प्रचण्ड, बादल जीको व्यवहार हेर्दा बडो विचित्र अनुभव गर्छु –मोहन वैद्य (अन्तर्वार्ता) | Khabarhub Khabarhub

प्रचण्ड, बादल जीको व्यवहार हेर्दा बडो विचित्र अनुभव गर्छु –मोहन वैद्य (अन्तर्वार्ता)




उमेरले ७ दशक पार गरिसकेका कम्युनिस्ट नेता हुन् मोहन वैद्य । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरुसमेत रहेका वैद्य पछिल्लो समय एक्लिँदै गएका छन् ।

शान्तिपूर्ण राजनीतिमा आएपछि सबैभन्दा ठूलो पार्टीका महत्त्वपूर्ण नेता रहेका वैद्यलाई यतिवेला धेरै पुराना साथीहरुले छोडेका छन् ।

प्रचण्डबाट छुट्टिदा सँगै आएका बादल, देव गुरुङ, पम्फा भुसाल पुन प्रचण्डसँगै पुग्दा विप्वलले पनि वैद्यलाई छोडे । 

आफूलाई राजनीतिक गुरु मान्ने प्रचण्ड, वादलहरु यतिवेला सत्ताको बागडोर सम्हालि रहेका छन् । तर वैद्य भने आफ्ना चेलाहरुले हाँकिरहेको सरकार कम्युनिष्ट सरकार नभएको बताउँछन् । 

खबरहबसँगको कुराकानीमा नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव वैद्यले आफूसँगै लामो सहयात्रा गरेका साथीहरुको अहिलेको व्यवहार आफूलाई निकै विचित्र लागेको बताए । 

प्रस्तुत छ नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश–

कम्युनिस्टको सरकार भएको बेलामा जनतामा निराशा छाएको छ ? जनतालाई राहत दिन र नागरिकका समस्या समाधान गर्न सरकार सफल हुन नसेको अवस्थामा नेपालमा कम्युनिस्टको भविष्य माथि प्रश्न खडा भएको हो ?

यहाँले राख्नुभएको कुरा ठिक हो । नाम कम्युनिस्टको छ । कम्युनिस्टहरु केही पनि गर्न सक्दैनन् भन्नेहरुका लागि एउटा मौका मिलेको छ । अर्को कुरा अहिले सरकार चलाएकाहरु कम्युनिष्ट नै होइनन् । राजनीतिक रुपले हेर्ने हो भने नेपाली कांग्रेस र ओली सरकारकाबीचमा के फरक पर्‍यो र ! खासै फरक छैन । तर यिनीहरुले कम्युनिस्टहरुले देश र जनताको हितमा केही गर्न सक्दैनन् भनेर कम्युनिस्ट विरोधीहरुलाई निसाफकारीहरुको निमित्त मौका दिए ।

तर यिनीहरु कम्युनिस्ट होइनन् भन्दै विस्तारै नांगिदै गइरहेका छन् । यिनीहरु कम्युनिस्ट होइनन् भनेर भण्डाफोर गर्ने त हामी मात्र पर्ने भइयो एक प्रकारले । किनभने कंग्रेसीहरुले त यो सरकारलाई कम्युनिष्ट नै हो भनिरहेका छन् । साचो अर्थमा हेर्दा कम्युनिस्टलाई बदनाम गर्ने षडयन्त्र जस्तो लागिरहेको छ यो । यिनीहरुले वास्तविक कम्युनिस्टलाई नराम्रो सावित गर्न बहुमुल्य मौका दिए । यसमा हामी गम्भीर बन्नुपर्छ ।

 

तपाईंले अहिलेको सरकार कम्युनिस्ट सरकार होइन भन्नु भएको छ तर विपक्षीले र आम जनाताले त यसलाई कम्युनिस्टको सरकार नै भनेर बुझेका छन् …

बुझ्नेहरुले यी कम्युनिस्ट होइनन् संसदवादी शक्ति नै हुन् भन्ने बुझेका छन् । त्यो पाटो पनि छ । सर्वसाधरणले भन्ने कुरा एउटा भयो । कम्युनिस्ट बारे पनि मानिसहरुले अलिअलि त बुझेका छन् नि ! त्यो पाटो पनि छ । यसको निम्ति अब हामी अलि सतर्क हुनुपर्छ ।

अब तपाईहरुको भूमिका के त ?

हाम्रो भूमिका यो शक्ति कम्युनिस्ट होइन भन्ने कुरा गछ्य अनुसार जनतामाझ लैजानु हो । र हामी प्रयास गरिरहेका छौँ । दोस्रो कुरा यो जटिल अवस्थामा राष्ट्रियता, स्वाधिनता जस्ता विषयहरुलाई उठाएर फेरि हामी समीक्षा गर्दै अगाडि बढ्ने छौँ । देश र जनताको मुक्तिको निम्ति समिक्षा गर्दै अगाडी बढ्न जरुरी छ ।

विप्लवको कुरा गर्दा उहाँहरुलाई प्रतिबन्ध लगाउनुपर्ने कुनै जरुरी छैन । उहाँहरुले जेजस्तो विषय उठाएपनि आखिर राजनीतिक विषय नै उठाउनु भएको छ । त्यसकारण त्यो एउटा राजनीतिक समस्या हो । राजनीतिक ढंगले हल गर्नुपर्ने हुन्छ । यातना र दमनबाट त्यो हल हुनेवाला छैन

देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न विगत भन्दा झन गम्भीर भइसकेको छ । यो प्रश्नमा सरकार पनि अत्यन्तै शिथिल छ । केही मतलव गर्दैन । त्यसकारणले यो विषयलाई अब कसरी उठाउने सच्चा देशभक्तहरु, जनतावादीहरु र सच्चा वामपन्थीहरुलाई कसरी प्रबन्ध गर्ने भन्ने बारेमा हामीले धेरै मेहनत गर्नुपर्छ । त्यसबारेमा हामीले सोचिरहेका छौँ र मिहेनत गर्छौं।

विप्लवमाथि सरकारले प्रतिवन्ध लगायो, सिके राउतसँग सहमति गर्‍यो । यो घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?

यो घटनाक्रमले पनि यिनीहरु कम्युनिस्ट होइनन् भन्ने कुराको सानो सबुत पेश गरेको छ । विप्लवको कुरा गर्दा उहाँहरुलाई प्रतिबन्ध लगाउनुपर्ने कुनै जरुरी छैन । उहाँहरुले जेजस्तो विषय उठाएपनि आखिर राजनीतिक विषय नै उठाउनु भएको छ । त्यसकारण त्यो एउटा राजनीतिक समस्या हो । राजनीतिक ढंगले हल गर्नुपर्ने हुन्छ । यातना र दमनबाट त्यो हल हुनेवाला छैन । वार्ताको प्रक्रियामा जानुपर्ने हुन्छ । त्यो हामीले पनि भन्दै आइरहेका छौँ ।

अर्को विचित्र कुरा के छ भने नेकपा विरोधीको कुरा गर्दाखेरि २०२८ सालपछिको मालेलाई के–के भनिन्थ्यो पछि ०५२ सालपछिको माओवादीलाई के–के भनिन्थ्यो । हिजो त्यो भनाइको विरोध हिजोको मालेले कसरी गथ्र्यो ? त्यस्तै ०५२ सालपछिको सरकारी पक्षले विरोध गर्दाखेरि माओवादी केन्द्र र त्यी नेताहरुले केके गर्नुहुन्थ्यो ? अहिले त्यही पुनरावृत्ति भएको छ । अपराधीक क्रियाकलाप, चन्दा असुली, लुटलाट, अराजकतावादी गतिविधिहरु ठ्याकै एउटै भयो । हिजो जनयुद्धको बेलामा सरकारले प्रयोग गर्ने तिनै शब्द अहिले विप्लवले पनि त्यही प्रयोग गरेको छ । त्यसैले यिनीहरु कम्युनिस्ट होइन रहेछन् भन्ने त देखियो नि । एकदम नितान्त गलत हो ।

अर्को कुरा यो शक्ति हेर्नुस् सरकारवाला शक्ति जुन कम्युनिस्ट बनिराखेको छ विचित्र छ । समाजवाद भनेर भ्रम दिइ राखेको छ । समाजवाद त कांग्रेसले पनि भनेको छ । तर कांग्रेसले भनेकोमा त्यति विश्वास मान्दैनन् जनताले । तर कम्युनिस्टले भनेकोमा साच्चि कै समाजवादी हुन् कि भन्छन् । यो समाजवाद पनि के हो भन्दा फासीवादी पार्टीहरुले पनि राष्ट्रिय समाजवादी पार्टी भन्थे आफूहरुलाई । यो लक्षण के देखिन्छ भने ठ्याक्कै फासीवादतर्फ उद्द्यत जस्तो ।

कम्युनिस्ट कम्युनिस्ट हौं भन्ने बीचको भीडन्त देखियो । गैर कम्युनिस्टलाई त मजै …..

होला हेर्नुस्, गैरकम्युनिस्ट भन्नेहरुले पनि केही कुरा त बुझ्छन् होला नि । एउटा त कम्युनिस्टले कम्युनिस्टलाई यसो गर्छ भन्दा यो त धेरै खत्तम भएछ, एकदम विचलन भएछ, एकदम पतनकै दिशामा गएछ भन्नेपनि बुझ्छन् मान्छेले हेर्नुस् । हिजो त्यस्ता कुरा गर्ने अनि आज आफैंमाथि त्यस्तो कुरा आउँदा यसरी बोल्न मिल्छ ?

उही पुरानैका जस्तै शब्दहरु दोहोर्‍याउने आपराधिक गतिविधि भन्ने भएपछि यिनीहरुको शाख त सकियो । पोलिटिक्स एउटा आदर्श हो । तर, अब पोलिटिक्स आदर्श भएन । सरकारमा जानको निम्ति जे गरेपनि हुन्छ भन्ने देखियो ।

एकातिरबाट यस्तो देखियो भने अर्को तिरबाट नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेर लगाएर मात्र त भएन नी । भयो भन्नुहोस् त ? व्यवहारमा पनि आउनु पर्‍यो नि । त्यस्तो छैन । भन्दाखेरि एक हिसावमा अब अलिकति जटिल स्थिति पैदा भएको छ ।  त्यो केहो भने मानिसहरु त उदाउँदै गइरहेका छन् । यही जटिलताबीच राम्रो अवस्था आउने हो । चुनौतीका बीचबाट सम्भावनाका ढोकाहरु खुल्ने हुन् ।

एउटा कम्युनिस्ट सरकार भएको बेलामा अर्को कम्युनिस्टलाई नै दुस्मन देख्ने जुन अवस्था बनेको छ यसमा अन्य कुनै पक्षको भूमिका देख्नु भएको छ ? वाह्य शक्ति वा अरु कुनै शक्तिको ?

तागत र नियत भन्दा पनि उहाँहरुले जुन राजनीतिक बाटो तय गर्नुभयो संसदीय व्यवस्था, त्यसमा यस्तै हुन्छ । यो लोकतन्त्र भनिएपनि भन्नको लागिमात्र लोकतन्त्र हो । यो व्यवस्था स्वीकार गरेपछि जे भन्नुपर्थ्यो त्यही भन्नुभयो । त्यसैले यसलाई कसैले उकास्यो नभनु । यो नियती हो । उहाँहरुको जुन एउटा राजनीति हो त्यो राजनीतिमा त्यसै गर्नुपर्‍थ्यो ।

यो सत्ताको खतराको घन्टी बजिरहेको छ । ओलीजीहरु एकदम दम्भ गर्नुहुन्छ । दुई तिहाइको । त्यो दुई तिहाइ भत्काउनका निम्ति त अरुकेही गर्नु पर्दैन । उहाँहरुको आफ्नै पार्टीलाई यही रुपमा राख्नुभयो भने योे सत्ता आफैं भत्कन्छ

तपाईंहरु क्रान्तिका कुरा गर्दै आउनु भएको छ । अब देश यथास्थितीमा रहँदैन, यो पद्दती रहँदैन, अर्को क्रान्ति हुन्छ भन्ने देख्नुहुन्छ ?

यथास्थितिमा देश रहन सक्दैन हेर्नुस् । रुपान्तरण परिवर्तन क्रान्ति त आवश्यक छ । त्यसको निमित्त आत्मगत परिस्थिति आवश्यक पर्छ । रुपान्तरणका लागि आत्मगत परिस्थिति बनाउनुपर्ने आवश्यकता छ । र एउटा के हो भने रुपान्तरणकारी फोर्सलाई एक ठाउँ ल्याउन जरुरी छ । रुपान्तरणकारी फोर्स भन्नाले कम्युनिस्ट मात्र भनेको होइन । क्रान्तिकारी कम्युनिस्ट, देशभक्त र सच्चा जनतन्त्रवादीहरु एक ठाउँमा आउनु जरुरी हुन्छ । त्यो नगरि सुखै छैन । त्यसपछि परिवर्तन हुन्छ ।

सरकारका पछिल्ला गतिविधिका कारण कतिपयले नेकपा नेतृत्वको सरकारे आयु मै प्रश्न उठाउन थालेका छन् , यसलाई तपाईं कसरी लिनुहुन्छ ?

यो सत्ताको खतराको घन्टी बजिरहेको छ । ओलीजीहरु एकदम दम्भ गर्नुहुन्छ । दुई तिहाइको । त्यो दुई तिहाइ भत्काउनका निम्ति त अरुकेही गर्नु पर्दैन । उहाँहरुको आफ्नै पार्टीलाई यही रुपमा राख्नुभयो भने योे सत्ता आफैं भत्कन्छ । आफ्नै कारणले भत्कन्छ । यसलाई भत्काउनका लागि अरुको प्रयत्नको आवश्यकता नै पर्दैन । त्यसकारण धेरै दम्भ गरिराख्नुपर्छ भन्ने छैन ।

देशभक्त परिवर्तकारीहरुको एकता आवश्यक छ भन्ने गर्नुभएको छ, तर एउटै आदर्शमा हिँडेका प्रगतिशित,परिवर्तनकामीको विभाजन किन भइरहेको छ ? किन एकठाउँमा उभिन नसक्नुभएको ?

यो राजनीति हो । अलिकता कमिकमजोरीहरु सबैका होलान् । तर के हो भने यसरी अब चल्दैन । क्रान्तिकारीहरु एक ठाउँमा आउनुको विकल्प छैन ।

सबैले क्रान्तिकारीहरु एक ठाउँ आउनुको विकल्प छैन पनि भन्ने र एक ठाउँ पनि नआउे अवस्था छ, त्यसको निम्ति पहल नभएको हो ?

हामीले पहल गरिरहेका छौं । तर हामी सफल हुन सकिरहेका छैनौं । तर पनि हाम्रो प्रयास जारी रहन्छ हेर्नुस् । हामी निरन्तर त्यो पहल गरिरहेका छौं । आज नभए भोलि हुन्छ । भोलि नभए पर्सिहुन्छ । यो गोलबन्द गर्ने कुरामा हाम्रो पहल निरन्तर हुन्छ । सच्चा कम्युनिस्ट क्रान्तिकारीलाई पनि गोलबन्द गर्ने, देशभक्तलाई पनि गोलबन्द गर्ने दिशामा हामी जान्छौं ।

तपाईंहरुसँग सँगै सहकार्य गरेका प्रचण्ड, बादलहरुसँग वा सरकार सञ्चालन गरिरहेका केपी ओलीजीहरुसँग कुनै विषयमा छलफल हुन्छ कि हुँदैन ?

अहिले त भएको छैन । अब कुनै कुनै बेलामा भेट भएको बेलामा गफ हुने गरेको छ । अहिलेको स्थिति र अवस्थाका बारेमा भने अहिले केही भएको छैन ।

लामो राजनीतिक द्वन्द्व, विभिन्न आन्दोलन पछि एक खालको परिवर्तन देशमा भएको छ तर पनि जनताले आशा गरे अनुसार भएको छैन । अब राजनीति प्रति नै जनताको वितृष्णा बढ्दै गएको छ । यसका कारण प्रतिगमनको खतरा त छैन ?

पश्चगमन हुनसक्छ । तर हुनुपर्छ भन्ने छैन । अहिलेको स्थितिमा संसद बेघरको हल त अहिले होला जस्तो लाग्दैन । तर राजनीति हो यसै भन्न सकिन्न । अग्रगमनको सम्भावनालाई नकार्न सकिन्न । त्यो स्थितिमा जान धेरै मिहेनत गर्नुपर्छ अहिले ।

विचित्र अनुभव यस्तो हुँदो रहिछ कि सँगसँगै बसेका साथीहरु प्रचण्डजी, वादलजीहरु हिजो त्यत्रो राष्ट्रिय स्वाधिनताको कुरा गर्नुहुन्थ्यो । जनताको कुरा गर्नुहुन्थ्यो, मुक्ति र त्यागको कुरा गर्नुहुन्थ्यो । अहिले अब यस्तो रुपमा जानुभयो । हेर्दा अचम्म लाग्छ

तपाईंहरु आफ्ना दस्तावेजहरुमा प्रधानशत्रुहरुबारे उल्लेख गर्नुहुन्छ । तपाईंलाई के लाग्छ नेपालको हित हुन नदिने त्यस्तो कुनै आन्तरिक वा वाह्य शक्ति तपाईंको भाषामा भन्दा प्रधान शत्रु कोही छ ?

आन्तरिक रुपमा भन्नुहुन्छ भने प्रधानशत्रु कुनै व्यक्तिलाई भन्दा पनि वर्गलाई भन्छौं हामी । नेपालमा दलाल पूँजीपतिवर्ग, नोकरशाह पूँजीपति वर्ग, र सामन्तवर्ग । अहिले यो वर्ग ढलेको छैन । यो छदैं छ । अब सत्तामा अर्को को बसेको छ भन्ने पनि आउँछ । त्यही शक्तिको संरक्षण सत्तामा बस्नेले गरिरहेको छ भन्ने पनि आउँछ । कम्युनिस्टहले त्यही शक्तिको संरक्षण गरेका छन् अहिले । रक्षाकवच कम्युनिस्ट भइदियो अहिले । आन्तरिक स्थिति यही हो अहिले । वाह्यरुपमा भन्दा खेरि साम्राज्यवादी उत्पीडन पनि हुँदै आएको हो, विस्तारवादी उत्पीडन पनि हुँदै आएको हो । हामीले साम्राज्यवाद विरुद्ध संघर्ष गर्ने हो । देशको कुरा आउँदा भारतको पनि विरोध गर्छौ तर भारतीय जनतालाई त मित्र नै भन्छौं नि । त्यहाँको शासक वर्ग विरुद्ध हो हाम्रो विषय । सबै सोलोडोलो हाम्रा दुश्मन हुन् हामी भन्दैनौं । त्यहाँका शासक चाँहि शत्रु हुन् ।

तपाईंसँगै राजनीति गरेका अर्को अर्थमा भन्नुपर्दा तपाईंका चेलाहरु राजपाठ सम्हालि रहेका छन् तर देशको परिस्थिति जहाँको तही छ कस्तो महशुस गर्नुहुन्छ ?

ठिक हो तपाईंले भनेको । आखिर कुरा के हो भने देशको एउटा भविष्य नेपाल नेपालीत्व, स्वाधिनता धेरै महत्त्वपूर्ण हो । कम्युनिस्ट भन्ने शक्ति सरकारमा जाँदा केही पनि नगर्ने । देशमाथि खतरा आइलाग्दा केही पनि नगर्ने अथवा उल्टो उल्टो भूमिका खेल्ने ? यो सबै देख्दा म बडो विचित्र अनुभव गर्छु ।

विचित्र अनुभव यस्तो हुँदो रहिछ कि सँगसँगै बसेका साथीहरु प्रचण्डजी, वादलजीहरु हिजो त्यत्रो राष्ट्रिय स्वाधिनताको कुरा गर्नुहुन्थ्यो । जनताको कुरा गर्नुहुन्थ्यो, मुक्ति र त्यागको कुरा गर्नुहुन्थ्यो । अहिले अब यस्तो रुपमा जानुभयो । हेर्दा अचम्म लाग्छ । तर अब जस्तो सुकै भएपनि देशलाई यो अवस्थाबाट पार पाउनका लागि हामीले शक्ति सञ्चय गर्दै रुपान्तरणको निमित्त अगाडि बढ्नुपर्छ ।

म फेरि निराशावादी मानिस होइन । म मा एउटा क्रान्तिकारी आशावाद छ । हामीले सक्छौं । नेपाललाई स्वाधिन बनाउन पनि सक्छौं । नेपाली जनतालाई मुक्ति दिलाउन पनि सक्छौं भन्ने मलाई विश्वास छ । त्यही विश्वासलाई आधार बनाएर हामी अगाडि बढ्नुपर्छ । क्रान्ति सम्भव छ । नेपालमा हामीले भनेजस्तै वैज्ञानिक समाजवादको भविष्य उज्जवल छ ।

सरकारको काम कारवाहीलाई कसरी हेर्नु भएको छ ?

कसैले भनेको नटर्ने । यही परिबन्धको कुरा आउँदा पनि कांगे्रससँग सोध्नु पनि छैन । आफ्नै पाटीका नेताहरुसँग पनि सोध्नु छैन । नेताहरुले त भनेनि हामीलाई थाहै छैन भनेर । एक्लै निर्णय गर्छन् । राजनीतिक समस्याको समाधान वार्ताबाट हल गर्नुपर्छ भन्ने कुरा पनि छैन । भनेपछि फासीवादतिर उद्द्यत भएको घटनाक्रम देखिरहेका छौँ । अर्कातिर राष्ट्रिय स्वाधीनताका रक्षाको प्रश्नमा विलकुलै केही गरेको छैन ।

उही पुरानैका जस्तै शब्दहरु दोहोर्‍याउने आपराधिक गतिविधि भन्ने भएपछि यिनीहरुको शाख त सकियो । पोलिटिक्स एउटा आदर्श हो । तर, अब पोलिटिक्स आदर्श भएन । सरकारमा जानको निम्ति जे गरेपनि हुन्छ भन्ने देखियो

कालापानीको नक्सा परिवर्तन हुँदै छ भने  तर त्यो खासै परिवर्तन भएको छैन । राष्ट्रिय स्वाधीनताको रक्षाका प्रश्नमा सरकार गइरहेको छैन । साथै आन्दोलनहरुका विरुद्धमा सरकार गइरहेको छ । विप्लव पक्षप्रति त्यति कडा भएर त्यसरी प्रतिबन्धित भएर जानुपर्ने अवस्था होइन । त्यो स्तरमा उठेको आन्दोलन पनि होइन । यिनीहरुले दूरदर्शीतापूर्ण राजनीति गर्न सकिरहेका छैनन् । यो सरकार ठिक ढंगले गइराखेको छैन नै भन्ने बुझिन्छ ।

सत्तारुढ दलले जनताको आशा अनुसार काम नगरेको भन्दै मानिसहरुले आलोचना गरिरहेका छन् , तर प्रतिपक्षीको रुपमा कांग्रेसले पनि राम्रो भूमिका खेल्न सकेको छैन, यसलाई कसरी हेर्नुहुन्छ ?

कांग्रेस ट्रेडिसनल संसदवादी फोर्स हो । आफूलाई एकदम लोकतन्त्रको मसिहा ठान्ने शक्ति । त्यो रमिते जस्तो छ । न रुपान्तरण हुन्छ न केही । हामीले लोकतन्त्र बचाउनुपर्छ । संविधान ल्याउन हामीले नै महत्वपूर्ण भूमिका खेलेको हो भनेर थुप्रै कुरा गर्छन् । तर उनीहरुको त्यस्तो हिम्मत पनि छैन । उनीहरु यथास्थितिमा फसिरहेका छन् । वीपीको नाम जप्ने, वीपीले यस्तो गर्नुभयो भन्छन् तर अरु गर्न पटक्कै सक्दैनन् ।

देशभक्त भन्ने शक्तिको अवस्था पनि उस्तै छ । हरेक पक्षभित्र राम्रा पनि होलान् तर अलि देशभक्तिको बढी नारा लगाउनेहरुको छाँटकाँट पनि त्यति राम्रो देखिँदैन । त्यसकारण जनतामा राजनीति प्रति वितृष्ठा हुने यस्तै यस्तै कुराले हो । तर यसलाई चिर्नुपर्छ । यसलाई नचिरि हुँदैन । नेपालमा दुःख नगरिकन रुपान्तरण होस् भन्ने चाहना पनि मानिसहरुमा हुने गरेको छ । तर त्यसो त हुँदैन । फेरि दुःख गर्ने अवसर मा परिस्थितिमा आएका छौं । फेरि मिहेनत गर्नुपर्छ । क्रान्ति गर्नुपर्छ, त्यो सम्भव छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : १२ बजे

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना