमा छोरो पनि भयो भने धेरै सजिलो हुन्छ।

शायद बेनुकाको काम आमाको माया दिने मात्र भएको छैन, सम्दुहाङलाई कमी भएको बुबाको माया पनि थपिदिने पनि हो। दयाहाङले भने, ‘उनी नभएको भए धेरै गाह्रो हुन्थ्यो।’

घर धानेकी छिन् बेनुकाले। यदि ठ्याक्कै यसको उल्टो भएको भए के हुन्थ्यो ? मानौँ, दयाहाङ दिनभरि घरमा बस्छन्। छोराको ख्याल गर्छन्, घरको काम पनि सप्पै आफै भ्याउँछन्।

हामीले दयाहाङलाई सोध्यौँ।

‘मलाई समाजले हिरो बनाइदिन्थ्यो,’ उनले सीधा उत्तर दिए।

उनलाई लाग्छ, यही काम एक महिलाले गर्दा ‘ड्युटी’ मात्र भएको छ।

‘केटा मान्छेलाई सामाजिक रुपमा नै खुला छोडिएको छ, पुरुषप्रधान समाज छ, लामो समयदेखिको स्कूलिङले मलाई पनि प्रभावित पारेको छ, कतिपय कुरामा म आफै चेन्ज हुन सक्दिन पनि,’ दयाहाङले सामाजिक परिवेश केलाउँदै थपे, ‘महिलालाई धेरै कुरामा बन्धनमा राखिएको छ, पुतली बनाइएको छ, शायद मैले पनि पत्नीसँग त्यही गरिरहेको छु होला, जुन हाम्रो समाजले गरिरहेको छ।’

दयाहाङ स्वीकार्छन्, उनी पनि यही समाजका पात्र हुन्। जसलाई समाजअनुसार अगाडि कुद्नु छ। त्यही रीति र नियममा बाँधिनु छ।

‘हुन त हाम्रो समाज परिवर्तनको संक्रमणकालीन अवस्थामा नै छ, समाजको संरचना जस्तो पनि बन्न सक्छ,’ सामाजिक व्यवस्था केलाउँदै उनले थपे, ‘म आफै पनि फेरिने कोशिश गरिरहेको पनि छु, समस्याबाट भागिरहेको पनि छु।’

दयाहाङलाई आफ्नो बाल्यकाल अझै याद छ। अहिले छोराको बाल्यकालमा समय दिन नसकेका दयाहाङ राईले सानो छँदा दयाहाङले आफ्नी आमाका अनेक कथा सुनेर हुर्केका थिए। उनलाई कहिलेकाहीँ लाग्छ, छोराले पनि त्यस्तै कथा सुन्न खोज्दो हो।

आमासँग कहिले उनले ढुंगाका कथा हुन्थे, कहिले स्वर्गका कथा हुन्थे। आमाले भन्दाभन्दै सामान्य विषयलाई पनि कथा बनाइदिन्थिन्। ती कथाले दयाहाङको बालक मनलाई शीतल पारिदिन्थ्यो।

‘मलाई लाग्छ, मेरी आमासँग मसँग भन्दा धेरै क्षमता छ, उहाँले कोदालो खन्न पनि जान्नुभएको छ, हलो जोत्न पनि जान्नुभएको छ, नाम्लो बुन्न पनि जान्नुभएको छ, चोया बुन्न, घरायशी काम गर्न, गाइगोठको काम सबै जान्नुभएको छ,’ दयाहाङले महिलाको महानतालाई उठाउँदै भने, ‘यो सबै गर्न मैले सक्दिन।’
कहिलेकाहीँ त उनलाई लाग्छ, अहिले पनि आमाले उत्तिकै दुःख गरेकी छिन् तर दयाहाङ सबैले देख्ने ठाउँमा छन्। आमा कतै गाउँमा छिन्।

बुबाको सपना हैन, आफ्नै सपना बोकेर जीवनको बाटो कोरेका दयाहाङ ‘आप्पा’ मा कस्ता बाबु बनेका छन्, त्यो भने हेर्न बाँकी छ। आखिर जीवन एउटा गतिमा चलिरहन्छ, फिल्म त बरु निर्देशकले कोरेको एउटा सानो गोरेटो बाटो न हो

आफ्ना सपनाको भारी बोकेर राजधानी छिरेका दयाहाङले आफ्ना आफूलाई बाआमाले थप स्वतन्त्र छोडिदिएको बुझेका छन्।

थप स्वतन्त्र अर्थात् थप जिम्मेवार।

‘होला कुनै दिन मेरो परिवारसँग पनि मप्रति गुनासो थियो होला, किनकि सबै बाआमाको चाहना छोरो धेरै पढेर जागीरे बनोस्,’ उनले अन्तर्वार्ता छेउको क्यानभास देखाउँदै भने, ‘मलाई भने साहित्य र कलामा पहिलेदेखि नै रुचि भयो।’

स्वतन्त्रता पाएर परिवारले चाहेको भन्दा फरक बाटोमा हिँडिरहेका दयाहाङका परिवार के अहिले खुशी होलान् त ?

‘परिवार खुशी हुनुहुन्छ झैँ लाग्छ, किनकि उहाँहरुले मेरो नाम सुनिरहनुभएको हुन्छ, छोराको नाम सुन्न पाउनु नै बाआमाका लागि ठूलो कुरा हो।,’ उनले उत्तर दिए।

बुबाको सपना हैन, आफ्नै सपना बोकेर जीवनको बाटो कोरेका दयाहाङ ‘आप्पा’ मा कस्ता बाबु बनेका छन्, त्यो भने हेर्न बाँकी छ। आखिर जीवन एउटा गतिमा चलिरहन्छ, फिल्म त बरु निर्देशकले कोरेको एउटा सानो गोरेटो बाटो न हो।


भर्खर

0