सदर चिडियाखानामा परिवर्तन– जनावरका लागि आधुनिक घर बन्दै | Khabarhub Khabarhub

सदर चिडियाखानामा परिवर्तन– जनावरका लागि आधुनिक घर बन्दै


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न  आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ स्थान निर्माण भइरहेको छ ।

आगामी एक महीनामा निर्माणको काम सम्पन्न गरी नयाँ घरमा जीवजनावरलाई राखिने पनि चालिसेले जानकारी दिए । अहिले चिडियाखानामा नीलगाई छैन, अब अवलोकनकर्ताले नीलगाई पनि हेर्न पाउने छन् । राख्नका लागि घर निर्माण भएसँगै सुदूरपश्चिमबाट नीलगाई ल्याउने तयारी पनि गरिएको छ ।

जनावर राख्ने घर निर्माण मात्रै होइन, अवलोकनकर्ताका लागि सहज होस् भनी चिडियाखानाभित्र रहेको हिँड्ने बाटो पनि मर्मतसम्भारको काम भइरहेको छ । सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्न पनि भवन निर्माणको काम गरिरहेको छ ।

हाल चिडियाखानाको ६ हेक्टर क्षेत्रफलमा १२७ प्रजातिका एक हजार २१९ जीवजन्तु छन् । केही वर्षअघि ८०० जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले सङ्ख्या बढेको हो ।

गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा १ लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्ष मुनिकालाई रु ५०, विद्यार्थीलाई रु १००, सर्वसाधारणलाई १५०, सार्क राष्ट्रका पाहुनालाई रु २२० र अन्य देशका नागरिकलाई रु ७५० प्रवेश शुल्क तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो ।

चिडियाखाना परिसरभित्र रहेका जनावरको बारेमा जानकारी दिन, संरक्षित जनावर र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको बारेमा जानकारी दिनका लागि केही दिन अघिबाट डिजिटल शिक्षा केन्द्रको स्थापना पनि गरिएको छ । चिडियाखानामा पछिल्लो समय पहिलो चरणमा अन्यत्रबाट ल्याइएका जीवजन्तुलाई संरक्षण गरी राख्नका लागि उद्धार केन्द्रको अभाव रहेकाले उद्धार केन्द्र पनि निर्माण गर्न लागिएको छ ।

“प्रत्येक वर्ष १०–१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई छ महीनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु चिकित्सकको निगरानीमा संरक्षण गरी राख्नुपर्छ, तर स्थान अभाव छ”, चालिसेले भिनन् ।

सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रुपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ११ : ४२ बजे

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०