अफ्रिका कै गरीब इथियोपियाले कसरी गर्‍यो तीव्र आर्थिक वृद्धि ? « Khabarhub
Logo
२३ मंसिर २०७८, बिहीबार

अफ्रिका कै गरीब इथियोपियाले कसरी गर्‍यो तीव्र आर्थिक वृद्धि ?



अफ्रिकाको सबैभन्दा पुरानो स्वतन्त्र मुलुक हो इथियोपिया । उपनिवेशवादको समयमा एकपछि अर्का अफ्रिकी भूभाग युरोपेली मुलुकको नियन्त्रणमा परेका बेला आफ्नो अस्तित्वको रक्षा गर्न सफल इथियोपिया नेपालजस्तै बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसाँस्कृतिक मुलुक हो । अफ्रिका कै गरीब इथियोपियाले छोटो समय गरेको आर्थिक वृद्धि विकासशील देशका लागि नमुना बन्दै गएको छ।

निकै लामो समयसम्म ‘संसारको सबैभन्दा गरिब मुलुक’ को संज्ञा पाएको इथियोपियाको यही छवि अहिले उसका लागि समस्या बनिरहेको छ । तीब्र गतिमा आर्थिक बृद्धि गरिरहेको इथियोपिया अहिले त्यही ‘सबैभन्दा गरिब मुलुक’ को छवि सुधार्न संघर्षरत छ । त्यसो नहोस् पनि किन? केही वर्षअघिसम्म भोकमरी, खडेरी, गरिबी, अशिक्षा, कुपोषण र महामारीको शिकार रहँदै आएको इथियोपियाको अवस्था निकै नै जर्जर थियो ।

धेरै पनि भएको छैन, सन् १९९० को दशकसम्म पनि इथियोपियाको अवस्था दयनीय नै थियो । तर, अहिले भने इथियोपिया अफ्रिकी महादेशमा राष्ट्रमध्ये सबैभन्दा तीब्र गतिमा आर्थिक विकास गरिरहेको मुलुकको सूचीमा छ । उत्पादन, सेवामूलक तथा वित्तीय क्षेत्रमा आधारित त्यहाँको अर्थतन्त्र सन् २००६–०७ देखि सन् २०१६–१७ को दशकसम्म सबैभन्दा तीब्र गतिमा १०.३ प्रतिशतले बृद्धि भएको विश्वबैंकको तथ्याङ्क छ । यही आर्थिक विकासको परिणाम हो, सन् २०११ मा इथियोपियामा ३० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनी रहेकोमा ५ वर्षभित्रै सन् २०१६ मा त्यो घटेर २४ प्रतिशतमा पुगेको थियो ।

शताब्दीऔ देखि सम्राटको शासनमा इथियोपियन साम्राज्यको रुपमा रहेको इथियोपिया निकै लामो समयदेखि हर्न अफ अफ्रिकाको आर्थिक तथा राजनीतिक शक्ति केन्द्रको रुपमा रहेको थियो ।

सन् १९३५ मा तत्कालिन फासिवादी इटालीले इथियोपियाविरुद्ध आक्रमण गरी सन् १९३६ मा राजधानी आदिस अबाबा कब्जा गर्यो र इटालियन अफ्रिकाको नामबाट प्रशासन चलाउन शुरु गर्यो । तत्कालिन सम्राट हाइल सलासी भागेर तत्कालिन अन्तर्राष्ट्रिय संगठन लिग अफ नेशन्सको कार्यालय रहेको स्वीट्जरल्याण्डको जेनेभा पुग्नुपरेको थियो । त्यसपछि सन् १९४१ मा बेलायती तथा इथियोपियाली सेनाको जवाफी आक्रमणपछि इथियोपिया मुक्त भयो भने सम्राट सलासी पुनः इथियोपियाको सम्राटको रुपमा पुनस्थापित भए ।

अन्तर्राष्ट्रिय नेताको रुपमा आफ्नो प्रभाव विस्तार गरिसकेका सम्राट सलासीको शासनअवधीमा खुला बजारमा आधारित अर्थतन्त्रलाई प्रोत्साहन गरिएको थियो । त्यहाँ कफीलगायतका अन्य कृषि उपजको आधुनिकीकरण तथा निर्यात, टेक्सटाइललगायतका अन्य उद्योगको स्थापना गरिएको थियो भने दोश्रो विश्वयुद्धपछि पनि त्यहाँ ठूलो सङ्ख्यामा पर्यटकहरु आउने गर्थे ।

तर, सन् १९७४ मा सैन्य ‘कु’ मार्फत् इथियोपियन साम्राज्यको पतन भयो भने सम्राट सलासीको पनि षड्यन्त्रपूर्ण ढंगमा हिरासतमा मृत्यु भयो । सैन्य ‘कु’ पछि इथियोपियामा सोभियत संघ समर्थित समाजवादी सैनिक शासन शुरु भयो । डेर्ग भनिने उक्त सैनिक सरकारले त्यहाँ रहेका सम्पूर्ण निजि उद्योगलाई राष्ट्रियकरण गर्न अघि सर्यो । जमिन, निजि उद्योग तथा अन्य उत्पादनका साधन सरकारको नियन्त्रणमा पुग्यो ।

त्यसपछि इथियोपियाका अर्थतन्त्र ओरालो लाग्न थाल्यो । सैनिक ‘कु’ लगत्तै एकभन्दा धेरै मोर्चामा छेडिएको गृहयुद्धमा फसेको इथियोपियामा भोकमरी, अशिक्षा, कुपोषण तथा महामारी उत्पन्न हुन थाल्यो । इथियोपियाले ‘संसारकै सबैभन्दा गरिब मुलुक’ को रुपमा आफ्नो नकारात्मक छवि बनायो ।

सन् १९९१ मा समाजवादी सरकार गिरेसँगै त्यहाँ लोकतान्त्रिक व्यवस्थाको बहाली भयो । सन् १९९० को दशकमा त्यहाँ गृहयुद्ध पनि केही हदसम्म साम्य हुँदै गयो । त्यसपछि इथियोपियाको आर्थिक नीतिमा सुधार गरेसँगै अर्थतन्त्रको गति अघि बढ्यो । त्यसबेला आर्थिक विकासको बाटोमा तीब्र गतिमा अघि बढिरहेका खाडीका मुलुकहरुसँगको व्यापारिक सम्बन्धलाई विकसित गर्दै लगेपछि इथियोपियाको अर्थतन्त्रले सामान्य गति लिन थाल्यो । सन् २००० पछि भने इथियोपियाको अर्थतन्त्रले ठूलो फड्को नै मार्यो । तैपनि इथियोपियाको जनसङ्ख्याको आधा हिस्सा भने अझै गरिबीको रेखामुनी रहेको थियो ।

नाइजेरियापछि अफ्रिकी महादेशको दोश्रो ठूलो जनसङ्ख्या रहेको इथियोपियामा बजारको उत्तिकै ठूलो सम्भावना तथा सस्तो श्रम पाइने भएकाले विदेशी लगानीकर्ता पनि इथियोपियातर्फ आकर्षित हुनथाले । त्यसबाहेक पूर्वी अफ्रिकामा अवस्थित र भूपरिवेष्ठित मुलुक नै भएपनि जिबौटीको बन्दरगाहबाट लाल सागर भएर खाडीका आर्थिक रुपमा सम्पन्न मुलुकहरुसँग व्यापार गर्न पनि सकिने रहेकाले त्यहाँ विदेशी लगानीकर्ताको पनि आकर्षणको केन्द्रका रुपमा रहन गयो ।

पछिल्ला केही वर्षयता इथियोपियाले पूर्वाधारका क्षेत्रमा पनि लगानी बढाउँदै लगेको छ भने इथियोपियाको अर्थतन्त्रको बृद्धिदर पनि तीब्र गतिमा अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्याङ्क अनुसार सन् २००० देखि सन् २०१६ सम्म इथियोपियाको आर्थिक बृद्धिदर विश्वको तेश्रो सबैभन्दा तीब्र गतिमा रहेको थियो । त्यसबेला इथियोपियको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन २७७ प्रतिशतसम्म बृद्धि भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमान अनुसार यो बृद्धिदर अझै थामिने सम्भावना छैन । अन्तर्राष्ट्रिय मुद्राकोषको आँकलन अनुसार सन् २०२२ सम्म इथियोपियाको आर्थिक बृद्धिदर ६.२ प्रतिशतको दरले उकालो लाग्ने छ । यससँगै इथियोपियाको जनसङ्ख्या पनि २.२५ को दरमा बढ्ने आँकलन छ । यसले इथियोपियामा अर्थतन्त्रसँगै जनसङ्ख्या पनि उही अनुपातमा बढ्ने छ । यसबाट जनसङ्ख्यासँगै त्यहाँका बजारको मात्रा पनि बढ्दै जाने छ भने श्रमिकको सङ्ख्या पनि सोही अनुपातमा बढ्दै जानेछ । यसले विदेशी लगानीलाई पनि उत्तिकै आकर्षित गर्ने आँकलन गरिएको छ ।

पछिल्लो समय इथियोपियाले चीनबाट ठूलो मात्रामा विदेशी लगानी भित्र्याइरहेको छ । चीनकै सहयोगमा इथियोपियाले विभिन्न पूर्वाधारका परियोजनामा पनि लगानी गरिरहेको छ । जलविद्युत, रेल परियोजना, यातायात, सञ्चारका पूर्वाधारमा पनि इथियोपियाको लगानी पनि उत्तिकै छ । यसले पनि इथियोपिया विदेशी लगानीका लागि आकर्षक गन्तव्यको रुपमा विकसित हुँदै आइरहेको छ ।

यसरी विश्वको गरिब राष्ट्रमा सूचीकृत इथियोपियाले गरेको यो आर्थिक वृद्धि देशको शासनसत्ता सम्हालेका नेताहरुको लगाव नै हो । दृढ इच्छाशक्ति, दूरगामी सोच र योजनाबद्ध काम गरे समृद्धिका लागि लामो समय कुर्न नपर्ने सन्देश इथियोपियाले विश्वलाई दिएको छ।


भर्खर

0