बाजुराले नै चिन्न नसकेको बडीमालिका | Khabarhub Khabarhub

बाजुराले नै चिन्न नसकेको बडीमालिका



‘हामी विकासको पर्खाइमा छौं, हाम्रा पर्यटकीय सम्भावनाका खानी तपाइहरुलाई नै कुरिरहेका छन्, मात्र अभाव छ प्रचार प्रसारको, त्यसलाई हामी सम्भव तुल्याउँछौं ।’– यो भनाइ हो बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीको । यस भनाइले सम्पूर्ण बाजुराबासीको आवजलाई नै प्रतिनिधित्व गर्छ । जनैपूर्णिमाको मेला भर्न बडीमालिका जाँदै गर्दा सृष्टिले पक्कै विकासको खाका आफ्नो मानसपटलमा कोरेकै हुनुपर्छ । किनकी उनी पहिलो जनप्रतिनिधि हुन् भने दोस्रो– ‘इन्जिनियरिङ्गकी स्टूडेन्ट’ ।

मुलुक संघीयतामा गएसँगै संघीय राज्यले आफ्नो प्रदेशको विकासका लागि विभिन्न पहल गरिरहेका छन् । आफ्नो प्रदेशभित्रका सम्भावनाका खानीहरुको खोजी पनि उत्तिकै जारी राखेका छन् । राज्यलाई समृद्ध बनाउने खाका कोरिरहँदा आफ्नो प्रदेश भित्रका सम्भावना अग्रभागमा समेटिनु स्वभाविक पनि हो । यस्तै प्रदेश सुदूरपश्चिमको सम्भावनाको खानीमध्य एक हो–बाजुराको बडीमालिका धार्मिक–पर्यटकीय क्षेत्र ।

समुन्द्री सतहबाट ४ हजार मिटर माथिको उचाइमा रहेको बाजुराको बडीमालिका वास्तवमै सौन्दर्यको खानी हो । बडीमालिकाबाट नजिकै देखिने सुन्दर सैपाल हिमाल, विशाल फाँटहरुमा फुलेका रंगीचंगी फूलहरु बडीमालिकाका गहना हुन् । हिउँदमा हिउँको घुम्टो ओढ्ने बडीमालिका बर्षामा फूल्ने रंगीबिरंगी फूलहरुले स्वीट्जरल्याण्डभन्दा कम्ता देखिँदैन । यी मनोरम प्राकृतिक छटाहरुले जो कोहीको मन लोभ्याउँछ नै । यस्ता सम्भावनाका खानीहरु हुँदा हुँदै पनि यस विषयमा हामी किन बेखबर बन्छौं ? आफ्नो दुँनो सोझ्याउन यस्ता सम्भावनाका खानीहरुको उदाहरण त लिन्छौं र ती क्षेत्रको विकासमा किन पहल गर्दैनौं ?

छिमेकी मुलुक भारतकको जम्बु–कस्मिरमा छायांकन भएका चलचित्रका दृश्य देख्दा लाग्छ हामी त्यो भन्दा कम छैनौं । फरक छ त केबल उनीहरूलाई विश्वले नियाल्छ, हामी आफ्नै देख्दैनौं । किन अहिलेसम्म यस क्षेत्रको एउटा गतिलो डकुमेन्ट्रीसम्म पनि बन्न सकेन ? प्रश्न उब्जिन्छ । उत्तर दिनेहरु भन्छन्– बजेटको अभाव, बाटो घाटोको समस्या । अहँ, पंक्तिकारलाई त्यस्तो लाग्दैन । मलाई लाग्छ– ‘बिग बजेट होइन, मास्टर माइण्डको खाँचो छ ।’ भन्दा लाजमर्दो कुरा– हामी कुन धरातलमा छौं ? हाम्रो हैसियत कहाँ पुग्यो ? एक पटक मनन गर्नैपर्छ जिम्मेवार निकायमा पुगेकाहरुले । ७५ जिल्ला हुँदा मानव विकास सुचककांको ७५ औं स्थानमा रहेको बाजुरा अहिले ७७ जिल्ला हुँदा सम्भवतः ७७ औं स्थानमै पुग्यो होला । यसलाई माथि उठाउँने कि यथास्थितिमै राख्ने सम्पूर्ण जिम्मा हाम्रै काँधमा छ । यसतर्फ बेलैमा सचेत बनौं ।

त्यसो त बाजुरेली जनताको प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको प्रभूत्व अहिले प्रदेशदेखि केन्द्रसम्मै बाक्लो छ । राष्ट्रिय सभामा बद्री पाण्डे (नेपाली कांग्रेस), प्रतिनिधि सभामा लालबहादुर थापा (नेपाल कम्यूनिष्ट पार्टी (नेकपा))तत्कालीन नेकपा एमाले, प्रदेशसभातर्फ बलदेव रेग्मी र प्रकाशबहादुर शाह । त्यतिमात्र नभएर पूर्व उद्योगमन्त्री समेत भइसक्नुभएका नेकपाका वैकल्पिक पोलिटब्यूरो सदस्य कर्ण बहादुर थापा प्रदेश नम्बर ७ को अध्यक्ष समेत बनिसक्नुभएको छ ।सवै तह र तप्कामा हाम्रो पहुँच पुगेका छ । यो भन्दा अरु गर्वको विषय के हुन सक्छ र ? यी प्रतिनिधिहरुको पार्टी र विचारधारा भलै फरक–फरक होला, तर बाजुराको विकासका लागि उहाँरुको आवाज एउटै हुनैपर्छ । यो आम बाजुरेली जनताकै सोच हो ।

यो पंक्तिकारले राजनीतिक नेतृत्वमा विगतदेखि वर्तमानसम्म देखेको र मनन गरेको समानता एउटै छ– चुनावताका भोट बटुल्न बाड्ने सुन्दर सपनाले भरिएका घोषणपत्र, अनि सडक र सदनमा उठाइने उही पर्यटनका सम्भावना र विद्युत क्षमताका कुरा । तर, बत्ति विनाको अध्यारो, साँघुको जोखिम यात्रा, बाढी पहिरोको पीडा भोग्ने त स्थानीय जनता न हुन् । अझ दोस्रो संविधानसभा चुनावको त कुरै नगरौं । प्रत्यक्ष र समानुपातिक गरी झण्डै आधि दर्जन नै सभासद् थिए बाजुराबाटै । अहँ विकासले अपेक्षाकृत गति लिएको देखिएन । हुँदो हो त मानवविकास सूचकांकको नतिजामा बाजुरा पक्कै माथि उठ्ने थियो ।

अहिले गाउँ गाउँमा सिंहदरबार पुगेको कुरा हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीको नारा तय गरिन्छ । अध्याँरोमा टर्चलाइट बालेर देखिने चिज होइन– सिंहदरबार । वरिपरि सवैतिर अग्लो कम्पाउण्डले घेरिएको सिंहदरबार भित्रका बिल्डिङ त्यहाँ खडा हुने पनि होइनन् । उतिबेला अदूरदृष्टि (टाढाको वस्तु स्पष्ट देख्न नसक्ने) रोग भएको सिंहदरबारले अहिले उही रोग सारिदिएको मात्रै हो । त्यसैले टाढाको वस्तु नदेखे पनि हामी नजिकको वस्तु नियाल्न त सक्छौं नि ।

हाम्रा सम्भावनाहरुको समुचित प्रयोग गरी विकास र समृद्धितर्फ लम्क्यौं भने दूर दृष्टिको दोष निवारणका लागि कन्भेक्स लेन्स र अदूर दृष्टिको समस्या समाधानार्थ केन्केभ लेन्स प्रयोग भएको चस्मा किन्ने सामथ्र्य पक्कै बन्नेछ हाम्रो । दूर र अदूर दृष्टिको दोष निवारण गर्न सक्यौं भने विदेशी ब्राण्डका ‘नाइट भिजन’ र ‘रे–वन’ चस्माको रहर पनि मेटौंला, तिनै चस्मा लगाएर बडीमालिकाको सुन्दरतामा सेल्फी खिचौंला । फेरि जोड्छु– ‘बिग बजेट होइन, मास्टर माइण्डकै खाँचो छ, भाषणबाजी गर्ने मुख भन्दा काम गर्ने हातहरुकै खाँचो छ ।’

राजनीतिक प्रसंगका कुरा कोट्याउँदा धेरै बहकिएछु । यो पंक्तिकारले पनि अझै यो बडीमालिकाको उकालो चढ्न पाएको छैन । बाजुरा बासी भएकै नाताले तस्विर देखेकै, भने–सुनेकै भरमा काठमाडौं खाल्डोबाटै कलम चलाएको मात्र हो । छुटेका कुरा धेरै होलान् । मभित्र पनि उही अदूर दृष्टिको दोष जो छ । एकदिन अवश्य बडीमालिकाको बढोत्तरीमा रहमाउने चाहना राख्दै पुनः प्राकृतिक मनोरमामै जोडिन्छु ।

बाजुरा अथाह सम्भावना बोकेको देवभूमि, धार्मिक पर्यटन, आस्थाको केन्द्र, लोपोन्मुख जडिबुटीहरूको विशाल भण्डार भएका बडीमालिका, बुढीनन्दा, त्रिबेणीधाम, नाटेश्वरी माई लगायत छन् हाम्रा सम्पत्ति । यिनीहरुको प्रचारप्रसार सँगै संरक्षणमा हामी नजुटे को जुट्ने ? हामिले नगरे कस्ले गर्ने ? अब पनि नगरे कहिले गर्ने ? हातेमालो गरौं सामाजिक एकताका लागि लामबद्ध बनौं । भनेजस्तो यी प्राकृतिक सुन्दरतासँग प्रत्यक्ष स्पर्स गर्न त्यति सहज भने छैन । अप्ठ्यारो गोरेटो बाटोको कष्ट सहनैपर्छ । भोक प्यास र थकानले लखतरान बन्नैपर्छ ।

तर यहाँका प्राकृतिक छटासँग प्रत्यक्ष स्पर्स गर्ने वातावरण मात्रै सिर्जना गर्न सक्यौं भने पनि हाम्रा धेरै समस्या टर्नेछन् । यो पंक्तिकारको दाबीमात्र होइन विश्वास पनि हो । अब बडीमालिकाले पयर्टन पर्खिन जनैपूर्णिमा नै कुर्नु हुँदैन । स्वदेशी नागरिकमात्र नभएर विदेशी पर्यटकको नजरमा पार्नका लागि अब हामीले के के गर्नुपर्ने हो सवै तह र तप्काबाट स्वविवेकले लागौं । यत्ति कामना ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ८ : ३१ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको

साँगा-धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई