वैदेशिक रोजगार व्यवसायीको कार्यक्रममै उपप्रधानमन्त्रीले दिए श्रम मन्त्रीलाई सुझाव | Khabarhub Khabarhub

वैदेशिक रोजगार व्यवसायीको कार्यक्रममै उपप्रधानमन्त्रीले दिए श्रम मन्त्रीलाई सुझाव


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्न सुझाव दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारीका समस्या समाधानमा व्यवसायीहरुसँग पनि सहकार्य गर्न मन्त्री विष्टलाई सुझाव दिएका हुन् ।

सरकार नीति तथा कार्यक्रममा केन्द्रित भएर अघि बढेको बताउँदै उनले व्यवसायीहरुलाई स्पष्ट अवधारणासहित सरकारसँग सहकार्यका लागि आउन आह्वान गरे । सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठ्यारो पारेको भए समाधानका लागि छलफलमा बस्नु पर्ने उनले बताए । उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्दैगर्दा मन्त्री विष्ट भने कार्यक्रम स्थलमा ढिला गरी पुगेका थिए ।

मन्त्री विष्ट कार्यक्रम स्थलमा प्रवेश गर्दैगर्दा उपप्रधानमन्त्री पोखरेलले भने, ‘म मुखदेखि होइन मनबाट बोल्छु । वैदेशिक रोजगार क्षेत्र हेर्ने मन्त्रीज्यूलाई यही मञ्चबाट सुझाव दिन चाहन्छु । यो क्षेत्रका समस्या समाधान गर्न तत्काल प्रयास गर्नुहोस् । सरकारले सबै क्षेत्रका व्यवसायीका समस्या समाधान गर्नुपर्छ ।’

उपप्रधानमन्त्री पोखरेलले मञ्चबाट सुझाव दिँदै गर्दा मन्त्री विष्ट भने कार्यक्रममा सहभागी अन्य अतिथिहरुसँग हात मिलाउँदै थिए ।

पछिल्लो समय सरकार सबै सरोकारवाला पक्षसँग समन्वय गरेर मात्र काम गर्ने पक्षमा रहेको उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो । यस्तै उनले, रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृति तथा व्यक्तिको जीवनमा पारेको प्रभावबारे सोच्नुपर्ने सुझाव मन्त्री विष्टलाई मञ्चबाटै दिए ।

उपप्रधानमन्त्री पोखरेल पछाडि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीमा व्यवसायी र श्रमिकका हकहितका लागि मन्त्रालय प्रयत्नशील रहेको बताए ।

वैदेशिक रोजगारीलाई मर्यादित, समानित र व्यवस्थित बनाउनका लागि आफूले ठूलो जोखिम मोलेर काम गरेको मन्त्री विष्टको दावी थियो । ‘आफू मन्त्री रहुँ/नरहुँ तर, वैदेशिक रोजगार र आन्तरिक श्रम बजारलाई व्यवस्थित बनाउन पाएको जिम्मेवार बहन गर्न प्रतिबद्ध छु । रोजगारीको खोजीमा रहेका युवालाई निराश पार्दिन ।’ मन्त्री विष्टले भने, ‘हिजोसम्म नीति निर्माणको काममा व्यस्त थिएँ । अब सुशासनको काम तिर लाग्छु । अनियमित काम गर्ने कर्मचारीबारे गुनासो आएको ५ मिनेटमा कारवाही गरिने छ ।’

उनले म्यानपावर कम्पनीको धरौटी वृद्धिको निर्णय पनि सर्वपक्षीय छलफलपछि नै भएको बताए । सबै पक्षसँगको छलफलपछि आएकै कारण संसदमा गएको प्रस्ताव बिना विवाद पारित भएको उनको भनाइ थियो ।

यसरी उपप्रधानमन्त्री पोखरेलले सुझाव दिँदैगर्दा कार्यक्रममा रहेका व्यवसायी भने मुखामुख गर्दै हाँसेका थिए । एक मन्त्रीले अर्को मन्त्रीलाई सुझाव दिएको विषयले व्यवसायीहरु माझ चर्चा पाएको छ ।

उपप्रधानमन्त्री पोखरेलले मन्त्री विष्टलाई व्यवसायीका समस्या सुन्न निर्देशन दिएको व्यवसायीहरुको बुझाइ छ । उपप्रधानमन्त्री पोखरेलको सम्बोधनको प्रतिक्रिया मन्त्री विष्टले दिने पखाईमा धेरै व्यवसायी रहेका थिए । तर, मन्त्री विष्ट आफ्नो सम्बोधनमा उपप्रधानमन्त्री पोखरेलले दिएको सुझावमा प्रवेश नै गरेनन् ।

उनले वैदेशिक रोजगार ऐनअनुसार काम नगर्ने व्यवसायीलाई कानूनी दायराभित्रै रहेर कारवाही गर्ने चेतावनी दिए । मन्त्री विष्टको चेतावनीले व्यवसायीहरु मौन भएका थिए ।

१७ पदका लागि ३७ जना उम्मेदवार, आजै निर्वाचन हुँदै

नेपाल वैदेशिक रोजगार व्यवासयी संघको नयाँ नेतृत्व चयनका लागि आजै निर्वाचन हुँदैछ । निर्वाचनमा सहभागी हुन ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावरको धरौटी बढाएसँगै ८ सय ५४ म्यानपावर कम्पनी कायम भए पनि १ सय ९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

नेकपा र संघीय समाजवादी पार्टीलगायत प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा सरोजकुमार पोखरेलले उम्मेदवारी परेको छ । त्यस्तै संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिएका छन् ।

सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवको उम्मेदवारी परेको संघले जनाएको छ ।

यसैगरी कांग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको छ । त्यसैगरी सोही समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी परेको छ ।

सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ०८ बजे

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल