कुलमान र डा. रुइतले भने- अब ठूला परियोजना पूरा गर्ने काममा साथ दिनुस् | Khabarhub Khabarhub

कुलमान र डा. रुइतले भने- अब ठूला परियोजना पूरा गर्ने काममा साथ दिनुस्


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र आँखा रोग विशेषज्ञ चिकित्सक डाक्टर सन्दुक रुइतले विकासमा बाधक नबन्न सबैलाई आग्रह गरेका छन् ।

मुलुक विकासको गतिमा अघि बढिरहेको बताउँदै उनीहरुले मुलुकमा निर्माणाधीन ठूला परियोजना पूरा गर्ने काममा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल जनप्रशासन संघले शुक्रबार राजधानीमा आयोजना गरेको ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कारबाट सम्मानित हुँदै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ र  डाक्टर रुइतले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले घिसिङ र रुइतलाई सो पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कार राशि दुई लाख रुपैयाँ रहेको छ ।

पुरस्कार ग्रहण गर्दै घिसिङले प्राधिकरणमा कार्यरत १२ हजार कर्मचारीको कुशल कार्यशैलीका कारण देश लोडसेडिङमुक्त सम्भव भएको बताए ।

‘लोडसेडिङको अन्त्य गरेका हौं, कुनै चमत्कार गरेका हैनौं माग अनुसार पूर्ति गर्ने हाम्र दायित्व हो ।’ उनले भने,’ अझ ठूला  निर्माणाधीन परियोजनाहरु पूरा गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छन् । सबैको साथ र सहयोगको अपेक्षा राखेका छौं।’

उनले हाल प्राधिकरण १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको बताउँदै नागरिकलाई सस्तोमा बिजुली प्रदान गर्ने प्राधिकरणको प्रयास जारी रहेको बताए ।

कार्यक्रममा सम्मानित  डा. रुइतले  नेपाल अल्पविकसित मुलुक भए पनि विकसित देशका आँखा रोगीहरुको उपचार गर्न पाउँदा गर्व लाग्ने गरेको बताए ।

उनले भने, ‘आँखाका बिरामीहरुको आँखाको ज्योति फर्काउने काममा तिलगंगा आखा अस्पतालले सक्दो प्रयास गरिरहेको छ । यस्ता सम्मानले हाम्रो काममा थप हौसला मिल्छ ।’

उनले विकास निर्माणका काम राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताए ।

नेपाललाई लोडसेडिङमुक्त बनाउन चालेको कदमको योगदानस्वरुप घिसिङलाई सम्मान गरिएको हो । त्यसैगरी देशभर १ लाखभन्दा बढी मानिसहरुको आँखाको ज्योति फर्काउन डा. रुइतले गरेको कामको कदरस्वरुप उनलाई सम्मान गरिएको हो।

साल्ट ट्रेनिङले हरेक वर्ष सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई ‘हेमबहादुर मल्ल सम्मान’ पुरस्कारबाट सम्मानित गर्दै आएको छ ।

पूर्वघोषित कार्यक्रम अनुरुप दुबैजनालाई एकैपटक सम्मान प्रदान गरिएको हो । २०७३ सालको पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्रदान गर्ने निर्णय भएको थियो भने २०७४ सालको पुरस्कार डा. रुइतलाई प्रदान गर्ने निर्णय भएको थियो।

को थिए हेमबहादुर ?

वि.स. १९९५ मा वाग्लुङमा जन्मिएका हेमबहादुर मल्लले लामो समयसम्म प्रशासनिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए । २०२० सालमा साल्ट ट्रेनिङ कर्पोरेशनमा म्यानेजरको रुपमा प्रवेश गरेका उनी २४ वर्षसम्म निरन्तर रुपमा महाप्रबन्धक र अरु थप १३ वर्ष कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रेसिडेन्टको भूमिका निर्वाह गरे ।

हेमबहादुर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय थिए । बालहितकारी पुरस्कारको स्थापना , पाणिनी पुरस्कार, चिकित्साशिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, कृषिविज्ञान पढ्न छात्रवृत्ति, अस्पताललाई एम्बुलेन्स दिने जस्ता कार्यमा उनले निरन्तर सक्रियता निभाउँदै आएका थिए ।

सामाजिक क्षेत्रमा सक्रिय मल्लको वि.स. २०५७ सालमा भारतको नयाँ दिल्लीमा हृदयघातबाट मृत्यु भएको थियो । त्यससँगै नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनको आपसी समझदारीबाट हेमबहादुर मल्ल सम्मानको २०५९ सालमा स्थापना गरिएको हो ।

‘हेमबहादुर मल्ल सम्मान’बाट हालसम्म सम्मानित व्यक्तिहरुः

२०६० सालमा पहिलो पटक यो सम्मान शिक्षाविद त्रिविका उलकुलपती जापानका राजदुत श्री केदार भक्त माथेमा,

२०६१ सालमा दोस्रो पटक महिला सशक्तीकरणका र महिला विकासका क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्ने तत्कालीन महिला विकास बिभागकी महानिर्देशक एवम् युनिसेफकि रिजनल डाईरेक्टर श्री चादनी जोशी ,

२०६२ सालमा मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला,

२०६३ सालमा वरिष्ठ प्रशासनविद् एवम् नेपाल सरकारका पुर्व सचिव डा. भोजराज घिमिरे,

२०६४ सालमा सुचना प्रविधि क्षेत्रमा योगदान पुर्याएका महावीर पुन ,

२०६५ सालमा पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ ,

२०६६ सालमा पुर्व प्रमुख निर्वाचन आयुक्त एवम् प्रशासनविद् भोजराज पोखरेल,

२०६७ सालमा पूर्व सभामुख दमननाथ ढुंगाना,

२०६८ सालमा मा शिक्षा विद एवम काठमाडौ विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्मा ,

२०६९ सालमा पुर्व प्रधानन्यायाधीश एवम् मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी ,

२०७० सालमा नेपाल सरकारका पुर्व सचिव एवम् सचिव लोक सेवा आयोगका उमेश मैनाली,

२०७१ सालमा नेपाल सरकारका पुर्व मुख्य सचिव एवम् अमेरिकाका लागि नेपालका राजदुत दामोदर गौतम,

२०७२ सालमा नेपाल सरकारका पुर्व अर्थ सचिव डा. डेबेन्द्रराज पाण्डे सम्मनित भएका थिए भने

२०७३ सालमा नेपाललाइ लोडसेडिङमुक्त तुल्याउन सफल नेपाल बिभुत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई प्रदान गरिएको छ ।

२०७४ सालको हेमबहादुर मल्ल सम्मान आँखा उपचारमा अतुलनीय योगदान गर्ने आखाका विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ८ : ०९ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।