मीनाले स्वावलम्बन हुन गरेका प्रयास : टेम्पोले दिएको रोजगारी र सम्मान « Khabarhub
Logo
२७ असार २०७७, शनिबार

मीनाले स्वावलम्बन हुन गरेका प्रयास : टेम्पोले दिएको रोजगारी र सम्मान



काठमाडौं–भनिन्छ, संघर्षशील व्यक्ति एक दिन सफल हुन्छ । हरेक संघर्षले उसलाई मजबुद बनाइरहेको हुन्छ ।

त्यस्तै निरन्तरको मेहनत, परिश्रम र अनेकौँ भोगाइले सफल महिलाको रुपमा स्थापित बनेकी छिन्—गुल्मीकी मीना चन्द ठकुरी । चिन्नेहरुले उनलाई पश्चिमकै पहिलो टेम्पु चालिकाका रुपमा पनि चिन्छन् ।

असाह्य र पिछडिएका महिलाहरुका लागि उनी भगवानका रुपमा सावित बनेकी छिन् । कारण मीनाले निशुल्क ‘ड्राभिङ सीप’ सिकाउँछिन् ।
आफुले विगतमा खेप्नु परेको पीडा र आँखाबाट निरन्तर झरिरहने आशुकै कारण पनि उनको सोच यति फराकिलो छ कि उनी सारा महिलालाई हौसला र प्रोत्साहन दिने गर्छिन् ।

उनी ०४१ सालमा गुल्मी जिल्ला जुभुङ जिरभास गाउँमा जन्मिइन् । गाउँमा जन्मिएकी उनी पढाइसँगै काममा पनि उत्तिकै जागरुक थिइन् ।
विभिन्न पारिवारिक समस्याका कारण विद्यालय छोड्नुपर्ने बाध्यता मीनालाई आइपर्‍यो । पढाई छाडेपनि परेर धेरै ज्ञान पाएको मीनाको बुझाइ छ । उनको मेहनत र लगावले अनुभवबाट पनि जीवनमा धेरै कुरा जान्ने मौका मिल्छ भन्ने सन्देश पाउन सकिन्छ ।

परिवारमा दुई दाजु र आमाबाबु सहित पाँच सदस्य थिए । सानो परिवार सुखी परिवार थियो उनको । विगत सम्झंदै उनी भन्छिन्, ‘रोजगारीका लागि विदेश गएका बाबु सम्पर्कबिहीन भए, ‘त्यसको केही समयमै आमा पनि बित्नुभयो’ ।

उनी त्यो समय ७ वर्षकी थिइन् । साहरा चाहिने बेलामै टुहुरो जस्तै भएको उनलाई महशुस हुन्थ्यो । त्यै पनि दुई दाजुले अपारम्पार माया गरेर हुर्काएकै थिए उनलाई ।

काठमाडौं आएपछि शुरु भएको संर्घष

कुरा १२ वर्षअघिको हो । द्धन्द्धकालीन समयमा माओवादीका विद्रोहहरुले मीनालाई युद्धमा हिड्न दबाब दिने गर्थे । तर परिवारमा रहेका दुई दाजुले उनलाई त्यसबाट बचाउनका निम्ति आफन्तको साथमा काठमाडौंसम्म पठाएका थिए ।

मीनाको मावलीघर काठमाडौंस्थित बनस्थली थियो । उनी मावलीको साथमा बनस्थली बस्न थालिन् । समय र परिस्थितीले मानिसलाई कता डोर्‍याउँछ पत्तै हुदैँन । पढ्नेलेख्ने समयमा उनी घरमा खाना पकाउने, भुँइ पुछ्ने र भाडा माझ्ने काममा व्यस्त हुन थालिन् ।

३ वर्षसम्म मावलीमै बसेर काम गर्दै दिनहरु बिताइन् । त्यसपछि भने काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत पर्ने जाम्दी रामपुरमा उनको विवाह भयो ।

१५ वर्षको उमेरमै वैवाहिक सम्बन्धमा बाधिन् मीना । काभ्रेको विकट गाउँमा विवाह भएपनि उनका श्रीमानले उनलाई काठमाडौं ल्याएर राखेका थिए ।
उनी भन्छिन्, ‘श्रीमान बस चलाउने काम गर्थे, कमाइ नै नहुने हो कि, बचत नहुने हो, खाना खानै पुग्दैन थियो’ ।

‘एउटाको कमाइले कतिन्जेल पुग्छ र मलाइ पनि केही गर्नुपर्छ भन्ने लाग्यो’ उनले सुनाइन् । ‘काम गर्नका लागि धेरै भौतारिएँ, धेरै ठाउँमा बिन्ती बिसाएँ, तर सहयोगी भावना हुनेहरु कोही भेटिनँ, दुःख लाग्थ्यो, गहँभरी आशु बनाउँदै डेरातिर फर्किन्थे’ भावुक हुँदै उनले तीतो विगत सुनाइन ।

कामको खोजीमा हिडिरहँदा उनी श्रीमानकै पेशा अपनाउन पुगिन् । ‘अब टेम्पु चलाउन सिक्छु, त्यही चलाएर जीवन पाल्छु भन्ने सोच आयो’ उनले भनिन् ।

‘टेम्पु चलाउने विकल्प रोज्न पनि सजिलो थिएन, कहाँ गएर चलाउन सिक्ने भन्ने चिन्ताले पिरोल्थ्यो । चिनेका मान्छे कोही पनि थिएनन्, त्यसमाथि महिला भन्नसाथ मानिसहरुले कृदृष्टि लगाउँथे’ उनले भनिन् ।

श्रीमानसँग सल्लाह गर्ने क्रममा टेम्पु चलाउन जान्छु भन्दा उनका श्रीमानाको गाली सहित चड्कनसम्म खाएकी थिइन् उनले ।
तर आफु दृढसंकल्पका साथ लागि परिन् । भनाइ नै छ नि, ‘आँट र हिम्मत बोकेर हिड्नेहरुलाई केहीले छेक्न सक्दैन’ । आखिर उनले लौनचौरस्थित ड्राइभिङ सेन्टर टेम्पु सिकेरै छोडिन् ।

‘सिक्ने क्रममा अनेकौँ बाधा त थिएँ, सिकाउने व्यक्तिले पटकपटक झापड हान्ने गर्थे, तर पनि मलाइ जसरी नि सिक्नु थियो, मनलाई बलियो बनाएर बस्थेँ’ उनले भनिन् ।

‘मनदेखि इच्छा भएर काम गर्नुपर्छ, असम्भव पनि सम्भव हुन्छ’ खिस्स हाँस्दै मीनाले भनिन् । विगतको दिनहरु सम्झदाँ काहली लाग्छ उनलाई ।
दिन बित्दै जाँदा मीनाका दुइ सन्तान भइसकेका थिए । सन्तानकै लागि पनि काम गर्नु त थियो नै ।

काठमाडौंको ठाउँ । चर्को महंगी । डेराको बसाइ । बस चलाउन जाने श्रीमान पनि हप्तादिनमा घर फकिन्थेँ, उनले पैसा नल्याउन्जेल कयौँ रात भोकै बिताएको अनुभव उनले सुनाइन् ।

विगतलाई सम्झने क्रममा उनको आँखामा आशु टिलपिल भइसकेको थियो । विगतका दिन सम्झँदा मन चिसो हुने बताउँदै उनी भन्छिन्, ‘यत्ति दुखको जीन्दगी थियो कि, एक छाक टार्नका लागि डेरामा एक दाना चामल पनि थिएन’ ।

दुखैदःखको बाबजुत पनि ऋण लिएरै भएपनि टेम्पु किन्ने सोच बनाइन् । उनी भन्छिन्, ‘६ लाख रुपैयाँ ऋण लिएर एउटा टेम्पु किने’ । यो नै उनको आत्मनिर्भरताको पहिलो यात्रा थियो । जुन उनको मनमा सधैं ताजा भइरहन्छ ।

टेम्पु किन्न साथ आफैँ चलाउन थालिन् उनी । घरमा बालबच्चा । त्यसमाथि उनको काखमा ३ महिने दुधेबालक थियो । आफैँलाइ हेरचाह गर्नुपर्ने अवस्थामा टेम्पु चलाउन त गइन तर काम गर्नका लागि शरीरमा कुनै शक्ति थिएन ।

शुरुमा उनको रुट रत्नपार्क—गोल्फुटार थियो । बिहान उज्यालो हुँनासाथ टेम्पु लिएर निस्किन्थिन् । उनको दिन टेम्पुको स्टेरिङ बटार्दै बित्थ्यो । ‘शुरुको दिनको पीडा सम्झँदा अहिले पनि रुन मन लाग्छ । कामका बेला खाना खाजाको कुरै नगरौँ, एक बोतल पानी पनि पिइन मैले,’ मीनाले भनिन् ।

दुई छोरा थिए उनका । जेठो छोरो ५ वर्षको थियो भने कान्छो छोरो ३ महिनाको । ‘डेरामा ३ महिने शिशुलाई ढोका थुनेर उज्यालो हुँन नपाउदैँ रत्नपार्क पुग्थेँ, भ्याइनभ्याइ टेम्पु गुडाउँथेँ, १० घण्टापछि बच्चालाई दुध खुवाउन डेरा पुग्थेँ’ उनले भनिन् ।

‘सन्तान काखमा खेलाएर बस्नुपर्ने उमेरमा बीना सन्तानको आमा झैँ काममा भौतारिरहेकी छुँ भन्ने महशुस हुन्थ्यो’ मीनाले अध्यारो मुद्रामा भनिन् ।
टेम्पु चलाइरहँदा सुरुवाती दिनको याद अझैँ गाढा छ उनमा । ‘महिला पुरुष दुवैले मलाइ एकहोरो हेर्थे, मैले के गल्ती काम गरेछु भन्दै अत्तालिएर रुन्थेँ धेरै पटक त रुदै यात्रा गरेको पनि छु’ उनले सुनाइन् ।

दिनभरीको मेहनतले उनी दैनिक ३ हजारसम्म कमाउथिन् पनि । कडा मेहनत गरेर कमाएको पैँसाले ६ महिनामै ऋण चुक्ता गरिन् ।

०६३ सालबाट टेम्पु चालिका बनेकी मीनाले लगभग ५ वर्षसम्म निरन्तर चलाइन् । एउटै टेम्पुको आम्दानीबाट ०६६ सालसम्म आइपुग्दा अन्य ५ वटा टेम्पु किन्न सफल भइन् । महिनामा १ दिन पनि घरमा नबस्ने उनलाइ त्यसपछि भने केही सफतला मिलेजस्तो अनुभव हुन थाल्यो ।

टेम्पु पछि हायसको रहर

टेम्पु चलाइरहँदा उनलाई जम्बो हायस चलाउने रहर जाग्यो । ‘५ वर्ष टेम्पुमा बिताइसकेको थिएँ, अब फरक सवारी चलाउनुपर्छ भन्ने सोचले हायस किन्ने सोच बनाएँ’ उनले भनिन् ।

२५ लाख रुपैयाँ खर्चेर जम्बो हायस किनेको उनले सुनाइन् । जसोतसो गरेर जम्मा गरेको १५ लाख र १० लाख ऋण लिएर जम्बो किनिन् । मासिक रुपमा ५० हजार किस्ता बुझाउने सर्तमा । जम्बो हायसको रुट थियो ‘नारायणथान—रत्नपार्क’ ।

करिब १५ महिनासम्म जम्बो हायसमा यात्रा गरिन् । बच्चाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भने उनले हायस बेचेर बच्चाको हेरचाहतिर लागिन् ।

महिलालाई सीप सिकाउन अग्रसर

विस्तारै उनले रोडमा काम गर्न भन्दा पनि अन्य महिलालाई यसरी रोडमा आउने अवसर दिने मनसाय बनाइन् ।

०६९ कात्तिक महिनामा ‘नेपाल यातायात महिला चालक समुह’ नामक संस्था दर्ता गरिन् । ७ वर्षको अनुभवले अब मीनाले महिलाहरुलाई सवारी साधन चलाउने सीप दिन थालिन् ।

आफुले विगतका दिनमा सीप सिक्छु भन्दा कतै अवसर नपाएको र विभिन्न अत्याचारको बिचमा पनि संघर्ष गरेकाले पनि अबका दिनमा त्यो समस्या अरुले झेल्नु नपरोस् भन्ने सोचले संस्था खोलिन् ।

‘आफु मात्र आत्मनिर्भर बनेर हुदैँन, म जस्ता कयौँ महिलाहरु यसरी नै रोजगारीका अवसर नपाएर छट्पटी रहेका होलान् झैँ लाग्थ्यो, त्यसैले महिलाहरुलाई टेम्पोको प्रशिक्षण दिन थालेँ’ मीनाले भनिन् ।

हालसम्म आइपुग्दा उनले ५ सय भन्दा बढि प्रशिक्षार्थीलाई टेम्पु, कार, ट्याक्सी लगायतका साधन चलाउन सिकाइसकेकी छिन् । सामान्यदेखि उच्च परिवारका महिलाहरुपनि मीनाको प्रशिक्षण केन्द्रमा ड्राइभिङ सिक्न आउँछन् ।

आफुलाइ महिला प्रशिक्षक भएर प्रशिक्षण गराउन पाउँदा निकै गर्व महशुुस गर्छिन् मीना । भन्छिन्, ‘यसरी म जस्तै महिलालाई प्रशिक्षण दिना सक्ने बन्छु भनेर कहिल्यै साचेकी थिइन’ ।

‘प्रशिक्षण दिएका धेरै महिलाहरु काठमाडौंकै विभिन्न रुटमा टेम्पु चलाइरहेको देख्दा खुसीका आशु झर्छन्’ गहभरी आशु झार्दै सुनाउछिन् ।

परिवारबाट पीडित, विपन्न परिवारका महिलाहरुलाई उनी निशुल्क प्रशिक्षण दिने गर्छिन् । बेरोजगार भएर बस्नु पर्दैन, सीप सिकेपछि आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा उनको संघर्षबाट पाउन सकिन्छ ।

हिम्मतले दिलाएको सफतला

हिम्मतले नै मानिसलाई सफल बनाउने बताउछिन् उनी । ‘सबैभन्दा ठूलो कुरा हिम्मत हुनुपर्‍यो, कसैको साथ जरुर छैन एक्लै पनि संघर्ष गर्न सकिन्छ’ कुराकानीका क्रममा उनले भनिन् ।

सायद लामो समयको उनको अनुभवले त्यही बोलिरहेको थियो । विगतका दिनमा साथको जरुरी भइरहँदा उनका श्रीमानको रुखो स्वभावले पनि होला । आत्मविश्वास र हिम्मतले नै आज उनलाई सफल बनाएको छ ।

अबको योजना

पछिल्ला समय तीन पांग्रे सवारी साधन हटाउने समाचार आइरहँदा उनको मनमा भने चिसो पस्छ । कारण हो ‘महिलाको आत्मनिर्भरको बाटो’ ।

‘अहिले टेम्पु चलाउने महिलाको संख्या धेरै छ, टेम्पु हट्ने बित्तिकै त्यी महिलाको रोजगारीको बाटो के’ उनी भन्छिन् ।

टेम्पु कारलगायतका सवारी साधनको प्रशिक्षण दिइरहेकी मीनाको अबको योजना भनेको महिलालाई हेबी सवारी साधन चलाउन सक्ने बनाउनु रहेको छ ।

‘राष्ट्रिय प्रशिक्षण केन्द्र स्थापना गरेर हेबी सवारी साधनमा महिलाको आर्कषण बढाउनतिर लाग्छु’ उनले भनिन् ।

सवारी सञ्जाल विस्तार भइरहेको र महिलालाई यसप्रति उलेख्य रुपमा रोजगारी दिलाउन सकिने मीनाको भनाइ छ ।


भर्खर

0