भोकमरीले २० हजार जनाको ज्यान गएको नेदरल्याण्ड्स कसरी बन्यो समृद्ध ? | Khabarhub Khabarhub

भोकमरीले २० हजार जनाको ज्यान गएको नेदरल्याण्ड्स कसरी बन्यो समृद्ध ?



नेदरल्याण्ड्स, विश्वको सबैभन्दा सम्पन्न मुलुकमा पर्छ । युरोपेली मुलुक नेदरल्याण्ड्समा हरेक वर्ष अध्ययन रोजगारी तथा पर्यटनका लागि ठूलो सङ्ख्यामा नेपालीहरु समेत जाने गर्छन् ।

राजतन्त्रात्मक व्यवस्था रहेको नेदरल्याण्ड्स विश्वमा स्वास्थ्य, शिक्षा, रोजगारी, जीवनस्तर, न्यून भ्रष्टाचार, आर्थिक समानता लगायतका सूचीमा शीर्षस्थ स्थानमा रहँदै आएको छ । त्यहाँका नागरिकहरु पनि उत्तिकै सम्पन्न तथा समृद्ध छन् । उन्नत तथा विकसित एवं प्रतिस्पर्धात्मक खुला बजार अर्थतन्त्र रहेको नेदरल्याण्ड्सले विश्वमा विकासको एककिसिमको उदाहरण नै प्रस्तुत गरेको छ ।

निजी क्षेत्रको व्यापक उपस्थिती रहेको नेदरल्याण्ड्समा सार्वजनिक क्षेत्र पनि उत्तिकै प्रभावशाली छन् ।

१६ औं शताब्दीको उत्तराद्र्धसम्म नेदरल्याण्ड्स पवित्र रोमन साम्राज्यबाट छुट्टिएको हाप्सबर्ग वंशको स्पेनी अधिराज्यको हिस्साको रुपमा रहेको थियो । त्यसबेला त्यहाँको अर्थतन्त्र विकासशील अवस्थामा रहेको थियो । पश्चिम युरोपेली मुलुकमा रहेकै शैलीमा त्यहाँ पनि वाणिज्यवाद फैलिरहेको थियो । यत्तिकैमा सन् १५८१ मा नेदरल्याण्ड्सका जनताले हाप्सबर्ग अधिराज्यविरुद्ध बिद्रोह गरी डच गणतन्त्रको स्थापना गरे । यसपछि डच जनताका लागि संघीय गणतन्त्र अन्तर्गत स्वतन्त्र मुलुकको स्थापना भयो ।

स्वतन्त्र मुलुक स्थापना भएपछि नेदरल्याण्डको अर्थतन्त्र एवं सामाजिक क्षेत्रमा तीब्र विकास भयो । नेदरल्याण्ड्समा व्यावसायिक क्षेत्रमा व्यापक परिवर्तन आयो । नेदरल्याण्ड्सका प्रमुख शहरहरु एन्टोर्प (हाल बेल्जियममा पर्छ), हेग, आम्सर्डाम १६ औं शताब्दी देखि नै प्रमुख वाणिज्य केन्द्रको रुपमा स्थापित भइसकेका थिए । विभिन्न क्षेत्रबाट आप्रवासी मानिसहरु नेदरल्याण्ड्स तर्फ काम गर्नका लागि आउने गरेका थिए । डच बन्दरगाहहरु युरोपेली वाणिज्यका लागि अत्यधिक प्रयोग हुने गरेको थियो ।

विश्वका समुद्रमा डच पानीजहाजको आवागमन समेत व्यापक थियो । सोही कारण १६ औं शताब्दी देखि नै नेदरल्याण्ड्स पश्चिमी युरोपको महत्वपूर्ण अर्थतन्त्रको रुपमा विकास भइसकेको थियो । त्यसबेला नेदरल्याण्ड्को अन्तर्राष्ट्रिय व्यापार दक्षिण एशिसाको मुगल साम्राज्यदेखि सुदूर पूर्वको चीनसम्म फैलिएको थियो ।

१७ औं शताब्दीको दोश्रो वर्ष अर्थात् १६०२ मा त्यहाँ अन्तर्राष्ट्रिय व्यापारका लागि डच इष्ट इण्डिया कम्पनी नामक संस्थाको स्थापना गरियो । यही कम्पनीले शेयरको कारोबार गर्नका लागि सन् १६०२ मै डच शहर आम्सर्डाममा शेयर बजारको स्थापना गर्यो । त्यसपछि डच इष्ट इण्डिज कम्पनीमार्फत् विश्वभर नेदरल्याण्ड्सको व्यापार विस्तार भयो । नेदरल्याण्ड्सले जापानसहित एशिया, उत्तर अमेरिकाको नयाँ विश्व, अफ्रिका लगायत विश्वका विभिन्न स्थानमा व्यापारिक केन्द्र तथा उपनिवेश पनि स्थापना गर्दै लग्यो । आर्थिक सामाजिक क्षेत्रमा तीब्र विकास भएकाले इतिहासमा यसलाई डच स्वर्ण युग समेत भन्ने गरिन्छ ।

यही बेला नेदरल्याण्ड्स युरोपको सैनिक एवं राजनीतिक द्वन्द्वमा फस्न पुग्यो । त्यसपछि एकाएक नेदरल्याण्ड्सको आर्थिक एवं राजनीतिक प्रभाव पनि कमजोर बन्दै गयो । १८ औं शताब्दीमा नेदरल्याण्ड्सले विश्वका केही महत्वपूर्ण उपनिवेशहरु समेत गुमाउनु पर्यो । आर्थिक प्रतिकूलता शुरु हुन थाल्यो ।

१८ औं शताब्दीको अन्त्यतिर शुरु भएको फ्रेन्च क्रान्तिका कारण युरोपमा ठूलो उथलपुथल आयो । १९ औं शताब्दीको शुरुमा फ्रान्सका सैनिक शासक नेपोलियनले नेदरल्याण्ड्समा आक्रमण गरी बटाभियन गणतन्त्र नामक राज्यको स्थापना गरे । सन् १८०६ मा उनले आफ्ना भाइ लुईलाई त्यहाँको राजा घोषणा गरे । पछि लुईले १८१० मा गद्दी त्यागेपछि नेदरल्याण्ड्स फ्रेन्च साम्राज्यको हिस्सा बन्न पुग्यो । तैपनि १८१० को दशकमा नेपोलियनको पराजयसँगै नेदरल्याण्ड्स र बेल्जियमलाई एकीकरण गरी एउटै मुलुक बनाइयो । तैपनि दुई मुलुकबीच ठूलो भिन्नता रहेकाले बेल्जियमले १८३९ मा स्वतन्त्रता प्राप्त गर्यो ।

१९ औं शताब्दीमा युरोपमा आधुनिक प्रविधिको प्रयोग गरी औद्योगिक क्षेत्रमा तीब्र गतिमा विकास भइरहेको थियो । तैपनि नेदरल्याण्ड्समा भने त्यसको प्रभाव तुलनात्मक रुपमा एकदमै न्यून रह्यो । यद्यपि नेदरल्याण्ड्स गति सुस्त नै भएपनि आर्थिक विकासको बाटोमा अघि बढिरह्यो । १९ औं शताब्दीमा नेदरल्याण्ड्स मध्यमवर्गको प्रभाव रहेको अर्थतन्त्रको रुपमा विकसित हुन पुग्यो । यसबेला नेदरल्याण्ड्स स्थीर अर्थतन्त्रको रुपमा रहेको थियो ।

पहिलो विश्वयुद्धमा नेदरल्याण्ड्स तटस्थ बस्यो । तैपनि युद्धमा जर्मनीको पराजयपछि जर्मन शासक कैजर विलियम भागेर नेदरल्याण्ड्स पुगे । उनलाई त्यहाँ शरण दिइयो । त्यसबाहेक लाखौं शरणार्थीहरु युद्धबाट बच्नका लागि नेदरल्याण्ड्स पुगे । पहिलो विश्वयुद्धका कारण डच अर्थतन्त्र नराम्ररी कमजोर बन्न पुग्यो । तैपनि त्यहाँ भारी उद्योगहरुमा भने अनपेक्षित विकास भयो ।

नेदरल्याण्ड्सका व्यापारिक साझेदार छिमेकी मुलुकहरु युद्धमा होमिएका कारण नेदरल्याण्ड्समा आर्थिक प्रतिकूलता सिर्जना हुन पुग्यो । त्यसबाहेक युद्धमा सहभागी पक्षहरु विश्वको समुद्री मागमा आफ्नो प्रभाव विस्तार गर्न उद्दत रहेकाले अन्तर्राष्ट्रिय व्यापार पनि कमजोर बन्दै गयो ।

पहिलो विश्वयुद्धपछि विश्व आर्थिक मन्दी शुरु भयो । यसको प्रभाव नेदरल्याण्ड्समा नराम्ररी पर्न गयो । मानिसहरु बेरोजगार बन्न पुगे भने कलकारखानाहरु बन्द रहे । तैपनि विस्तारै नेदरल्याण्ड्सको अर्थतन्त्र उकालो लाग्दै गयो ।

दोश्रो विश्वयुद्धमा पनि नेदरल्याण्ड्स तटस्थ बस्यो । तैपनि नाजी जर्मनीले १९४० मा नेदरल्याड्समा आक्रमण गर्यो । त्यहाँको औद्योगिक क्षेत्रलाई जर्मनीको युद्ध प्रयासका लागि प्रयोग गर्न थालियो । सन् १९४४ को अन्त्य तथा १९४५ को शुरुका केही महिना नेदरल्याण्ड्समा भोकमरी सिर्जना भयो । भोकमरीका कारण २० हजारभन्दा धेरै डच मानिसहरुले ज्यान गुमाउन पुगे ।

दोश्रो विश्वयुद्धपछि नेदरल्याण्ड्स लोककल्याणकारी राज्यका रुपमा स्थापित हुन पुग्यो । राज्यले नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, सुरक्षा, आवास लगायतका सामाजिक सुरक्षाका लागि विशेष प्रबन्ध मिलायो भने अन्य स्वतन्त्र व्यापारिक गतिविधिलाई समेत प्रोत्साहन गर्न थाल्यो ।

नेदरल्याण्ड्समा हाल लोककल्याणकारी व्यवस्थामा आधारित अर्थतन्त्र रहेपनि निजि क्षेत्र पनि उत्तिकै प्रभावशाली छ । सन् ८० को दशकमा विश्वभर प्रचलनमा ल्याइएको नवउदारवादी नीतिका कारण त्यहाँ प्रतिस्पर्धात्मक बजार अर्थव्यवस्थालाई प्रोत्साहन दिइएको छ ।

पहिलो र दोश्रो विश्वयुद्धमा तटस्थताको नीति असफल भएको निष्कर्ष निकाल्दै नेदरल्याण्ड्सले उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका सदस्यता स्वीकार गर्यो । त्यसबाहेक नेदरल्याण्ड्स युरोपको क्षेत्रीय सहकार्यलाई प्रोत्साहन दिनका लागि स्थापित युरोपेली युनियनको संस्थापक सदस्य मुलुकका रुपमा समेत रहेको छ । त्यस्तै, नेदरल्याण्ड्सको अग्रसरतामा पश्चिम युरोपका तीन मुलुकहरु लक्जेम्बर्ग र बेल्जियमका साथ बेनेलक्स युनियनको समेत स्थापना भयो ।

नेदरल्याण्ड्सले सन् १९४९ मा डच इष्ट इण्डिज (हालको इण्डोनेशिया), सन् १९६२ मा नेदरल्याण्ड्स न्यू गिनी (हालको पपुवा तथा वेष्ट पपुवा क्षेत्र, इण्डोनेशिया) तथा सन् १९७५ मा दक्षिण अमेरिकामा रहेको डच गायना (हालको सुरिनाम) लाई स्वतन्त्रता दियो ।

दोश्रो विश्वयुद्ध यता नेदरल्याण्ड्स उच्च औद्योगिक मुलुकका रुपमा रहेको छ । कृषि क्षेत्रले त्यहाँको अर्थतन्त्र तथा श्रम बजारको सानो हिस्सामात्र ओगटेपनि त्यहाँबाट विशाल परिमाणमा कृषिजन्य वस्तु निर्यात हुने गरेको छ ।

नेदरल्याण्ड्समा हाल लोककल्याणकारी व्यवस्थामा आधारित अर्थतन्त्र रहेपनि निजि क्षेत्र पनि उत्तिकै प्रभावशाली छ । सन् ८० को दशकमा विश्वभर प्रचलनमा ल्याइएको नवउदारवादी नीतिका कारण त्यहाँ प्रतिस्पर्धात्मक बजार अर्थव्यवस्थालाई प्रोत्साहन दिइएको छ । यद्यपि त्यहाँका प्रमुख उद्योगमा राज्यको उपस्थिती निकै महत्वपूर्ण छ । नेदरल्याण्ड्सको अर्थतन्त्र अधिक नियमनमा राखिएको मिश्रित व्यवस्थामा आधारित छ ।

यसबाट एकातर्फ नागरिकको सामाजिक जीवन गुणस्तरी बन्न पुगेको छ भने अर्कोतर्फ पुँजीवादी व्यवस्थाबाट जनताले राम्रो लाभ पनि लिइरहेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : ०२ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी