बाढीको जोखिम र व्यवस्थापन « Khabarhub
Logo
९ आश्विन २०७८, शनिबार

बाढीको जोखिम र व्यवस्थापन



वर्षायाम शुरु भएको छ । योसँगै बाढी, पहिरो र यिनको कारणले उत्पन्न हुने स्वास्थ्यजन्य प्रकोपहरु पनि आउने निश्चित प्रायः छ । विगत ५ दशकको तथ्याङ्क विश्लेषण गर्दा बाढीबाट प्रत्येक वर्ष १०० जना भन्दा बढी व्यक्तिले ज्यान गुमाउनु परेको छ ।

एक प्रतिवेदन अनुसार बाढीको जोखिमको हिसाबले नेपाल विश्वमै ३० सौं स्थानमा छ । बाढी पूर्णतः प्राकृतिक प्रकोप होइन । वन विनास, शहरीकरण, नदी, खोला किनाराहरुमा मानवीय क्रियाकलाप, जलवायु परिवर्तन, तापक्रम बृद्दिसँगै हिम नदीमा आउने बाढी र बाँध फुटेर बाढी आउने गरेको छ । समयमै विपद् जोखिम न्यूनीकरणका विभिन्न उपायहरु अवलम्बन गरी बाढीको व्यवस्थापन गरेमा तिनबाट हुने मानवीय तथा भौतिक क्षतिलाई निकै हदसम्म कम गर्न सकिन्छ ।

नदीमा आउने बाढीका सकारात्मक पक्ष पनि छन् । विश्वका ठुला सभ्यता, शहरहरु नदी किनारामै रहेका भेटिन्छन् । नदीमा आउने बाढी स्वच्छ पानीको स्रोत हो । अत्यधिक वर्षा र हिऊँ पग्लँदा नदीमा पानीको सतह निश्चित उचाई भन्दा बढी हुँदा बाढी जान्छ ।

बाढीको उपयुक्त व्यवस्थापनबाट आर्थिक, सामाजिक र वातावरणीय फाइदा लिन तथा त्यसबाट वर्षेनी हुने जनधनको क्षति कम गर्न एकीकृत बाढी व्यवस्थापन विधि अपनाउनु सान्दर्भिक हुन्छ

नदी, खोला किनारका क्षेत्र मलिलो माटो, सिंचाईको लागि पानीको सुविधा र जल यातायातको सुविधाको दृष्टिले बाढी प्रभावित क्षेत्र उपयुक्त हुन्छन् । उपयुक्त व्यवस्थापन हुन सके बाढीग्रस्त क्षेत्रका दलदल जमिन जैविक विविधतामा धनि हुन्छन् । तसर्थ, बाढीको नियन्त्रण भन्दा व्यवस्थापन गरिनु सामाजिक, आर्थिक तथा जैविक विविधताको दृष्टिले उपयुक्त मानिन्छ ।

तर नेपालमा भएका नदीनाला, खहरे र अनगिन्ती खोलानालाहरुबाट निरन्तर वग्ने पानी विद्युत निकाल्ने, पिउने तथा खेतबारीमा सिँचाई गर्ने काममा पर्याप्तरुपमा उपयोग गर्न भने सकिएको छैन । उल्टै यी प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्न नसकिँदा वर्षातमा बाढी आई खेतबारी बग्ने, वरिपरिको जमीन बगाई अपार जन धन को क्षति हुने गरेको छ ।

वर्षेनी आउने बाढीको जोखिम विश्लेषण तथा लेखाजोखा तथा विपद् न्यूनीकरण योजना तर्जूमा गरी कार्यक्रम कार्यान्वयन गर्नु प्रकोप पूर्वको समयमा हुनुपर्ने प्रमुख काम हो । तर विपद् न्यूनीकरणमा संलग्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विपद्को राहत तथा उद्वारमा जति सक्रियतापूर्वक कामहरु गर्छन्, जोखिम न्यूनीकरणको लागि त्यति व्यवस्थितरुपमा गरेको देखिदैन ।

विपद् जोखिम न्यूनीकरणमा खर्चेको झण्डै ६०० देखि १,००० प्रतिशत बढी खर्च राहत र उद्वारमा गर्नुपर्ने कतिपय अध्ययनले देखाएका छन् । यसले पनि विपद्बाट हुने मानवीय तथा भौतिक क्षति तथा राहत र उद्वारमा गर्नुपर्ने खर्च जोगाउन विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी रुपमा संचालन गरिनुको विकल्प छैन । यसैकारण हो विगत केही दशकयता विश्वव्यापीरुपमा विपद् व्यवस्थापनको ध्यान राहत उद्वारबाट विपद् जोखिम न्यूनीकरणमा सरेको छ ।

जोखिम संवेदनशील भू–उपयोग बिधि अवलम्बन गरिनु बाढीको विपद्बाट जनधनको क्षति कम गर्न तथा भूमिको उत्पादकत्व बढाउने दृष्टिले उत्तम उपाय हो

बाढी नेपालमा हरेक वर्ष र प्राय सबै प्रदेश र जिल्लाहरुमा आउने प्रकोप हो । नेपालमा ६ हजारभन्दा बढी नदि, खोला र खहरेहरु रहेको अनुमान छ । यीनबाट ४ लाख हेक्टरभन्दा बढी क्षेत्र बाढीले प्रत्यक्षरुपमा क्षति पुर्‍याएको वगरको रुपमा रहेको पाइएको छ । हाल अनुत्पादकरुपमा रहेको वगरक्षेत्रलाई उत्पादनमूलक बनाउने विभिन्न कृषि–बन पद्धती र जैविक–इञ्जिनियरिङ्ग विधिहरु विकास गरिएका छन् ।

तीन दशक अघि पंक्तिकार संलग्न त्रिभुवन विश्वविद्यालय र अन्तर्राष्ट्रिय बिकास अनुसन्धान केन्द्रद्वारा संचालित फार्म फरेष्ट्रि प्रोजेक्टले नेपालमा पहाडी, भित्री मधेश र मधेशमा गरिएको अनुसन्धानले कृषि–वन प्रविधिका विभिन्न उपयुक्त मोडेलको विकास तथा विस्तार गरी बगरक्षेत्रलाई कृषियोग्य क्षेत्रमा पुनर्स्थापना गर्न ठूलो योगदान पुर्‍याएको थियो । यी विधिहरुलाई देशैभर विस्तार तथा अवलम्बन गरी बाढी प्रभावित भू–भागको पुर्स्थापना गरी स्थानीय बासिन्दाको आर्थिक अवस्था उकास्न टेवा पुर्‍याउन सकिन्छ ।

बाढीको प्रकृति, यसको आवृत्ती, यसले पुर्‍याउने क्षति, समुदायको संकटासन्नता र विपद् सामना गर्ने क्षमताको विश्लेषण गरी बाढीको जोखिम लेखाजोखा गर्न सकिन्छ ।

यसको आधारमा आवश्यक देखिएका पुर्व तयारीका विधिहरु अवलम्बन गर्ने, पूर्व सूचना प्रणालीको स्थापना गरी बाढी जोखिममा रहेका गाउँ, टोल, बस्तीहरुलाई सुसुचित गर्ने, तिनिहरुको प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुपर्दछ । यस पंक्तिकारले “इसिमोड” को सहकार्यमा गरेको एक अध्ययनमा नेपालमा बाढीको पूर्वसूचना प्रणालीको स्थापना तथा क्षमता अभिवृद्धिमा अत्यन्त न्यून कार्यहरु भएका छन् । महिलाको सहभागिता त झनै दयनीय अवस्थामा रहेको छ ।

बाढीको उपयुक्त व्यवस्थापनबाट आर्थिक, सामाजिक र वातावरणीय फाइदा लिन तथा त्यसबाट वर्षेनी हुने जनधनको क्षति कम गर्न एकीकृत बाढी व्यवस्थापन विधि अपनाउनु सान्दर्भिक हुन्छ । यसबाट बाढीग्रस्त भूमीबाट अधिकतम फाइदा लिन सकिन्छ, जनधनको क्षति कम गर्न सकिन्छ, बाढीको जोखिम तथा सामुदायिक संकटासन्नता घटाउन सकिन्छ र बाढीको दलदल जमीनमा हुने पारिस्थितिक प्रणाली तथा यससंग अन्तर्निहित जैविक विविधताको संरक्षण गर्न सकिन्छ ।

स्थानीय सरकारले स्थानीय बासिन्दा/जग्गाधनीहरुसंग सहकार्य गरी जोखिमको आधारमा जमिनको वर्गीकरण गर्ने र सोही अनुरुप जमिनको उपयोग गर्न अभिप्रेरित गरिनु आवश्यक छ

नदी किनारमा उपयुक्त किसिमका रुखविरुवाहरु लगाउनाले बाढीको छाललाई रोकी पाँगो माटो थुपार्ने र खेतीको लागि यो उपयुक्त हुने देखिएको छ । कृषि, वन, फलफूल र घाँसका विभिन्न नमूनाहरु विकास भएका छन्, जसले जमीनको सर्वोत्तम उपयोग गरी उत्पादकत्व बढाउँछन् ।

विडम्बना नै भन्नुपर्छ अहिले नदी किनारमा रहेका जग्गाहरुमा बिचौलियाहरुबाट प्लटिङ्ग गरी घरजग्गाको लागि विक्रि गर्ने गरेका समाचार आएका छन् । यसबाट स्थानीय समुदायको विपद् जोखिम झनै बढाएको त छ नै, भूमिको सर्वोत्तम उपयोग नहुने पनि निश्चित छ । दिगो रुपमा बाढीको व्यवस्थापनको लागि नदीको जलाधार संरक्षण गरिनु आवश्यक छ ।

बाढीको बहाबबाट नदीको दुवै तिरको भूमि जोगाउन उपयुक्त प्रजातिका रुखविरुवाको वृक्षरोपण तथा जैविक इञ्जिनियरिङ्ग संरचनाहरु उपयुक्त देखिएका छन् । स्थानीय सरकारले स्थानीय बासिन्दा/जग्गाधनीहरुसंग सहकार्य गरी जोखिमको आधारमा जमिनको वर्गीकरण गर्ने र सोही अनुरुप जमिनको उपयोग गर्न अभिप्रेरित गरिनु आवश्यक छ । जोखिम संवेदनशील भू–उपयोग बिधि अवलम्बन गरिनु बाढीको विपद्बाट जनधनको क्षति कम गर्न तथा भूमिको उत्पादकत्व बढाउने दृष्टिले उत्तम उपाय हो ।

(विपद् जोखिम न्यूनीकरण विशेषज्ञ काफ्लेलाई [email protected] मा भेट्न सकिनेछ । )


भर्खर

0