सगरमाथाको चुचुरोमा आरोहीलाई कफी खुवाउने दाबुटी | Khabarhub Khabarhub

सगरमाथाको चुचुरोमा आरोहीलाई कफी खुवाउने दाबुटी



दाबुटी शेर्पाका लागि कफी सामान्य पेय पदार्थमात्र होइन । उनका लागि यो जीवनशैलीको एउटा पाटो नै हो, अझ भनौं, कफी तपाईंलाई स्वच्छ एवं ताजा राख्ने एक किसिमको लत हो ।

उनका अनुसार सन् २०१२ मा बरिष्टाको तालिम लिएदेखि कफीले उनको जीवनमा प्रभाव पार्न थालेको हो । बरिष्टा कफी बनाउने वा कफी पसलमा काम गर्ने मानिस हो । कफीका कारण उनको जीवनले सकारात्मक मोड लियो ।

उनले लाखौं सेवाग्राहीलाई दशौं लाख कप कफी पिलाइसकेकी छिन् । यहीकारण उनका लागि कफीको महत्व अझ बढी छ ।

कफी बनाउने बेला उनको मनमा कफीको मधुर बासनाजस्तै नयाँ नयाँ विचारहरु पलाइरहन्छन् । यही बेला उनको मष्तिष्कमा यस्तै नौलो विचार आयो, आखिर सगरमाथाको शिखरमा पुगी कफी बनाएर आरोहीहरुलाई किन नपिलाउने ? उनलाई यो विचार नौलो लाग्यो । उनले आफ्ना साथीहरुसँग यो विचार व्यक्त गरिन् ।

उनका केही साथीहरुले नयाँ विचारको प्रसंशा गरे भने केहीले पागल केटी भन्दै खिल्ली उडाए ।

तैपनि आफनो नौलो विचारलाई साकार पार्ने उनले अठोट लिइन् । त्यसपछि सन् २०१८ मा उनको नेपालमा कृषिलाई प्रवद्र्धन गर्ने अभियानका साथ सगरमाथा आरोहणको तयारीमा लागिन् । उनले आफ्ना अरु केही साथीहरुलाई पनि सगरमाथा आरोहणका लागि फकाइसकेकी थिइन् । त्यसपछि शुरु भयो, पहिलो बरिष्टा सगरमाथा अभियान २०१८ ।

सगरमाथा आरोहणका लागि दृढ रहेकी उनले त्यसैको तयारीका लागि रामडु हिमाल (५९२५ मिटर) को सफल आरोहण गरिन् । त्यसपछि उनमा नयाँ उत्साह थपियो ।

अन्ततः सगरमाथा आरोहणको समय पनि आयो । सगरमाथाको शिखरमा कफी बनाएर आफ्नो सपना साकार पार्ने दिन आउँदै गर्दा उनीमा उत्साह र डर दुबै थियो । सगरमाथा आरोहण यसअघि होचो हिमालको आरोहण गरेजस्तो सहज नहुने उनलाई थाहा थियो । अनिद्रा र अस्वस्थताका कारण क्याम्प २ सम्म पुग्दा उनलाई असहज महशुस भइरहेको थियो ।

शारीरिक रुपमा संघर्ष गरेपनि उनले हार मानिनन् । मानसिक दृढताका कारण उनले आरोहणमा शारीरिक कठिनाइको असर पर्न दिएकी थिइनन् । अर्को दिन उनी थप आरोहणका लागि तयार भइन् । क्याम्प ३ मा पुगेर उनले केही आराम गरिन् ।

उनी सन् २०१८ मे १४ का दिन बिहान करिब ८ बजेको समयमा सगरमाथाको शिखरमा पुगिन् । मौसममा खराबी देखिएकाले उनले त्यहाँ २०–२५ मिनेटभन्दा धेरै समय बिताउन पाइनन् । उनले तत्कालै कफी बनाएर चार आरोहीहरुलाई पिलाइन् ।

उनले त्यहाँ हिमालयन अरबिका कफी नामक कफी घरेलु कफी मेकरको सहायताले बनाइन् र आरोहीलाई दिइन् । उनले बनाएको कफी त्यहाँ पुगेका दुई नेपाली तथा एक चिनियाँ र एक युक्रेनी गरी चार आरोहीले पिए ।

दाबुटी शेर्पाका अनुसार सगरमाथा आरोहणका क्रममा विभिन्न क्याम्पमा कफी बनाउने योजना रहेपनि थकाई तथा प्रतिकूलताका कारण त्यो सम्भव भने हुन सकेन ।

उनको यो उपलब्धी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिएको छ । गिनिज बुकमा उनको नाममा सगरमाथा आरोहण गर्ने एवं त्यहाँ कफी बनाएर पिलाउने पहिलो बरिष्टाको कीर्तिमान अंकित छ । उनले त्यहाँ कफी बनाएर आफ्ना सहयात्रीलाई पिलाएको भिडियो समेत सार्वजनिक गरेकी थिइन् ।

तर, एक्कासी मौसम प्रतिकूल हुन पुगेकाले उनीहरुले झट्टै त्यहाँबाट ओर्लिहाल्नु पर्ने अवस्था आयो । उनीहरु ओर्लिने बेला आकाश एक्कासी अन्धकार भयो भने जोडले हुरी चल्न थाल्यो । उनीमात्र होइन, त्यसबेला सबै आरोही भयभित थिए ।

दक्षिण कोलमा उनका गाइडले अक्सिजनको सिलिण्डर बदल्नका लागि हातमा लगाएको पञ्जा खोल्दा उनको हात निलो भएको थियो । त्यो देखेर उनलाई डर लाग्यो । त्यसपछि आत्मनिर्भर हुनुपर्ने र अरुलाई खतरामा पारेर आफूले सहयोग लिन हुन्न भन्ने उनलाई लाग्यो ।

त्यसपछि उनी आफैंले अक्सिजनको बोतल परिवर्तन गरिन् । बाटोमा त्यसबेलाको मौसमको अवस्थामा एक्कासी परिवर्तन आएका कारण ओरालो यात्रा प्रतिकूल बनेपनि भाग्यवश उनको टिम सुरक्षित आधार शिविर फक्र्यो । ‘म शेर्पा केटी हुँ र जोखिम मोल्नु हाम्रो बानी नै हो,’ उनले भनिन् । सानो हुँदा पनि उनलाई शिक्षकले भनेका थिए, तिमी शेर्पा हौ र तिमी ठूलो भएपछि सगरमाथा आरोहण गर्नेछौ ।

शिक्षकको भनाइ सही निस्क्यो । ‘हिमाल आरोहणले जीवनमा संघर्ष, खुशी र निरन्तर दृढताको ठूलो पाठ सिकाउँछ’ उनी भन्छिन् ।

सगरमाथा आरोहणबाट अझ हिमाल आरोहण गर्ने अभिलाषा पलाउने भएकाले उनले अमादब्दम हिमाल (६८१२ मिटर) आरोहण गरिसकिन् । यो सेप्टेम्बर महिनामा फ्रान्सको मोन्ट ब्लांक (४८०८ मिटर) आरोहण गर्ने उनको योजना छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ११ : ५५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका