नेपाली जडिबुटीले भारतीय तस्कर मालामाल, प्रहरीदेखि वन कर्मचारीको मिलेमतो | Khabarhub Khabarhub

नेपाली जडिबुटीले भारतीय तस्कर मालामाल, प्रहरीदेखि वन कर्मचारीको मिलेमतो



काठमाडौं– नेपालमा करिव ७ सय प्रजातिका जडिबुटीहरु पाइने गरिएको बताइन्छ । वनस्पती विभागले गरेको अध्ययनअनुसार यस्तो जडिबुटीलाई सिधै प्रशोधन गरेर औषधि उत्पादन गर्न सकिन्छ ।

तर, सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानादेखि निजीस्तरबाट सञ्चालित आयुर्वेदिक औषधि उद्योगहरुले पर्याप्त मात्रामा जडिबुटी नै पाइरहेका छैनन् । यसको प्रमुख कारण, नेपालका बहमूल्य जडिबुटीको अवैध रुपमा संकलन गरी भारतलगायत मुलुकमा तस्करी गरिनु हो ।

वर्षेनी करोडौं मुल्यको जडीबुटी तस्करी

घटना–१,

गत माघ २५ गते प्रहरीले बझाङको चैनपुरबाट अबैध रुपमा लुकाइराखेको ७ सय १५ किलो सेतक चिनी (खिरौला) नामक जडिबुटीसहित १ जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा दार्चुलाको अपिहिमाल गाउँपालिका स्थायी घर भएका ४८ वर्षीय शेरसिंह धामी थिए ।

स्थानीय जंगलबाट संकलन गरिएको खिरौला भारत निकासी गर्न ठिक्क पारिएको अवस्थामा प्रहरीले धामीलाई पक्राउ गरेको थियो ।

घटना–२,

गत कात्तिक १३ गते सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कालाबञ्जरबाट खटिएको टोलीले बाँकेको डुडुवा गाउँपालिकाबाट ७५ किलो प्रतिवन्धित जडिबुटी जटामसी बराम गर्‍यो ।

घटना–३

गत असोज ६ गते बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुबाट १ हजार १२ किलो सेतक चिनी (खिरौला)सहित माने रोकाया पक्राउ परे ।

रोकायाले स्थानीय जंगलबाट अवैध तरिकाबाट सेतक चिनी संकलन गरेका थिए । १६ लाख रुपैयाँ मूल्य बराबरको सेतक चिनी भारत पठाउन लागिएको अवस्थामा इलाका वन कार्यालयले उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा वन कार्यालयका कर्मचारीकै मिलेमतोमा तस्करहरुले उक्त सेतक चिनी भारत पठाउन लागेका थिए ।

माथी उल्लेख गरिएका त प्रतिनिधि घटना मात्रै हुन् । प्रहरीको तथ्याङ्क हेर्दा वार्षिक रुपमा करोडौं मूल्य बराबरको जडिबुटी बरामद हुन्छ । प्रहरीले आर्थिक वर्ष २०७४/७५ मा कर्णाली प्रदेशबाट मात्रै १ करोड ६६ लाख रुपैयाँ मूल्य बराबरको जडिबुटी बरामद गरेको थियो ।

प्रहरीका अनुसार कालीकोट, मुगु, रोल्पा र रुकुमबाट अवैध रुपले भारत निकासी गर्न लागिएको अवस्थामा उक्त जडिबुटी बरामद भएको हो ।

बढ्दो वन विनास र आगलागीका कारण पनि बहुमूल्य जडिबुटीहरु लोप हुँदै गइरहेका छन् । सरकारले जडिबुटीको संरक्षण गर्न अभियान थाल्नुपर्छ । अहिले त सरकारले जडिबुटी खोज्न प्रतिवन्ध पनि लगाउने अनि संरक्षण पनि नगर्ने भइरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी नेपालको बहुमूल्य जडिबुटी विभिन्न बाटो हुँदै भारततर्फ चोरीनिकासी भइरहेको स्वीकार गर्छन ।

एसएसपी सुवेदीले भने, ‘नेपालमा पाइने बहुमूल्य जडिबुटी फाट्टफुट्ट मात्रामा मात्रै तेस्रो मुलुक तस्करी हुन्छ । धेरै जडिबुटी भारततर्फ नै अवैध रुपमा निकासी भइरहेको छ।’

प्रहरीका अनुसार जडिबुटी तस्करीमा ठूलै गिरोहको संलग्नता छ । यस्तो गिरोह भारतमा बेस बनाएर नेपालका जडिबुटी भारत हुँदै अन्य मुलुकसम्म समेत तस्करी गर्छ ।

नेपालबाट तस्करी भएर जाने जडिबुटी भारतका चर्चित आयुर्वेदिक कम्पनीमा समेत पुग्ने गरेको प्रहरी स्रोत बताउँछ । तर, प्रहरीले अहिलेसम्म त्यसको ‘पर्याप्त प्रमाण’ भने फेला पर्न सकेको छ्रैन ।

लाइन नमिल्दा मात्रै बरामद्

कालिकोट, मुगु, हुम्ला, जुम्ला, डोल्पा, जाजरकोट, दार्चुला, बझाङ, बाजुरालगायत पहाडी जिल्लाबाट हरेक वर्ष ठूलो परिमाणमा जडिबुटी संकलन हुन्छ । सरकारले संकलन गर्न नपाइने भनेर प्रतिवन्ध लगाएका जडिबुटीसमेत वन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिसँगको मिलेमतोमा संकलन गरिन्छ ।

प्रहरीका अनुसार तस्करको समुहले जडिबुटीको नाम नै तोकेर संकलन गर्न लगाउँछ । जडिबुटी संकलनमा स्थानीय व्यक्तिकै संलग्नता हुन्छ । संकलन भइसकेपछि निकासीका लागि भने प्रहरी समेतको मिलेमतो हुने गर्छ ।

‘जडिबुटीको तस्करीमा स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी र प्रहरी समेतको मिलेमतो हुन्छ,’ वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा खबरहबसँग भने, ‘संकलन भएको जडिबुटीलाई नाका कटाउनका लागि प्रहरी र वनका कर्मचारीको प्रमुख भूमिका हुन्छ ।’

तर, कहिलेकाहिँ भने प्रहरीले जडिबुटी नियन्त्रणमा पनि लिने गर्छ । ‘प्रहरीका तल्लो तहका कर्मचारीले आफ्नो भाग नमिलेपछि केन्द्रीय निकायमा सूचना पुर्‍याइदिन्छन्, यस्तो अवस्थामा तस्करी हुन लागेको जडिबुटी नियन्त्रणमा आउँछ,’ एकजना जडिबुटी व्यवसायीले भने, ‘स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी र प्रहरीको लाइन नमिल्दा मात्रै तस्करी भइरहेको जडिबुटी बरामद हुन्छ । नत्र त अहिले पनि निरन्तरजस्तै जडिबुटीको तस्करी भइरहेको छ ।’

सरकारले संरक्षणका लागि संकलन गर्न नपाइने भनेर प्रतिवन्ध लगाएका जडिबुटी दिनप्रतिदिन मासिदैछन् । त्यस्ता जडिबुटी तस्करहरुको गिरोहले अवैध रुपमा संकलन गरी तस्करी गर्ने गर्दछ ।

नेपाली उद्योगीले पाउँदैनन् जडिबुटी

सरकारले अहिले पनि केही बहुमूल्य जडिबुटीलाई संकलन गर्न नपाइने भन्दै प्रतिवन्ध लगाएको छ । जसका कारण नेपाली उद्योगलाई सधैंजसो जडिबुटीको अभाव हुने गरेको व्यवसायीहरु बताउँछन् ।

सरकारी स्वामित्वको सिंहदरबार वैद्यखाना विकास समितिले आर्थिक वर्ष २०७३/०७४ मा ९१ प्रकारका जडिबुटी आवश्यक परेको भन्दै बोलपत्र आह्वान गरेको थियो । तर, ४० प्रकारका जडिबुटी मात्रै उपलब्ध गराउन सकिने भनेर प्रतिवद्धता प्राप्त भयो ।

सिंहदरबार वैद्यखानाले आव ०७४/७५ मै ३ सय किलो हड्चुरका लागि वोलपत्र आह्वान गरेको थियो । तर, व्यवसायीले हडचुर आपूर्तिका लागि बोलपत्र नै पेश गरेनन् ।

सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यालय प्रमुख हरिदेव प्रसाद यादवका अनुसार, वैद्यखानाले आवश्यक जडीबुटी नपाउ“दा योजना बनाए जति औषधि उत्पादन गर्न सकेको छैन । आवश्यक मात्रामा जडिबुटी आपूर्ति नहुँदा बाजिगर शक्ति, अश्वगन्धा चूर्ण, च्यवनप्रास, तुल्सी चिया आदिको उत्पादन गर्न नसकेको यादवले बताए ।

प्रतिवन्ध लगाउने, संरक्षण नगर्ने

सरकारले बहुमूल्य भनेर कतिपय जडिबुटीलाई संकलन गर्न नपाइने गरी प्रतिवन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयका अधिकारीहरु त्यस्ता प्रकारका जडिबुटीको संरक्षणका लागि संकलनमा प्रतिवन्ध लगाइएको बताउँछन् ।

तर, सरकारले संरक्षणका लागि संकलन गर्न नपाइने भनेर प्रतिवन्ध लगाएका जडिबुटी भने दिनप्रतिदिन मासिदै गइरहेका छन् । तस्करहरुको गिरोहले अवैध रुपमा संकलन गरी त्यस्ता जडिबुटीको तस्करी गर्ने गर्दछ ।

यस्तै बढ्दो वन विनास र आगलागीका कारण पनि बहुमूल्य जडिबुटीहरु लोप हुँदै गइरहेका छन् । ‘सरकारले कि त यस्ता जडिबुटीको पहिचान गरी संरक्षणका लागि भनेर अभियान थाल्नु पर्‍यो । यदि हुँदैन भने वैध रुपमै संकलन गर्न पाउने व्यवस्था लागू गर्नु पर्‍यो,’ एक व्यवसायीले भने, ‘अहिले त सरकारले प्रतिवन्ध पनि लगाउने संरक्षण पनि नगर्ने भइरहेको छ ।’

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : ४५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६