पार्टी बन्नै सकेन राजपा : जुनसुकै बेला दुर्घटनामा पर्ने खतरा | Khabarhub Khabarhub

पार्टी बन्नै सकेन राजपा : जुनसुकै बेला दुर्घटनामा पर्ने खतरा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साढे दुई वर्ष अघि स्थानीय तह निर्वाचनको मुखमा तराई मधेसको राजनीतिमा साना-साना झुण्ड बनेका ६ वटा पार्टी एकता भएको थियो ।

पार्टीकै रुपमा रहेको महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपासहित, राजेन्द्र महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, अनिल झा नेतृत्वको संघीय सद्भावना, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी तमसपा, सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी रामसभा र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकको एकीकरणपछि राष्ट्रिय जनता पार्टी घोषणा भएको थियो ।

संविधानमै थ्रेसहोल्ड राखिएपछि अस्तित्व रक्षाका लागि एक भएर बनेको राजपाले संघीय संसदमा थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टीको हैसियत प्राप्त गरेको छ । तर, छुट्टै अस्तित्व बनाउन भने सकेको छैन । नेकपाको एकतापछि संघीय संसदमा तेस्रो हैसियतमा रहेको राजपा संघीय समाजवादी र नयाँशक्तिको एकता पछि चौथो हैसियतमा पुगेको छ ।

राजनीतिक रुपमा प्रतिपक्षमा बसेर यसअघि उठाउँदै आएका मुद्दा संसदमा राख्दै आएको छ तर, न त उसले आन्दोलनको माहोल बनाउन सकेको न त संसदमा नै उठाएका कुरालाई संबोधन गराएर प्रक्रियाबाट काम गर्न सकेको छ ।

विनासर्त प्रधानमन्त्रीलाई विश्विको मत दिएको राजपाले आफूले विश्वास गर्नुको औचित्य संविधान संशोधन गराउँछु भन्दै भोट मागेका नागरिकमाझ स्थापित गर्न सकेको छैन । भने तिनै नागरिकको विश्वासिमा आन्दोलनबाट दवाव सिर्जना गर्ने ल्याकत समेत देखाउन सकेको छैन ।

६ वटा झुण्ड एक ठाउँ उभिएर अस्तित्व जोगाउन सफल भएपनि एकले अर्काको अस्तित्व स्वीकार नगर्दा न त पार्टीभित्र सन्तुलन कायम भएको छ न त राष्ट्रिय राजनीतिमै कुनै हैसियत निर्माण गर्न सफल भएको छ । यसो हुनमा छ वटा नेताहरुबीच नेतृत्वका लागि हानाथाप नै प्रमुख कारण बनेको छ ।

राजपा नेताहरुकै भनाइ मान्ने हो भने अहिलेपनि राजपा प्राविधिक र स्वार्थका कारण मात्र एक भएर रहेको छ

एकताका समयमा समेत नेतृत्वमा एकले अर्कालाई स्वीकार गर्न नसकेका कारण छ जनाको अध्यक्षमण्डल बनाएको राजपामा सुरुको एक वर्ष सात महिना महन्थ ठाकुरको नेतृत्वमा चलेको थियो । २०७५ मंसिर ४ गते महन्थ ठाकुरलाई पदलोलुपको आरोप लगाउँदै आलोपालो प्रणाली सुरु गरेपछि पार्टी थप अव्यवस्थित बनेको छ ।

२०७४ साल बैशाख ७ मा पार्टी एकता हुँदा एक वर्षभित्र पार्टी एकता गर्ने घोषणा गरिएपनि त्यस यता मात्र चार पटक महाधिवेशनको मिति सरिसकेको छ । आगामी २७ गते देखि ३० गतेसम्मका लागि तोकिएको महाधिवेशन पनि नहुने निश्चित भइसकेकाले फेरि सर्ने निश्चित भएको छ । शुक्रबार पाँचौ पटक औपचारिक रुपमै बैठकबाट महाधिवेशनको मिति सार्ने तयारी भइरहेको छ ।

‘हामीले चारपटक महाधिवेशनको मिति तोकिसक्यौ । पहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचन त्यसपछि आन्दोलन र आन्तरिक कारणले अहिले पनि हुन सकेन । अव त उपनिर्वाचनका कारण थप पछि धकेलिने निश्चित छ,’ राजपा महासचिव मनिस सुमनले भने, ‘यी धेरैवटा कारण त देखाउने कारण हुन् । तर, मुख्य कारण छ अध्यक्ष आपसमा मिल्न नसक्नु हो । उनीहरुबीच नेतृत्वको हानाथाप नै महाधिवेशन हुन नसक्नुको प्रमुख कारण हो।’

उनले शुक्ररबाट अध्यक्ष मण्डलकै बैठकले महाधिवेशनको अर्को मिति तय गर्ने बताए ।

राजपा नेताहरुकै भनाइ मान्ने हो भने अहिलेपनि राजपा प्राविधिक र स्वार्थका कारण मात्र एक भएर रहेको छ । धेरैपटक मन्त्री बनिसकेका महन्थलाई पार्टीको कार्यकारी पद र देशको सम्मानीय पदबाहेक अन्यमा ईच्छा छैन ।

तर मन्त्री बन्ने लालसा बोकेका अध्यक्षमण्डलका अन्य नेताहरु अहिलेपनि सरकारी पक्ष देखि समाजवादीसँगको एकता भन्दै दौडिरहेको आरोप लाग्ने गरेको छ ।

तमलोपाको नेतृत्वबाट राजपा नेतृत्वमा गएपनि महन्थले धेरै क्षति बेहोरिसकेका छन् । उनले हृदयेस त्रिपाठी, बृजेशलाल गुप्ता ईश्वरदयाल मिश्रसहितका थुप्रै नेता गुमाइसकेका छन् ।

स्थानीय निर्वाचनको दोस्रो चरण पनि बहिस्कार गर्ने निर्णयका कारण तमलोपाको पकड क्षेत्र मानिने पश्चिम तराईको नवलपरासी, कपिलबस्तु, रुपनदेही बाँके वर्दिया देखि कैलालीसम्म तमलोपा सम्बध धेरैले पार्टी नै छोडिदिएका छन्।

एकतापछि केही नेता हुनेले पनि निर्वाचन देखि जिल्ला नेतृत्वसम्म बराबर हैसिय खोज्दा नेतृत्व व्यवस्थापन नै समस्या भइरहेको छ । त्यही कारण दोस्रो तहका नेता जत्तिको पनि हैसियत नभएका नेताहरुसहितको छ अध्यक्षको अध्यक्षमण्डल छ भने कार्यकारी भनेर चिनिने महासचिव पदमा समेत २२ जना छन् । हरेक जिल्लामा छ अध्यक्ष छन् भने कसैले कसैलाई टेर्ने अवस्था निर्माण भएको छैन ।

‘पार्टी एकता त भयो तर एकता महन्थ जीको व्यक्तित्वको कारण मात्र टिकिरहेको छ,’ राजपाका सहमहामन्त्री डा सुरेन्द्र झाले भने, ‘महन्थजीले आँखा चिम्लने मात्र हो भने राजपा केही दिनभित्रै विघटनमा जान्छ ।’

सबैजसो जिल्लामा उपस्थितिसँगै सघीय संसदमा राष्ट्रिय पार्टीको हैसियत भएको तमलोपाको समान हैसियतमा गरेको एकताले धेरै समस्या उसकै समुहलाई भएको छ।

राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र मनिस सुमन नेता भएको नेपाल सद्भावना, आफै मात्र नेता भएका राजकिशोर र अनिल झा, सरदसिंह भण्डारी र केशव झा मात्र नेता भएको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव र रामनरेश यादव मात्र नेता रहेको तराई मधेस सद्भावना पार्टीसँग एकता गर्दा तीन पार्टीका नेता भन्दा बढी तमलोपाका नेता पार्टी छोडेर बाहिरिएका छन् ।

गजेन्द्र नारायण सिंहले गठन गरेको सदभावनाबाट सदभावना मण्डल, सद्भावना आनन्दिदेवी, सद्भावना, संघीय सद्भावनासहितका झुण्ड बनाउने र सधै मन्त्री बन्ने अभ्यासमा रहेका नेताहरुलाई लिएर पार्टी बनाउनु चुनौतिपूर्ण भएपनि ‘मर्ता क्या नहि कर्ता’ शैलीमा अस्तित्वकै लागि एकता भएको छ। त्यसले एकतालाई सधै धरापमै पारिरहेको छ।

‘पार्टी एकता त भयो तर एकता महन्थ जीको व्यक्तित्वको कारण मात्र टिकिरहेको छ,’ राजपाका सहमहामन्त्री डा सुरेन्द्र झाले भने, ‘महन्थजीले आँखा चिम्लने मात्र हो भने राजपा केही दिनभित्रै विघटनमा जान्छ ।’ उनले अध्यक्ष मण्डलले स्वार्थी समूहको रुपमा मात्र काम गर्दा पार्टी पार्टीका रुपमा स्थापित हुन नसकेको बताए ।

पदाधिकारीको बैठक डाक्न समेत ठूलो हल खोज्ने अवस्था रहेको राजपाले केन्द्रीय समिति बैठक गर्नसमेत पार्टीको राष्ट्रिय भेलाका लागि जस्ते तयारी गर्नुपर्ने अवस्था छ । त्यसैले पार्टीको बैठक नियमित छैन ।

स्थानीय तह देखि संघीय निर्वाचन सम्म सबै अध्यक्षले समान हैसियत खोज्दा राजपा भागवण्डामा चलिरहेको छ । तर समान विचार र समान उद्धेश्य बोक्ने समूह अर्थात ‘पार्टी’ बन्न भने सकेको छैन र तत्काल बन्ने संकेत पनि देखिएको छैन ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  १० : १० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न