पुडासैनी मृत्यु प्रकरण– रविसमेतको बयान पछि अब के हुन्छ ? | Khabarhub Khabarhub

पुडासैनी मृत्यु प्रकरण– रविसमेतको बयान पछि अब के हुन्छ ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणले बल्ल आइतबार अदालतमा प्रवेश पाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले ३ जनालाई अभियुक्त बनाएर आइतबार अभियोग पत्र दायर गरेपछि शालिकराम मृत्यु प्रकरणले अदालतमा प्रवेश पाएको हो ।

आइतबारसम्म उक्त प्रकरण प्रहरीको अनुसन्धानकै दायरमा थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले चितवनले नर्स अस्मिता भनिने रुकु कार्की, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालय चितवनले कार्की, कँडेल र लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यानसम्बन्धी कसूरसमेत गरेको अभियोग लगाएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेले एकआपसको मिलेमतो तथा संलग्नतामा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसूरअन्तर्गतको दफा १७७ तथा दफा १८५ को उपदफा (१) अनुसारको अपराध कसूर गरेको देखिँदा निज प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (२) अनुसारको सजाय हुन मागदाबी गरिएको छ ।’

मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (२) अनुसारको प्रतिवादीहरुलाई ५ वर्षको जेल सजाय र ५० हजार जरिवाना हुने व्यवस्था छ ।

अहिलेसम्म के भयो ?

चितवनको नारायणगढस्थित होटेल कंगारुमा मृत फेला परेका पत्रकार पुडासैनीले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

आत्महत्या गर्न बाध्य पारेको भनेर प्रहरीले लामिछाने, कँडेल र कार्कीमाथि अनुसन्धान थालेको थियो । पत्रकार पुडासैनीले आत्महत्या अगाडि रेकर्ड गरेको भिडियो समेतको प्रमणका आधारमा सरकारी वकिल कार्यालयले आइतबार तीनै जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको हो ।

सरकारी वकिलले मुद्दा दायर गरेपछि अभियुक्त बनाइएकामध्ये अस्मिता भनिने रुकु कार्कीको आइतबार नै अदालती बयान सकिएको छ । यस्तै, अर्का अभियुक्त युवराज कँडेल र रवि लामिछानेको बयान पनि सोमबार सकिसकेको छ ।

अबको प्रक्रिया के हुन्छ ?

पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका तीनै जना अहिले पनि प्रहरीको न्यायिक हिरासतमा छन् । उक्त प्रकरणको मुद्दा अदालतमा प्रवेश गरिसकेपनि थुनछेक आदेश जारी नहुँदासम्म तीनै जना प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

जिल्ला अदालत चितवन स्रोतका अनुसार सोमबार रविसमेतको बयान सकिएपछि थुनछेक बहस शुरु भएको छ । यस्तो बहसमा प्रतिवादीहरु (रवि, युवराज, रुकु)को पक्षमा बहस गर्ने कानून व्यवसायीहरुले उनीहरु ‘निर्दोष’ भएको दलिल प्रस्तुत गर्नेछन् भने वादी (नेपाल सरकारको) तर्फबाट सरकारी वकिलहरुले आफ्नो दलिल पेश गर्नेछन् ।

वादीका तर्फबाट सरकारी वकिलका अतिरक्त कानून व्यवसायीहरुले समेत बहस गर्न भनेर आफ्नो वकालनामा दर्ता गराएका जिल्ला अदालत चितवन स्रोतले खबरहबलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार वादी र प्रतिवादीका तर्फबाट बहस गर्ने भनेर सोमबार बिहानसम्म २६ जना वकिलहरुले आफ्नो वकालतनामा दर्ता गराएका छन् ।

सोमबार नै आदेश जारी नहुने अवस्था भए बहस गर्ने वकिलहरु बढ्न पनि सक्छन् । जिल्ला अदालत स्रोतका अनुसार सोमबार नै थुनछेक आदेश जारी हुने संभावना भने कम छ । यद्यपि, बहस गर्ने भनेर आफ्नो वकालतनामा दर्ता गराएका वकिलहरुले बहस छुट्याउन र ‘छिटो आदेश जारी हुने अवस्था सिर्जना गर्न’ आफ्नो वकालतनामा फिर्ता पनि लिन सक्छन् ।

मुद्दाको फैसला तत्काल हुँदैन ?

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२३ मा कुनै मुद्दामा अदालतले तत्काल फैसला सुनाउन सक्ने व्यवस्था समेत गरिएको छ । थुनछेक बसकै क्रममा पनि न्यायाधीशले मुद्दाको अन्तिम फैसला सुनाउन सक्छन् ।

तर, यसरी फैसला सुनाउनका लागि अदालतसँगको बयानका क्रममा मुद्दाका अभियुक्तले आफूमाथि लागेका सबै आरोप स्वीकार गरेको हुनुपर्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२३ को उपदफा (१) मा भनिएको छ, ‘कुनै अभियुक्तले निज उपर लागेको कसूरको आरोप स्वीकार गरी अदालतमा साविती बयान गरेमा अदालतले त्यस्तो बयानको सत्यता र विश्वसनीयतालाई समेत विचार गरी तत्काल उक्त मुद्दाको फैसला गर्न सक्नेछ ।’

सोही दफाको स्पष्टीकरणका रुपमा भनिएको छ–
तर, –
(क) अभियुक्तले त्यस्तो साविती बयान गरे तापनि मिसिल संलग्न प्रमाण, कसूर गर्दाको परिस्थिति वा अन्य कुनै कुराले निजको साविती साँचो होइन भन्ने विश्वास हुने कुनै कारण भएमा अदालतले यस दफा बमोजिम मुद्दा पैmसला नगरी कारण सहितको आदेश पर्चा खडा गरी मुद्दामा थप प्रमाण बुझन आदेश दिनुपर्नेछ,

(ख) आरोपित कसूरमा साविती भएको अभियुक्तले सजायमा छुट वा कमी हुनु पर्ने जिकीर लिएमा त्यस सम्बन्धी सबै कुरा खुलाई निजको बयान लिई तत्सम्बन्धी प्रमाण बुझ्न पर्छ ।

आदेश जारी भएपछि के हुन्छ ?

थुनछेक बसह सकिएपछि अदालतले आदेश जारी गर्छ । जसलाई थुनछेक आदेश भनिन्छ । यस्तो आदेशमा अभियुक्त बनाइएका व्यक्तिहरुलाई थुनामा राखेर, धरौटीमा छाडेर वा साधारण तारेखमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने (टुंगो लगाउने) भन्ने निर्णय सुनाइन्छ ।

प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले दायर गरेको अभियोग पत्र, घटनासँग सम्बन्धित सवूद प्रमाण, प्रतिवादीहरुको बयान र पक्ष तथा विपक्षका वकिलहरुले गरेको बहसलाई मध्यनजर गरेर अदालतले आदेश जारी गर्छ । यस्तो अवस्थामा प्रतिवादीहरु रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीको सन्भर्दमा छुट्टा–छुट्टै आदेश पनि अदालतले सुनाउन सक्छ ।

जस्तै, कसैलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नु भन्न सक्छ, भने कसैलाई थुनामा राख्न पनि भन्न सक्छ । यो नितान्त अदालत (न्यायाधीश)को विवेकमा भर पर्ने विषय हुन्छ ।

पुनरावेदनमा जान सकिने अवस्था

पुडासैनी मृत्यु प्रकरण चितवन जिल्ला अदालतले जारी गरेको आदेश चित्त नबुझ्ने पक्षले पुनरावेदन समेत दर्ता गर्न सक्नेछन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को दफा १३४ को उपदफा (१) मा ‘अदालतले गरेको फैसला वा अन्तिम आदेश उपर चित्त नबुभ्mने पक्षले फैसला भएको थाहा पाएको मितिले (नेपाल सरकार बादी हुने फौजदारी मुद्दाको हकमा सत्तरी दिन र अन्य मुद्दामा तीस दिनभित्र पुनरावेदन गर्न सक्ने) व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ४० बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा