निर्मला हत्या प्रकरण अनुसन्धानको एक वर्ष-परिणाम शून्य | Khabarhub Khabarhub

निर्मला हत्या प्रकरण अनुसन्धानको एक वर्ष-परिणाम शून्य



काठमाडौं– एक बर्षअघि अर्थात (२०७५ साउन) १० गते कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । घटनापछि दोषीलाई कारबाही हुनुपर्ने भन्दै व्यापक आन्दोलन चर्कियो ।

आन्दोलनलाई नियन्त्रणमा लिन भनेर सुरक्षाकर्मीबाट चलाइएकाे गाेली लागेर निर्दोष व्यक्तिले ज्यानसमेत गुमाउनु पर्‍यो । घटनालाई थामथुम पार्न प्रहरीले अनेक निर्दोष व्यक्तिलाई अभियुक्त बनायो, यातना दियो ।

घटनाको अनुसन्धानका लागि आधा दर्जन छानविन समिति बने । छानविन समितिले शंकास्पद भन्दै ५ सय २९ जनासँग बयान लियो । यतिमात्र होइन ७३ जनाको त ‘डीएनए’ परीक्षण नै गर्‍यो । तर, घटनाको एक बर्ष बितिसक्दा पनि दोषी पक्राउ गर्न सकको छैन । जसका कारण प्रहरीको अनुसन्धानमाथि नै दर्जनाैं प्रश्नहरु उब्जिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को कमाण्ड सम्हालेका पूर्व डिआइजी हेमन्त मल्ल भन्छन्, ‘निर्मला प्रकरणको अनुसन्धान प्रक्रियाको शुरुवातमै प्रहरीले गल्ती गरेको छ । अनुसन्धानको सामान्य प्रक्रियासमेत पालना नगरी स्थानीय समाजले भनेको र बाहिर आएको हल्लाको पछाडि लाग्दा असली कुराहरु बाहिर आउन सकेनन् ।’

अहिले निर्मला घटनाको अनुसन्धान जारी छ । अदालतमा यही घटनासँग जोडिएका विभिन्न मुद्दा पर्ने क्रम पनि जारी छ । तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जनाविरुद्ध प्रमाण नष्ट र ४ जनाविरुद्ध यातना कसुरको मुद्दा अदालतमा विचाराधीन छ ।

हुनपनि निर्मला हत्या प्रकरणले प्रहरीको परम्परागत अनुसन्धान प्रणालीमा रहेका कमजोरीलाई मात्रै उजागर गरेन, अनुसन्धानका क्रममा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाङ्गो पारेको छ । घटनाको अनुसन्धानको सुरुवाती चरणमा त्रुटी भएको प्रहरीले नै स्वीकारेको छ ।

प्रवक्ता विश्वराज पोखरेल भन्छन्, ‘सुरुवातको अनुसन्धान फलो गर्दा गलत प्रक्रिया अघि बढ्यो त्यसले थप समस्या पारेको हो ।’ उनी थप्छन्, ‘स्थानीय प्रहरीले शुरुमा केही लापरबाही गरेको हो । घटनामा प्रवेश गरी केही तत्वले आफ्नो अस्तित्व खोजेर शुरुका दिनबाट नै राजनीतिकरणलगायतका धेरै कुराहरु घुसाएकाले प्रहरीलाई काम गर्नै कठिनाई भयो ।’

यो विषयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरु नै घटनापछि उत्पन्न सामाजिक र राजनीतिक दबाबका कारण अनुसन्धानका क्रममा गल्तीका श्रृङ्खला दोहोरिदै गएको स्वीकार छन् ।

‘घटनाको अनुसन्धानका लागि बनेका समितिहरु सत्य तथ्य पत्ता लगाउन बनेका हुन् । तर ति समिति अनुसन्धानमा जानुपूर्व नै प्रि–अकोपाईड माइन्ड लिएर गए । पूर्व डिआइजी मल्ल भने, ‘जसका कारण बुझ्नु पर्ने कुरा नबुझेर बाहिर आएका कुरालाई लिएर घटनाको गलत छानविन भयो ।’

के हुँदैछ अनुसन्धान ?

प्रहरी प्रवक्ता पोखरले भन्छन्, ‘आम नागरिकहरुले यो घटना बिर्सिदै गएपनि प्रहरी संगठनले बिर्सिएको छैन । प्रहरीले जसरी पनि घटनाको सत्य तथ्य बाहिर ल्याउँछ र दोषीलाई पक्राउ गरेरै छाड्छ । निर्मला पन्त प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन प्रहरी प्रधान कार्यालयले मात्रै एक वर्षको अवधिमा छुट्टाछुट्टै आधा दर्जनभन्दा धेरै टोलीलाई स्थलगत अनुसन्धानका लागि पठाइसकेको छ ।’

‘अहिले पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली र सिआइबीको एक प्रहरी निरक्षकको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ ।’ प्रवक्ता पोखरेल भने ।

घटनाको पाँचौं दिन गृहमन्त्रीले सदनमा उभिएर घटनामा संलग्न जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परिसकेको बताए । तर, गृहमन्त्रीको सदनकै अभिव्यत्ति झूटो सावित भयो, पक्राउ परेका एकजना मानसिक सन्तुलन ठीक नभएका र अर्का यौनरोगी रहेको खुल्यो

गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति

गत मंगलबार मात्र गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरण नौलो विषय नभएको, यस्ता घटनाहरु विगतमा पनि भएका र आगामी दिनमा पनि हुन सक्ने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिए ।

घटनाको पाँचौं दिन गृहमन्त्रीले सदनमा उभिएर घटनामा संलग्न जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परिसकेको बताएका थिए । शंकाका आधारमा पक्राउ परेकालाई गृहमन्त्रीले घटनाका मुख्य अभियुक्तझैं प्रस्तुत गरेका थिए।

गृहमन्त्रीको यस्तो दावी केही दिनमै झूटो सावित भयो । किनकि पक्राउ परेका एकजना मानसिक सन्तुलन ठीक नभएका र अर्का यौनरोगी रहेको खुल्यो । र, घटनामा यी दुवैको संलग्नता पुष्टि हुन सकेन । यी र यस्ता घटना हेर्दा गृहमन्त्री र गृहमन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठेको छ ।

एआइजी नेतृत्वको अनुसन्धान प्रतिवेदन खोई ?

प्रहरीको अनुसन्धानमै लापरबाही भएको पाइएपछि, अनुसन्धानमा खटिएका प्रहरीको भूमिकामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले अनुसन्धान सकेर प्रतिवेदनसमेत बुझाइसकेको छ । तर, त्यो प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार, उक्त प्रतिवेदनमा प्रहरीले अनुसन्धानमा गरेको लापरबाहीको विषय मात्र नभई, घटना कसले घटायो भन्ने विषय पनि इंगित गरिएको छ । प्रतिवेदन बुझाएको महिनौंसम्म पनि सार्वजनिक नगरीनुले थप शंका गर्ने ठाउँ प्रशस्त देखिएको छ ।

घटनामा संलग्नताको आरोप लागेकाहरूले पनि मानहानीसँगै क्षतिपूर्तिको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । आशा गरौँ घटनाको दोषी चाँडै कानूनी कठघरमा पुग्ने छ र निर्मलाले न्याय पाउने छिन् ।

हुन त अहिले निर्मला घटनाको अनुसन्धान जारी छ । अदालतमा यही घटनासँग जोडिएका विभिन्न मुद्दा पर्ने क्रम पनि जारी छ । तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जनाविरुद्ध प्रमाण नष्ट र ४ जनाविरुद्ध यातना कसुरको मुद्दा अदालतमा विचाराधीन छ ।

उनीहरूलाई जिल्ला अदालतले धरौटीमा छाडेको छ । घटनामा संलग्नताको आरोप लागेकाहरूले पनि मानहानीसँगै क्षतिपूर्तिको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । आशा गरौँ घटनाको दोषी चाँडै कानूनी कठघरमा पुग्ने छ र निर्मलाले न्याय पाउने छिन् ।

घाइतेको हरिबिजोग

साउन १० गते घटेको घटनापछि दोषीलाई कारवाही हुनुपर्ने भन्दै आन्दोलन चर्कियो । आन्दोलनमा परी निर्दोष व्यक्तिले ज्यानसमेत गुमाउनु पर्‍यो । आन्दोलका क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएकाहरु अहिले पनि पीडा भोगिरहेका छन् ।

भदौ ७ गते खुट्टामा गोली लागेर घाइते भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका अर्जुन भण्डारा अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचार गराइरहेका छन् । उनको अझै चेत खुलेको छैन । यता भदौ ८ गते प्रहरीको गोलीबाट घाइते भएका उमेश देउवा पनि उपचारत छन् । दुवैजनाको उपचारमा खर्च अभाव भएको आफन्तहरुले बताएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ५० बजे

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा