अनुभूति -मैले आँशु पिएका ती दिन | Khabarhub Khabarhub

अनुभूति -मैले आँशु पिएका ती दिन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मान्छेको जीवनमा दुःखका भन्दा खुशीका क्षण नै बढी आउँछन् । तर मान्छेलाई दुःखका ती क्षणले नै बढी समय दुःखी तुल्याउँछन् । किनकि हामी खुशीका क्षणहरुलाई भन्दा दुःखका क्षणहरुलाई बढी सम्झन्छौँ । दिमाग अलिकति फुर्सदिलो भयो कि दुःखका ती क्षणहरुका बारे चाहिने नचाहिने कुरा खेलाउँछौँ । उस्तै परे एकान्तमा टोलाउँछौँ र झन् बढी दुःखलाई आफूतिर बोलाउँछौँ ।

यो दुनियाँमा दुःख नभोग्ने को नै होला र ? देवता भनेर पुजिने विष्णु, इन्द्र, राम-लक्ष्मण, कृष्णहरुले समेत दुःख पाएका छन् । देवराज इन्द्रले त कयौँचोटि स्वर्गको आफ्नो शासनसत्ता गुमाएका छन् । अनेक खाले अफ्ठ्यारा र सङ्कष्टहरु व्यहोरेका छन् । ती अफ्ठ्यारा र सङ्कष्टहरुमा उनीहरुले धैर्यले काम लिएका छन् । त्यसबाट हामीलाई अनेक उपयोगी शिक्षा दिएका छन् ।

एकछिन गमेर विचार गरौं त-समाजका हरेकसँग आ-आफ्नै खालका दुःख छन् । अर्वपति विनोद चौधरी, उपेन्द्र महतो, पूर्वराजा ज्ञानेन्द्र हुन् वा सडकमा माग्न बसेका भिखारी, सबका आआफ्नै दुःख छन् । आआफ्नै खालका अभाव र मानसिक तनाव छन् । आआफ्नै तह अनुसारका सकस र सङ्कष्टहरु छन् । तर हरेकलाई लाग्छ-मजति दुखिया यो दुनियामा अर्को कोही छैन ।

हामीमध्ये धेरै कमले मात्रै अर्काको दुःखबारे बारे कल्पना गर्ने गछौँ । किनकि यसबारे सोच्ने कल्पना गर्ने हामीलाई अभ्यास नै छैन । हाम्रा पूर्वीय धार्मिक ग्रन्थहरुले यसबारेमा धेरै कुरा बताएका छन् । तर भौतिकवादी हुने मोहमा हामीले ती महत्त्वपूर्ण कुराहरु ख्याल गर्न छाडेका छौँ । हामीलाई त यति मात्रै ख्याल हुन्छ-फलानोले हेर्दाहेर्दै त्यत्रो प्रगति गर्‍यो तर मैले गर्न सकिन ।

खासमा दुःखको कारण हामी आफैँ हौँ । अरु त माध्यम मात्रै हुन् । ‘मान्छे आफ्नाबारेमा जे सोच्छ त्यही हुन्छ ।’ खप्तडबाबा आफ्नो कृति ‘विचार विज्ञान’मा लेख्नु हुन्छ-‘बिहान ब्युँझेपछिको पाँच मिनेट र बेलुका निदाउनुअघिको पाँच मिनेटको समयमा मान्छेले आफ्ना बारेमा जे सोच्छ, उसको जीवनमा त्यही हुन्छ ।’

झण्डै दशकअघिको कुरा । काठमाडौं आएपछि मैले चिनेका तथा सँगै कलेज पढेका मेरा थुप्रै साथीहरु गाडी चढ्ने आर्थिक हैसियतका भइसकेका थिए । मोटरसाइकल नचढ्ने त कोही थिएन । पत्रकारितामा मभन्दा जुनियर केही भाइहरुले समेत निजी कार हाँकेर हिँडेको देख्दा मेरो मन कटक्क भएर आउँथ्यो । किनकि त्यो बेला मसँग मोटरसाइकल किन्ने कुरा त परै राखौं, छोराछोरीको स्कुलको फि तिर्ने समेत हैसियत थिएन । चिनजानका कुनै मिडिया हाउसहरुमा गएर काम माग्दा हाँसेर उडाउँथे । उनीहरुलाई लाग्थ्यो-‘रक्तकुण्ड’ लेखेर त्यतिविधि चर्चा कमाएको मान्छेलाई पनि काम चाहिन्छ र ! जति विश्वास दिलाउन खोजे पनि विश्वासै गर्दैनथे ।

सार्वजनिक सवारीको भाडा तिर्ने हैसियत नभएर पुतलीसडक, अनामनगरबाट कपनसम्म पैदल हिँड्नु पर्दा कम्ती दुःख लाग्दैन्थ्यो । कारको ड्राइभिङ सिटमा बसेर मुसुक्क मुस्कुराइरहेका साथीहरुका रातापिरा अनुहार झलझली आँखा सामुन्ने आउँथे । मन कटक्क भएर बाउँडिन्थ्यो । अरुसँग सही ढङ्गले व्यवहार गर्न नजानेको मात्रै होइन, समयमा सही निर्णय गर्न नजानेकोमा आफूलाई नालायक नै सम्झन्थेँ म ।

तर अहिले समयले यसरी कोल्टे फेर्‍यो कि गाडी चढ्ने ती साथीहरुमध्ये अधिकांश कुनै न कुनै दीर्घरोगको शिकार भएका छन् । मलाई लाग्न थालेको छ, काठमाडौंमा पैदल हिड्नु अहोभाग्य हो । झन्नै दुई दशक पैदल हिँडेकै कारण शारीरिक तन्दुरुस्ती कायम भयो । त्यतिबेला म बेकारमा किन दुःखी भएको होला ?

योगी डा. विकासानन्द भन्ने गर्नुहुन्छ-‘हरेक कुराको अर्को पाटो हुन्छ । त्यो पाटो झनै उज्ज्वल भविष्यतिर डोर्‍याउने सकारात्मक पनि हुन्छ । तर मान्छे अर्को पाटाको बारेमा सोच्नै चाहँदैन र सानासाना कुरामा दुःखी हुन्छ ।’

उहाँका अनुसार कुनै दुःखदायी घटना घट्यो भने त्यसका बेफाइदा र फाइदाहरुबारे मनमनै बुँदागत रुपमा केलाउनु पर्छ । त्यसका तात्कालीन असर र दीर्घकालीन फाइदाका बारेमा सोच्नु पर्छ । यसो गर्ने अभ्यास गरियो भने जस्तोसुकै दुःख या विपत्तिबाट पनि मुक्त हुन सकिन्छ ।

धेरै मान्छेहरुलाई माथि लेखिएको कुरा थाहा छ । तर दुःख अर्थात् मानसिक तनावले मस्तिष्कका नशाहरुलाई घेरिसकेपछि मान्छे त्यसबाट मुक्त हुनै सक्दैन । दुःखका कारणहरुलाई उत्साहको पानीले सिञ्चन गरेर कञ्चन हुने गरी मनलाई धुनै सक्दैन । बरु तनावमै छटपटाइरहन्छ । बरु आफूले पाएको दुःखको कारण अरु कसैलाई ठहर्‍याएर कयौँ सातासम्म भुतभुताइरहन्छ । किनकि हरेक मान्छे आफूलाई सबैभन्दा सज्जन मान्छ । उस्तै परे आफूलाई ठूलै विद्वान ठान्छ ।

यति विशाल दुनियाँमा जतिसुकै विद्वान ठानिएको मान्छेले पनि कति प्रतिशत नै कुरा बुझेको हुन्छ र ? दुनियाँमा भएका सबै कुराको जानकार हुनलाई त सायद मान्छेको दश जुनीले पनि पुग्दैन । तर यो कुरा हामीमध्ये धेरैले हेक्कै राख्दैनौं । ठाउँ पर्दा आफ्नो विद्वता छाँटेर थाक्दा पनि थाक्दैनौं ।

अर्को कुरा, ठूलाठूला सङ्कष्ट व्यहोर्ने बानी परेका, साहसी मानिएका मान्छेहरु पनि आफ्ना छोराछोरीको इच्छाका अगाडि कमजोर सावित हुँदा रहेछन् । अझ नावालक छोराछोरीका अगाडि कमजोर हुनुपर्दा जति दुःख मान्छेलाई अरु केही नहुँदो रहेछ । सत्य हो, छोराछोरीको स्कुलको फि तिर्ने पैसा जुटाउन नसक्दा म आफैँ पनि कयौँ आफन्तहरुकहाँ गएर धुरुधुरु रोएको छु । आँशुले गह धोएको छु । फि तिर्नैका लागि कयौँपटक सहकारीहरुबाट ऋण लिएको छु । आशा भरोसा गरेकाहरुबाटै कयौँपटक अपमान र उपेक्षाका घुड्का पिएको छु ।

पढाइरहेको निजी स्कुलबाट निकालेर सरकारी स्कुलमा हाल्ने बारे पनि नसोचेको हैन । हामी दम्पत्तिबीच कयौँपटक यसबारेमा सरसल्लाह पनि हुन्थ्यो । तर त्यसले छोराछोरीमा पर्ने मानसिक असर सम्झेर हामीले त्यसो गर्ने आँट नै गर्न सकेनौँ ।

जुनसुकै धर्मका अनुयायी हुन् तिनले आफूले मानेको धर्मकै उपहास गरिरहेका छन् । तर दुःखको कुरा, हाम्रो समाजमा त्यस्तै आडम्बरीहरुको बोलवाला छ । तिनकै पछि लाग्ने हाम्रो समाज झनै खोलवाला छ । आफूले भरोसा गरेकाहरुसँग गरिएको आशा पूरा भएन भने झन् बढी दुःखी हुन्छ मान्छे ।

खासमा त्यो बेला त मैले जीवनका अमूल्य अनुभव हासिल गरेको रहेछु, जुन कुराले मलाई अझ बढी मिहिनेत गर्ने बनाएछ । दैनिक घरव्यवहारलाई सहज बनाउने वैकल्पिक बाटाहरु पहिल्याउन सिकाएछ । छोराछोरीलाई दुःखमा बाँच्न अभ्यस्त भएका रहेछन् । अहिले ती दिन सम्झँदा आफैँलाई गर्वबोध हुन्छ ।

भनिन्छ, अरुसँग आशा गर्नु नै दुःखको कारण हो । तर आशा नगरी कसैको पनि जीवन चल्दैन । घरपरिवार, धनसम्पत्ति, लोभलालच सबैै त्यागेर हिँडेको छु भन्ठान्ने जोगीले पनि भक्तहरुसँगबाट केही पाउने आशा गरिरहेको हुन्छ ।

त्यसबाट माथि उठेका सन्त साधुहरुले पनि साधनबाट अझ बढी सिद्धि प्राप्त गर्ने लोभ गरिरहेका हुन्छन् । प्रचारको भोकले टिभीमा प्रवचन दिने, ठूलाबडा व्यापारी र पहुँचवाला नेताहरुको निकट हुन हुरुक्क हुने, दाताहरुबाट बढीभन्दा बढी दानको अपेक्षाहरु त खासमा साधुसन्त नै होइनन् । पाखण्डी हुन्, आडम्बरी हुन् । धर्मको आडमा व्यापार चलाइरहेका निकृष्ट व्यापारी हुन् ।

चाहे ती जुनसुकै धर्मका अनुयायी हुन् तिनले आफूले मानेको धर्मकै उपहास गरिरहेका छन् । तर दुःखको कुरा, हाम्रो समाजमा त्यस्तै आडम्बरीहरुको बोलवाला छ । तिनकै पछि लाग्ने हाम्रो समाज झनै खोलवाला छ । आफूले भरोसा गरेकाहरुसँग गरिएको आशा पूरा भएन भने झन् बढी दुःखी हुन्छ मान्छे । यो भनेको मान्छेको आफ्नो कमजोरी हो । तर धेरैजसोलाई आफ्नै कमजोरी थाहा हुन्न । किनकि हामी भ्रममै बाँच्न अभ्यस्त भैसकेका छौँ ।

खासमा दुःखको कारण हामी आफैँ हौँ । अरु त माध्यम मात्रै हुन् । ‘मान्छे आफ्नाबारेमा जे सोच्छ त्यही हुन्छ ।’ खप्तडबाबा आफ्नो कृति ‘विचार विज्ञान’मा लेख्नु हुन्छ-‘बिहान ब्युँझेपछिको पाँच मिनेट र बेलुका निदाउनुअघिको पाँच मिनेटको समयमा मान्छेले आफ्ना बारेमा जे सोच्छ, उसको जीवनमा त्यही हुन्छ ।’ विश्वास नलागे तपाईं आफूले अभ्यास गरेर हेर्नुभए पनि हुन्छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १० : २८ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको