लोकतन्त्र ‘बाँदरको हातमा नरिवल’ नबनोस् | Khabarhub Khabarhub

लोकतन्त्र ‘बाँदरको हातमा नरिवल’ नबनोस्




आजको एक्काइसौं शताब्दीको युगमा प्रायः सबै राजनीतिक पार्टीहरूले आफूलाई खाँट्टी लोकतन्त्रवादी देखाउन चाहन्छन् । जसोतसो चुनावमा जीत हासिल गरेपछि कतिपय महत्वपूर्ण लोकतान्त्रिक मूल्य–मान्यताप्रति उदासीन भएर अगाडि बढ्ने प्रवृत्ति सामान्य बन्दै जाने समस्या सबै देशमा देखिने गरेको छ । नेपाली राजनीतिमा ०७२ सालको संविधान निर्माणपछि लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । यसरी लामो समयपछिको एउटा उपचरणको संक्रमणकालको अन्त्य भएको छ ।

निर्वाचनबाट वामपंथीहरूको बहुमतको सरकार बनेपछि राजनीतिक स्थायित्वसँगै संक्रमणकालको अन्योलताको समेत अन्त्य भएको छ । यति हुँदा हुँदै पनि समाजवाद प्राप्तिको नयाँ संक्रमणकालको शुरूवातसँगै नयाँ जटीलता र नयाँ सम्भावनाको ढोका खुलेको छ । अहिलेको अनुकूलतालाई ठीक कसिमले बुझेर सोही अनुसार अघि बढ्न सके वर्तमान संक्रमणकालबाट निकै ठूलो सफलता प्राप्त गर्दै अघि बढ्न सकिने आधार तयार भएको छ । त्यसका लागि हर क्षेत्रमा लोकतान्त्रिक मूल्य र मान्यतामा अडिएर हिंड्न जान्नु आवश्यक छ ।

हामी नेपालीहरू सामन्ती संस्कृतिकै परिवेशमा जन्मी–हुर्केको कारणले आफूलाई भयंकर लोकतन्त्रवादी, समाजवादी, साम्यवादी जे भने पनि हामीभित्र अझै उन्नत संस्कृतिको विकास भइसकेको छैन, त्यसैले विभिन्न समस्याहरू देखिने गरेका छन् ।

नेपाली जनताले कम्युनिस्ट पार्टीलाई जुन किसिमको आस्था र विश्वासको आधारमा यो देश हाँक्ने ऐतिहासिक जिम्मेवारी सुम्पेका छन्, राम्रो काम गर्न सकिएन भने, अरू कसैमाथि दोष पन्छाएर आफ्ना कमजोरीबाट उन्मुक्ति पाउन सक्ने अवस्था रहने छैन । लोकतन्त्रमा सरकार सञ्चालनको लागि सबैभन्दा महत्वपूर्ण र आवश्यक विषय भनेको जनताबाट अनुमोदित हुनु नै हो । वर्तमान सन्दर्भमा बहुदलीय प्रतिस्पर्धाको आधारमा आवधिक निर्वाचनमा विजय प्राप्त गर्नु लोकतन्त्रको पहिलो शर्त हो ।

राज्यसत्तासँग सम्बन्धित कार्यपालिका र व्यवस्थापिका मात्र होइन न्यायपालिका र तमाम संबैधानिक निकायहरू प्रत्यक्ष वा परोक्ष रूपले जनमतकै आधारमा सञ्चालित हुनुपर्छ । यसमा कुनै पनि तर्क–वितर्कको अर्थ छैन । विडम्बना वर्तमान विश्व परिस्थितिमा अधिकांश मुलुकमा निर्वाचनमा बहुमत प्राप्त गरेपछि, निर्वाचित तानाशाहको रूपमा अघि बढ्न खोज्ने प्रवृत्ति बढ्दो अवस्थामा छ । जुनसुकै गलत तरिका अपनाएर भए पनि चुनाव जित्ने र स्वेच्छाचारी तरिकाले शासन चलाउन खोज्ने प्रवृत्तिले विभिन्न देशमा टाउको उठाएको छ । त्यसैले लोकतन्त्रको स्थायित्व र सुदृढीकरणको लागि आम निर्वाचनसँगै अन्य कतिपय महत्वपूर्ण विषयहरू वाध्यात्मक शर्तको रूपमा, संविधानमै व्यवस्था गर्नु पर्ने आवश्यकता देखिन्छ । यद्यपि, कार्यकारी प्रमुख स्वेच्छाचारी बन्न नपाओस् भन्नको लागि उसलाई विधिको आधारमा चल्नुपर्ने व्यवस्था सबै ठाउँमा केही न केही गरिएकै हुन्छ । त्यसको लागि न्यायपालिकासहित विभिन्न संबैधानिक निकायद्वारा नियन्त्रण गर्ने परिपाटी पनि नभएको होइन । तर, अहिलेसम्मका परम्परागत अभ्यासहरूमा रहेका कमजोरीबारे नयाँ ढङ्गले सोच्नुपर्ने परिस्थिति उत्पन्न हुँदैछ ।

अहिलेसम्म दुनियाँमा लोकतान्त्रिक व्यवस्थाका अनेकखाले अभ्यासहरू देखियो । कुनै पनि व्यवस्था दोषरहित छैन, तर सापेक्षरूपमा जनताको अत्यधिक ढूलो संख्याले लामो समयसम्म सन्तुष्टी प्राप्त गर्न सक्ने तरिकाको खोजी निरन्तर जारी रहनुपर्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के देखिन्छ भने उन्नत लोकतन्त्रको लागि संबिधान या नियम–कानूनहरूमा एउटा व्यक्ति निर्णायक हुने परिपाटी कुनै पनि बहानामा कायम राख्नु हुँदैन । व्यक्तिलाई होइन संस्थालाई बलियो बनाउने परिपाटी कसरी स्थापित गर्ने ? एउटा व्यक्ति जतिसुकै महान र क्षमतावान भएपनि सर्वप्रथम ऊ हामीजस्तै मानिस हो र कुनै पनि बेला ऊबाट गल्ती हुनसक्छ भन्ने कुरालाई गम्भीररूपमा लिनु जरूरी छ ।

त्यस्तै, कुनै पनि सरकारी निकायमा सामूहिक बुद्धिको आधारमा चल्नुपर्ने परिपाटी स्थापित गर्ने कसरी ? यो तरिकामा केही कठिनाइ र जटिलता भए पनि उन्नत लोकतन्त्रको लागि यो अर्को अनिवार्य शर्त हो र हुनुपर्छ । बहुमतको निर्णय कार्यान्वयन गर्नु लोकतन्त्रको एउटा महत्वपूर्ण विषय हो, तर कतिपय सवालमा संसदको प्रतिपक्षको कुरा मात्रै नगरौं, एउटा नागरिकले उठाएको विषय सही हुनसक्छ, त्यसैले हरेकका विचारलाई सम्मानपूर्वक हेर्ने र यसबारे राम्रो छलफल गर्ने र सकारात्मक विषयलाई बहुमत पक्षले स्वीकार गर्ने परिपाटी कसरी कायम गर्ने ? यो सबैले भन्ने गरिन्छ तर व्यवहारमा त्यस्तो देखिंदैन ।

त्यस्तो नेता, जसले आलोचना सुन्नै चाहँदैन, ऊ जहिले पनि प्रशंसाको भोकले ग्रसित हुन्छ र उसले आत्मालोचना गर्न चाहँदैन भने ऊ जतिसुकै ठूलो जनमतबाट निर्वाचित भएको भए पनि सारतः त्यसले लोकतन्त्रलाई कमजोर बनाउँ छ ।

हरेक वैज्ञानिक नयाँ विषयहरू शुरूमा अल्पमतमै हुन्छन्, यदि बहुमत पक्षले ती कुरामा ध्यान पुर्‍याउन सकेन भने जनता नयाँ तर महत्वपूर्ण उपलब्धीबाट वञ्चित हुन पुग्छन् । हाम्रो जस्तो सामन्ती संस्कारले ग्रसित समाजमा गल्ती–कमजोरीप्रति आत्मालोकित हुने परिपाटी नगण्य अवस्थामा छ । यसले नेतृत्वलाई झनै बढी गल्ती गर्ने दिशातर्फ धकेल्ने परिस्थिति निर्माण हुँदैजान्छ । यहाँ प्रायः आलोचना गर्नेहरूलाई शत्रुको रूपमा हेर्ने परिपाटी कायम छ ।

लोकतन्त्रमा आलोचनालाई सकारात्मक रूपमा लिनु अत्यन्त आवश्यक विषय हो । काम गर्दा गल्ती हुनसक्छ, त्यसलाई सच्याउने महत्वपूर्ण तरिका आलोचना नै हो । यसले वास्तवमा गल्ती गर्ने व्यक्ति या संस्थालाई फाइदा पुग्छ । तर, त्यस्तो गरिंदैन । त्यस्तो नेता, जसले आलोचना सुन्नै चाहँदैन, ऊ जहिले पनि प्रशंसाको भोकले ग्रसित हुन्छ र उसले आत्मालोचना गर्न चाहँदैन भने ऊ जतिसुकै ठूलो जनमतबाट निर्वाचित भएको भए पनि सारतः त्यसले लोकतन्त्रलाई कमजोर बनाउँ छ ।

निर्वाचनको बेला, विरोधीहरूसँगको प्रतिस्पर्धामा नेताको प्रशंसा गर्नुपर्ने आवश्यता पर्नसक्छ । तर, निर्वाचनमा विजय प्राप्त गरिसकेपछि नेताको बढी प्रशंसा गर्नु भनेको उनलाई गल्ती गर्नको लागि प्रेरित गर्ने मात्र हो । यसले मूलतः नोक्सान मात्रै पुर्‍याउँछ । यो धर्तीमा आएको कुनै पनि व्यक्ति अलौकीक शक्तिको अवतार होइन । त्यसैले ऊ आलोचनाबाट बाहिर हुनै सक्तैन । आत्मालोचना भनेको आत्मभ्रत्सना कदापि होइन, बरू यो त आत्मशुद्धि हो । यद्यपि अहिले आलोचनाको नाउँमा तथ्यहीन आरोप र गाली–गलौजको प्रवृत्ति देखा पर्दैछ, यो पनि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत प्रवृत्ति हो ।

लोकतन्त्रको नाउँमा अराजकता र छाडातन्त्र कदापी ठीक हुँदैन । त्यसैले हाम्रो समाजमा आत्मालोचनाको संस्कृतिको विकास कसरी गर्ने ? हरेक बुद्धिमान व्यक्तिहरूले ध्यान दिनु पर्ने महत्वपूर्ण विषय हो । हामी नेपालीहरू सामन्ती संस्कृतिकै परिवेशमा जन्मी–हुर्केको कारणले आफूलाई भयंकर लोकतन्त्रवादी, समाजवादी, साम्यवादी जे भने पनि हामीभित्र अझै उन्नत संस्कृतिको विकास भइसकेको छैन, त्यसैले विभिन्न समस्याहरू देखिने गरेका छन् ।

कुनै पनि देशको लोकतन्त्र कतिको सफल छ भनेर जाँच्ने अर्को ज्यादै महत्वपूर्ण र अनिवार्य पक्ष भनेको आम जनसमुदाय, त्यसमा पनि अन्याय, विभेद र शोषण, उत्पीडनमा परेका जनताको सुख र समृद्धिसँग गाँसिएको पक्ष हो । केही मुट्ठीभरका अर्बपतिहरूको समृद्धिलाई लोकतन्त्रको सफल अभ्यासको रूपमा बुझ्नु गम्भीर भूल हो । लोकतन्त्र सर्वसाधारण जनताको खुसी र हाँसोमा प्रकट हुनुपर्छ । यस्तो भएको छ कि छैन ? हाम्रो लोकतन्त्र त्यो दिशातर्फ उन्मुख छ कि छैन ?

अनुकूलतालाई ठीक कसिमले बुझेर सोही अनुसार अघि बढ्न सके वर्तमान संक्रमणकालबाट निकै ठूलो सफलता प्राप्त गर्दै अघि बढ्न सकिने आधार तयार भएको छ ।

चाहे जुनसुकै वाद र विचारको कुरा गर्नुस्, तर जनताको जीवन कष्टसाध्य बन्दै गएको छ भने हामी उल्टो बाटो हिँडेको प्रमाणित हुन्छ । हाम्रो समाजमा अन्याय र विभेद क्रमशः मेटिँदै गएको छ कि अझ बढ्दै छ ? वलात्कारका घटना बढ्दै छन् कि घट्दै छन् ? गरीवीको संख्या घट्दो छ कि बढ्दै छ ? धनी र गरीब बीचको अन्तर आम रूपमा बढ्दै छ कि घट्दै छ जनताको सरकार, जनताको शासन भन्ने कुरा उपर्युक्त विषयमा आधारित हुन्छ ।

लोकतान्त्रिक प्रणाली यस्तो प्रक्रिया हो जसले सिङ्गो समाजलाई सभ्य र सुसंस्कृत बनाउँदै लगेको हुन्छ । त्यसले समाजमा विद्यमान भ्रष्टाचार, दुराचार र तमामखाले सामाजिक विकृतिलाई हटाउँदै, सच्याउँदै अघि बढ्छ । हाम्रो देशको नेतृत्व वर्ग र जनप्रतिनिधिहरू कति भ्रष्टाचार र कमिशनको चक्करमा लागेका होलान् ? कति अनैतिक र दुराचारीहरू लोकतन्त्र र समाजवादको खोल भिरेर जनतालाई धोका दिंदै होलान् ? गम्भीर रूपमा सोच्नुपर्ने विषय हो । प्रत्येक नागरिक यस्ता विषयमा सजग बन्नैपर्छ ।

लोकतन्त्रमा हरेक नागरिकको योग्यता, क्षमता र योगदानको कदर हुनुपर्छ । योग्य र इमान्दार व्यक्तिले मात्र हरेक संघ–संस्थालाई सही दिशामा अघि बढाउन सक्छ । भ्रष्ट र बेइमानहरूले लोकतन्त्रको आत्मालाई नष्ट गरिदिन्छन् । त्यसैले हरेक पार्टी र सरकारी निकायमा योग्य र इमान्दारहरूको छनोट धेरै महत्वपूर्ण विषय हो । होइन भने लोकतन्त्र ‘बाँदरको हातमा नरिवल’ सावित हुनेछ ।

जहाँ राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र वदमासी गर्नेलाई दण्डित गर्ने संस्थागत परिपाटी स्थापित भएको छैन, त्यहाँ लोकतन्त्र कमजोर भएको पुष्टि हुन्छ । त्यसैले सत्ता सञ्चालन गर्नेहरूले यस सम्बन्धमा सोही बमोजिमका नीति र विधि निर्माण गरेसँगै त्यसलाई दृढतापूर्वक व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्छ । हाम्रो देशमा विधि र नियम बनेको छ र संस्थाहरू पनि बनेका छन् । तर कार्यान्वयनको पक्ष अत्यन्त कमजोर छ । नियम बन्छ, तर त्यसलाई पालना गरिँदैन । त्यसो हो भने ‘विधिको शासन’
भन्ने कुराको के अर्थ हुन्छ ? लोकतन्त्र कुनै जडतावादी राजनीतिक प्रणाली नभएर निरन्तर गतिशील र परिवर्तनशील प्रणाली हो । समाज विकासको गतिसँगै यसमा निरन्तर सुधार र परिमार्जन हुँदै जान्छ ।

निर्वाचनको बेला, विरोधीहरूसँगको प्रतिस्पर्धामा नेताको प्रशंसा गर्नुपर्ने आवश्यता पर्नसक्छ । तर, निर्वाचनमा विजय प्राप्त गरिसकेपछि नेताको बढी प्रशंसा गर्नु भनेको उनलाई गल्ती गर्नको लागि प्रेरित गर्ने मात्र हो ।

सचेत मतदाता, लोकतन्त्रको मेरूदण्ड हो । आवधिक निर्वाचनमा आफ्नो आस्था र विश्वासको आधारमा मतदान गर्ने मात्र होइन, त्यसपछि नेतृत्वलाई हमेशा खवरदारी गर्नु उनीहरूको अर्को महत्वपूर्ण दायित्व हो । यदि यसो गरिएन भने सत्ताको नशाले मान्छे बिग्रने ठूलो खतरा हुन्छ ।

लोकतन्त्रमा कुनै न कुनै राजनीतिक पार्टीले मुलुक सञ्चालन गर्ने हो । तर, त्यो पार्टी आफैंमा लोकतान्त्रिक छ कि छैन ? यदि पार्टी लोकतान्त्रिक मूल्य, मान्यता र विधिको आधारमा नभएर व्यक्ति विशेष, आदेश र निर्देशनको आधारमा सञ्चालित हुने अवस्था छ भने त्यहाँ अन्ततः लोकतन्त्र ध्वस्त हुन्छ । पार्टी राम्रोसँग चलाउनेले देश पनि राम्रोसँग चलाउन सक्छ । पार्टी अस्त–व्यस्त छ भने मुलुक पनि अस्त–व्यस्त हुन्छ । अर्थात, भाषणमा बोलिने लोकतन्त्र र व्यवहारमा देखिने लोकतन्त्रमा कत्तिको तालमेल छ, त्यसैमा मुलुकको भविष्य निर्धारीत हुन्छ ।


लेखक ज्ञवाली सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ६ : ५० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन