संसदबाट एमसीसी पारित हुन्छ: परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

संसदबाट एमसीसी पारित हुन्छ: परराष्ट्रमन्त्री ज्ञवाली


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसद्को चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने बताएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सो विषयबारे स्पष्ट पार्दै मन्त्री ज्ञवालीले नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले उक्त सम्झौता गरेको र सरकार अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले अन्तरर्राष्ट्रिय जगतमा मुलुकका छविलाई विश्वसनीय बनाउनसमेत यसलाई अनुमोदन गर्नुको विकल्प नभएको जिकिर गरे । यसबारे राष्ट्रिय दलबीच कुनै विमति नभएकाले संसद्बाट पारित हुने उनको भनाइ थियो ।

परराष्ट्र मन्त्री ज्ञवालीले एमसीसीले सन् २०११ देखि नेपाललाई छनोट गरेको बताउँदै इन्डोप्यासिफिक रणनीति सन् २०१७ देखि मात्र सुरु भएको भन्दै यी दुईबीच कुनै सम्बन्ध नभएको प्रष्ट पारे ।

मन्त्री ज्ञवालीले विकासशील राष्ट्रलाई विकासशील राष्ट्रले सहयोग गर्नुपर्ने मान्यताको आधारमा अमेरिकाले सहयोग गर्न लागेको बताउँदै यो कुनै मुलुक लक्षित कार्यक्रम नभएको उल्लेख गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो स्थायी कमिटीको बैठकमा उक्त सहमति हिन्दप्रशान्त रणनीति (आइपीएस) सँग सम्बन्धित भएमा पारित गर्न नहुने प्रश्न उठेपछि यस विषयमा बहस उत्पन्न भएको थियो ।

मन्त्री ज्ञवालीले वर्तमान सरकार राष्ट्रियहित र सरोकारका सवालमा सतर्क र गम्भीर रहेको उल्लेख गर्दै भने, “तातो दूधले मुख पोलेको मान्छे मोही देख्दा पनि फुफु गर्छ भने झैँ आशङ्का गरिएको छ । यसमा राष्ट्रिय हितविपरीत हुने गरी कुनै काम हुँदैन । यो पूर्वाधार विकासका लागि हुने आयोजनामा अमेरिका सरकारको सहयोगको सम्झौता हो । सम्झौताका कतिपय शर्त सम्झौता गर्दा ख्याल गरिने विषय हो । अहिले हेरफेर हुँदैन ।”

मन्त्री ज्ञवालीले नेपालको सफल शान्ति प्रक्रिया र राजनीतिक स्थिरतासँगै अमेरिकाले उक्त सहयोग गर्नुले त्यो सहयोगले अर्बौं रुपैयाँ बराबरको सकारात्मक सन्देशको लाभ मिल्ने उल्लेख गरे । उक्त सहयोग कार्यान्वयनका लागि नेपालमा स्वायत्त र व्यावसायिक निकाय स्थापना भएको र नेपालको आधिकारिक निकायले लेखा परीक्षण गर्नसक्ने उनले जानकारी दिए ।

एशिया प्रशान्त क्षेत्रको गरिबी र पछौटेपनलाई हटाउँदै, भौतिक पूर्वाधारको विकास गर्ने र सम्पर्क सञ्जालको विस्तार गर्ने लक्ष्यका साथ करिब ५५ अर्ब अमेरिकी सहयोग र बाँकी नेपालको लगानीमा ६४ अर्बको परियोजना अगाडि बढेको छ । परियोजनाअन्तर्गत काठमाडौँको नाङ्गलेभारेदेखि नुवाकोटको रातमाटे, तनहुँ हुँदै बुटवलसम्म जोड्ने ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ । केही रणनीतिक महत्वका केही सडक सञ्जालको विस्तार तथा मर्मतसमेत सो आयोजनाबाट हुनेछ ।

मन्त्री ज्ञवालीले भने, “एमसिसी र आइपिएस फरकफरक कुरा हो । यसलाई जोड्न आवश्यक छैन । मुलुकको आवश्यकता विकास हो । यो अविकाशको पासोमा चुडाउँ तर यहाँ विकासका ठूला कार्यक्रम सञ्चालन गर्दा आशङ्का गरिन्छ । अनावश्यक बहसले दिग्भ्रमित बनाउँछ । कतिपय बहस नबुझेरै चलाउने गरिन्छ । समृद्धि र विकासका लागि यस्तो शृङ्खला अन्त्य गर्नुपर्छ ।”

बैठकमा समितिका सभापति दिलकुमारी रावल (थापा)ले एमसीसीका विषयमा सरकारले स्पष्ट पारेकाले सांसदहरुलाई बुझ्न सहज भएको बताइन् । समितिका सदस्य बद्रीप्रसाद पाण्डेले विकासशील राष्ट्रले सङ्घर्ष गरेर एमसिसी कार्यक्रममा अमेरिका सहमत भएकाले नेपाल जस्तो विकासशील राष्ट्रले उक्त सहयोगलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ३ : ०५ बजे

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका अग्निपीडित परिवार राहतको प्रतीक्षामा

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।