विद्यार्थीको विश्वास जितेकी ‘नर्स मिस’ को अनुभव– मनको वह पोख्छन् विद्यार्थी

रिता लम्साल

शनिबार, बैशाख १४, २०७६

Reading Time: 7 minutes

विद्यार्थीको विश्वास जितेकी ‘नर्स मिस’ को अनुभव– मनको वह पोख्छन् विद्यार्थी

काठमाडौं–चितवनकी मधुकुमारी पौडेल विद्यालयकी नर्सिङ शिक्षिका हुन् । प्रदेश ३ को समाजिक विकास मन्त्रालयले पौडेललाई गत मंसिरमा चितवनको श्री दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयमा नर्सिङ शिक्षकको रुपमा खटाएको छ ।

पोडेल दुर्गा शेषकान्त माविकी पहिलो नर्सिङ शिक्षिका हुन् । उनी विद्यार्थीहरुको सबैभन्दा प्यारी शिक्षिका हुन् । उनलाई विद्यार्थीहरुले शिक्षिक भन्दा पनि साथीको रुपमा हेर्छन् ।

अस्पतालकि नर्स किन् गइन् स्कुल ?

चितवनको पुरानो मेडिकल कलेजमा पीसीएल नर्सिङ अध्ययन गरेकी पौडेलले आफू पढेकै मेडिकल कलेजमा पीसीएल नर्सको रुपमा ८ वर्षदेखि कार्यरत थिइन् ।

मेडिकल कजेलमा नर्सिङको काम गर्दैगर्दा प्रदेश ३ को सरकारले विद्यालयमा नर्स राख्ने कार्यक्रम शुरुवातका लागि आवेदन खुलायो ।

विदेशमा मात्रै विद्यालयमा नर्स हुन्छन् भन्ने जानकारी पाएकी पौडेललाई पनि नेपालकै सरकारी विद्यालयमा विस्तार हुन लागेको नर्सिङ कार्यक्रमले आर्कषित गरायो ।

नेपाली नर्सहरुका लागि विद्यालयमा नर्सिङ शिक्षकको पेसा नौलो थियो । त्यो नौलो पेसालाई पौडेलले पनि अनुभव गर्न चाहिन् । उनले पनि नर्सिङ शिक्षिकाको रुपमा काम गर्न आवेदन दिइन् र छनोटमा पनि परिन् ।

उनी विद्यालयमा पुग्दा ‘नर्स मिस आउनुभयो’ भन्दै हेर्न आउनेको भीड लाग्यो ।

‘विद्यालयमा नर्स शिक्षक कस्तो हुने रहेछ भनेर मलाई नयाँ क्षेत्रमा काम गर्न मन लाग्यो, मैले विज्ञापन अनुसार हेटौंडा गएर फर्म भरे छनोट पनि भए त्यपछि म विद्यालयमा प्रवेश गरें ।’

उनलाई प्रदेश ३ को सरकारले चितवनको श्री दुर्गा शेषकान्त अधिकारी  माध्यमिक विद्यालयमा गत मंसिरमा खटाएको हो । उनी गत मंसिर २१ गतेदेखि सो विद्यालयको नर्सिङ शिक्षिकाको रुपमा कार्यरत छिन् ।

नर्सिङ शिक्षिका भएर विद्यालय गएको पहिलो दिन

नर्सिङ शिक्षिका भएर पहिलो दिन विद्यालय जाँदा उनको अभुवभ नौलो थियो । विद्यालयमा पहिलो पटक नर्स शिक्षिका आउँदा विद्यार्थीहरु पनि निकै उत्साहित थिए । उनी विद्यालयमा पुग्दा ‘नर्स मिस आउनुभयो’ भन्दै हेर्न आउनेको भीड लाग्यो ।

विद्यार्थीहरुको उत्साह देखेर पौडेल पहिलो दिन नै निकै खुसी भइन् । तर खुसीसँगै उनको मनमा डर पनि थियो । सरकारले विद्यालयमा खटाएपनि विद्यालयमा गएर के गर्ने भन्ने विषयमा कुनै कुरा बताएको थिएन ।

विद्यालय पुगेपछि सबै शिक्षक पढाउन कक्षाकोठामा जाँदा उनी शिक्षकको कार्यकक्षमा के गर्ने होला भनेर अन्यौलमा परिन् ।

‘पहिलो दिन त निकै नौलो अनुभव भयो, अस्पतालमा जस्तो ड्युटी, कामको सेड्युल केही थिएन, सबै शिक्षकहरु पढाउन कक्षाकोठामा जान्थें, म के गर्ने गर्ने हुन्थ्यें,’ उनले सुनाइन्, ‘विद्यार्थीहरु सबै खेलेका छन् उफ्रेका छन्, नर्स मिस आउँनुभयो भन्दै परैबाट सबैले हेर्छन् तर कोही बोल्न आउँदैनन्, म त पहिलो दिन एक्लै भए, अलमलमा नै परे ।’

पौडेल अलमलमा परेको देखेर विद्यालयमा प्रध्यानाध्यपकले शिक्षक अनुपस्थित हुँदा खाली भएको कक्षामा उनलाई पढाउन पठाए, तर कक्षामा गएर विद्यार्थीलाई के पढाउने उनी आफैं अन्यौलमा थिइन् ।

‘सरले खाली भएको क्लासमा पढाउन पठाउनुभयो, तर अरु शिक्षकको जस्तो लेसन प्लान, पुस्तक केही थिएन, कक्षामा त गए, तर के पो पढाउने ? म त आफैं अन्यौलमा थिएँ ।’ उनले भनिन्, ‘लेसन प्लान नभएपनि मैले विद्यार्थीहरु टिनएजमा हुने शारीरिक परिवर्तन, स्वास्थ्य समस्याहरुको विषयमा आफ्ना कुराहरु समेटेर सिकाएँ ।’

केही दिन वितेपछि सरकारले काम र जिम्मेवारीको विषयमा पौडेल लगायत प्रदेश ३ मा खटिएका सबै नर्सहरुलाई तालिम दियो । नर्सहरुको काम कर्तव्य र अधिकारको विषयमा तालिम पाएपछि पौडेलका लागि धेरै सहज भयो ।

सरकारी विद्यालयमा नर्सिङ शिक्षक प्रदेश सरकार विद्यालय, शिक्षक, विद्यार्थी र खटिएकी नर्स सबैको लागि नौलो कुरा थियो । तालिमपछि पौडेलले आफ्नो जिम्मेवारीको विषयमा बुझिन् । उनले खाली रहेको कक्षामा विद्यार्थीहरुलाई किशोराअवस्थाको परिवर्तन, स्वास्थ्य समस्या, सरसफाइ लगायका विषयमा व्यवहारिक ज्ञान दिन थालिन् ।

किशोरावस्थामा आउने परिवर्तनबारे सही ज्ञान र कौतुहलताको व्यवस्थापन गर्ने क्षमता नहुँदा विद्यार्थीहरु गतल कार्यतर्फ उत्साहित हुन्छन्

छोटो समयमै पौडेल विद्यार्थीहरुको प्यारी शिक्षिका बनिन् ।

‘विद्यार्थीहरु विस्तारै मसँग घुलमिल भए, मसँग बोल्न चाहने आफ्नो समस्याहरु बताउने गर्न थाले,’ पौडेलले भने, ‘विद्यार्थीहरुले शिक्षक भन्दापनि साथीको रुपमा कुराहरु बताउँन थाले ।’

सरकारी विद्यालयमा पढ्ने अघिकांश विद्यार्थीको परिवारमा आर्थिक अवस्था कमजोर हुन्छ । परिवारको आर्थिक अवस्था र अभिभावकमा चेतना नहुँदा विद्यार्थीहरुमा पोषणको कमी रहेको पौडेलले बताइन् ।

भोकै स्कुल आएका बालबालिकाले पेट नदुख्ने औषधि माग्दा

पौडले हरेक दिन बिहान १० बजे विद्यालयमा पुग्छिन् । एकदिन उनी पुग्नुअघि उनको कार्यकक्ष दुई तीन कक्षामा पढ्ने साना–साना बालबालिका उनको ढोकाको छेउमा आएर लाइन लागिसकेका थिए ।

आफ्नो कार्यकक्षको ढोकामा रहेका विद्यार्थीको समस्या सुन्दा पौडेल आफै रोइन् ।

विद्यार्थीको त्यो समस्या उनले यसरी सुनाइन् 

‘म स्कुल पुग्नुअघि दुईतीन कक्षामा पढ्ने साना –साना बालबालिका मेरो कार्यकक्ष अगाडि लाइन लागेर बसेका थिए । मैले ‘के भयो तिमीहरुलाई किन यहाँ बसेको ?’ भनेर सोध्दा उनीहले ‘पेट दुख्यो’ भने ।

‘खाना खाएको छैन ?’ भन्दा छैन भन्दै मुन्टो हल्लाए । ‘किन खाना नखाइ आएको ? भन्दा ‘ममिले पकाइदिएन’ भने । ‘ममिले पनि भोकै पठाउनछन् त !’ भनेर सोधे, ‘ममि त सुतिरनुभएको थियो, मेरो ममि हैन क्या सौतेनी ममि हो’ भन्छन् ।

कुनै बालबालिका ममी छैन, बाबा बिहानै कता जानुहुन्छ खाना कसैले दिदैन भन्छन् । उनीहरुको कुरा सुनेर रुनै आउँछ । ५ कक्षासम्म पढ्ने बालबालिकाहरुको अभिभावकले बिहान खाना समेत खुवाउँदैनन् । उनीहरु भोकै स्कुल आउँछन् । ठूला विद्यार्थीलाई त काउन्सिलङ गरेर आफैले बनाएर खाने गर भन्न सकिन्छ तर ती साना–साना बालबालिकालाई त सम्झाउने शब्द पनि हुँदैन मसँग ।

भोकै विद्यालय आएका सानासाना विद्यार्थीहरु पेट नदुख्ने औषधि माग्न आउँछन् ।

उनीलाई खाना पाए हुन्थ्यो भन्ने लाग्दैन, पेट नदुख्ने औषधि पाए पढ्न सकिन्थ्यो भन्ने सोच्छन्, तर भोक सहन्छन् ।

‘मिस मलाई फलानाले धोका दियो, पढ्न मन लाग्दैन मर्न मन लाग्छ । के गर्नेहोला ? भन्दै हात नै काटेका विद्यार्थीहरु समेत आउँछन् ’ उनले भनिन्

अभिभावकले खाना समेत खान नदिएका बालबालिकाको हकमा पोषण तत्व त परको कुरा हो । उभिन र विद्यालयमा पढ्नका लागि भोक मेटाउन पनि मुस्किल छ । पोषण भन्दा पनि भोक मेटाउन विस्कुट खानु भनेर आफैले पैसा समेत दिएको छु ।

बाहिरको जंग फुड बालबालिकाको लागि हानिकारक छ भनेपनि भोकै विद्यालय आएका बालबालिकालाई विस्कुट खान पैसा दिनुपर्दा पौडेललाई निकै दुख लाग्छ । भोकै विद्यालय आउने विद्यार्थीहरुमा भोकले पेट दुखेको हो भन्ने सम्म जानकारी नभएको पौडेल बताउँछिन् ।

‘उनीहरुलाई खाना नखाएकोले पेट दुखेको भन्ने थाहा छैन, पेट दुख्यो, नर्समिसले औषधि दियो भने औषधिले पेट दुख्दैन भनेर औषधि पाइन्छ भनेर आउँछन्, पौडेल भन्छिन्, ‘विस्कुट पानी खान दिदा पेट दुख्न ठिक भयो भनेर कक्षाकोठामा जान्छन् ।’

यस्तो समस्या एक कक्षा देखि पाँचकक्षा सम्ममा धेरै बालबालिकाको रहेको पोडेलको भनाइ छ ।

६ कक्षा देखि प्रेम र धोकामा परेका विद्यार्थी !

६ कक्षाभन्दा माथिका बालबालिकाहरु किशोरावस्थामा प्रवेश गर्ने उमेरका हुन्छन् । उनीहरुको मनमा यौन जिज्ञासा, प्रेम भावना, बढी कौतुहलता हुन्छ । किशोरा अवस्थामा आउने परिवर्तनबारे सही ज्ञान र कौतुहलताको व्यवस्थापन गर्ने क्षमता नहुँदा विद्यार्थीहरु गतल कार्यतर्फ उत्साहित हुन्छन् । कक्षा ६ देखि माथिका विद्यार्थीहरुमा किशोर अवस्थाको परिवर्तनबारे ज्ञान र सहज नहुँदा गतल कार्यमा लाग्ने गरेको पौडेलले बताइन् ।

‘६ कक्षादेखि माथिका विद्यार्थीहरुमा धेरैजस्तो लभ अफियर चल्ने, धोका पाए, मर्न मर्न मन लाग्यो भन्ने विद्यार्थीहरु धेरै छन्, पारिवारिक र साथीसँगको सम्बन्धका कारण आत्महत्याको प्रयास गरेको थिए, भन्ने विद्यार्थीहरु समेत हुन्छन्,’ पौडेल भन्छिन्, ‘मिस मलाई फलानाले धोका दियो, पढ्न मन लाग्दैन मर्न मन लाग्छ । के गर्नेहोला ? भन्दै हात नै काटेका विद्यार्थीहरु समेत आउँछन् ।’

किशोरा अवस्थामा प्रवेश गर्दैगरेका विद्यार्थीलाई पौडेलले काउन्सिलिङ गरेपछि उनीहरुमा सकारात्मक परिवर्तन आउने गरेको पौडेलले बताइन् ।

उनी भन्छिन्, ‘उनीहरुलाई अहिले पढ्ने समय हो, पढाईमा ध्यान दिनुपर्छ भनेर कलिलै उमेर माया प्रेममा पर्दा हुने समस्याहरुको विषयमा राम्रोसँग बताइदिएपछि उनीहरु सम्झिन्छन् र अब म राम्रोसँग पढ्छु त्यस्तो कुरामा ध्यान दिन्न भन्छन् ।’

पाँच महिना विद्यालयमा नर्सको रुपमा काम गर्दा सरकारी विद्यार्थीहरुको पारिवारिक, आर्थिक र मनोवैज्ञानिक समस्याहरुको विषयमा धेरै कुरा जानकारी पाएको पौडेलले बताइन् । विद्यार्थीको उज्जल भविश्यको लागि विद्यालयको पढाइसँगै उनीहरुको आर्थिक सामाजिक र मनोवैज्ञानिक समस्या पनि बुझ्नुपर्ने पौडेलको भनाइ छ ।

प्रदेश ३ को समाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्र्तगत पहिलो चरणमा प्रदेश भित्रका २० वटा विद्यालयमा नर्सिङ शिक्षक राखेको छ । विद्यालयमा नर्सिङ शिक्षम पाएपछि विद्यार्थीहरुले आफ्नो सामाजिक,पारिवारि तथा आफूभित्रको समस्या सुनाउने विश्वासयोग्य पात्र विद्यालयमा पाएका छन् ।

भर्खर

0